एजेन्सी - भारतमा पाइन्ट लगाएकाे भन्दै एक किशाेरीकाे हत्या भएकाे छ । गत साता उत्तर प्रदेशस्थित १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले पाइन्ट लाएकाे निहुँमा कुटेर हत्या गरेका हुन् ।

उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसीलाई बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेका थिए ।

उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो । त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ ।

उनकी आमा शकुन्तलादेवीले भनिन्, 'ऊ दिनभरि व्रत बसेकी थिई । साँझमा उसले जlन्स र टप लगाएर पूजा गरी। उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए । नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताई ।'

पहिरनकाे विषयमा विवाद बढेपछि त्यसले हिंसाको रूप लिएको उनले बताइन् । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए ।

उनले भनिन्, 'उनीहरूले मलाई सँगै जान दिएनन्। त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ । उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन् ।'

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन् । त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो ।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका(काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ । बीबीसी हिन्दीकाे सहयाेगमा 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार