जब उत्तर औपनिवेशिक अध्ययन, ओरियन्टालिज्म र इन्टरसेक्सनालिटीजस्ता पछिल्ला ज्ञान परम्परालाई सिधै अस्वीकार गरेर ‘फेमिनिज्म’ मात्रै भनिन्छ, त्यसको लाभ कथित माथिल्लो जाती र वर्गका महिलालाई एकलौटी रूपमा प्राप्त हुन्छ । महिलाका दोहोरो/तेहोरो उत्पिडनमाथि चासो छैन, इन्टरसेक्सनल विषयमा सहमत छैन तर म फेमिनिस्ट हो भनेर कसैले भन्छ भने त्यस्तो फेमिनिज्म पीडक महिलाको स्वार्थ सिद्ध गर्ने फेमिनिज्म हो ।

ट्विटरको बायोमा एकजना महिलाले आफूलाई ‘फेमिनिस्ट’ भन्नु भएको छ । हजारौँ महिलाको ऐतिहासिक सिंहदरबार मार्चमा उहाँले ‘माइ भजाइना विल भोट यु आउट’ भनेर गरेको एउटै भाषणले सायद लाखौं महिलालाई तरंगित गरेको थियो । मलाई पनि महिला आन्दोलनको एउटा शक्तिशाली आवाज सिंहदरबार महिला मार्चबाट जन्मियो भन्ने लागेको थियो । 

तर, एकैपटक लाखौं मान्छेलाई निन्द्राबाट ब्युँझाउन सक्ने स्तरको भाषण गरेर फर्किएको केही महिनामै सामाजिक न्यायसहितको समतामुलक समाजको आकांक्षा राख्ने सबैलाई आश्चर्यचकित पार्दै उहाँले आरक्षणमाथि विषवमन गरिएको ट्विटलाई रिट्विट गरेर आफूलाई आरक्षणको विपक्षमा उभ्याउनुभयो । मलाई लाग्छ उहाँको पोजिसन व्यक्तिगत होइन बरू एउटा समुदायको प्रतिनिधिमुलक आवाज हो । त्यो समुदायमा उहाँजस्तै जात, धर्म र वर्गको हिसाबले संरचनात्मक लाभांशमा रहने महिलाको हकहितको मात्र वकालत गर्ने अरू धेरै आंशिक ‘नारिवादी’हरू हुनुहुन्छ । त्यसैले नारिवादी’हरूको यो पोजिसन बुझ्न नारीवादमाथि पनि छलफल हुनुपर्छ । 

१. महिलाले आफ्नो आत्मसम्मान र अधिकारका लागि प्राचीन समयदेखी नै साना–ठूला विद्रोह गर्दै आएका छन् । युरोपियन महिलाले १९ औं सताब्दीको अन्त्यमा आफ्नो संघर्षलाई ‘फेमिनिस्ट मुभमेन्ट’ र महिला मुक्तिको विचारधारालाई ‘फेमिनिज्म’ भनेर नामाकरण गरे । त्यो सैद्धान्तिक विमर्श र ‘वाद’ निर्माणको महत्वपूर्ण युग थियो । युरोपबाट नामाकरणसहित उदाएको ‘फेमिनिस्ट मुभमेन्ट’ भुगोलका सिमाना पार गरेर चौतर्फी फैलियो । युरोप बाहिरपनि महिलाका गौरवपूर्ण आन्दोलन र संघर्षहरू ‘फेमिनिज्म’को वैचारिकीभित्र समेटिँदै गए । महिला मुक्तिका लागि लड्नेले ‘फेमिनिस्ट’को पहिचान निर्माण गर्दै गए । यही शृङ्खलामै हिमा विष्टले पनि आफूलाई ‘फेमिनिस्ट’ दाबी गर्नुभएको हो । 

यद्यपि, महिला मुक्तिको लागि लड्ने सबैले आफूलाई फेमिनिस्ट भन्न रुचाउँदैनन् र ‘फेमिनिज्म’को वैचारिकीमाथि विमतिसमेत राख्छन् । खासगरी एकथरी समाजवादीहरू आफूलाई ‘फेमिनिस्ट’ भन्न अस्वीकार गर्छन् । यसको अर्थ सबै समाजवादीले आफूलाई ‘फेमिनिस्ट’ भन्दैनन भन्ने होइन, समाजवादी शिविरभित्र पनि ‘सोसलिस्ट फेमिनिस्ट’को एउटा छुट्टै धारा रहँदै आएको छ । फेमिनिज्म विचारधारा भएकाले कुनै लिङ्ग विशेषको मात्रै हुने सवालै रहेन त्यसैले कतिपय पुरुषहरू पनि आफूलाई फेमिनिस्ट भनेर चिनाउने गर्छन् । 

२. फेमिनिज्मभित्र पनि एकमत छैन, भिन्न-भिन्न तर्क छन् । तर सबै किसिमका फेमिनिज्मको सार खिच्दा– संसारको जनसंख्याको आधा हिस्सा महिलालाई अर्को आधा हिस्सा पुरुषले नियन्त्रणमा राखेको छ । आफ्नो नियन्त्रणकारी÷ दमनकारी उत्पीडन कायम राख्न पुरुषले पितृसत्ताको आविष्कार गरेको हो । पितृसत्ता व्यवस्थित रूपमा निर्माण गरिएको समग्र दार्शनिक/राजनीतिक/सामाजिक/सांस्कृतिक/आर्थिक/मनोवैज्ञानिक प्रणाली हो । आधा हिस्सा जनसंख्यालाई नियन्त्रणमा राख्न खडा गरिएको पितृसत्तात्मक शक्ति संरचनाभित्र जे जे छन्, सबै पुरुष निर्मित र पुरुष हितमा खडा गरिएका संस्था/संरचनाहरू छन् । विज्ञान र धर्म दुइटै पुरुष उत्पादित छन् भने सभ्यता र संस्कृतीले पनि पुरुषकै हितमा काम गरिरहेका छन् । राजनीतिक व्यवस्था, अर्थतन्त्र, इतिहास, समाजविज्ञानदेखि ज्ञान प्रणालीका सबै धार पितृसत्तात्मक उत्पादन हुन् । 

त्यसैले यो व्यवस्थाको सामाजिक/सांस्कृतिक/आर्थिक/राजनीतिक/मनोवैज्ञानिक प्रणाली एक पक्ष पुरुषले अर्को पक्ष महिलालाई शासन गर्न सिर्जना गरेको हो । स्वयं ‘महिला’को सांस्कृतिक उत्पादन पनि पुरुषले नै गरेको हो । त्यसैले यो संसार महिलाको होइन केवल पुरुषको हो । फेमिनिज्मको मुख्य वैचारिकी यहि हो । सामाजिक न्यायको सामान्य चेत हुने कसैको पनि ‘फेमिनिज्म’को मुख्य वैचारिकीमाथी विमती हुनुपर्ने कुनै कारण छैन । 

३. महिलाको पुरुष समान मताधिकारको माग लिएर उठेको हो ‘फेमिनिस्ट मुभमेन्ट’ । महिलाका यी आन्दोलनलाई विभिन्न ‘वेभ’ मा समेत काल विभाजन गरिन्छ । त्यस अनुसार अहिले फेमिनिस्ट मुभमेन्ट थर्ड वेभको अन्त्य र फोर्थ वेभको शुरूवातमा छ । तर, यो युरोप केन्द्रीत काल विभाजनमाथि युरोप बाहिरका फेमिनिस्टकै तीव्र असहमति रहँदै आएको छ । 

मताधिकारको आन्दोलनले सिमित महिला मुद्दामा बोल्यो ।  त्यसपछि ‘फेमिनिस्ट मुभमेन्ट’ यौनिक स्वतन्त्रतामा केन्द्रित भयो । ‘बर्थ कन्ट्रोल’, गर्भपतन, यौन कार्यको दौरान महिलाले अनुभुत गर्ने अलगाव/अरुचि/अपूर्णता, समलैङ्गिकता, सम्बन्ध बिच्छेदको अधिकार, विवाह संस्था अस्विकार, मातृत्वको अवधारणामाथि विमति, समान आर्थिक अधिकार, प्रजनन स्वतन्त्रता, यौन स्वतन्त्रता जस्ता मुद्दा १९६० को दशकमा फेमिनिस्ट मुभमेन्टको उत्कर्षमा थिए । 

४. १९६० को दशकको अन्त्यमा पश्चिमा समाजमा केही उथलपुथलकारी आन्दोलनहरू उठे । ‘न्यु सोसल मुभमेन्ट्स’ भनिने यस्ता आन्दोलनलाई त्यसबेलाका प्रभावशाली कुनैपनी ‘ग्राण्ड थ्यौरी’ ले सम्बोधन गर्न सकेनन् । यौनिक अल्पसंख्यकको आन्दोलन, वातावरण रक्षाको आन्दोलन, युद्ध विरोधी, उपनिवेशवाद÷ साम्राज्यवाद विरोधी, महिला आन्दोलन, मानव अधिकार को आन्दोलन आदि । आन्दोलनकारीको लुज नेटवर्कबाट सन्चालित यस्ता आन्दोलन अघिल्ला आन्दोलनभन्दा भिन्न थिए ।

त्यसबेला बौद्धिक क्षेत्रमा उत्तर आधुनिकता र उत्तर औपनिवेशिक अध्ययनको गहिरो प्रभाव थियो । अल्लि पछि १९८० को दशकमा पश्चिम केन्द्रीत अध्ययनको धारमाथी प्रश्न उठाउँदै ‘ओरियन्टल स्टडी’ पनि प्रभावी बन्दै थियो । किम्बर्ली क्रेन्सले यहिबेला फेमिनिज्मभित्रै बाट इन्टरसेक्सनालिटीको अवधारणा ल्याइन र महिलामाथिका दोहोरो÷तेहोरो उत्पीडनमाथिको बहस सतहमा आयो । इन्टरसेक्सनालिटी फेमिनिज्मबाहिर पनि अन्तरसम्बन्धित अध्ययनमा प्रभावशाली बन्यो । 

हिन्दु समाजको क्रुर पितृसत्ताको सबैभन्दा ठूलो मारमा दलित महिलाहरू पर्ने गरेका छन् । जात व्यवस्थाको संरचना जति तल जान्छ त्यति यौन उत्पीडन र शारिरीक हिंसा बढ्दै जान्छ । त्यसैले जात व्यवस्थासँग नलडी हिन्दु समाजमा कसैले महिला मुक्तिको तर्क गर्छ भने त्यो ठगी हो ।

यस्ता सैद्धान्तिक/दार्शनिक अध्ययनको गहिरो प्रभाव फेमिनिज्ममा पनि प¥यो । अब फेमिनिज्म मात्रै भन्नू अपूर्ण हुन थाल्यो । ब्लाक फेमिनिज्म, अरब फेमिनिज्म, एसियन फेमिनिज्म, ओरियन्टल फेमिनिज्म आदि महिला आन्दोलनका भिन्न भिन्न धारहरू विकास हुन थाले । यसले सबै महिला एउटै हुन् भन्ने ‘होमोजिनियस’ बुझाइमाथि ठूलो प्रश्न उठ्यो । सबै महिलालाई एउटै ठान्दा फेमिनिज्मभित्र वर्चश्वशाली र सुविधाभोगी महिलाको मात्रै हालिमुहाली रहने भयो । 

ब्लाक फेमिनिज्म शुरू गर्दै अश्वेत महिलाले श्वेत महिला पनि आफूहरू माथिको रङ्गभेदमा जिम्मेवार रहेको वैचारिकी निर्माण गरे । पितृसत्ताभित्रको महिला उत्पीडन एकै रुपको होइन भन्दै उनीहरुले अश्वेत महिलाहरू लिङ्ग, रङ्ग र वर्ग तिनवटै आधारमा उत्पीडनमा रहेको तर श्वेत महिलाहरु माथी केवल लैङ्गिक उत्पीडनमात्रै रहेको मत अघि सारे ।

त्यस्तै, उपनिवेशवादी महिला र कथित तेस्रो विश्व भनेर उपनिवेशवादको चरम शोषण भोगेका महिलाहरू बीचको उत्पीडन एउटै होइन भन्ने तर्कहरू आउन थाले युरोप बाहिरबाट । महिलामाथिका दोहोरो/तेहोरो उत्पीडनका सवाल अघि आए । 

५. यति छलफलबाट के प्रष्ट हुन्छ भने जब उत्तर औपनिवेशिक अध्ययन, ओरियन्टालिज्म र इन्टरसेक्सनालिटीजस्ता पछिल्ला ज्ञान परम्परालाई सिधै अस्विकार गरेर ‘फेमिनिज्म’ मात्रै भनिन्छ, त्यसको लाभ कथित माथिल्लो जाती र वर्गका महिलालाई एकलौटी रूपमा प्राप्त हुन्छ ।  महिलाका दोहोरो/तेहोरो उत्पीडनमाथि चासो छैन, इन्टरसेक्सनल विषयमा सहमत छैन तर म फेमिनिस्ट हो भनेर कसैले भन्छ भने त्यस्तो फेमिनिज्म पीडक महिलाको स्वार्थ सिद्ध गर्ने फेमिनिज्म हो । यस्ता फेमिनिस्टले बोक्ने महिला प्रतिको विचारले प्रभुत्वशाली महिलाको मात्रै एकल हित रक्षा गर्छ । 

संरचनात्मक लाभांसमा रहने महिला र कुनै दलित महिलाको उत्पीडन फरक फरक हो । दलित महिलाको उत्पीडन जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीयसमेत हो भने हिमाजी को उत्पीडन लैङ्गिकमात्रै हो । त्यसैले पितृसत्तात्मक संरचनाको लैङ्गिक उत्पीडनमात्रै उहाँहरूको  साझा उत्पीडन हो । 

आफ्नो ऐतिहासिक भूमि र सभ्यताबाट बन्चित पारिएका आदिवासीहरूको आन्दोलन हाम्रो युगको जबर्जस्त आन्दोलनमध्ये एउटा हो । आदिवासी महिलामाथिको उत्पीडन उसको राष्ट्र र सभ्यता खोस्ने उत्पीडन हो । त्यो भनेको आदिवासी महिलाको ‘स्वत्व’ नै खोसिएको छ, त्यो प्राप्त नगरी उनीहरू मुक्त हुन सक्दैनन् । एउटा हिस्सा महिला मुक्ति बिनाको आन्दोलन अपुरोमात्रै हुन्छ ।

जसरी अश्वेत महिलाहरूले रङ्गभेद विरुद्धको संघर्षमा अश्वेत पुरुषसङ्ग सहकार्य गर्नु जरुरी थियो, त्यसैगरी जात व्यवस्थाविरुद्धको संघर्षमा दलित महिलाले दलित पुरुष र आफ्नो राष्ट्र दाबीको आन्दोलनमा जनजाती महिलाले जनजाती पुरुषसङ्ग सहकार्य गर्नु आवश्यक हुन्छ । तर, उच्च जात र वर्गका महिलाले पितृसत्ताविरुद्धको संघर्षमा दलित, जनजाती र क्षेत्रीय उत्पीडनको आन्दोलनको जसरी पुरुषसङ्ग सहकार्य गर्नु आवश्यक हुँदैन । त्यसैले साझा आन्दोलनमा पुरुषसङ्गको सहकार्यको विषयमा पनि दलित/जनजाती/श्रमिक महिला र उच्च जात/वर्गका महिलाको अवस्था फरकफरक हो । सबै खालका महिलाले सामुहिक रूपमा गर्ने पितृसत्तात्मक संरचना विरुद्धको आन्दोलन भने सबैको सामुहिक हो । 

अन्त्यमा, 

मलाई लाग्छ, आजका दिनमा महिला मुक्तिको सवाल चारवटा पक्षसङ्ग एकैसाथ संघर्ष गर्नुपर्ने सवाल हो । 

१. पितृसत्ताविरुद्धको संघर्ष

पितृसत्ताले महिला उत्पीडन कायम राख्न बिबाह र परिवार दुई प्रमुख संस्था जन्माएको छ । योसँगको कठोर संघर्ष बिना पितृसत्ता समुल नष्ट हुँदैन भन्ने विषयमा फेमिनिज्मभित्र मैले कुनै विवाद देखेको छैन । त्यसैले विवाह बिहिन र परिवार बिहिन समाजको दिर्घकालिन लक्ष्य महिला मुक्तिको आन्दोलनसँग हुन जरुरी छ । 

२. पुँजीवादविरुद्धको संघर्ष 

धेरै अर्थमा पुँजीवादलाई सामन्तवादभन्दा प्रगतिशील व्यवस्थाका रूपमा लिने गरिन्छ । तर, महिलाका विषयमा पुँजीवाद कहिल्यै प्रगतिशील थिएन । पुँजीवादले पहिला स्थापना गरेको उद्योग नै घरभित्र महिलाले उत्पादन गरिरहेको कपडाको उद्योग थियो । जब उत्पादनको एकाइ परिवारबाट सरेर उद्योगमा पुग्यो, त्यसको हर्ताकर्ता पुरुष भयो । घरभित्र रहेको महिलाको सापेक्षिक हिस्सापनी पुजिवादले खोसिदियो । 

जब पुँजीवादको उदय भयो, उद्योगमा काम गर्न थालेपछी बच्चा हुर्काउने एकलौटी काम महिलाको भयो, त्यसैले पुँजीवादमा ‘मातृत्व’को अवधारणा अझ बलियो भयो । महिलाको वस्तुकरणदेखि साैन्दर्य प्रशाधनको खेतीसम्म, महिलाको किनबेचदेखि यौन दास बनाउनेसम्म सबै पुँजीवादमा भए । त्यसैले महिला मुक्तिको संघर्ष अनिवार्य रूपमा पुँजीवाद विरोधी संघर्षपनि हो । पुँजीवादले ग्रहण गरेको पितृसत्तात्मक पुँजीवाद नै महिला शोषणको पहिलो कारण हो।

३. जात व्यवस्थाविरुद्धको संघर्ष 

हिन्दु समाजको पितृसत्ता जात व्यवस्थामा आधारित छ । रक्त शुद्धता कायम नगरी जात व्यवस्था टिक्न सक्दैन । रक्त शुद्धताका लागि महिलालाई कठोर नियन्त्रणमा राख्नुपर्ने हुन्छ । उदाहरणका रूपमा ब्राह्मण पुरुषसँग ब्राह्मण महिलाले बिबाह गरेमात्रै उनीहरूका सन्तान ब्राह्मण हुन्छन् । त्यसैले जात व्यवस्थामा सन्तानको रक्त शुद्धता कायम राख्नपनी महिलालाई नियन्त्रण गर्नुपर्ने हुन्छ, किनकी उसलाई मात्रै बच्चाको जैविक बाबू थाहा हुन्छ । उसले धार्मिक नियमभित्र रहेर बिबाह गरेमात्रै जात व्यवस्था टिक्छ । 

त्यसैले हिन्दु समाजमा पितृसत्ता जात व्यवस्थामा आधारित हुन्छ, त्यससँग नलडी पितृसत्तासँग लडिन्न । हिन्दु समाजको क्रुर पितृसत्ताको सबैभन्दा ठूलो मारमा दलित महिलाहरू पर्ने गरेका छन् । जात व्यवस्थाको संरचना जति तल जान्छ त्यति यौन उत्पीडन र शारिरीक हिंसा बढ्दै जान्छ । त्यसैले जात व्यवस्थासँग नलडी हिन्दु समाजमा कसैले महिला मुक्तीको तर्क गर्छ भने त्यो ठगी हो ।

४. राष्ट्र दाबीको आदिवासी/जनजाती आन्दोलन 

आफ्नो ऐतिहासिक भूमि र सभ्यताबाट बन्चित पारिएका आदिवासीहरूको आन्दोलन हाम्रो युगको जबर्जस्त आन्दोलनमध्ये एउटा हो । आदिवासी महिलामाथिको उत्पीडन उसको राष्ट्र र सभ्यता खोस्ने उत्पीडन हो । त्यो भनेको आदिवासी महिलाको ‘स्वत्व’ नै खोसिएको छ, त्यो प्राप्त नगरी उनीहरू मुक्त हुन सक्दैनन् । एउटा हिस्सा महिला मुक्ति बिनाको आन्दोलन अपुरोमात्रै हुन्छ । त्यसैले आदिवासी महिलाको ‘स्वत्व’ फर्काउने आन्दोलनपनी महिला मुक्ती आन्दोलनको मुख्य आन्दोलन हो । 

यी चारवटा पक्षसँग एकैसाथ नलड्ने हो भने त्यस्तो ‘फेमिनिज्म’ले साँचो अर्थमा महिला मुक्ति गर्दैन । र, जात, धर्म र वर्गको हिसाबले संरचनात्मक लाभांशमा रहने महिलाको हकहितको मात्र वकालत गर्ने आंशिक नारिवादीहरू सामाजिक आन्दोलनमा उदाइरहने छन् । ‘माइ भजाइना विल भोट यु आउट’को प्रत्युत्तरमा त्यस्ता नारीवादीहरूलाई नै ‘माइ इन्डिजिनियस भजाइना विल भोट यु आउट’ भन्ने प्रत्युत्तरका आवाजहरू पनि रोकिने छैनन् । त्यस्ता आवाजहरू रोकिनु पनि हुँदैन । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...