Author
अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेसनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या भएको स्थानीय प्रशासनले जनाएको छ । उनको हत्या अफगान तालिबान समूहले गरेको हुनसक्ने आशंका प्रशासनले गरेको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुसैले लिएको छैन ।
अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार, स्थानीय बुस्ट रेडियो स्टेसनका प्रधान सम्पादक ओमारी तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए ।
ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको जनाइएको छ । खानमा प्रेसले बताएअनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताए । घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरुसँग गरेको वाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिबानलाई आग्रह गरेका छन् ।
तालिबान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लाहरूलाई नियन्त्रणमा लिएको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ । पछिल्लो समय तालिबानको आक्रामक गतिविधिका कारण कैयौँ सरकारी फौज र निर्दोष नागरिकहरूको ज्यान गएको छ ।
त्यसैगरि, सेनासँगको भिडन्तमा अफगानिस्तानभर सोमबार मात्र करिब ७० तालिवान लडाकूको मृत्यु भएको सेनाले बताएको छ ।
गत वर्षको फेब्रुअरीमा अमेरिका र तालिबानबीच हस्ताक्षर गरिएको नयाँ शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाले ठूलो संख्यामा युद्धग्रस्त अफगानिस्तान छोड्न थालेको थियो । त्यसको केही समयपछि नै तालिबान समूहले ठूला तथा आक्रामक हमला गर्दै आइरहेको छ ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...