कथित उच्च जातीय अहंकारबाट ग्रसित व्यक्ति र समाजलाई भ्रम भयो– साँच्चिकै तिनको आकाश खस्दैछ– मानौँ महाप्रलय आउँदैछ, तिनको अस्तित्व नै नामेट हुँदैछ । तिनलाई लाग्यो रुपा सुनारको उजुरीले अब पृथ्वीमा अर्को एपिक्यालिप्टो निम्तदैछ ।
- युवराज भट्टराई
फिल्म रेभेनान्टबाट गोल्डेन ग्लोब्स अवार्ड हात पारेपछि अभिनेता लियोनार्दो डिकाप्रियोले उक्त अवार्ड सम्पूर्ण अमेरिकी आदिवासीप्रति समर्पित गरेका थिए । इतिहासमा उनका स्वेत आप्रवासी पुर्खाहरूले आदिवासी भूमिको जल, जमिन, जंगल तथा त्यहाँको आदिवासी तथा तिनका भाषा, संस्कृतिमाथि भएका हस्तक्षेपलाई लिएर माफी मागेका थिए ।
त्यस्तै जे एम कोट्जीको बहुचर्चित उपन्यास छ, 'डिस्ग्रेस' । तीनजना स्थानीय अश्वेतहरूको हिंसामा परेकी स्वेत पात्र बुवाले जति कर गरेपनि घटनालाई लिएर उजुरीमा जान्न । उसले आत्मसाथ गरेको कुरा के हो भने इतिहासदेखि नै श्वेत औपनिवेसिकहरूले अश्वेतमाथि गरेको ऐतिहासिक दमनका अघि उसले भोगेको हिंसा नगण्य हो ।
त्यसो त फिल्म र फिक्सनको मात्रै कुरा होइन, जर्ज फ्ल्योयडको हत्या पश्चात भएका प्रदर्शनीमा अमेरिकन प्रहरीले घुँडा टेकेर प्रदर्शनकारीसँग माफी मागेको दृश्य एक वर्ष अघिको मात्रै हो । आजकाल विश्वका हरेक कुनामा ऐतिहासिक उत्पीडनमा पारिएका समुदाय विशेषतः ‘पिपल अफ कलर’प्रति उत्पीडक समुदायबाट आएका नयाँ पुस्ताहरू नश्ल र जातकै आधारमा तिनीमाथि भएको ऐतिहासिक विभेद र उत्पीडनप्रति आत्मालोचित भइ माफी मागेका कैयौँ उदाहरणहरू देख्न सकिन्छ ।
त्यसैले त एकाध नश्लीय र जातिय अतिवादीहरू बेला–बखत सक्रिय भएपनि उत्पीडक समुदायबाट आएका अधिकांशहरूको विभेदप्रति आफ्ना पिता–पुर्खाको भूमिकालाई लिएर देखाएको जिम्मेवारी र आत्मालोचनाले नै केही हदसम्म साम्प्रदायिक सद्भाव धानेर राखेको छ ।
अहिले क्यानडाका धेरै आदिवासी बालबालिकालाई लक्षित गरि खोलिएका अधिकांश तत्कालीन क्याथोलिक स्कुलका हाताबाट सयौँको संख्यामा आदिवासी बालबालिकाका कंकालहरू निस्किरहेका छन् । क्याथोलिक स्कुलभित्र अकल्पनीय यातनाका कारण आदिवासी बालबालिका मारिएका इतिहासका घटनाहरूलाई लिएर २००८ मा तत्कालीन क्यानेडली सरकारले त्यहाँको संसदमै आत्मालोचित हुँदै माफी मागिसकेको थियो ।
यसै हप्ता फेरि झण्डै एक हजारको संख्यामा विभिन्न क्याथोलिक स्कुलबाट थप आदिवासी बालबालिकाका कंकाल फेला परेका छन् । क्याथोलिक चर्चको प्रशासन अन्तर्गत रहेका स्कुलभित्र घटेका विगतका यी घटनालाई लिएर क्यालोलिक चर्चका पोपले जिम्मेवारी लिँदै आम माफी माग्नु पर्ने माग उठिरहेको छ ।
आत्मालोचना, ग्लानी पश्चाताप बाेध एवं माफी माग्ने काम सबैथोक त होइन, तर उत्पीडकले आत्मालोचित भइ पश्चाताप महसुस गर्नु भनेको वर्षौको उत्पीडनको एउटा सानै भएपनि क्षतिपूर्ति हो । यही कुरालाई मध्यनजर गर्दै पश्चिमी मेटाफिजिक्सको जगत्मा पछिल्लो समय उत्पीडक समुदायको ‘ऐतिहासिक अपराध अनुभूति’लाई लिएर सैद्धान्तिक बहसपनि शुरू भएका छन् ।
‘श्वेत ग्लानी,’ ‘श्वेत औपनिवेशिक ग्लानी,’ तथा ‘उत्तर–औपनिवेशिक ग्लानी,’ भनेको श्वेतहरूले इतिहासदेखि आजसम्म अन्य समुदाय, जात र राष्ट्रियताप्रति गर्दै आएको औपनिवेशिकरण तथा नश्लीय विभेद अन्याय थियो भनेर त्यही उत्पीडक श्वेत समुदायको नयाँ पुस्ताले गरेको अपराधबाेध हो ।
यहि अनुरूप ‘ह्वाइट गिल्ट,’ ‘ह्वाइट कोलोनियल गिल्ट,’ तथा ‘पोस्ट कोलोनियल गिल्ट’ जस्ता पदावली समेत प्रचलनमा आएका छन् । सम्भवतः यी पदावलीहरूलाई ‘श्वेत ग्लानी,’ ‘श्वेत औपनिवेशिक ग्लानी,’ तथा ‘उत्तर–औपनिवेशिक ग्लानी,’का रूपमा बुझ्न सकिएला । यो भनेको श्वेतहरूले इतिहासदेखि आजसम्म अन्य समुदाय, जात र राष्ट्रियताप्रति गर्दै आएको औपनिवेशिकरण तथा नश्लीय विभेद अन्याय थियो भनेर त्यही उत्पीडक श्वेत समुदायको नयाँ पुस्ताले गरेको अपराध बाेध हो ।
लिजा बि स्पानियरम्यान तथा म्यारी जे हेप्नरका अनुसार, ‘श्वेत ग्लानी’ भनेको पहिला गरेको जातीय विभेदको लागि नयाँ श्वेत पुस्ताले तिर्ने मनोवैज्ञानिक तिरो हो । यसमा तिनले आफ्ना पिता–पुर्खाले गरेको जातीय विभेदको लागि नमिठो महसुस गर्छन् भने अर्कोतिर गैर–श्वेतसँग तिनीहरू असुरक्षित पनि महसुस गरिरहेका हुन सक्छन् ।
त्यसैगरी, वारेन एफ किम्बल, इरिक गान्स, स्नेजा गुन्यु जस्ता लेखकका अनुसार, ‘श्वेत ग्लानी’ भनेको श्वेतहरूले अल्पसंख्यक आदिवासी तथा अफ्रिकन अमेरिकनहरूप्रति गरेको जातीय दुर्व्यवहार, दास व्यापार, युरोपियन औपनिवेशिकरण, आदिवासी कत्लेआम तथा होलोकास्ट लगायतका ऐतिहासिक नश्लीय जातिवादी अपराध प्रतिको पश्चाताप बाेध नै हो, आत्मग्लानी नै हो ।
हुन त ‘श्वेत ग्लानी’को सिद्धान्त विवादरहित भने छैन । यद्यपि, बुझ्नुपर्ने कुरा इतिहासमा गरेका वा भएका दमन, विभेद तथा अपराधप्रति जिम्मेवार नबनी धरै छैन । चाहे त्यो जुनसुकै सम्प्रदाय, समुदाय वा राष्ट्रियता किन नहोस् आफू इत्तरकालाई जान–अन्जान गरिएको उत्पीडनको आत्मालोचित हुनैपर्छ भन्नेचाहिँ ‘श्वेत ग्लानी,’ ‘श्वेत औपनिवेशिक ग्लानी,’ तथा ‘उत्तर–औपनिवेशिक ग्लानी’का सिद्धान्तहरूले प्रष्ट पारेको छ ।
उत्पीडकको यो आत्मस्किारोक्ति वा आत्मालोचनाले विगतका उत्पीडक र उत्पीडितबीच सद्भावपूर्ण समान सह–अस्तित्वको वातावरण सिर्जना गर्ने भूमिका खेल्छ । त्यसैगरी विभेद र उत्पीडन निर्मुल पार्ने यो नै पहिलो कदम पनि हो । उत्पीडन अन्त्य गर्न उत्पीडकले सर्वप्रथम त आफ्नो अपराधबाेध त गर्न नै पर्छ । यो विशुद्ध पहिलो सर्त हो ।
चार–पाँच सय वर्षअघिको औपनिवेशिक इतिहासलाई लिएर उता उत्पीडकका दर–सन्तानहरू आत्मालोचना र पश्चाताप बाेधको स्तरमा पुगिसके । हाम्रोमा कम्तीमा चार हजार वर्षयता एउटा वर्ग या तप्का निश्चित स्वजातीय समुदायमाथि नै जातकै नाममा अमानवीय विभेद र उत्पीडन गर्दै आइरहेको छ । अनि बढो ताजुक त यो छ कि हजाराैँ वर्षदेखि सिलसिलेवारसँग आफूले गर्दै आएको अपराधलाई लिएर आजसम्म पनि यो उत्पीडक तप्काले आत्मालोचना र पश्चाताप बाेध गर्न सकेको छैन । यसलाई अझै ग्लानी महसुस भएको छैन ।
उत्पीडकले गर्ने आत्मालोचना र पश्चाताप बाेध विभेद न्यूनीकरण र न्यायको पहिलो सर्त हो । तर अँह, यहाँको कथित उच्च जातीय अहंकार जातीय विभेद र उत्पिडनको अझै निर्लज्जसँग वकालत गर्दै आइरहेको छ । सम्भवतः हामी बाँचिरहेको समय र समाजको सबैभन्दा कुरूप र दिग्मिगाउँदो दृश्य हो यो ।
उत्पीडकले गर्ने आत्मालोचना र पश्चाताप बाेध विभेद न्यूनीकरण र न्यायको पहिलो सर्त हो । तर अँह, यहाँको कथित उच्च जातीय अहंकार जातिय विभेद र उत्पीडनको अझै निर्लज्जसँग वकालत गर्दै आइरहेको छ । सम्भवतः हामी बाँचिरहेको समय र समाजको सबैभन्दा कुरूप र दिग्मिगाउँदो दृश्य हो यो ।
हो, कानुनले जातीय विभेद बर्जित गरेको छ । यद्यपि, वर्षैभरि घट्ने जातीय विभेदका घटनाहरूको फेहरिस्त लामो छ । तर, तिनको उपचार शून्य छ । मानौं यो जातिय विभेद हाम्रो समाजको क्यान्सर हो । ऐजेरुको गाँठो भइसकेको यो क्यान्सरलाई खुर्केर फाल्ने जमर्को हाम्रो समाजले कहिल्यै गर्न सकेन ।
किन सकेनौँ त हामीले यो ऐजेरुलाई मिल्काउन ? त्यसको जवाफ खोज्न धेरै पर पुगिरहनु पर्दैन । पछिल्लो रुपा सुनार र घरबेटी प्रकरणले सिर्जेका केही परिघटनाहरू हेरे पुग्छ, विभिन्न प्रतिक्रियाहरू देखे पुग्छ । कथित तल्लो जात भएकै कारण उनले सरस्वती प्रधानको घरमा कोठा पाइनन् । उनलाई जातीय विभेदबाट उत्पीडित भएको महसुस भयो । त्यसैले उनले यसको कानुनी उपचार खोजिन् । यो सामान्य र स्वभाविक प्रक्रिया थियो । गैर–दलित समुदायमा आकाशै खसाइदिने उनले त्यस्तो केही गरेकी थिइनन् ।
तर, अहँ ! त्यस्तो भएन । कथित उच्च जातिय अहंकारबाट ग्रसित व्यक्ति र समाजलाई भ्रम भयो– साँच्चिकै तिनको आकाश खस्दैछ– मानौँ महाप्रलय आउँदैछ, तिनको अस्तित्व नै नामेट हुँदैछ । तिनलाई लाग्यो रुपा सुनारको उजुरीले अब पृथ्वीमा अर्को 'एपिक्यालिप्टो' निम्तदैछ ।
अनि यो तप्का निर्लज्ज बन्दै सर्वप्रथम त रुपाले नपाएको कोठालाई १४ प्रतिशत दलितले केही वर्ष यता पाउँदै आएको नौ प्रतिशत कोटा उर्फ आरक्षणमाथि खनिँदै सिङ्गो समुदायको हुर्मत लिन कत्ति पनि हिचकिचाएन । यसरी उच्च जातीय अहंकारको कुण्ठा व्यक्त गर्दै गर्दा हजाराैँ वर्षदेखि शिक्षा र सम्पत्तिको सवालमा राज्य र समाजद्वारा विशेषाधिकार पाउँदा समेत आफू कुण्ठाबाट मुक्त हुन सकेको छैन भन्ने तिनले बिर्सिए ।
कतिसम्म भने उच्च जातीय अहंकार र केही वर्षयता राज्यका हरेक तह र अंग सहभागितामुलक प्रतिनिधि होस् भनेर सिमान्तकृतहरूलाई दिँदै आएको आरक्षणको कुण्ठा पालेर ‘सिजोफ्रेनिक’ भइसकेका विश्वविद्यालयका प्राध्यापक डक्टरले समेत सिङ्गो सिमान्तकृत समुदायको हुर्मत लिँदै कोठा र कोटाका नाममा कथित काव्यरस नै सिर्जन भ्याए ।
हजाराैँ वर्षदेखि राज्य र समाजले नीति नै बनाएर शिक्षा र सम्पत्तिको अधिकारबाट बञ्चित पारिँदै आइएको अपराधको लागि दिइएको नगण्य क्षतिपूर्ति हो आरक्षण । राज्यका सम्पूर्ण पिछडिएका समुदाय जबसम्म स्वस्फूर्त रूपमा समानुपातिक प्रतिनिधित्व हुन सक्ने अवस्था आउन्न त्यतिबेलासम्म तिनलाई आरक्षण चाहिन्छ । फेरि आरक्षण लिने एक मात्र समुदाय दलित मात्रै पनि होइन । यतिसम्म पनि ज्ञान नराख्ने प्राध्यापकले नयाँ पिढीमा अझैपनि जातीय विभेदकारी ज्ञान हस्तान्तरण गरिरहेको छ । र, भोलिको पुस्ता पनि यो चिन्तनबाट मुक्त हुनेवाला छैन ।
जहाँसम्म दलितमाथिको उत्पीडन छ, उत्पीडक फगत कुनै मुक–अमूक व्यक्तिमात्रै छैन, सिङ्गो समाज र राज्य स्वयं उत्पीडक छ । संस्थागत र संरचनात्मक दलनको चंगुल राज्यसत्ताले खुद सिर्जना गरेको त मुलुकी ऐनबाट नै प्रष्ट छ । आजपनि सत्ता र शक्तिको दुरुपयोग उत्पीडितलाई थप दमन गर्न नै प्रयोग गरिन्छ ।
पछिल्लो घटनामा आरोपित व्यक्ति कानुनसम्मत कसैको जमानीमा हिरासत मुक्त हुनु सामान्य थियो । तर मन्त्री स्वयम तामझाम सहित सत्ताको श्रोत, साधन र हैसियतकै दुरुपयोग गर्दै सशरीर उपस्थित हुनु भनेको सिङ्गो उत्पीडित समुदायमाथि गरिएको भद्दा मजाक हो, जातीय विभेद विरुद्धको आन्दोलनमाथि उपहासको अट्टाहास हो ।
जब समाज र राज्यले नै ‘तिमीहरू दलित हौ र तिमीहरूलाई जे गरेपनि हुन्छ’ भन्ने नजीर स्थापित गर्छ, ज्ञात–अज्ञात तवरबाट हुने जातीय उत्पीडनका घटनामा उत्पीडकले आफ्ना कमजोरी वा अपराध बाेध गर्नु आवश्यकतै पर्दैन । र, जातीय उत्पीडन सिङ्गो समाज र राज्यकै उच्च जातीय अहंकारका कारण घटिरहेको छ । यसमा फेरि केही धर्मभिरु पाखण्ड र विभिन्न कथित उच्च जातीय संघ–संस्थाले सिर्जने डिस्कोर्सले अरू थप बल पुर्याएको छ ।
सामाजिक सद्भावका नाममा जातीय विभेद कायमै राख्न खोज्नेहरूले बुझ्न ढिला गरिरहनु हुँदैन कि उत्पीडितले उत्पीडन सहिरहेर मात्रै अब यो कथित सामाजिक सद्भाव जोगिइरहनेवाला छैन । सामाजिक सद्भाव जोगाइराख्ने हो भने कम्तीमा उत्पीडकले हजारौँ वर्षदेखि आफूले गरिरहेको अपराधबाेध गर्न जरुरी छ । समभाव सहितको सद्भाव बचाउने हो भने यो नै पहिलो र आधारभूत सर्त हो ।
यस्ता पाखण्ड संघ–संथा जातीय विभेद र हिंसाका विषयहरू उठान हुँदा आफूले गर्दै आएको ऐतिहासिक जातीय दलनप्रति आँखा चिम्लदै सद्भावका नाममा उच्च जातीय अहंकारले ग्रसित विज्ञप्तिहरू फाल्ने गर्छन् । तर, विभेदका बारेमा एक शब्द खर्चदैनन् । इतिहासदेखि अर्कोलाई तुच्छ करार गरेर आफू उच्च कहलिँदै आएका यस्ता संघ–संस्था, हाम्रो समाज र राज्यमा निहित जातीय अहंकारको उपादेहिता भनेकै जातीय विभेदलाई जीवन्त तुल्याइरहनु हो ।
त्यसैले आज प्रश्न गर्नपर्छ, शताब्दी अघि क्याथोलिक स्कुलभित्र घटेको घटनालाई लिएर क्यानेडेली सरकारले संसदमा माफी माग्छ भने मुलुकी ऐनलाई लिएर हाम्रो राज्यसत्ताले सम्बन्धित उत्पीडितसँग माफी माग्न पर्छ कि पर्दैन ? पुस्तौँ–पुस्ता चुलो–चौका, भात–भान्सादेखि मझेरी र पधेँरोसम्म जातीय विभेदको अपराध गर्दै आएको यो समाजले सम्बन्धित उत्पीडितसँग माफी माग्न पर्छ कि पर्दैन ? मठ–मन्दिर, अनुष्ठान देखि धार्मिक–सांस्कृतिक गतिविधिमै जातीय विभेद जस्तो जघन्य अपराध गरिरहेका हाम्रा धर्मभिरु र धार्मिक संघठनहरूले सम्बन्धित उत्पीडितसँग माफी माग्न पर्छ कि पर्दैन ?
सामाजिक सद्भावका नाममा जातीय विभेद कायमै राख्न खोज्नेहरूले बुझ्न ढिला गरिरहनु हुँदैन कि उत्पीडितले उत्पीडन सहीरहेर मात्रै अब यो कथित सामाजिक सद्भाव जोगिइरहनेवाला छैन । सामाजिक सद्भाव जोगाइराख्ने हो भने कम्तीमा उत्पीडकले हजाराैँ वर्षदेखि आफूले गरिरहेको अपराध बाेध गर्न जरुरी छ । समभाव सहितको सद्भाव बचाउने हो भने यो नै पहिलो र आधारभूत सर्त हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...