‘तालिबान !’ यो शब्द सुनेर तपाईंको मनमा जुन आकृति आउँछ पक्कैपनि त्यसमा हत्याहिंसा, लुटपाट र आतंकवादको झलक देखिन्छ ।
किन्तु, तपाईंलाई थाहा छ ? तालिबानको शुरूआती मकसद आतंकवाद नभइ अफगानिस्तानको अस्थिर राजनीतिलाई स्थिर बनाउनु र इस्लाम कानुन लागू गर्नुरगराउनु थियो । उसो त पाश्तो भाषामा तालिबानको शाब्दिक अर्थ विद्यार्थी वा छात्र भन्ने हुन्छ । जसले निःसन्देह सिक्ने व्यक्ति भन्ने दर्शाउँछ ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरिरहँदा हामी तपाईंलाई तालिबानको उदय, स्थापना र उसको यसअघिको सत्तागमन बारे केही कुरा भन्दैछौँः
केही युवाहरूले गरेका थिए तालिबानको स्थापना
एउटा घटना - पाकिस्तानबाट अफगानिस्तानतिर गइरहेका करिब ३० वटा ट्रकहरूलाई दक्षिणी अफगानिस्तानबाट आतंकी संगठनहरूले अपहरण गरे । घटना सार्वजनिक भएलगत्तै स्थानीय केही युवाहरूले अपहरित ट्रकहरूलाई अपहरणकारीहरूबाट मुक्त गराए र आतंककारीहरूको हत्या गरे । ती युवाहरू तालिबानसँग सम्बद्ध थिए । घटनापछि अफगानिस्तानमा तालिबानको प्रशंसा भयो र उसले आफूलाई जनमानसमा स्थापित गराउने राम्रो अवसर पायो ।
उपयुक्त मौका पाएको तालिबानले यसपछि आफ्नो प्रचारप्रसार शुरू गर्यो । जनताहरूसमक्ष उसको सन्देश थियो, “अफगानिस्तानमा सम्पूर्ण रूपमा मुस्लिम ‘हुकुमत’ चाहिन्छ ।” उनीहरू त्यतिबेलाको सीरियाजस्तो शासनप्रणाली चाहिने कुरा गर्दथे ।
जनमन जिते, अनि......!
आम सर्वसाधारणहरू तालिबानको उक्त मत रुचाउन थाले । क्रमशः तालिबानले पनि जनतामाझ आफ्नो छवी निडर, इमानदार र इस्लाम परम्परा र पद्धतिका लागि जिउँने मर्ने योद्धाहरूको संगठनका रूपमा आफूलाई स्थापित गर्दै गयो ।
एक समयपछि आम जनतामा तालिबान नै आफ्ना हकअधिकारका लागि लड्ने संगठन भएको विश्वास पैदा भयो । जनताको तीव्र रुझानका कारण तालिबान घरघरको परिचित संगठन बन्यो ।
यति हुँदाहुँदै पनि सांगठनिक रूपमा बलियो बनीरहन र आफूले परिकल्पना गरेजस्तो इस्लाम देशका रूपमा अफगानिस्तानको सत्तानेतृत्वमा पुग्न तालिबानलाई पैसाको आवश्यकता हुने देखियो । यस्तोमा उसलाई आर्थिक रूपमा मद्दत गर्ने र उसको मक्सदलाई खुल्लमखुल्ला समर्थन गर्ने अन्तर्राष्ट्रिय शक्तिका रूपमा गल्फ देशहरू देखा परे । गल्फ देशहरूले तालिबानलाई आवश्यकताअनुसार पैसा दिन शुरू गरे । फलस्वरूप तालिबानले अफगानिस्तानमा झांगिने मौका पायो ।
यता अफगानिस्तानको छिमेकी देश पाकिस्तानले पनि तालिबानको सहयोगका लागि भरमग्दुर गरेको रिपार्टहरूमा उल्लेख छ । पाकिस्तानले तालिबानलाई अनेक तबरबाट सहयोग गर्यो । ऊ अफगानिस्तानलाई कट्टर मुस्लिम राष्ट्रका रूपमा हेर्न र त्यसको श्रेय आफू लिन चाहन्थ्यो ।
तालिबानद्वारा अफगानिस्तानको सत्ता कब्जा
त्यसपछि तालिबान आतंककारीहरूबाट ट्रक छुटाउने युवाहरूको मात्र रहेन । ऊ अब छुटाउनेतिर भन्दा पनि कब्जा गर्नेतिर अग्रसर देखियो ।
तालिबानले सन् १९९४ मा जब अफगानिस्तानी प्रहरी निकै कमजोर थियो त्यो बेला सत्ता कब्जाका लागि प्रयासहरू गर्न थाल्यो । यो प्रयासमा अफगानिस्तानका लागि सोभियत संघसँग युद्ध लड्ने तथा अफगानिस्तानबाट उनीहरूलाइ लखेट्ने योद्धाहरू समेत सामेल हुन थाले ।
तालिबानले फौज बनाउन थाल्यो र आम जनमानसमा थप सघन रूपमा फौजको उपायदेयी छवी प्रस्तुत गर्न थाल्यो । तालिबानले सोहीबेला कन्दहार क्षेत्रमा आफ्नो गढ स्थापना गर्यो । यो नै अफगानी सत्ता कब्जाका लागि उसको बलियो रणनीति थियो ।
त्यसपछि सन् १९९६ देखि तालिबानले दाम साम दण्ड भेदद्वारा अफगानिस्तानमा आफ्नो वर्चस्व स्थापित गर्न थाल्यो । उसको यो अभियानमा साउदी अरब र पाकिस्तानले साथ दिइरहे ।
यसको परिणामस्वरूप तालिबानले काबुलमाथि कब्जा जमायो र सरकारमाथि समेत अधिपत्य जमायो । उसको यो सफलतामा अमेरिकाको निर्णायक सहयोग रहेको रिपार्टहरूमा उल्लेख छ ।
पश्चगामी सत्तायात्रा
तालिबानले अफगानिस्तानको सत्तामा कब्जा गरेसँगै आफ्नो मूल घोषणाअनुसार काम गर्न थाल्यो । उसले आफ्नो पूर्ववत् बाचाअनुसार इस्लामिक कानुन लागू गर्न थाल्यो । अब पूरै अफगानिस्तान कानुनतः मुस्लिम इमिरेट्स बन्यो ।
त्यसबेला तालिबानको यो कानुन फाइदाको सौदा हुने सर्वसाधारणहरूको आँकलन थियो तर यसको नतिजा विपरीत आयो । तालिबानले ल्याएको ‘सरिया’मा आधारित नयाँ कानुनले आम अफगानीलाई ‘निम्छरो’ बनाउँदै लग्यो ।
......यस्ता थिए तालिबानका कानुन
तालिबानको नयाँ कानुनअनुसार महिलाहरूले शिरदेखि पाउसम्म छोपिनुपर्ने भयो । अर्थात् महिलाहरूले अनिवार्य रूपमा बुर्खा लाउनुपर्ने नियम लाग्यो । मान्छेहरूको मनोरञ्जनको साधन टेलिभिजनमाथि तालिबानको प्रतिबन्ध लाग्यो । टिभीलाइ प्रतिबन्ध लगाउनुको एकमात्र मक्सद मान्छेहरू शख्त इस्लामिक कानुनबाट नभड्किउन् भन्ने थियो । तालिबानका अनुसार भने टेलिभिजन समयको बर्बादी भन्दा अरू केही थिएन ।
तालिबानको तात्कालीन कानुनअनुसार कुनै पुरुषले दाह्री बढाएमा जेल जानुपर्ने सजाय तोकिएको थियो त्यस्तै ‘रोजा’ नराख्नेहरूलाई समेत जेल चलान गरिन्थ्यो । जुन उदार र प्रजातान्त्रिक समाजका लागि अत्यन्तै हास्यास्पद देखिन्छन् । त्यस्तै उनीहरूले सत्तामा आएसँगै ऐतिहासिक अफगानिस्तानी धरोहरहरू भत्काइए , बुद्धका मूर्तिहरू तोडिए । इस्लामइतर वा विरोधी ठहर्ने हरेक कुराहरू तत्कालीन तालिबान सरकारले नष्ट गर्यो ।
र.. जब ढल्यो तालिबानी सत्ता
तालिबान अफगानी सत्तामा पुगेको विश्वका धेरै देशलाई पचिरहेको थिएन । फलस्वरूप तालिबानी सरकारलाई पाकिस्तान, साउदी र गल्फका केही देशहरूको मात्र समर्थन मिल्यो । दुनियाँभरिबाट तालिबान सरकारको विरोध भएपछि अफगानिस्तानमा समेत तालिबान सरकाविरुद्ध आवाज उठ्न थाल्यो, जुन अपेक्षित थियो । यद्यपि तालिबान सरकारले अफगानिस्तानमा तत्कालीक रूपमा स्थिरिता प्रदान गरेको थियो सँगै भ्रष्टाचारमा समेत लगाम लगाएको थियो । शासनप्रशासनमा तुलनात्मक खरो देखिए पनि तालिबानी सरकारले आममान्छेहरूलाई जेल हाल्ने कुरामा भने कुनै कसर बाँकी राखेन । ती हरेक मान्छे जेलको कालकोठरीमा पुगे, जसले इस्लामविपरीत वा इस्लामले निषेध गरेको आचरण देखाए ।
विशेषतः महिलाहरू तालिबानको सरिया कानुनबाट प्रताडित थिए । अफगानिस्तानी महिलाहरूले भोगिरहेको अन्याय र शोषणबाट उनीहरूको आजादीका लागि सन् १९९८ मा संयुक्त राष्ट्रसंघले एउटा संशोधन पास गर्यो जसले अफगानिस्तानमा महिलाहरूमाथि भइरहेको शोषण र दमन रोक्ने अपेक्षा गरिएको थियो ।
तालिबान आफैँले रच्यो आफ्नो पतन
यस्तैमा तालिबानका प्रमुख मुल्ला उमरले ओसामा बिन लादेन र उनको संगठन अलकायदालाई अफगानिस्तानमा शरण दिने निर्णयले तालिबान पतनको पटकथा लेख्यो । यद्यपि उमरले लादेनलाई सशर्त शरण दिएका थिए । शर्तअनुसार लादेनले अमेरिकामाथि हमला गर्न निषेध थियो । कालान्तरमा लादेनलाई तान्जिनिया र केन्यास्थित अमेरिकी दूतावासमा हमला गरेको आरोप लाग्यो भने तालिबानलाई लादेनको लालनपालन गरेको आरोप लाग्यो ।
घटनापछि तालिबान र अलकायदाको सम्बन्धमा दरार देखा परेपनि अमेरिकाले आफ्ना दूतावासमा भएका हमलाको बदला लिन अफगानिस्तानमाथि बमबारी शुरू गर्यो ।
सन् २००१ सेप्टेम्बर ११ मा ओसमा बिन लादेनले अमेरिकामाथि गरेको हमलाले अमेरिकालाई मात्र होइन अफगानिस्तानलाई पनि ठूलो क्षति ब्यहोर्नपर्ने बनायो । घटनापछि आतंकवादको पर्याय रूपमा अफगानिस्तानलाई हेरिन थालियो, उप्रान्त अमेरिकाले अफगानिस्तानलाई अलगथलग पार्न कुनै कसर बाँकी राखेन ।
घटना लादेनले गराएका थिए, सजाय अफगानिस्तानले भोग्नुपर्यो । लादेन अफगानिस्तानका पठारपहाडहरूमा लुकेको भन्ने अमेरिकी प्रक्षेपणले अफगानिस्तान क्षतविक्षत हुन पुग्यो । कालान्तरमा शान्तिसँग अफगानिस्तानको मानौँ दुस्मनी भयो । यद्यपि, विश्लेषकहरूलादेनलाई अमेरिकाकै उत्पादन ठान्छन् ।
अमेरिका ओसामा बिनको पछि लागेपछि अवरोधका रूपमा रहेको तालिबान सरकार ढल्नुपर्यो । सरकार ढलेसँगै तालिबानी प्रमुख नेता पाकिस्तान भागे ।
योसँगै अफगानिस्तानमा तालिबानको राजकाज उखेलिन थाल्यो । अमेरिकाको प्रत्यक्ष सैन्य हस्तक्षेपका बीच तालिबानले गर्नसक्ने केही थिएन । परिणामस्वरूप तालिबानको पहिलो शासनकाल सकियो ।
सत्ताकब्जापछि अफगानी राष्ट्रपतिकाे कार्यालयमा तालिबानी
यसपटक तालिबान पुनः अफगानिस्तानको सत्तामा पुगेको छ । लामो युद्धबाट उसले त्यहाँका राष्ट्रपति असर्फ गनीलाइ सत्ताच्यूत गरी सत्तामा आफ्नो वापसी सुनिश्चित गरेको हो । यसपटक तालिबानीले आफ्नो पुरानै कानुन दोहर्याउँछ वा तुलनात्मक रूपमा प्रगतिशील रवैया देखाउँछ सो भने हेर्न बाँकी छ ।
यद्यपि, अन्तर्राष्ट्रियय सञ्चारमाध्यमहरूले जनाएअनुसार तालिबान आफ्नो पुरानै ‘सरिया’ कानुन दोहोर्याउने योजनाका साथ काबुल पसेको छ । जसअनुसार महिला, अल्पसंख्यक र इतरविचारधारी अफगानिस्तानीहरूले आफ्ना हकअधिकारको ‘कुर्बानी’ दिनुपर्ने निश्चितप्राय देखिन्छ ।
एजेन्सीकाे सहयाेगमा । तस्वीरहरूः राेर मिडिया ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...