सिसेक्पा तङ्नाम् अनिकाल जाओस र सहकाल आओस् भन्ने विश्वासका साथ अनादिकालदेखि असार/श्रावण महिनामा लिम्बू समुदायमा मनाइने एक महत्वपूर्ण चाड हो तर पछिल्लो समय सामूहिक सहभागिताको लागि श्रावण १ गते मनाउने प्रचलन बढेको छ ।

यस चाडमा साँझको समयमा सिस्नु, अगुल्टो र राँको सहितको युवा युवतीहरूको समूहले गाउँ/टोलका प्रत्येक घरमा पसी थाल र नाङलो ठट्याउँदै “साक्नाम् पेगो, हिङनाम् त्येओ, साक्नाम् पेरो, हिङ्नाम् त्येरो” अर्थात् अनिकाल जाऊ, सहकाल आऊ, अनिकाल गयो है, सहकाल आयो है भन्दै कुनै वस्तुलाई पश्चिमतर्फ लखेटे झैँ गरी घरभन्दा केही पर बीच बाटोमा अगुल्टो र राँकोसँगै सिदिङ्बाको काँडा, युक्मिबालाई थुपारेर अनिकाल/दुःख फेरि नआओस् भनी बाटो छेक्ने काम गरिन्छ । यस विधिलाई “साक्लाम्धेक” भनिन्छ ।



त्यसपछि खुट्टाको कुर्कुच्चालाई भुइँमा थेचारे झैँ गर्दै फेरि भनिन्छ, “साक्नाम पेगो, नाना पेगो, याम्मो मेनोःक्खेन्नो, कत्ना मेनोःक्खेन्नो, आधिङगानि केजोःकर मिधुप् केजारो, चिधुप् केजारो खेच्छिङेओ” अर्थात् अनिकाल जाऊ है, परपर जाऊ है, फेरि फर्केर नआऊ है, यता नआऊ है, अटेर गरेमा अगुल्टोले पोलाई माग्लास्, काँडाले घोचाई माग्लास्, भाग है भनी थुपारिएको आगोलाई भुरभुर पार्दै अनिकाललाई बाटो छेक्ने काम गरिन्छ ।

त्यसपछि घर घरमा बाबियोको डोरीमा सानो कुचो, नयाँ अन्न, फलफूल, खुर्सानी, कुरिलो, सिस्नु, सिदिङबा, युक्मी आदिको माला बनाई घरको मूल ढोकामाथि झुण्ड्याइन्छ । यस मालालाई लिम्बू भाषामा “साक्नाःत्पोना/साक्चियोःङबा” भनिन्छ । यो चाडमा विशेष गरी अनिकालको विदाइ र सहकालको आगमनको स्वागतको रूपमा मनाइने हुनाले यसलाई “साक्नाःप्मा तङ्नाम्” अर्थात् अनिकाल खेद्ने चाड पनि भन्ने गरिन्छ ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दिल 'पकन्दी' आङ्देम्बे

लेखकबाट थप...