‘विगतमा महिलालाई समाजबाट अलग्याइन्थ्यो । उनीहरू महिला घरभित्रै बसून् भन्ने चाहन्थे र महिलालाई बिर्सिइन्थ्यो । अहिले म महिलाको बारेका सम्झाउन चित्र कोर्छु’ २०१३ को एक अन्तर्वातामा अफगानिस्तानकी पहिलो स्ट्रिट आर्टिस्ट समसिया हसामीले भनेकी थिइन् ।
समसिया हसामी, फोटोः मोर्डन म्याट
‘म मेरा चित्रमा महिलाको शक्ति देखाउँछु, तिनका खुसी देखाउँछु । मेरा चित्रमा धेरै चहलपहल देखिन्छन् । अफगान समाजमा महिलाहरू अझ सशक्तसँग फर्किसकेका छन् भन्ने म देखाउँछु । यो घरभित्रकै बन्दक महिला होइन । यो नयाँ महिला हो, नयाँ । फेरि शुरूवात गर्न चाहने महिला । तपाईं देख्न सक्नुहुन्छ मेरा चित्रहरूमा, म महिलाको स्वरूप बदल्न चाहन्छु । म महिलालाई जीवनभन्दा बृहत रूपमा प्रस्तुत गर्न चाहन्छु । अनि सबैलाई भन्न चाहन्छु – हेर महिलाहरूलाई ! फरक दृष्टिले हेर ।’
चित्रः समसिया हसामी फोटोः मोर्डन म्याट
अहिले फेरि अफगान महिलाहरू जोखिमको स्थितिमा छन् । हसानीको पछिल्लो चित्र ‘डेथ टु डार्कनेस एण्ड नाइटमेयर’ले यही देखाउँछ । यो समय उनले गरिरहेको महसुस चित्रमा झल्कन्छ । एक केटी निलो लुगामा छिन्, टाउकोमा स्कार्फ छ, घुँडा मारेकी छन् । कालो गमला ढलेको छ, फूल छरिएका छन् । तर फूलका पत्रहरू उड्दै छन् । अँध्यारो रंगमा छेवैमा तालिबानको आकृति उभिएको छ ।
भन्न त भर्खरै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सार्वजनिक रूपमा नै आफ्नो शासनमा महिलाका अधिकारको सम्मान गर्ने भनेका छन् । महिलाहरू विद्यालय र काममा जानसक्ने पनि भनिएको छ ।
तर, यसै हप्ता सरकारी टेलिभिजनकी बरिष्ठ महिला पत्रकारले तालिबानको वास्तविकता फरक भएको बताइन्, ‘मेरा पुरुष सहकर्मीलाई कार्यकक्षका छिर्न दिइयो । तर, मलाई दिइएन, अब मैले मेरो काममा निरन्तरता दिन पाउदिन किनकि पद्धति फेरिएको छ ।’
जे भएपनि तालिबानको महिलालाई हेर्ने कट्टरपन्थी दृष्टिकोणलाई लिएर अधिकांश अफगान महिला त्रसित छन् । ‘सार्वजनिक जीवनबाट हामी पछि फर्कने छैनौं’ भन्दै महिलाहरुको एक समूहले अहिले काबुलमा प्रदर्शन पनि गरेको छ ।
चित्रः समसिया हसामी फोटोः मोर्डन म्याट
यही परिवेशमा काबुलको आफ्नो स्टुडियोमा हसानी निरन्तर नयाँ चित्रहरू कोरिरहेकी छन् । यसो गर्दैगर्दा उनी ढुक्क हुँदैछिन् उनी र आम अफगान महिलाहरुको आवाज सुनिने नै छ ।
त्यसो त हसानी पूर्व अफगान शरणर्थी हुन् । उनी २००५ मा मुलुक फर्किएकी हुन् । र, त्यसयता उनी निरन्तर चित्रकलामै साधनारत छिन् । उनको अर्को समकालीन चित्रमा देख्न सक्छौँ – एक महिला निलो हिजाबमा छिन् । बडाे प्रेमसँग उनले किबोर्ड च्यापेकी छन् । पृष्ठभूमिमा अँध्यारो रंगमा लस्करै तालिबानहरू उभिएका छन् । अघिल्लो तालिबान शासनमा गीत–संगीत पनि अफगानिस्तानमा बन्देज थियो ।
त्यसैगरी, अर्को पनि चित्र छ । यसमा एक अँध्यारो रंगमा बन्दुकसहित ठिङ्ग उभिएको तालिबान लडाकु छ । उसका आँखा क्रोधले राता छन् । उसको ठीक सामुन्ने निलो लुगा र रातो स्कार्फमा एक किशोरी उभिएकी छिन् । किशोरीले गमला सहितको फूल लडाकुतिर सोझ्याएकी छन् । फूलको एक पत्र उडेर तालिबानतिर जाँदै छ ।
चित्रः समसिया हसामी फोटोः मोर्डन म्याट
तालिबानको महिलाई हेर्ने नजरिया अब कस्तो हुनेछ र तिनले गर्ने व्यवहार के हुनेछ अहिले नै भन्न हतारो होला । तर, हसानीको यो चित्रले भन्छ – तिनले अफगान महिलाको आवाज नसुनी धरै छैन । आजका अफगान महिला साँच्चिकै सशक्त छन् । काबुल लगायत विभिन्न ठाउँमा यसै हप्ता भएका महिलाहरूको प्रदर्शनले पनि यही नै भन्छ ।
कतिपय क्षेत्रमा म अफगान महिलाहरू अत्याधुनिक हतियारबाट सुसज्जित हुँदै शक्ति प्रदर्शनमा उत्रिएका छन् । यसको सन्देश स्पष्ट छ, आजका अफगान महिलालाई तालिबानले कजाउन सक्दैन ।
तालिबानविरुद्ध हतियार सहित हालसालै सडक प्रदर्शनमा उत्रिएका अफगान महिला । फोटोः द गार्जियन
मोर्डन म्याट लगायत अन्य एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...