यो ६ वर्षको उमेरमा यस्तो लाग्छ हाफ टेल’ र ‘लोगोल’ले धेरै नै भोगिसकेका छन्, सिकेका छन् । समयले भन्छ – मार्सा सत्ता थेग्नको लागि अनि आफ्ना सन्तान–दरसन्तान फैलाउनको लागि अब उनीहरूसँग पर्याप्त युद्ध अनुभव र बहादुरी छ ।
२०२० को अन्त्यतिर मुसियारा क्षेत्रमा दुई नयाँ भाले सिंहहरू छिरे र तिनीहरूले मार्सा प्राइड (सत्ता)लाई नियन्त्रणमा लिए । ‘बिला साका’ भाले सिंहले छोडेर हिँडेपछि ऐतिहासिक मार्सा सत्ता वयस्क भाले सिंहविहीन भएको थियो ।
यी नयाँ भित्रिएका दुई भाले सिंह को हुन् र कहाँबाट आए त ?
यी दुई सिंहहरू ‘हाफ टेल’ र ‘लोगोल’ हुन् । यिनीहरू नातेदार भने होइनन् । यी फरक–फरक सत्तामा जन्मिएका सिंहहरू हुन् । अनि यिनीहरू केन्यास्थित ‘मासाइ मारा नेसलन रिजर्भ’को ‘ग्रेटर मारा’ क्षेत्रको एकदमै फरक भागमा हुर्किएका हुन् । पार्कको उपलब्ध रेकर्ड अनुसार, दुवै सिंह मार्च, २०१५मा जन्मिएका हुन् । हाफ टेल दक्षिण–पूर्वको ‘पुरुगाट’ सत्तामा जन्मिएको हो भने लोगोल ओएमसी क्षेत्रको ‘इसेकेटा’ सत्तामा जन्मिएको हो ।
यी दुवै ६ वर्षका भइसकेका छन् र यो यिनको प्राइम उमेर पनि हो । यिनीहरूले यहाँसम्म आइपुग्दा धेरै हन्डर खाइसकेका छन् ।
इसेकेटामा जन्मिएको लोगोल एउटा फिरन्ते एक्लो भाले सिंह भएको थियो । यसले ओएमसी क्षेत्रभित्र २०१९ मा हाफ टेलसँग साझेदारी बनायो । लोगोल ‘लोपार्पिट’ र ‘ओलबार्नोटी’को छोरो थियो । अरूभन्दा फरक, उसका आफन्तहरूको ठूलो र शक्तिशाली सत्ता हुँदाहुँदै पनि उ एक्लिन पुगेको थियो ।
अर्कोतिर, हाफ टेलले आफ्नै भाइसँग मिलेर २०१८ को अन्त्यतिर इसेकेटा सत्ता कब्जा गर्न खोजेको थियो । तिनले सत्ताका केही डमरुहरू मारेका थिए । तर, यो युद्धमा हाफ टेलको भाइ मारियो र तिनले हार्न पुगे ।
त्यसपछि, जुलाई–२०१९ देखि हाफ टेल र लोगो सँगसँगै हिँड्न थालेका थिए ।
हाफ टेल जन्मिँदा पुरुगाट सत्तामा ‘माटाजो’ प्रमुख सिंह थियो । माटाजो ‘जोय’ र ‘रोमियो’को छोरो थियो । माटाजोको भाइ ‘हासानी’ टाउकोको चोटका कारण अशक्त थियो । त्यसैले माटाजोले अर्को आगन्तुक सिंहसँग सत्ता साझेदारी गरेको थियो । यसैकारण पनि धेरैले हाफ टेललाई माटाजो वा उसको सत्ता–साझेदार अर्को भाले सिंह मध्ये एकको छोरो भएको आशंका गर्छन् ।
त्यसो त मारा नदीको अर्को पट्टी लेजेन्डरी सिंह ‘नोच’का सन्तानहरू बस्थे । यसमा नोच द्वितीय, सिजर, रोन र ग्रिमास जस्ता शक्तिशाली सिंहहरूको सत्ता साझेदारी थियो । उनीहरू पटक–पटक वारी–पारी गरिरहन्थे । २०१४ को नोभेम्बर–डिसेम्बरमा नोचहरूले पुरुगाट सत्तालाई नियन्त्रणमा लिएका थिए । त्यसैले ‘नोच द्वितीय’ हाफ टेलको बुवा भएको आशंका गर्नेहरू पनि छन् । तर यो आशंका मात्रै हो । किनकी, पुरुगाटका सिंहिनीसँग त्यो नोभेम्बर–डिसेम्बरमा नोचहरूले संसर्ग गरेको कुनै प्रमाण भने छैन ।
खैर, अहिले भन्नको लागि हाफ टेलसँग आफ्नै कथा छ । २०१७ को मध्यतिर हाफ टेल र उसको भाई ‘रोङ्गाई’ क्षेत्रमा देखा परेका थिए । हाफ टेलको शरीरमा चोटैचोट थियो भने पुच्छर टुक्रिएको थियो । त्यसपछि उसलाई हाफ टेल भन्न थालिएको हो ।
यी दुई भाइले त्यसपछि आफ्नो शक्ति र भाग्यको परीक्षण गर्दै ‘इसेकेटा’ सत्तामाथि धावा बोलेका थिए । जहाँ उनीहरू पराजित मात्रै भएनन्, भाइले ज्यान नै गुमाउनु पर्यो ।
त्यसपछि फेरि नयाँ साझेदार सिंह लोगोलसँग मिलेर हाफ टेल ‘इन्कोनाई’ सत्तासँग मिल्न खोजेको थियो । तर, यहाँबाट पनि लोपार्पिट र ओलबार्नोटीको समूहले तिनलाई लखेटेको थियो ।
लखेटिएका हाफ टेल र लोगोल एमएनसी क्षेत्रमा पुगेका थिए । अनि, ‘चेली’ सत्तामाथि जाइलागेका थिए । केही डमरुहरू मारेर उत्पात मच्चाएका थिए । तर नजिकैका ‘अफबिट’ सत्ताका चार सिंहहरूले त्यहाँबाट पनि तिनलाई खेदेका थिए । त्यहाँबाट उम्केर उनीहरू दक्षिणतिरको अफबिटकै सत्तामा पुगेका थिए । र, केही डमरुहरू मारेका थिए । २०१९को अन्त्यतिर, अलिक समय उनीहरू उक्त सत्ता कब्जा गरेर त्यहाँ सेटल पनि भएका थिए । तरफेरी, अफबिट सत्ताका सिंहहरू वा ‘कोर्टन आइल्याण्ड’का सिंहहरूमध्ये कुनैले तिनलाई त्यहाँबाट पनि लखेटेका थिए ।
जम्मा दुईवर्षको अवधिमा सत्ता कब्जा गर्न र जोगाउन हाफ टेलले लडेको पाचौँ र लोगोलले लडेको चौथो युद्ध थियो यो । यति हुँदाहुँदै पनि यी दुई ‘डन किहोटेहरू’ निराश हुँदैनन् ।
कोभिडको लक–डाउनको कारण २०१९ को अन्त्यदेखि २०२० को मध्यसम्म तिनीहरूले के–के गरे विस्तृतमा थाहा भएन । तर, २०२० को मध्यतिर हाफ टेल र लोगोलले ‘टोपी प्लेन’ सत्तामा कब्जा जमाए । त्यहाँ तिनले ‘बिलासाका’ वंशको ‘डोआ’ नाम गरेको सिंह र अर्को छुच्चो सिंह ‘जेसे’लाई लखेटेका थिए । आफ्नो सत्ता साझेदारी सिंहले छोडेर हिँडेपछि डोआ एक्लै सत्ता जोगाउन संघर्षरत थियो ।
तर, हाफ टेल र लोगोलले यो टोपी प्लेनको सत्ता पनि धेरै दिन टिकाउन सकेनन् । नजिकैको ‘रेकेरो’ सत्ताका तीन ‘साला–सिंह’हरूले आफ्नो शासन क्षेत्र विस्तार गर्न चाहे । गत अक्टोबरको एक मध्यरात साला–सिंहहरूसँग हाफ टेल र लोगोलको भयानक लडाइँ चल्यो । यो युद्धमा लोगोल एकदमै नराम्ररी घाइते भयो । तिनले फेरि एकपटक सत्ता गुमाए ।
केही हप्तामै यि सिंहहरू चोटमुक्त भए । तर, जम्मा दुई वर्षको अवधिमा सत्ता कब्जा गर्न र जोगाउन हाफ टेलले लडेको पाचौँ र लोगोलले लडेको चौथो युद्ध थियो यो । यति हुँदाहुँदै पनि यी दुई ‘डन किहोटेहरू’ निराश हुँदैनन् । र, २०२० को मध्यतिर हाफ टेल र लोगोल मुसियारा क्षेत्रमा आइपुग्छन् । त्यहाँ बस्नेमा उनीहरू निश्चित देखिन्छन् । अहिले त्यहाँ उनीहरूले अफ्रिकाकै ऐतिहासिक ‘मार्सा’ सत्ता सम्हालिरहेका छन् । यिनीहरू अब यहाँ ‘याया’ परिवार र त्यहाँको ‘लिटिल रेड क्लब’सँग जोडिएलान् जस्तो छ ।
यो ६ वर्षको उमेरमा यस्तो लाग्छ तिनले धेरै नै भोगिसकेका छन्, सिकेका छन् । समयले भन्छ –मार्सा सत्ता थेग्नको लागि अनि आफ्ना सन्तान–दरसन्तान फैलाउनको लागि अब उनीहरूसँग पर्याप्त युद्ध अनुभव र बहादुरी छ ।
(यो आलेख पेटर रेटिङ्गको सहयोगमा तयार गरिएको हो, सिंहविद् रेटिङ्ग मासियामाराकै सिंहहरूको व्यववहार नियालिरहेका छन् । मासाइ मारा नेसलन रिजर्भ अफ्रिकाको केन्यामा छ ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...