वैशाखको महिना दाङको फाँटहरू छोडी कसैलाई नभनी रोल्पा उक्लिएँ । बिहान दाङमा उदाउँदाको चर्को घामलाई रोल्पाको सुलिचौर पुग्दा भने बाढलले ढाकिसकेको हुन्छ । यता केही दिनदेखि लगातार पानी परिरहेको रहेछ । चर्को गर्मीबाट म एकैदिन चिसो जेल्बाङ पुग्छु । वनपाखा सबै उराठ लाग्दो छ । हरियाली हुनुको ठिक अघिको चरम शून्यतामा छ परिवेश ।
ठिक १६ वर्ष पछि रोल्पा छोडेको महिना मै गाउँ फर्किएको छु । हुन त यो बीचमा धेरै पटक आउने जाने भइरहेकै थियो । जहिल्यै हतारमा हुने हुनाले मजाले धित मरुन्जेल बस्न पाइँदैन थियो । शहरको रफ्तारको जिन्दगीमा रफ्तारले भाग्न नसके जिन्दगी त्यही अड्किने भ्रमले कुदिरहनु पर्छ । पढाई, काम, भविष्यको नाउँमा ।
सानो हुँदा गाउँ छोड्नुको विचलित मानसिकता याद छैन मलाई । कहिले लिगलिगे र बुझु गोङ धुरीभन्दा पारी पनि अर्को संसार छ भनेर थाहा नपाएको मलाई शहर जानु, बस हेर्नु, बजार हेर्नुको उत्सुकता थियो । तर गाउँ फर्किदा भने म सँधै एकप्रकारको शान्ति महसुस गर्छु । मलाई झल्झली बचपन याद आउँछ । आँखै अगाडि पुरानो धुलो मैलो घाघर लगाएको टाउँकोमा क्षमता भन्दा गह्रौँ भारी बोकेर त्यो निर्दोष सानी संगीत कहिले खर्सुबाङ उक्लिन्छिन् । कहिले चाँप झर्छिन् कहिले खोलाबाट ढाइ लिटरको जर्किनमा पानी ओसारेर रैथाने गोठमा राखेको तामाको गाग्री भर्छिन् अनि खाली खुट्टा ऊनीको धागोले काकुले कुरुशले बुनिदिएको झोला भिरेर हातमा खरी-पाती बोकेर स्कुल पुग्छिन् । आँखा धमिलो हुन्छ सानी संगीत हराउँछिन् आँखा अगाडिबाट ।
आउनुहुन्छ माइजुहरू, कान्सीहरू, काकुहरू, बुजुहरू र आउँछन् लकडाउनले गाउँ फर्किएका बेन्जुका एक हुल ।
खबर नै नगरी गाउँ आएको मलाई देखेर माइजुहरू गाउँलेहरू खुसी हुनुभयो शुरूका दिनमा । उहाँहरूलाई लागेको थियो, लकडाउन चाँडै सकिने छ र म चाँडै दाङ फर्किने छु । किनभने गाउँमा म बस्न सक्दैन भन्ने डर थियो । निकै वर्ष बजार बसी मम, चाउमिन खाएर हुर्केको गाउँको भुटेको मकै भट्ट, उसिनेको आलु, कोदो र फापरको रोटी खाएर अब गाउँको जिन्दगी बाँच्न सक्दैन भन्ने उहाँहरूको ठम्याई थियो । फेरि मेरो उमेरका कोही साथी थिएनन्। भएकाहरू पनि बिहेबारी गरि शहरतिरै बसाइसरिसकेका थिए । लकडाउन थपथप भइरह्यो । माइजुहरू मलाई अप्ठ्यारो लाग्छ कि भनेर सोधिरहनु भयो । म भने उहाँहरू काममा जताजता जानुहुन्छ उतैउतै जान खोज्थेँ । गाउँका आफन्तहरूसँग गफ गर्थेँ, घन्टौँ । यो चुप लागेर बस्ने खालकी छैन रैछ भन्ने भएपछि माइजुलाई भान्जीलाई बाहिरको काम गर्न अप्ठ्यारो होला भनी मलाई भन्स्यार बनाइदिनु भो । मैले बताउन पनि सकिनँ मलाई भान्छामा काम गर्नु मन पर्दैन भनेर । मन लागीनलागी खाना पकाउने काम गरेँ । उहीँ शहरको कोठामा एक्लै बस्दा बाध्यातामा परेर पकाए जसरी।
मास्तरनी नोकरी
शहर बस्ने भएपछि गाउँमा सोधिने प्रश्न, 'कतिमा पढ्छौ ?'
म उत्तर दिन्छु, 'स्नातक सकियो, अब मास्टर्स पढ्ने कि नपढ्ने सोच्दैछु ।'
उहाँहरू प्रश्न गर्नुहुन्छ, 'त्यो भन्या कति हो ? म १२ कक्षा पछिको ४ वर्षलाइ वार्षिक रूपमा गन्छु र उत्तर दिन्छु । '१६ ।'
अनि सोधिन्छ, 'कता पढाउँछौ ?' मैले उत्तर दिन्छु । 'मैले पढाउँदिन।' उहाँहरू अचम्म मान्नु हुन्छ । 'यत्ति पढेर पनि किन नोकरी नखाएको ?' गाउँमा पढ्नु भनेकै नोकरी खानु हो र नोकरी खानु भनेको नै पढाउनु हो । म उत्तर दिन्छु मेरो विषय पढाउने वाला होइन । उहाँहरू अचम्म मान्नुहुन्छ, नपढाउने पनि नोकरी हुन्छ र ?
म हुन्छ नि मात्रै भन्न सक्छु।
खर्सुबाङ
गाउँ आइसकेपछि जलजला जाने योजना बन्न थाल्छ । सँगै जानलाई कोन्जा (फुपुको छोरीलाई भनिने साइनो) लाई सोध्छु, उनले खर्सुबाङ्को आलु गोडेर मात्रै जान पाउने भनिन् । खर्सुबाङ ? समय देड दशक पछाडि पुग्छ घडीको सुइ उल्टो घुमाए जसरी । अँध्यारो हुन्छ, चारैतिर म कुनै फिल्म हलमा छु जस्तै महसुस हुन्छ । दृश्यमा उहीँ सानी संगीत आउँछिन । घरदेखि डेढ घन्टा उकालो चढेपछि खर्सुबाङ आउँछ । त्यहाँ उनीहरूको एउटा रैथाने गोठ जहाँ असार अन्तिममा गाईवस्तु चराउन लैजान्छ्न् । पानी पाइँदैन यसैले वर्षातको पानी ढोँंथमा (काठलाई चिरेर पानी थाप्न बनाइएको) पानी भरेर खान्छन् । उसको भाइ गर्भमा हुँदा बुकी घाँस काट्न जाँदा आबै भिरबाट लडेर बल्लबल्ल बाँचेर आउँछिन् । सानी संगीत आमासँगै गाई चराउन जाँदा वनजंगलमा जानीनजानी नेपाली भाषाको गीत गाउँछिन् । जुका पनि फाल्न नसक्ने त्यो सानीलाई आबै साथ हुँदा टिमुर खाएर थुक खुट्टा भरी लगाएइदिएर जुका मारिदिन्थिन् तर आबै नहुँदा भने खुट्टाका जुका अघाएर आफैँ झर्थे । उसको दिदीलाई भने गुलेली लिएर चरा मार्न हिँड्ने सौख हुन्छ । एकदिन दाउरा नकाटेर दिनभरी चरा मारेर चारवटा फिस्ता चरा चुल्हो छेउ राखेको देखेर आफैँले साँझ ग्वालाबाट फर्किएर खुब पिट्छिन् । गोङमा हुँदा भने त्यता खेतीपाती नगर्ने हुनाले दिउँसो ग्वाला जाने अनि साँझ बिहान पोखरीमा आलु पकाएर उसिन्नु । दिदीसँग खेल्नु बाहेक अरू काम हुँदैन । खाली समय दिदिबहिनी लेकसल्लाबाट तानातान खेल्छन् । काकुहरूको भैंसीमाथि चढेर बाङ भरि घुम्छ्न् । त्यहीबाट त हो उसले पहिलाेपटक टाढैबाट भए पनि गाडी देखेको । उसको आबैले सातदोबाटोमा गुडिरहेको गाडी देखाएको । यसैले सानी संगीतलाइ खर्सुबाङ साह्रै मन पर्छ ।
समय वर्तमानमा आउँछ । आँखा अगाडिबाट त्यो दृश्य हेर्न म पुग्छु खर्सुबाङ । त्यो सानी संगीतको रैथाने गोठ भएको ठाउँ तर त्यो ठाउँमा हेर्दा यहाँ कहिले एउटा गोठ थियो भन्ने कुनै नामो निसान थिएन सम्बन्ध होस् या भवन स्याहार गर्न छोडिएपछि भत्किँदो रहेछ । गोठ भत्किए पनि गोठ वरिपरिका खर्सुको बोटहरू भने त्यहीँ थिएँ अलि बुढो भएर होला अलि अग्ला भएका थिए ।
बनमाराले खाएको जमिन
तराइमा जग्गा एकै ठाउँ हुने गर्दछ । तर पहाडमा सानो-सानो धेरै ठाउँ हुन्छ । कतै आधा टुक्रा कतै एक सिर्का कतै अलि धेरै । त्यो मध्ये आलु खर्क भने प्रायः एकै ठाउँ अलि धेरै हुने गर्दछ । गाउँमा बासिन्दा कम छन्, त्यसैमाथि युवा जनशक्ति कम छ । यसैले खेतीयोग्य जमिनहरू सबै बाँझो देखेँ । ती सुलिचौरदेखि जेल्बाङ जम्मा २५ किमीको बाटो हो तर २ घण्टा लगाउनुपर्ने हुन्छ, जेल्बाङ पुग्न । त्यो पनि बर्खाको बेला भर नै हुँदैन ।
शहरमा हुन्छ, नियम कानुन क्षमता भन्दा बढी बोक्नु हुँदैन, छतमा बसाल्नु हुँदैन आदि इत्यादि । तर, गाउँ नियम कानुन भन्दा पनि पर छ । उहीँ क्षमता भन्दा बढी यात्रु, भिरको बाटो छतभरि पनि यात्रु । ड्राइभरले अलिकति मात्रै सन्तुलन गुमायो भने पनि जीवनको आशा मार्नुपर्ने यात्रा । बाटो खनिएको वर्षौं हुँदा पनि उहीँ कच्ची मोटर बाटो ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने ।
यहि गाउँलेको बलिदानीले माओवादी सत्तामा पुग्यो तर गाउँलेहरूको जीवन उहीँ साँघुरो भिरको कच्ची बाटोमै चलिरहेको छ । मन्त्रीहरूको घर आँगनसम्म पक्की बाटो बन्दा सिङ्गो गाउँ एकोहोरो सवारी पासको साँघुरो बाटोमा यात्रा गरिरहेछन् ।
देशमा ५ जीको कुरा चलिरहँदा गाउँ अझै २ जी मै छ । जब विकासको नाममा मोटर बाटो गाउँसम्म पुग्छ । बाटोले जीवन सहज बनाउँछ । मोटर बाटो गाउँ पुग्दा बाटो मात्रै पुग्दैन, धेरै कुरा गाउँ लिएर जान्छ । जब मोटर बाटो गाउँ पुग्छ । हराएर जान्छ गाउँको आदिम सौन्दर्य । घरमा बनाइने लोकल छ्याङ्लाई प्रतिस्थापन गरिदिन्छ । बियरले
चिसो पानी र गाईको दूधलाई विस्थापित गरिदिन्छ कोकाकोला फ्यान्टाले भुटेको मकै, पोलेको आलु र भटमासलाई विस्थापित गरिदिन्छ पपकर्नले, मोमो चाउमिनले । जब गाडी गाउँसम्मै पुग्छ तब शहरको उसिना चामल गाउँसम्म पुग्छ र गाउँको जौँ, गहुँ, मकै गाडी चढेर शहर पुग्छ र शहरमा ओट्स बन्न थाल्छ महँगो होटेलमा महँगाे ढिँढो बन्न थाल्छ र फेरि खाने आँट गर्न सक्दैनन् जसको पसिनाले उब्जिएको थियो त्यो अन्न ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...