र्खरै झापा कन्काई नगरपालिका पाँच ट्याक्रा भन्ने ठाउँमा बलबहादुर विश्वकर्माको कथित उपल्लो जातका छिमेकीले निर्घात कुटपिट गरि  हत्या गरे । झापाको कन्काई आफैँमा पुरानो कम्युनिष्ट ‘लाल किल्ला’ हो र त्यो ठाउँ पञ्चायत कालदेखि नै प्रगतिशिल विचारको लागि अग्रणी मानिन्छ । तर अब त्यहि कथित लाल किल्ला मानिएको क्षेत्रको सामाजिक चेतना कुन दिशातिर डोहोरिरहेको छ भन्ने कुरा यहि पछिल्लो घटनाले छर्लङ्ग पारेको छ ।  

त्यसो त कन्काई (सुरुङ्गा)मात्र होइन, कुनै दिन नक्सलाइट आन्दोलनबाट प्रेरित भएर ऐतिहासिक झापा विद्रोह सुरु भएको आधुनिक नेपालको सबैभन्दा जुझारु र प्रगतिशिल कहलिएको झापा आफैँ प्रतिगामी चेतनाको इपिसेन्टर भएको छ भन्दा कुनै अनर्थ लाग्दैन । अहिले त्यही झापा विद्रोहका नाइके यो मुलुकको  शक्तिशाली प्रधानमन्त्री छन् । उनी ब्रह्माणवादको पृष्ठपोषण  गर्दै मुलुकभर हिन्दु मन्दिर निर्माणमा जुटिरहँदा उनकै गृह जिल्लामा दलितमाथि कथित उपल्लो जातका मानिसहरुले जातिय पुर्वाग्रह राखेर एक पछि अर्को साङ्घातिक हमला गरिरहेका छन् । यसै वर्ष झापामा राष्ट्रिय खेलाडी एक गर्भवती महिलामाथि पनि उपल्लो जातका भनिएका छिमेकीहरुले अस्पताल भर्ना गर्नपर्नेगरी कुटपिट गरेका थिए । झापामा मात्रै जातिय विभेद, उत्पिडन तथा कुटपिटका दर्जन बढी केसहरु यसै वर्ष मात्र बाहिरिएका छन् । 

मधेसको हालत झापाको भन्दा पनि दर्दनाक छ । एक वर्ष यता यो कोरोना कहरबीच मधेसमा मात्रै दर्जनौं दलित मारिएका छन् । नौ जना दलित युवा त प्रहरी हिरासतभित्र मारिएका छन्, र अधिकांश केसमा अन्यको अपराध कबुल गराउने प्रपञ्चमा प्रहरी प्रशासन अर्थात् राज्यकै संयन्त्रको यातनाद्धारा मारिएको आरोप लागिरहेको छ । यसका विरुद्ध न्यायको लागि मधेसका यो वर्ष थुप्रै आन्दोलनहरु पनि गरिए । तर दलित त्यसमा पनि ‘मधिसे’ मारिएको विषय अरु संरचनात्मक लाभांशको स्थानमा बिराजमानहरुले सुनिदिने, बुझिदिने र बोलिदिने त परको कुरा स्वयम् पहाडिया दलितलाई समेत यसको गाम्भिर्यताले छोएन । संचार माध्यमलाई समेत यो उठाइरहनुपर्ने विषय हो जस्तो लागेन ।

अझ चार तहको सिमान्तकृत स्थानमा अवस्थित विपन्न,मधेसी,दलित,महिलाको अवस्था झनै कहाली लाग्दो छ । उदाहरणको लागि यसै वर्ष रुपन्देहीमा दलित किसोरी बलात्कृत हुन्छिन् र पञ्चायत आफैँले उल्टो पिडित किशोरीलाई कथित उपल्लो जातको बलात्कारीलाई नै जिम्मा लगाउँछ । भोलिपल्ट किसोरीको रहस्यमय मृत्यु हुन्छ । समाजका यि जघन्य अपराधहरु, महिला तथा दलितमाथि भएका हिंसा र दमनहरु कसैको आँखामा पर्छ भने यसैलाई धन्दाको रुपमा भजाएर खाने एनजिओ/आइएनजिओकर्मीहरुको आँखामा पर्छ । नत्र यो मुलुकका नागरिक, पेशाकर्मी, राजनितिज्ञ, कर्मचारी, प्राध्यापक तथा कथित प्रबुद्ध वर्ग कसैको पनि चासो र सरोकारमा यि विषयहरु पर्दैनन् । र, प्रष्टसँग भन्नुपर्दा यो इतिहासदेखि आजसम्म निरन्तर चलिरहेको पासविक अपराधमा समाज र राज्यले सिर्जेको संरचनात्मक विभेद जत्तिको जिम्मेवार छ, उच्च जातिय अहंकारको परम्परा जत्तिको जिम्मेवार छ त्यत्तिनै जिम्मेवार छ यो मुलुकका नागरिक, पेशाकर्मी, राजनितिज्ञ, कर्मचारी, प्राध्यापक तथा कथित प्रबुद्ध वर्गको अपराधप्रतिको उदासिनता र मौनता ।

यदि ईतिहासदेखि आजसम्म यो तप्काले मौनता साँधेर नबसेको भए दलित भएकै आधारमा यो महामारीमा अस्पताल र आइसोलेसनभित्र मारिने थिएनन् शम्भु सदाहरु । राज्य र समाजको संरचनात्मक विभेद, उच्च जातिय अहंकार तथा प्रबुद्ध मानिएको संरचनात्मक लाभांशको स्थानमा विराजमान तप्काहरुको उदासिनताकै कारण यो मुलुकमा कति शम्भु सदा, अङ्गिरा पासी, तथा बलबहादुर बिश्वकर्माहरु मारिए, मारिरहेका छन् र अझै कति मारिनेछन् ? यो संख्याको पनि कुनै लेखाजोखा छैन । तथ्याङ्क छैन । जातिय अहंकारको धेरै भन्दा धेरै बर्बर र पासविक दृश्यहरु यसै वर्ष बाहिरिए । कानुनले जातिय विभेद गर्नेलाई कडा दण्डको व्यवस्था गरेको छ । तर कानुनको उपहास गर्दै दलितलाई विद्यापिठमा भर्ना लिन हुँदैन भन्दै कथित उपल्लो जातको सिङ्गो समाज र समुदाय यसै वर्ष निर्लज्जसँग विरोधमा उत्रियो । एउटा आइसोलेसनमा बसेको ताङ्गाधारी ब्राह्मणले मुलुकको संविधान र कानुनलाई नै दुत्कार्दै तल्लो जातकाले पकाएको खान्न भन्न सक्यो । मानौ कथित उपल्लो जातमा जन्मनु भनेको कानुन भन्दा माथि हुनु हो, सर्वोच्च हुनु हो । 

जातिय विभेदको जरो तीन हजार वर्षभन्दा लामो छ । तर एउटा कुरा के प्रष्ट देखिएको छ भने यो पछिल्लो दुई/तीन वर्ष यता यो विभेद विगतको तीन दशकयताकै सबैभन्दा उच्चतम बिन्दुमा पुगेको छ । जातिय विभेद र हिंसाका घटनाहरु मुलुकमा अकल्पनियसँग बढेका छन् । यसले हाम्रो राज्य, समाज र मानसिकताको प्रतिगामी यात्रालाई उजागर गरिदिएको छ ।

अझ अर्को टिठलाग्दो विषय त यो छ कि माथि उल्लेखित सबै प्रतिनिधी घटनाहरु आततायी रुकुम नरसंहार पछि घटेका हुन् । अघिका होइनन् । डरलाग्दो कुरो रुकुम नरसंहारले जातिय विभेद र हिंसालाई हतोत्साही गर्नको साटो उल्टो मलजल गरेको पाइयो । उक्त घटनाले कथित उच्च जातिय अहंकारलाई थप उत्साहित गरेको देखिन्छ । किन त ? एकछिन रुकुम नरसंहार पछि सिर्जित परिस्थितितिर फर्कौं । घटनाको विरुद्ध व्यापक स्वरहरु उठ्यो । खासमा जातिय अहंकार र ब्राह्मणवादी चिन्तनकै कारण आजसम्म पनि जातिय विभेद र छुवाछुत कायमै छ । यसकै परिणाम थियो त्यो घटना । तर यो सामाजिक संरचना विरुद्ध उठेको आवाजलाई दमन गर्ने ध्येय स्वरुप ब्राह्मण संघले घोर प्रतिगामी विज्ञप्ती समेत निकाल्न भ्यायो ।

त्यतिमात्र होइन सामाजिक संजालमा समेत एउटा ठूलो जातिय अहंकारधारी समूह जातिय विभेद विरुद्धका स्वरहरुको प्रतिकारमा उत्रियो । अहिले पनि त्यतिबेलाको सामाजिक संजालका प्रतिक्रिया बसेर केलाउन सकिन्छ । त्यतिबेला ब्राह्मणबादी अहंकार ओकल्ले मध्ये धेरैजसो त पूर्वको झापाका थिए । तिनमा पनि प्रधानमन्त्री ओलीका चुनाव क्षेत्र आसपासको संख्या अझ उल्लेख्य देखिन्थ्यो । जातिय अहंकार र दम्भलाई मलजल गर्ने सबैभन्दा प्रतिगामी शक्ति वा बिम्ब को हो भन्ने त यसैबाट प्रष्ट हुन्छ ।  ‘सशस्त्र द्वन्द र जनआन्दोलनताका हाम्रो केही हदसम्म डिग्निटी थियो, अहिले स्थिति झन् विकराल बन्दैछ’ एकजना दलित अभियानाताले भर्खरै सुनाएका थिए । हो, कम्तिमा त्यतिबेला बन्दुकको त्रासका कारण पनि कथित उपल्लो जातिका मानिसहरु जातिय दम्भ ओकल्दै दलितलाई विभेद र दमन गर्न हच्किन्थे ।

अहिले पनि संविधानले जातिय विभेद त बर्जित गरेको छ तर पनि उच्च जातिय अहंकार आकासिँदो छ र जातिय हिंसा र विभेद समाजमा चुलिएको छ । किन त ? माओवादी आन्दोलनले धेरै हदसम्म सिमान्तिकृत र उत्पिडित वर्गमा विद्रोह र अधिकारको चेतना त दियो । तर सँगसँगै यसले लैङ्गिक, जातिय तथा वर्गिय हिसाबले संरचनात्मक लाभांशको स्थानमा रहेकाहरुलाई भने नराम्ररी चिँड्यायो । यिनै लाभांशधारीहरु तलदेखि माथिसम्मका सत्तामा अहिले पुगेका छन् । र, यही तप्का उत्पिडितहरुमा आएको त्यो चेतनाको इख साँधेर अहिले तलदेखि माथिसम्मनै दलितजस्ता सिमान्तिकृत जाती तथा सम्प्रदायसँग बदला साधिँरहेका छन् । त्यसैले त सरकार (केन्द्रिय सत्ता) सिमान्तिकृतहरु कहिल्यै माथि नउठुन् भन्ने मनासायले तिनको आरक्षण प्रणालीमाथि प्रहार गर्छ । अनि स्थानियस्तरमा टोल–टोलमा दलितहरुलाई निर्घात कुटपिट गरि मारिन्छ । मानौँ उच्च जातिय अहंकार र यो सत्ताको सोझो सम्बन्ध छ ।

सत्ता मात्रै होइन । समाजमा एउटा ठूलो उच्च जातिय बौद्धिक तप्का पनि छ । तर यो तप्काले सँधै दलितका समस्या र उत्पिडनको बेवास्था गर्दै आएको छ । कतिसम्म भने कतिपय यो जमात अश्वेतमाथिको संरचनात्मक दमन विरुद्ध अमेरिकामा उठेको ‘ब्ल्याक लाइभ्स म्याटर’प्रति खुलेर आत्मरत्तिमा रमाउन पछि परेनन्, तर ताजुबको विषय तिनको लागि समकालिन नेपाली ‘दलित लाइफ्स म्याटर’ अभियानको कुनै अर्थ रहेन । बरु तिनीहरु यो अभियानलाई तुहाउन विषयान्तर गर्दै विभिन्न फण्डा झिक्न पछि परेनन् । ब्राह्मण संघको विज्ञप्तीको पछिको चुरो कुरो पनि जातिय अहंकार जिवितै राख्दै विभेदपुर्ण समाजको पृष्ठपोषण गरिरहनु हो । र, यति बुझ्न यस्ता उच्च जातिय तथा धार्मिक संघसंस्थाले इतिहासदेखि आजसम्म पनि गरिरहेको दलित विरुद्धको संरचनात्मक हिंसा र जातिय विभेदप्रतिको पृष्ठपोषण  तथा शासकको अत्याचार प्रतिको समर्थन नै काफी छ । सोध्न मन लागेको कुरा राजनितिक आस्थाकै कारण टंक प्रसाद आचार्य लगायतकाको जहानिय राणा शासनले जात हरण गर्दा यो ब्राह्मण संघले कुनै विज्ञप्ती निकालेको थियो कि थिएन ?

पाखण्डीपना धर्मभिरुहरुको अर्को खास बिशेषता हो । जब हिन्दु धर्म र जातिय विभेदको विषय उठ्छ कथित उच्च जातिय धर्मभिरुहरु पाखुरा सुर्कदै कुर्लन्छन्, ‘हिन्दु धर्मले कहाँ छुवाछुतको कुरा गरेको छ ?’ हिन्दु धर्मले छुवाछुतको पृष्ठपोषण गर्छ या गर्दैन यो खुट्याउने जिम्मा पण्डितहरुकै भयो । तर जगजायर यो छ यही हिन्दु धर्मका आधारमा गरिने सम्पुर्ण देव तथा पितृ कार्यमा कथित उपल्लो जातकाहरु जातिय विभेदको पराकाष्टा देखाउँछन् ।  उनीहरु निर्लज्ज भएर कुतर्क गर्छन्, ‘मेरो घरभित्र मेरो मर्जी !’ विभेद चाहे तिम्रो घरभित्र गर या बाहिर समाजमा, मनभित्र गुम्स्याएर राख या बाहिर छरपष्ट पार, विभेद भनेको विभेद नै हो । यो अमानवीय अत्याचार हो, अन्याय हो, जघन्य अपराध हो । यति भन्न जिब्रो चबाइरहनु पर्दैन । 

हो, संसारका हरेक कुनामा विभेद छ । तर एकै सम्प्रदाय, एकै समुदाय स्वनश्लभित्र जुन अमानवीय विभेद हिन्दु धर्मावलम्बीहरुले दलितमाथि हजारौं वर्षदेखि गर्दै आएका छन् । यस्तो विभेद अन्य मानव समाज त के जनावरको जगतमा पनि हुँदैन ।

कहिले रोकिएला त नेपालको यो सिलसिलेवर दलित ‘जेनोसाइड’ ? जवाफ हावामा रुमल्लिरहेको छ । कहिले बडारिएला त यो भूमीबाट अमानवीय जातिय विभेद ? जवाफ हावामा मडारिरहेको छ । घरीघरी प्रिय कवि/गायक बब डिलनको सम्झना आउँछ । यि हजुरबुवा उमेरका डिलनको होइन, ति बिस वर्षे भाइ उमेरका डिलनको । सोलो गितार लिएर उनी गाउँदैछन्ः ‘मान्छे कहलिनु अघि उसले कति धेरै यात्रा तय गर्नपर्ला ? केही मानिसहरु स्वतन्त्र हुनु अघि अझै कति वर्षसम्म बाँचिरहनुपर्ला  ?' अनि कतिपटकसम्म एक मानिसले केही नदेखेझैँ गरी आफ्नो मुन्टो अन्तै बटारिरहन सक्ला ? जवाफ हावामा रुमल्लिरहेको छ ।’

डिलनकै भाषामा भन्नुपर्दा, हाम्रा आम नागरिक, पेशाकर्मी, राजनितिज्ञ, कर्मचारी, प्राध्यापक तथा कथित प्रबुद्ध वर्गले आफ्नै आँखा अघिल्तिर भइरहेको सिलसिलेवर दलित कत्लेआमलाई देख्नको लागि अझै कति धेरै दलितहरु मारिनुपर्ने हो ? अनि उच्च जातिय अहंकारको नशाले  मात्तिएको हाम्रो राज्य, समाज र आम उच्च जातिय धर्मभिरुहरुलाई इतिहासदेखि आजसम्म आफुले गर्दै आएको जातिय विभेदको जघन्य अपराध बोध हुन अघि अझै कति धेरै दलितहरु मारिनुपर्ने हो ? जवाफ हावामा रुमल्लिरहेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

युवराज भट्टराई

लेखकबाट थप...