केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागी नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो ।

हेर्दा सामान्य देखिने र जताततै पाइने जडीबुटी असुरो श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रूपमा प्रयोग गर्ने पुरानै चलन रहेछ । यसको पात, जरामा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेदमा उल्लेख छ । 

असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ । त्यसपछि मैले असुरोको बारेमा बुझ्न कोशिश गरेँ। असुरोका फाइदाका बारेमा धेरै जानकारी पाएँ । 
गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए ।

त्यसै गरी सुदूरपश्चिममा जाँदा त्यहाँका गाउँलेले असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा घोली खाँदा फाइदा गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए ।

हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पात छायामा सुकाई राखेर उपयोग गर्न सकिन्छ। यसलाई पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा धेरै फाइदा गर्छ ।

असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारू भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ । 

असुरो एक झाडीदार वनस्पति हो । यसको पात ३ इन्चदेखि ८ इन्चसम्म लामो हुन्छ । असुरोमा सेतो रङ्गको पूmल फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । 

यो औषधिको रूपमा पनि प्रयोग हुन्छ । आयुर्वेदमा असुरोको प्रयोगको बारेमा लेखिएको छ, “सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइ पनि कम गर्छ । असुरोले श्वास–प्रश्वास प्रणालीमा हुने समस्या कम गर्छ ।“

घाँटी खसखस हुँदा , चिसो लाग्दा पनि यसले फाइदा हुन्छ । कब्जियत भएकोलाई पनि असुरोको पात पकाएर खाँदा फाइदा गर्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरूमा राख्दा कीरा लाग्दैन ।

कृषकहरूले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागतरुपमै असुरोको पातको प्रयोग गर्छन् । 
यसले जैविक मल र कीटनाशक औषधिको पनि काम गर्दछ । किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ । आयुर्वेदअनुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ । असुरोको पात उमालेर  तातो पानीको बाफले धेरै फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ । एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ । 

तर असुरोको प्रयोग धेरै गर्दा रक्तचाप कम हुनसक्छ । क्याप्सुल खानेहरूले पनि यसबारेमा ध्यान दिनुपर्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

डा. अरुणा उप्रेती

लेखकबाट थप...