तालिबान लडाकुहरू हतियारसहित अफगान राजधानी प्रवेश गरेका छन् । अहिले तिनले मुलुक नै कब्जा गरिसकेका छन् । यो हतियारधारी समूह २०११ मा अमेरिकी हस्तक्षेप पश्चात सत्ताच्युत भएको थियो ।
जब मे मा विदेशी सैन्य शक्ति अफगानिस्तानबाट बाहिरिन शुरू गर्याे, तालिबानहरुले पश्चिमी समर्थित सत्तालाई परास्त गर्ने अभियान चलायो । यो पछिल्ला १० दिनमा तिनले कसरी एक पछि अर्को प्रान्तीय राजधानी कब्जा गर्दै आए भन्ने अल जजिराका संवाददाता मोहमद हदाद र एलिया चुघतइले टाइमलाइनमा देखाएका छन् । प्रस्तुत छ टाइमलाइन र ग्राफिक्सः
१५ अगस्ट, आइतवार
आइतवार, १५ अगस्टमा काबुल घेर्नु पहिला तालिबानले नाग्राहार प्रान्तको राजधानी जलालबाद लगायत सात प्रदेश राजधानी कब्जा गरेका थिए ।
१४ अगस्ट, शनिवार
तालिबान लडाकुले मुलुककै चौथो ठूलो तथा सबैभन्दा सशक्त सुरक्षा शक्ति सहितको शहर मजर–इ– सरिफ कब्जा गरेका थिए । यसबाट मुलुकको सिङ्गो उत्तरी भू-भाग तिनले आफ्नो पोल्टामा पारेका थिए ।
१३ अगस्ट, शुक्रवार
शुक्रवार तिनले दक्षिणी क्षेत्रको हेलमान्डको प्रान्तीय राजधानी लस्कार गा लगायत आसपासका ६ राजधानी कब्जा गरेका थिए । स्राेतका अनुसार, सैन्य तथा सरकारी अधिकारीहरू तालिबानसँग कुरो मिलाएर त्यस ठाउँबाट बाहिरिएका थिए । अन्य नाग्राहार प्रान्तको राजधानी जलालबाद लगायत सात प्रदेश राजधानी पनि तिनले नियन्त्रणमा लिएका थिए ।
त्यसैगरि, तालिबानले शुक्रबार नै पश्चिमको बादगीस प्रान्तको राजधानी क्वेल–ए–नाउ कब्जा गरेका थिए । केही महिना पहिला पनि तिनले यो राजधानी केही क्षणलाई नियन्त्रणमा लिएका थिए । तर, केही घण्टामै सेनाले नियन्त्रण फिर्ता लिएको थियो ।
शुक्रबार नै तालिबानले पश्चिमी घोर प्रान्तको राजधानी फेरुज–को लाई पनि नियन्त्रणमा लिएका थिए । त्यहाँ कुनै झडप नभएको अधिकारीले बताएका छन् ।
त्यसै दिन तालिबानले मध्य अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुल–ए–आलामकब्जा गरेका थिए र गभर्नर तथा शहरका जासुसी प्रमुखलाई नियन्त्रणमा लिएका थिए ।
दक्षिणको गरुजगन प्रान्तको राजधानी तेराकोट पनि कब्जा गरेका थिए । त्यहाँका गभर्नर काबुल भागेका थिए ।
दक्षिणकै जाबुल प्रान्तको राजधानी क्वालात पनि कब्जा गरेका थिए । यो एक हप्तामा तालिबानले जितेको १८ औँ प्रान्तीय राजधानी थियो ।
१२ अगस्ट
बिहिवार तालिबानले दक्षिणी अफगानिस्तानको गाज्नी प्रान्तको राजधानी गाज्नी कब्जा गरेका थिए । यो शहर राजधानी काबुलबाट १३० किलोमिटर दक्षिण–पश्चिम पर्छ । यहाँ ठूलै भिडन्त चर्किएको थियो ।
बिहिवार नै तिनले हेरात प्रान्तको राजधानी तथा मुलुकको तेस्रो ठूलो शहर हेरात कब्जा गरेका थिए । त्यहाँ दुई हप्तादेखि भिडन्त जारी थियो ।
त्यसैदिन तिनले कान्दहार प्रान्तको राजधानी तथा मुलुकको दोस्रो ठूलो शहर कान्दहार पनि कब्जा गरेका थिए । यो पहिलापनि तालिबानीहरुको पकड क्षेत्र मानिन्थ्यो । कान्दहारको पराजयले सरकारलाई ठूलो धक्का लागेको थियो ।
अगस्ट ११
बुधबार ताजकस्तान, चीनको सीमा नजिक पर्ने बादाखसान प्रान्तको राजधानी फैजाबाद तालिबानले कब्जा गरेका थिए । यहाँ ६ दिन देखि झडप चलिरहेको थियो ।
अगस्ट १०
मंगलबार तालिबानले मुलुकको दक्षिण–पश्चिमी फराह प्रान्तको राजधानी फराह कब्जा गरेका थिए ।
त्यसैदिन तालिबानले दुई घण्टाको भिडन्त पश्चात काबुलबाट २०० किलामिटर परको उत्तरी बागलान प्रान्तको राजधानी पुल–ए–कुम्री कब्जा गरेका थिए ।
अगस्ट ९
सोमबार तालिबानले मुलुकको उत्तरी प्रान्त समानगालको राजधानी आएबाक कब्जा गरेका थिए । यो चौथो दिनमा कब्जा गरेको छैटौं प्रान्तिय राजधानी थियो । थोरै मात्र तालिबानको उपस्थिति रहेको यो प्रान्त सुरक्षित प्रान्त मानिन्थ्यो ।
अगस्ट ८
अगस्ट ८मा तालिबानले मुलुकको उत्तरी प्रान्त सार–ए–पुलको राजधानी सार–ए–पुल कब्जा गरेका थिए । एक घण्टाको अन्तरमा सरकारले गुमाएको यो तेस्रो प्रान्तिय राजधानी थियो ।
त्यसैदिन तिनले मुलुकको उत्तरी प्रान्त कुन्दुजको राजधानी कुन्दुज पनि नियन्त्रणमा लिएका थिए । दुई लाख सत्तरी हजार जनसंख्या भएको कुन्दुज अफगानिस्तानको पाचौँ ठूलो शहर हो । यो मध्य एशियासँगको व्यापारिक नाका पनि हो ।
त्यसैगरी, तिनले मुलुकको उत्तरी ताखार प्रान्तको राजधानी तालुक्वान पनि कब्जा गरेका थिए । तिनले त्यहाँ केदीहरूलाई छुटाइदिएका थिए र सरकारी अधिकारीलाई भाग्न बाध्य पारेका थिए ।
अगस्ट ७
अगस्ट ७ मा तालिबानले कडा भिडन्त पश्चात मुलुकको उत्तरी प्रान्त जवजानको राजधानी सेबरगन कब्जा गरेका थिए
अगस्ट ६
अगस्ट ६ मा तालिबानले इरान र पाकिस्तानसँग सीमा जोडिएको निमरुज प्रान्तको राजधानी जारान्ज कब्जा गरेका थिए । तालिबानले कब्जा गरेको यो पहिलो प्रान्तीय राजधानी थियो ।
अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...