Author

न्ततः केही हप्ता यता अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्स नजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको छ भने बाकीँ भाग समुन्द्रमा खस्नाले केही क्षति हुन पनि पाएन । 

केही दिन यता यो अनियन्त्रित रकेट टाउको दुखाइको विषय बनेको थियो । अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग मार्च फाइभ बी’ अन्तरिक्षयानलाई लिएर विभिन्न अनुमान गरिरहेका थिए । चीनले उक्त रकेट गत २९ अप्रिलमा हाइनान द्वीपबाट प्रक्षेपण गरेको थियो । अनियन्त्रित यो रकेटका भागहरू पृथ्वीमा झर्ने कुरालाई लिएर चिन्ता उत्पन्न भएको थियो । 

पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको थियो । रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको थियो । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय पृथ्वीमा खस्न सक्थ्यो । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका थिए ।

विशेषज्ञहरुका अनुसार यो रकेट धर्तीको परिधिभित्र प्रवेश गर्दागर्दै जल्न सुरु हुनेछ वा प्रवेश गर्नु अगावै जल्न पनि सक्नेछ । यस्तो अवस्थामा जोखिम कम हुनेछ । आसंका यो थियो कि यदि मानिसहरु बसोबास गर्ने इलाकामा यो रकेट खस्यो भने ठूलो दुर्घटना निम्तिने छ । यद्यपी, यो रकेट धर्तीको कुन कुनामा खस्नेछ भन्नेमा भने अन्योल कायमै थियो । 

लङ मार्च ५ बी रकेट झन्डै १ सय फिट लामो थियो । अनियन्त्रित भएपछि पछिल्ला दिनमा यस रकेटले धर्तीमा ३० भन्दा धेरैपटक चक्कर लगाइसकेको थियो भने घण्टामा २८ हजार माइल्सको दूरी तय गरिरहेको थियो । यसको वजन झन्डै २१ टनको थियो । यदी टुक्रा–टुक्रा भएर मैदानी इलाका वा समूद्रमा रकेट खस्यो भने क्षति हुनबाट बच्नेथियो । 
चीनले २९ अप्रिलमा आफ्नो स्पेश स्टेशन हेभन्ली प्यालेसका लागि पहिलो मोड्युल लन्च गरेको थियो । शक्तिशाली लङ मार्च ५ बी रकेटमार्फत अन्तरिक्षमा मानिसको स्थायी उपस्थितिको प्रयोग हुँदैछ । 

एक रिपोर्टअनुसार यो रकेट ४१ डिग्रीको भूमध्य रेखाको झुकावमा घुमिरहेको थियो । यसको मलवा ४१ डिग्री उत्तर र ४१ डिग्री  दक्षिण गिर्ने आशंका गरिएको थियो । त्यसोत न्युर्योक, म्याडिङ र बेइजिङ जस्ता भूमध्य रेखाको उत्तरी शहरमा एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पनि पर्न सक्ने आशंका गरिएको थियो । 

बीबीसीका विज्ञान सम्वाददाता जोनाथन एमोसले भनेका थिए, ‘यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन । तर यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ ।’


ग्राफिक्सः बिबिसी


 

वैज्ञानिकहरुका अनुसार रकेटको सम्भावित ल्यान्डिङ जोन पानी नै हो । किनकी पृथ्वीको दुई तिहाई भाग पानीले ढाकेको छ । यदि, मानिस बसोवास गर्ने इलाकामा यस्ता ठूला रकेट खस्यो भने त्यसले विध्वंश मच्चिन्छ ।

यो रकेट सन् १९९० यताकै पृथ्वीमा खसेको सबैभन्दा गह्रौ वस्तु हो । त्यसयता, १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन । यो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो भने यसको तौल १८ टन थियो । यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको थियो ।

रकेट प्रक्षेपण गर्दा बेलाबखत यस्ता घटना घट्ने गर्छन् । सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए । अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने एक संस्थाले अन्तरिक्षमा रहेका करिब २६ हजार मानवनिर्मित वस्तुहरूको तथ्याङ्क राख्ने गर्छ ।

बिबिसीका अनुसार, टेक्सस विश्वविद्यालयका प्राध्यापक मोरिबा जह भन्छन्, ‘ती वस्तुहरू मोबाइल फोनको आकारदेखि अन्तरिक्ष स्टेसन जत्रा सम्मका छन्। तीमध्ये ३,५०० काम गरिरहेका भूउपग्रह छन् बाँकी जम्मै कवाडी हुन् ।’ जहका अनुसार अन्तरिक्षमा भएका ती वस्तुहरू काम गरिरहेका भूउपग्रहसँग ठोक्किने मात्रै होइन, २०० जति ठूलो आकारका वस्तुहरू ‘बम जत्तिकै’ खतरनाक हुन् । 

‘हाम्रा लागि मौसम, स्थान जानकारी वा समय जस्ता काम लाग्ने सूचना दिने भूउपग्रहहरू कुनै पनि बेला अर्को वस्तुसँग ठोक्किएर काम नगर्ने हुन सक्छन्। यसले हाम्रो दैनिक जीवनलाई नै असर गर्न सक्छ ।’ जह भन्छन् । जे होस्, चीनको अनियन्त्रित ‘लन्ग मार्च फाइभ बी’को खतरा भने अब टरिसकेको छ ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...

सम्बन्धित समाचार