माने मान, नमाने बेइमान

मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा  (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको  साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।

मलिसा याक्थुङ्बा लिम्बू
‘लाटो लड्छ, दुई बल्ड्याङ्,
बाठो लड्छ बाह्र बल्ड्याङ’

भाषिक उठानः
सांस्कृतिक भन्नाले ‘संस्कृतिसँग सम्बन्धित वा संस्कृति सम्बन्धी’ (चापागाईं, ०६७ः १२६१) भन्ने अर्थ लगाउँछन् । संस्कृति भनेको ‘समाजमा धेरै समयदेखि चल्दै आएको चलन, रीतिरिवाज, संस्कार, .....जातीय धर्म वा परम्परा’ (चापागाईं, ०६७ः १२१४) भनेर अर्थ लगाए, शब्दकोशमा । यसरी नेपाली शब्दकोशका कोशकारहररूले लेख्दालेख्दै पनि नेपाली भाषिक अर्थलाई उल्टार्थ लगाउनु भाष्यशैली परम्परा नै बसेको होला जस्तो अनुभूति सबैलाई दिन्छ, भाषार्थ व्यापारमा। कुनै पनि जातिमा भएको संस्कृतिलाई सत्ता वा सरकार पक्षका जातिको संस्कृतिले मिचेर नास गर्नु, मान्न र भोग गर्न नदिनु नै जेनोसाइड हुनु हो भनिन्छ ।

जेनोसाइड भनेको एकजाति समूहले अर्कोजाति समूहलाई खतम हुनेगरी मार्नु, नास गर्नु र अस्थित्वमा आउन नदिनु हो। जेनोसाइडहरू आठप्रकारमध्ये एउटा सांस्कृतिक जेनोसाइड पनि हो । विद्वान लेखक विक्रम सुब्बा जनमत मासिकमा लेख्छन् ‘यो सांस्कृतिक जेनोसाइडमा एकजाति समूहको संस्कार संस्कृतिको मुख्य आधारमा कानून बनाएर अर्को जाति समूहको संस्कार संस्कृतिमाथि दमन गर्दै खतम गर्नका लागि सरकारबाट लादेर लैजानु हो ।’ यहि परिव्याख्याभित्र नेपालमा रहेका थुप्प्रै आदिवासी संस्कृतिहरू अहिलेसम्म रहेका नेपालका सर्वोत्तम निकायमा रहने सरकारले आँखा मिचेर कानूनहरू मार्फत जेनोसाइडमा पारिएका छन्, मानेमान नमाने बेइमान गरेर । 

च्याब्रुङ् जसलाई ‘के’ भनिन्छ, याक्थुङ् भाषामा । च्याब्रुङ् आवाजका कारणले नाम भनिएको हुनुपर्छ । जस्तैः च्याःङ् र ग्रुम्र हुँदै च्याःङ्ब्रुङ्बाट च्याब्रुङ् भएको होला, सायद । अन्दाजी अढाई फुटभन्दा थोरै बढी या कम लाम्चो आकारमा काठको मुढा सुन्दर रूपमा खोपेर ढुङ्ग्रो बनाई तेसको दुवैतर्फ छालाहरुलाई तानाको सहायताले मोहोरिएर बाँधिएको गतिलैगरी भिर्ने एकखालको बाजा हुन् । प्रयोगजन्य प्रायशः च्याब्रुङ् न्यूनतम दश केजीभन्दा माथिका हुन्छन् । च्याःङ् ध्वनि दाहिने तालको उच्च सप्तक र ग्रुम् ध्वनि देब्रे तालको निम्न सप्तकको रूपमा रहने तालहरू हुन् । कसैले ढोल पनि भन्दछन् । ढोल, राई खम्बु जाति र सुनुवार जातिहरूले बजाउने च्याब्रुङ् प्रकारको बाजालाई भन्दछन् तर च्याब्रुङ्, ढोल होइनन् । रूप मिले पनि आवाज नमिल्ने भएकाले नामान्तर हुनु स्वाभाविकै हो, जस्तै मादल र ढोलकी भने जस्तै।

खोजक्षेत्रः
च्याब्रुङ् (के) बाजा सम्बन्धी थुप्रै लेखहरू प्रकाशन फूटकर रूपमा र बुकलेटको रूपमा आएका छन् । ती सबै लेखहरू वर्तमान मेरो वशमा नभएकाले मैले पाःन्थःर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. २ स्थित च्याब्रुङ् नर्तकहरू, तुत्तु तुम्याहाङ्हरू र केही पुस्तकहरू स्रोतको रूपमा समावेश गरेको छु । वास्तवमा च्याब्रुङ् संगीतहरू क्षेत्रगत (थुमगत) रूपमा नै नृत्य, ध्वनि, शैली, गेयकि र रचनाहरू फरक–फरक छन् । सबै एकैरूपमा छन्, भन्नु वास्तविक छैन । यो सामान्यतः निबुखोला आसपाससँग सम्बन्धित छ ।

च्याब्रुङ नर्तकहरू पूर्णकुमार नेम्बाङ्, नासपाते कान्छा (लालबहादुर नेम्बाङ्), घनेन्द्रकुमार नेम्बाङ्, अर्जुन लिम्बूसँग भेटवार्ता र कत्तिपय स्वर्गवासी तुम्याहाङ्हरू स्वरूपसिं नेम्बाङ्, जसबहादुर नेम्बाङ्, छविलाल नेम्बाङ र सुभाष नेम्बाङ्हरूसँगको वि.सं. २०४९/०५० तिरको लिखित टिपोट रहेका छन् । यसपछि मलिसा याक्थुङ्बा लिम्बूको ‘याक्थुङ् (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शास्त्र २०४९’ (निबूखोला आसपास) २०७३ र ‘याक्थुङ् भाषा र साहित्य’ (प्रकाशोन्मुख पाण्डुलिपि), ईमानसिं चेम्जोङ ‘किरात इतिहास र संस्कृति’ अनुवाद शेरबहादुर इङ्नाम (२०५१), भगीराज इङनाम ‘लिम्बू जातिको इतिहास’ २०७५, तेजमान आङदेम्बे ‘भाषा, संस्कृति र इतिहासका क्यान्सरहरू’ २०६९, मधुराज केरुङ ‘लिम्बू लोकपद्यमा केसामको अध्ययन’ (११ वैशाख २०७८, शब्द साेपान अनलाइन), धनहाङ् सुब्बा ‘लिम्बुवानका लोककथा’ २०६५, सम्पादन मण्डल थाम्सुहाङ् पुष्प सुब्बा समूह ‘लिम्बू छन्दहरू’ २०५८ र लछामी सेर्मा पापो (सम्पादक) ‘याक्थुङ पाङ्खेदा ?’ २०५५ पुस्तक तथा पत्रिकाका स्रोतहरू रहेका छन् ।

लेखक स्वयम् च्याब्रुङ् सम्बन्धी २०४१ सालदेखि निरन्तर नर्तक, गायक र साधक भएकाले फाल्गुनन्द गा.पा. २ भित्रको शैली, आख्यान, मिथक र प्रयोगहरू र खोजाधारमा समाविष्ट छन् तर सम्पूर्णता भने हैन । लेखकको च्याब्रुङ् गुरु याम्बोःङ् सुरीखावा निवासी स्वर्गीय छविलाल नेम्बाङ् हुन् ।

च्याब्रुङ्का कच्चावस्तुहरूः

च्याब्रुङ् निर्माण गर्दा सबैभन्दा राम्रो, निरोगी र टुप्पी नमरेको खमारी (हःङ्सिङ्) वा साङ्सेमासिङ् वा सागेसिङ् रूख काटेर एउटा रूखमा बढीमा तीनोटा मुढा, नभए एउटामात्र निकालेर ढुङ्ग्रो बनाउँदा तिनको वृत्त (रिङ्) एकै मोटाइका हिसाबले खोप्नुपर्छ । धेरै बनाउनु पर्ने भएमा एक रुखमा बिजोडी ओटा मुढाहरू निकाल्दा हुन्छ तर धेरै निकालेमा त्यति बज्दैन भन्ने याक्थुङ् जनविश्वास छ । ढुङ्ग्रो बनाइ सकेर घामको प्रकाशसँग टाढा र चर्को हावासँग तर्काएर छाँयामा सुकाउनुपर्छ ताकि ढुङ्ग्रो नफुटोस् । माथि उल्लेखित रूखहरू नपाएमा पञ्जा हात आकारका पात भएका बाटुलो र ठूलो वा लाम्चो भएको रूखहरू जस्तैः मलतो, येःङ्गोसिङ्, मौवा, सिमल, चिउरी, सिसौ, उत्तीस आदिहरू पनि प्रयोग गरे हुन्छ तर यिनीहरूको आवाज त्यत्ति चोटिलो जाँदैन ।



छालाहरु दाहिने ताल (जसलाई हुक्चाःङ्गे भनिन्छ) बाख्रा, बाच्छा, बाँदर आदिको छाला चाहिन्छ भने देब्रेताल (जसलाई सिङ्जाःङ्गे भनिन्छ) बाच्छा वा बाच्छी वा गाई वा गोरुको छाला चाहिन्छ । हुक्चाःङ्गे र सिङ्जाःङ्गे तालको छालालाई सन्तुलन कायम गर्ने ताना चाहिन्छ । तानामा सबैभन्दा राम्रो गाईको छाला उपयुक्त हुन्छ भने गाईको प्राप्त हुन नसके गोरुको भएपनि काम चलाउ हुन्छ ।

हुक्चाःङ्गे र सिङ्जाःङ्गे छालालाई प्रारम्भिक आकार दिन बाँसको रिङ् र बच्चा (बाँसकै सिन्का) चाहिन्छ भने ध्वनि निकाल्ने चाबीको प्रयोग हुन्छ । जसमा कुनै क्षेत्रमा पाङ्ग्रा, कुनै क्षेत्रमा छिप्पेको बाँसको सिन्का, कुनै क्षेत्रमा अक्षता र पैसा प्रयोग गरेको हुन्छ । च्याब्रुङ् निर्माणताका अन्य सामग्रीहरू चोयाबाँसको ताजा र पुरानो चोयाहरू, फलामको सुइरो तथा गल, सर्नासोहरू, लाग्ने खुकुरी र कर्द र एक वाल्टी पानी चाहिन्छ । एकदिन अगावै आवश्यक छालाहरू छाला गल्नेगरी पानीले भिजाई राख्ने, च्याब्रुङ्को ढुङ्ग्रोमा चाबीका लागि छेँड्ने (ढुङ्ग्रोलाई पनि कसैले एकदिन अगावै भिजाउँछन्) र चिल्याउने काम हुन्छ ।

स्मरण रहोस् कि छविलाल नेम्बाङ् अनुसार ‘च्याब्रुङ् निर्माण गर्दा महिलाहरू त्यहाँ हुनुहुँदैन र नजिकबाट हेर्नु पनि हुँदैन । यदि हेरेमा च्याब्रुङ्को कुसा (बच्चा) लगाउँदा पल्टी जाने र हुक्चाःङ्गे र सिङ्जाःङ्गे तालको मोहोरीहरू मोहोरीन नसकिने हुन्छ ।’ तसर्थ महिलाहरू काम गर्दा पुग्न नसक्ने कुनै गैरी वा खोल्सा–खोल्सी वा छेलिने स्थानमा मात्र च्याब्रुङ् निर्माण गरिन्छ । सत्यसावित हुँदै आएको पनि छ । 

च्याब्रुङ् बनाई सकेर तिनको हुक्चाःङ्गे भागमा केही मोटो र चौडा ठूलो भएको चोयालाई आवश्यकता अनुसार (कत्रो बनाउने) वृत्त बनाइ तालको अनुहारलाई बीच पारेर वृत्तको भित्रपट्टि ताजागोबरले पानी चुहुन नसक्नेगरी टाल्नुपर्छ । टालेको वृत्तको भित्र गोलो भागमा बाख्राको ताजा वा सुकेको बड्कौला पिसी पानीसँग घोलेर लगाउनुपर्छ । यसरी घोलेर लगाएको बाख्राको भड्कौला कम्तीमा एकरात एकदिन रहन दिनुपर्छ । घाममा राख्नुहुँदैन र सियाँलमा राख्नुपर्छ । समय–समयमा जाँच गरिरहनु पर्छ । पानी पनि सुक्नसक्छ । सुक्यो भने थोरै थप्नुपर्छ । पानी चुहेर गएभने तालको अनुहारमा वगेको खत रहीरहन्छ । चुहेमा विस्तारै गोबरले नै टाल्नुपर्छ । चौबिस घण्टा पछि घोलिएका बाख्राको बड्कौला केही कडा भएको हुन्छ । तेसलाई विस्तारै कुनै चम्ची वा चोयाको सहायताले वरपर नपोखी बाहिर फाल्नुपर्छ । अनिमात्र राम्रो गोलो आकृति वस्छ । यसपछि गोलो खत बसेको स्थानमा हाँडीको खबटाले सामान्य रगड्नु पर्छ ।

च्याब्रुङ्काे शुरूवात कोबाट भयाे ?

च्याब्रुङ् कहिलेदेखि शुरू भयो भन्ने यकिन छैन तर परापाषाण युगकालीनमा निर्माण भएको हो कि भन्ने अनुमान विद्वानहरूले लगाएका छन् । मेरो खोज अनुसार होमो स्यापियन्स–स्यापियन्स मानव युगदेखि सायद च्याब्रुङ् निर्माण तथा प्रयोगको प्रारम्भ भएको मानेको छु ।

‘मुन्धुममा वर्णित आख्यानलाई आधार मान्दा सर्वप्रथम हाल ताप्लेजुङ्को लेलेपको केधिङ् तेम्बे (टार) मा साप्री र लेम्ब्री भन्ने दुईजना मानिसहरूले नै सर्वप्रथम च्याब्रुङ् (के) बनाएका हुन् (केरुङ, २०७८ शब्द साेपान) । यसरी नै सर्वप्रथम च्याब्रुङ बनाउने र गीत गाउने व्यक्तिका बारेमा क्षेत्रगतरूपमा आ–आफ्नै आख्यानहरू छन् र मिथक कायम भएका छन् । तान्छोःप्पा वर्ष १, अंक १, २, ३, ४ को पेज ७ (२०५३) मा शिवकुमार श्रेष्ठले बाजाइबा भनेका छन् भने उक्त पत्रिकाको वर्ष ३, अंक १६ पेज ७ (२०५५) मा दुर्गाप्रसाद फोपाहाङ्ले पनि बाजाइबालाई मानेका छन् । यहि पत्रिकामै वर्ष १ अंक ३ र ४ पेज ७ (२०५२) मा नरेन्द्र मादेनले लोदेनहाङ् र फुङ्देनहाङ्लाई प्रथम च्याब्रुङ् प्रयोक्ताको रुपमा मानेका छन् । यहि पत्रिकाको वर्ष २, अंक ५, ६, ७, ८ को पेज ७ (२०५४) मा मलिसा याक्थुङ्बा लिम्बूले लहरःङ् र सावा येहाङ्दिम्बालाई च्याब्रुङ्को पहिलो पुरुषको रूपमा मानेका छन् ।

प्राज्ञ थाम्सुहाङ पुष्प सुब्बाको सम्पादन मण्डल लिम्बू छन्दहरू (२०५८) पेज ४६ र ४७ मा हाङ्वासाङ् याक्थुङ्बाले केदेम्, नाम्सामी (पापो, ०५५ः ५५) र बाजाइबालाई पहिले पुरुषको रूपमा स्वीकारेका छन् । भेटवार्ता अनुसार पाःन्थःर याम्बोःङ्को हाङ्यक निवासी जसबहादुर नेम्बाङ् (१९६४–२०५७) ले वरःङ्हाङ्लाई पहिलो प्रयोग कर्ताको रूपमा मानेका छन् । लेखक भगीराज इङ्नाम आफ्नो पुस्तक लिम्बू जातिको इतिहास २०७५ पेज ७२ मा साप्री, लेम्ब्री, पासोइबा (बाजाइबा पनि हुनसक्छ) र तेनेइबाले च्याब्रुङ् बनाई नाच्ने र गाउने गरे भनेका छन् । उल्लिखित नामहरूका कथाहरू सुन्दर रूपमा आ–आफ्नै क्षेत्रमा कथ्य गाथाहरू छन् । जो सुन्न लायकका छन् ।



बाजाइबाले आफ्नो घरमा केसाङ्मिबा र केवाफुङ्बालाई च्याब्रुङ नाच्न लगाए भने साम्केलो केवाफुङ्बालाई केसाम गाउन लगाए भन्ने छ । लहरःङ र वरःङ्हाङ् दुवैले पनि च्याब्रुङ् बनाउने र केसाम गाउने गरे भन्ने पनि लोकआख्यान रहेको छ । गाउनेहरूमा फरक–फरक नामका थुप्प्रै व्यक्तिहरू रहेका पाइन्छन् । साम्केलो साम्लोतिबा, साम्केलो साम्लो अक्त?बा, साम्केलो खाङ्लाङ्बा, साम्केलो साम्लो फु?लुम्बा, साम्केलो साम्लो पइनाबा (केरुङ, ११ वैशाख २०७८ शब्द शोपान) केसाम् गाउनेहरू भनेका छन् । गाउने प्रथाकै प्रथम मानवहरू ‘साम्केलो केवाफुङ्बा, साम्केलो फुङ्देन्हाङ्बा, फुङ्लोतिहाङ्मा आदिहरू पनि पर्दछन् । सुमधुर आवाज निकाल्न नसक्ने साम्मेल्ले इक्लासाम्बाले ख्यालीको प्रारम्भ गरे भनेर स्व. स्वरूपसिं नेम्बाङ (१९७६–२०५८)ले मानेका छन्’ (लिम्बू, पाण्डुलिपि) । लिम्बू छन्दहरू (२०५८)का आधार मान्ने हो भने च्याब्रुङ् (के) नाच्ने पहिलो मानव सोरोक्पा पनि हुनसक्छ । सोरोक्पाले नाचेको नाचका कारण ‘सरक्पा नाच’ अथवा च्याब्रुङ् नाचको थालनी भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
उल्लिखित नामधारीका आ–आफ्नै क्षेत्रमा महाआख्यान भई परम्परागत श्रुति रहेका महापुरुषहरू वास्तवमा परापाषाण वा नवपाषाण याक्थुङ् मानव पुर्खाहरू हुन् । यिनीहरू परापाषाण इशापुर्व तीन हजारदेखि बाह्रहजारसम्म या त नवपाषाण ईशापूर्व बाह्रहजारदेखि छ हजारसम्म (इङ्नाम, ०७५ः ७२)मा निर्माण शुरू भएका च्याब्रुङ् (के) र गाउन शुरू भएका च्याब्रुङ्का गीत (केसाम) उठान भएको हुनुपर्छ ।

च्याब्रुङ्का प्रयोग क्षेत्रहरूः

‘मुन्धुमी सभ्यतामा केसाम केवल गीत मात्र होइन, च्याब्रुङ्को अद्भूत शक्ति पनि हो । च्याब्रुङ्कै आवाजले घरको धमिराहरू थर्किएर मरेको किम्बदन्ती पनि छ (केरुङ, ११ बैसाख २०७८ शब्द साेपान) । ‘सोधुङ्गेन लेप्मुहाङ्को छोरा बाजाइबाले प्रथम घर बनाएको देखेर बाबु सोधुङ्गेन लेप्मुहाङ् लगायत धेरै पाहुनाहरु नाचगान समूह लिएर आए । त्यसबेला बाजाइबाको चेली सापरीहाङ्माको मृत्यु भएकोले नाचगान गर्न नहुने कुरो बुझी ल्याएका फूलहरू मात्र घरको चारसुरमा सिउरी फर्के । पछिबाट त्यस घरको मूलखम्बामा धमिरा परीरहेकोले लगातार घर भत्किरह्यो र त्यसरी आफ्नो घर भत्किरहनका कारण  बाजाइबाले आफ्नो पिता सोधुङ्गेन लेप्मुहाङ्सँग सोध्दा नयाँघर निर्माण गरेपछि मुरुम (बीच) खम्बामा च्याब्रुङ् बजाएर थक्थाम् गर्नुपर्छ । गरेपछि मात्र मुलखम्बामा धमिरा लाग्दैन (लिम्बू छन्दहरू, ०५८ः ४७) ।’ यसरी सबैभन्दा पहिले घर निर्माणकालीन मानव अवस्थामा नै मूलखाँबोको धमिरालाई मार्न च्याब्रुङ्को आवाज प्रयोग भएको छ । 

नयाँघर निर्माण पश्चात तुरुन्त थक्थाम गर्नुपर्ने याक्थुङ्हरूको जातिगत परम्परामा संस्कार बसेर आए । यसपछि शुभ विवाहमा च्याब्रुङ्को धुनले लगन गर्ने अनि च्याब्रुङ् गीत गाउने चलन छ । यस्तो जाति एकाध–एकाध होला नभए याक्थुङ् जाति नै हो, बाजाको धुनले लगन गर्ने असीम र अनौठो चलन । अर्को हाङ्साम् (कूलपुजा) पनि च्याब्रुङ् बजाएर सिद्धिशक्ति, आयु वरदान, अन्न–धन्नको सह माग्ने चलन छ । अचेल यो संष्कार चलाउँदैनन् । यसपछि च्याब्रुङ् र च्याब्रुङ्को धुन बिना खुसी नहुने देउता पनि छ । यसलाई दुङ्दुङ्गे (के) देउता भनिन्छ (सुब्बा, ०६५ः ११३–११७) । याक्थुङ् जातिहरूको शूभकार्यहरू जस्तै नयाँघर निर्माण पश्चात घरबसैंमा, शुभ विवाहमा, कूलपुजामा र दुङ्दुङ्गे (के) देउतामा चाहिने अनुपम बाजा च्याब्रुङ् हो । जसको ऐतिहासिक उठान भनेको यही क्षेत्रमा हजारौं–हजार वर्ष पहिलेदेखि संस्कारगत रूपमा बसेको याक्थुङ् जातिको स्वादिष्ट संस्कृति हो ।

मूलखाँबोमा आठफन्का मारेपछि केसाम् गाउँछन्, नर्तक तथा नर्तकीहरू । यहाँ लोकन्दीहरू पनि रहन सक्छन् नभए चेली–माइती मिलेर च्याब्रुङ् गीत गाउँछन् । यसलाई वाहिवा केलाःङ् भनिन्छ (लिम्बू, ०७३ः १७) । केसाम् दुइटा शब्द मिलेर बनेको हो । के भन्नाले ‘च्याब्रुङ्’ र साम् भन्नाले ‘आत्म वा शक्ति’ भन्ने हुन्छ । केसाम् अर्थात च्याब्रुुङ्को आत्म वा शक्ति छन्द मिलाएर गाउने एक विधा हो । अनुप्रास मिलेपनि नमिलेपनि अक्षर गणहरू मिलाएर नै च्याब्रुङ्को गाथाहरू गाउनुपर्छ । उदाहरण निम्न छः

च्याब्रुङ् गीत (केसाम्)

लोःक्फागेन सिङ्घिम् ताङ्बेल्ले ,,, सरलै सर, सरलै सर
नेःत्तिगेन् फुङ्वा फेक्तेल्ले ,,, सरलै सर, सरलै सर
(बेहुलीको नाम, ठेगाना, थर, माङगेन्ना? यक् भन्ने .....)
तेन्धाम्गेन् मेःक्खिम् लगुरो ,,, सरलै सर, सरलै सर
वाहिवा लाःङघे कन् हिम्मो ,,, सरलै सर, सरलै सर
मुल्लुगेन् हात्लुङ् कुभेसाङ् ,,, सरलै सर, सरलै सर
मुरुङ्गेन् सित्लाङ् कुगप्से ,,, सरलै सर, सरलै सर
हःङ्गेआङ् सिङ्नु सागेसिङ् ,,, सरलै सर, सरलै सर
सिगिरेआङ् होरिक्पानु ,,, सरलै सर, सरलै सर
अम्लारी फुङ्ले फुर्कानु ,,, सरलै सर, सरलै सर
सिरिरेआङ् पःङ्घेनु ,,, सरलै सर, सरलै सर
साङ्सेमा केनु केलाःङि ,,, सरलै सर, सरलै सर
नेत्तिगेन् फुङ्वा कोयोसे ,,, सरलै सर, सरलै सर
वाहिवा लाङि लाःक्तुम्लो ,,, सरलै सर, सरलै सर
सावागेन् येत्कप् कप्तुम्ल ,,, सरलै सर, सरलै सर
पेलिगेन् फाङ्गप् कप्तुम्ल ,,, सरलै सर, सरलै सर
थिःन्धाम् साधाम् मेःत्काम्गाम् ,,, सरलै सर, सरलै सर
थिःन्धाम् साधाम् फत्लन्लन् ,,, सरलै सर, सरलै सर (लिम्बू, ०७३ ः १७)

भावः ‘यो घरमा जीवन फुलेछ । (वेहुलीको नाम थर ठेगाना, माङ्गेन्ना ? यक् समेत गाएर) विवाह गर्न ल्याएछ । यो घरमा वाहिवा नाच्न, चुला छेवैको, मूलखाँबोमा घुम्न, खमारी रूख र सागे रूखको च्याब्रुङ्, सिगिको छाला, सुनाखरी फूलको झुप्पासँगै, घुँगरु चापहरुसंगै, साङ्सेमा च्याब्रुङ्संगै, जीवनीफूल थप्नुमा, वाहिवा नाच्दै टेक्यौँ है । आठै दिशा फन्का मारेर, विनम्र नौफन्का मारेर, थिन्धाम् साधाम् लगन भो । थिन्धाम् साधाम् निस्क्यौँ है ।’ यसो गाउँदै च्याब्रुङ् नाच्नेहरू दलानमा निस्कन्छन् । लगनको केसाम गाउने रीत सकेपछि पनि अन्य मुन्धुमहरू गाउने रहर छ भने फेरि च्याब्रुङ् टोलीहरू घरभित्र ल्याएर च्याब्रुङ्को सुर र तालमा फर्माइसी या त जीवनदर्शन वा प्रेमिल गाथा या च्याब्रुङ्का गाथाहरू समेत रातभर गाउन सक्छन् । यसलाई नाम्दाःत्ते? भनिन्छ (लिम्बू, ०७३ः १९) । शुभकार्यमा च्याब्रुङ् नाच्न सकेपछि मुईथाम् (आशिष बाँध्ने) मुन्धुम छ । जसमा च्याब्रुङ् नर्तकले मूलघरलाई दाहिने दिशाबाट आठफन्का मारेर मूलढोकामा गई त्यहाँ पनि आठपटक च्याब्रुङ् बजाएर आशिष बाँधेर बन्द गर्नुपर्छ (लिम्बू ०७३ः २०) ।

नयाँघर बनाएर च्याब्रुङ नाच्दा गाउने प्रकृयालाई थक्थाम् गीत भनिन्छ । यसमा पनि एकलय र सूर हुन्छ । यसलाई केसाम पनि भन्दछन् । समग्रमा यसलाई थक्थाम् मुन्धुम भनिन्छ (लिम्बू, ०७३ः ३२) । थक्थाम् दुइटा शब्दहरू मिलेर बनेको हो । थक् (घ्रूनपुतली) र थाम् (टक्टक्याउँदै पछार्नु) अथवा घुन टक्टक्याउने भन्ने भाव हुन्छ ।

थक्थाम् मुन्धुमका गीतका उदाहरणः यसमा अन्तिम कोरस जुनसुक्कै लगाए पनि हुन्छ । जस्तैः 

सरलैमा सर 
लोःक्फागेन् सिङ्घिम् ।
कन् हिम्मिल् सिगाङ् ।।
सावागेन् येत्कप् ।
पेलिगेन् फाङ्गप् ।।
तागेरा इङ्घङ् ।
निङ्वाभु इङ्घङ् ।।
मुसोःत्लुङ् इङ्घङ् ।
मुबेःक्वा इङ्घङ् ।।
सोधुङ्गेन् इङ्घङ् ।
लेप्मुहाङ् इङ्घङ् ।।
पाथुङ्गेन् इङ्घङ् ।
लेप्मुहाङ् इङ्घङ् ।।
कुइसिक् लाःङ्से ।
सावागेन् येत्कप् ।
पेलिगेन् फाङु्गप् ।।
सिरिरे पःङ्घे ।
कासारे पःङ्घे ।।
हःङ्गेआङ् सिङ्नु ।
साङ्सेमा केनु ।।
अम्लारी फुर्कानु ।
साम्मेत्ति मेत्ति ।।
कप्मार तेमा ।
थक्थाम्धाम् ।
थक्थाम्धाम् ।। (लिम्बू, ०७३ः ३२)
भावः ‘यो घरमा आठैदिशा नौवैफन्का, तागेरा (ईश्वर) खबर, सरस्वतL खबर, मुसोःत्लुङ् खबर, मुबेःक्वा खबर, महात्मा खबर, लेप्मुहाङ् खबर, प्राणको खबर, लेप्मुहाङ् खबर, जस्तैगरी आठैदिशा नौवैफन्का मार्न घुँगरुका चाँपहरू, घण्टीका झुप्पा, खमारी रूखसँग, साङ्सेमा च्याब्रुङ्सँग सुनाखरी फूलको झुप्पासँगै गीत गाउँदै–गाउँदै, फन्का मार्दै थक्थाम्धाम् (घूनपुतलिहरू पछारिएको है) ।’  स्मरण गरौँ कि माथी केसाम् छन्द अन्तर्गत मेःत्काम (लगन) बेला वाहिवा केलाःङ्मा गाइएको गीत आठ अक्षरका छन् भने यो थक्थाम् गीतमा पाँचअक्षरे मात्र रहेका छन् । तसर्थ थक्थाम छन्द छुट्टै अवस्थामा छ र गायकी पनि । केसाम् वास्तवमा विवाह र नयाँघर वशैंमा प्रयोग हुन्छ भने दुवै संस्कारमा छुट्टाछुट्टै अक्षर निर्माण र सोइपरीका स्वर निर्माण भएका छन् ।



अझै घरलाई आशिर्वाद दिँदै कहिले माउ नलागोस्, नबिग्रिओस्, नजलियोस्, भूकम्पले नलडाओस्, हावाहुरीले नउडाओस् भन्दै गाउँदै लैजानुपर्छ । नयाँघरको भुइँतलाबाट सिरान तलासम्म र सिरान तलाबाट भूइँतलासम्म थक्थाम् मुन्धुम गाउनुपर्छ (लिम्बू, ०७३ः ३२) ।

समग्रमा च्याब्रुङ्को प्रयोगहरू तीन भागमा विभक्त छन् । क. नयाँघरको पुजा उत्सवको आयोजनामा थक्थाम्गे वा हिम्गे भनिन्छ । देवपूजा उत्सवको समयमा यो दुङ्दुङ्गे भनिन्छ । विवाह उत्सवमा यो लाम्गे वा मेकाम्गे भनिन्छ (चेम्जोङ्, ०५१ः ७२) । देवपूजा उत्सव अन्तर्गत हाङ्साम् (कूलपूजा) समेत पर्दछन् । 

च्याब्रुङ् प्रयोग भनेको शुभकार्यको स्वागतार्थका लागि हुन्छ । नयाँघर वशैंमा पनि लाम्दाःक् (स्वागत) विधिबाटै शुरू हुन्छ भने शुभविवाह र कूलपूजामा पनि स्वागत विधिबाटै नाच शुरू हुन्छ । स्वागत विधि कार्य पनि क्षेत्रगत अनुसार पृथक हुनेगर्छ । इतिहासमा राजा, महाराज, शासक, ऋषि, महर्षि, देवगण, नेतागणहरू सबैमा स्वागतार्थको रूपमा उपयोग गर्दै आए । जस्तैः दुङ्दुङ्गे देउता पनि स्वागतार्थ स्वरूप प्रयोग भएका हुन् । यो बाजा याक्थुङ् राजाहरूबाटै प्रयोग हुँदै आए, युद्ध समेतमा । स्वागतार्थ विधि नाघेर वर्तमानमा यस बाजालाई आन्दोलनहरूमा पनि प्रदर्शन गरिँदै आएका छन्, ०६२/०६३ को जनआन्दोलनसँगै । च्याब्रुङ्बाट आन्दोलन गर्न कत्ति उचित र अनुचित भन्ने कुरा सामान्य विधिहरूको हेक्का विना उपयोग गर्नु संस्कार संस्कृति होइन कि भन्ने लाग्छ, ‘भोटेको डम्फु आहाहा’को ठट्टा झैं । वास्तवमा डम्फु पनि तिनको स्वागत, उठान, ईश्वरीय वन्दना र केही विधिहरू छन् तर तुक्का बनाए, सांस्कृतिक जेनोसाइडमा । डम्फू पनि च्याब्रुङ् जसरी सांस्कृतिक जेनोसाइडमा पर्ने तामाङ् जातिका राष्ट्रिय बाजा हुन् ।

च्याब्रुङ् गीत (केसाम्) रचना बारेः

वर्तमान च्याब्रुङ् गीतको तत्काल रचना कसरी गर्ने भन्ने नयाँपुस्तामा अन्योल छ । नाच्ने नर्तकहरू पनि भाडामा आश्रित हुन थालेका छन् । वास्तवमा च्याब्रुङ् नर्तकहरूले च्याब्रुङ्सँग हरेक अवस्था, अध्याय र समयमा तिनका प्रयोग विधि र शैलीहरूका आधारमा रचना गरी गाउनुपर्छ । टाढा जानु पर्दैन, गायन शब्द खोज्नका लागि । त्यस आधारमा च्याब्रुङ्का स्थानिक गाथाहरू जोडिएका हुन्छन् । च्याब्रुङ्को ताल र सूर मिलाएर तालका आधारमा दिल फुकालेर रसयुक्त स्वरले गाउनुपर्छ । ताल र सूरविहीन गाएमा च्याब्रुङ् गीत सुन्न लायक हुँदैन, खोलाको गीत जस्तै ।

प्रथमतः च्याब्रुङ् इतिहासका गाथाहरू, च्याब्रुङ् निर्माणका वस्तुहरू र तिनका सजावटहरू, च्याब्रुङ् नाचिने घर, परिवार, माङ्गेन्ना? यक्, थर र ठेगानाहरू मिलाएर गाउने हो । च्याब्रुङ् गाथाहरू नभएमा ईश्वरीय नामहरू मिलाएर खबर गर्ने घरको माङ्गेन्ना ? लुङ्धुङहरू र च्याव्रुङ् सजावट, काठ, फूलहरू, घण्टी आदि जोडाएर कुन अध्याय र समयको हो त्यो मिलाएर छन्दोवद्ध शब्दमा गाउनुपर्छ । गाउनु र छन्द मिलाउन जानेपछि वास्तविक केसाम्को मेःत्काम् मुन्धुम् वा हाङ्वामु?इ मुन्धुम अनि थक्थाम् मुन्धुम सामान्य जानकारी भए गाउन मनग्गे पुग्छ ।

च्याब्रुङ्को ऐतिहासिक निर्माणका गाथाहरू, च्याब्रुङ् बनाउने खेलाउने पुर्खाहरू, च्याब्रुङ् पहिले बनाएका स्थानहरू, ईश्वर र देवताका नामहरू, च्याब्रुङ्का सजीसजावट तथा बनाइने रूखहरू र नाच्ने घरको माङ्गेन्ना ? यक् थाहा भएपछि समयानुकुल र अवस्थानुसार शब्द मिलाएर गाउने हो । सुगा रटाई र घोकाइले हुँदैन । आशुकवि झैं तत्काल सिर्जित र रचित हुनुपर्छ । सकभर अन्त्यानुप्रास मिलाएमा गायन सुन्दर हुन्छ भने शब्दहरू पनि दोहोरिन सक्छ । अन्त अनुप्रास नमिलाए पनि केसाम् गाना हुन्छ तर छन्दवद्धता छोड्नु हुँदैन । छन्दोवद्धता छोडियो भने ताइँ न तुइँ बन्न जान्छ ।

च्याब्रुङ्का नाच प्रकारः

च्याब्रुङ् नाचहरू धेरै प्रकारका हुन्छन् । तालहरू मै फरकता, आख्यान परम्परा नै पृथकता र भिराईमा रखाई नै बेमेल रहेका च्याब्रुङ प्रयोगको क्षेत्रगत (थुमगत) रूपमा आ–आफ्नै शैलीहरूमा जीवित छन् । कसैले दाहिने ताललाई आकाशतिर फर्काएर पैतालिस डिग्रीको कोणमा, कसैले दाहिने र देब्रे ताललाई तेर्सो सरल समानान्तर एकसय असी डिग्री कोणमा रखाएर त कसैले दाहिने ताललाई भुइँतिर घोप्टो पारेर । पाःन्थःर जिल्लामै क्षेत्रगत आधारमा फरक–फरक ताल, पृथक नाचका शैली, आख्यान परम्पराहरू, च्याब्रुङ्को भिराइहरू छन्, आपसमा मिल्दैनन् । तसर्थ यो धेरै प्रकार र शैलीहरू याक्थुङ् समूदायै पिच्छे जीवित रहेका च्याब्रुङ बाजा हुन् । तथापि नाच नाच्नुपर्दा छविलाल नेम्बाङ् अनुसार ‘सर्वप्रथम कुसरक्पाबाटै थालनी हुन्छ । त्यही कुसरक्पाबाटै रूपहरू परिवर्तन गर्दै लैजानुपर्छ । त्यसमा हरेक जनावर, जीव, पंक्षीहरूको हिँडाई, उडाई, तैराई, कुदाई आदिको शारीरिक चाल र ढाललाई नक्कल गर्नुपर्छ । जस्तैः हात्ती, गैडा, माछाका भुरा, पुतली, भाले, परेवा, ढुकुर, बाँदर, छिछिमिरा, पानीतरुवा, मयुर, बाघ, भालू, विरालो, हुँचिल आदि–आदिको चालहरू हुन्छन् । तिनीहरूको चाल र ढाललाई नाचमा नक्कल गर्ने हो । नक्कल गरेर ल्याएकाहरू सबै नर्तकहरूले आ–आफ्नै तौरतरिकाले नृत्य गर्छन् । तेसैलाई कुसरक्पाबाट ताल फेर्दै चालमा नक्कल गर्नुपर्छ । नाच्दा कुन जनावर, जीव र पंक्षीको हो स्पष्ट नक्कल गरिएको नाचबाटै फलानोको हो भनेर चिनिनुपर्छ ।’ यसरी यी नाचहरू पनि क्षेत्रगत रूपमा नै फरक शैलीहरूमा नाच्छन्, जुन कहिले मिल्दैन । नमिल्नु नै ताल फरकताले पनि हो ।



सुक्खिम, दार्जिलिङ्, तमोर–मेवा खोले, फेदाप्पे, सुदाप्पे, पाःन्थःरे, चौविस मिक्लुक्, चारखोले बीच र यसै बीचहरूमा पनि क्षेत्र र बासिन्दा समूदायहरूभित्र पृथकता पाइन्छन् । त्यो नै समृद्ध च्याब्रुङ् नाचका ताल र सूरहरू हुन् । च्याब्रुङ् घरमा झुण्ड्याएर मात्र हुँदैन । तिनको स्याहार–सुसार गरिरहनु पर्छ । माकुराको जालो पर्न सक्ला । आद्रता बढी र कम होला । मुसाले ताना टोके चुटाउला र ताललाई छेँड पार्ला । कुकुर र विरालोले छाला खाला । एकोहोरो घाममा मात्र राख्नु पनि हुँदैन र हावामात्र वहिरहनेमा पनि राख्नु हुँदैन । तसर्थ हावा र घामको दोसाँध भएको स्थानमा मुसा, विरालो र कुकुरले भेट्न नसक्ने गरी मिलाएर झुण्ड्याउनु पर्छ । यसपछि महिनामा एकपटक वा हप्तामा एक पटक च्याब्रुङ्को हुक्चाःङ्गे भिजाई बिहान वा बेलुका नाच्दै बजाउनु पर्छ । यसलाई केजाःङ्मा भनिन्छ ।

निर्माण र प्रयोगमा आउने व्यवधानहरूः

वर्तमान नेपालमा च्याब्रुङ् निर्माणका लागि चाहिने रूखहरूमा प्रतिबन्धित अवस्थामा छ । तिनमा प्रयोग हुने छाला पनि पूर्णरूपमा वन्देज छ । च्याब्रुङ्मा चाहिने उत्तम ताना र सिङ्जाःङ्गे छाला भनेको गाईको छाला नै सर्वोत्तम हुन्छ । तसर्थ गाई नै नेपालको राष्ट्रिय जनावर लेखिदिए पछि गोवध गर्न वन्देज गराइए । नेपालको संविधान (२०७२) अनुसार ‘भाग – १ प्रारम्भिक  धारा ९. राष्ट्रिय गान इत्यादिः (३) नेपालको राष्ट्रिय फूल लाली गुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुनेछ ।’ यसरी संविधानले नै चाहिने छाला गाईको बारे वन्देज लगाई च्याब्रुङ् निर्माणमा ठूलो व्यवधान खडा भएको छ । वास्तवमा जनावरमा गाई नलेखे के हुन्थ्यो होला शासकहरूले । उनीहरूको आमा वा लक्ष्मीको रूपमा पुज्दै आएका खसआर्य संस्कारले वास्तविक रूपमा याक्थुङ् समुदायको सांस्कृतिक धरोधरमा ठुलै धक्का सहँदै, खेप्दै र झेल्दै आएको वर्तमानसम्म छ ।

यसरी नै संविधानको अनुसूची – ५ संघको अधिकार सूची क्रमसंख्या २७ मा ‘राष्ट्रिय वन नीति’ राखेर वन सम्बन्धी ऐन बनाई कार्यान्वयन गर्ने संघीय सरकारमा अधिकार रहेको छ भने अनुसूची – ९ संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूची क्रमसंख्या ७ मा ‘वन, जंगल ....’ सम्बन्धी नीति बनाउने उल्लेख भएपनि स्थानीय तहको पूर्ण अधिकार भने छैन । स्थानीय तहले नीति बनाउँदा प्रदेश र संघलाई अनिवार्य सोधेर मात्र वन नीति बनाउन सक्छ । यसर्थ च्याब्रुङ् निर्माणका लागि चाहिने खमारी रूख, सागेसिङ् र साङ्सेमासिङ् रूखहरू कटान गर्न पूर्ण अधिकार छैन ।



नेपालको संविधानमा उल्लेख गरिएका गाईको छाला काढ्न र राष्ट्रिय वन नीतिका आधारमा खमारी रूख कटान गर्न बन्देज छ । यो सक्रिय मूल कानून र नीतिका नियमहरू उल्लङ्घन भएमा कानून बमोजिम च्याब्रुङ् बनाउने, नाच्ने र नाच्नका लागि प्रयोग गर्ने याक्थुङ् जातिमा सजाय रहनेछ । के, यो बुझेका छौं । च्याब्रुङ् कहिलेदेखि प्रयोग हुँदै आएको याक्थुङ् जातिहरुको राष्ट्रिय बाजा भनेर ?

च्याब्रुङ्का लागि केहि सम्वैधानिक उपायहरू

जस्तोसुक्कै भएपनि च्याब्रुङ्को प्रयोग भनेको याक्थुङ् समूदायको संस्कृति हो र सांस्कृतिक सम्पदा भएर रहेको छ । किनभने परापाषाण तथा नवपाषाण कालदेखि नै यो समाजले उपयोग गर्दै ल्याएको च्याब्रुङ् हो । एकदुई सय अघिदेखि शुरू नभई हजारौं–हजारवर्ष अघिदेखि प्रयोगमा आएको च्याब्रुङ्, तिनको निर्माण बारे सरल विश्लेषण गर्न मिल्दैन  । तसर्थ नेपालको संविधान (२०७२) ‘भाग – ३ मौलिक हक र कर्तव्य धारा ३२. भाषा र संस्कृतिको हकः (३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समूदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्द्धन र संरक्षण गर्ने हक हुनेछ ।’ यसरी मौलिक हकमा राखेको संस्कृति र सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्द्धन र संरक्षण गर्ने हकको नामबाट च्याब्रुङ् निर्माण र प्रयोग गर्न सकिने आधार भने सानो छ ।

यसरी नै संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा विषयमा केही संवैधानिक व्यवस्थाहरू धारा उपधाराहरूमा रहेका छन् । यसबारे नेपाल सरकारले कत्तिको सदुपयोगमा ल्याउँछ भन्नु सरकारको हेराई, गराई र भोगाईमा भर पर्ने हुन्छ । यसरी व्यवस्था भएका धारा र उपधाराहरू लाटाको धोती बनाउने सरकार हो भने उसैले जानुन् । जो नेपाली नागरिकले पाएको सानो अधिकारहरू बारे । यहाँ एकहातमा नरिवल र अर्कोहातमा डण्डी बोकेर बाँदरलाई खानदिनु सरह हुनेछ, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने हकको कुरा । अर्को ‘गरिबलाई दिन्छु भन्ने, राँडीलाई लान्छु भन्ने’ नेपालको संविधानले भनेता पनि दिने समय र लाने समय कुनै जुगमा पनि आएनन् । उल्टो महासास्ती खेप्नु बाध्यकारी छ, च्याब्रुङ् संस्कृतिको ।

संविधानको भाग – ४ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व ५०. निर्देशक सिद्धान्तहरूः (२), ५१. राज्यका नीतिहरूः (ञ) सामाजिक न्याय र समावेशीकरणसम्वन्धी नीतिः (८) र भाग – ५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड ५६. राज्यको संरचनाः (५) समेतमा संघीय कानून बमोजिम सांस्कृतिक संरक्षण र विकास गर्ने उल्लेख गरेका छन् तर संघीय कानून बनाउने पहुँचवाला प्रतिनिधि सभा संसद खसआर्य संस्कृति र सांस्कृतिक सम्पदाका लागि मात्र बनाएमा च्याब्रुङ् संस्कृति प्रयोग गर्ने याक्थुङ् जातिको लागि उपयुक्त हुँदैन ती संघीय कानूनहरू । च्याब्रुङ् प्रयोक्ताहरूका लागि दानवी कानून हुनेछन् ।

नेपाल सरकारले मूलकानून, संघीय कानून, ऐन तथा नीतिहरूमा च्याब्रुङ् सम्बन्धी नीति बन्न र बनाउन नसकेमा अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने हुन्छ, आदिवासी जनजातिको अधिकार लिएर । यसका लागि संविधानको ‘भाग – ४ राज्यका निर्देशक सिद्धान्त,  नीति र दायित्व ५१. राज्यका नीतिहरूः (ख) राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी नीतिः (३) नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने’, भनेर उल्लेख छ । यही नीतिको आधारमा ‘आदिवासी जनजाति सम्बन्धी महासन्धि र आइएलओ १६९’ को अधिकार सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत जाने बाटो भने खुल्ला छ, भन्ने हो ।

नेपाल सरकारले च्याब्रुङ निर्माण र प्रयोगमा संवैधानिक वन्देज गराए पनि यी संविधानका केही अधिकारहरू प्रयोग गर्न सकिन्छ । स्थानीय तहको सरकारले च्याब्रुङ् सम्बन्धी पूर्ण रूपमा स्वायत्त दिएर निर्माण र प्रयोगका नीतिहरू लिन सक्छ । स्थानीय सरकार पनि त च्याब्रुङ्का काठ, तिनका छाला र प्रयोगबारे थाहा हुने बलियो वौद्धिक व्यक्ति चाहिन्छ । नभए, अहिलेसम्म स्थानीय तहको सरकारले गरेका कामहरू घाम जत्तिक्कै छर्लङ्ग छ, खै गरेको ? हात्ती आयो, हात्ती आयो फुस्सा ।

जबसम्म च्याब्रुङ् संस्कृति र सांस्कृतिक सम्पदा भएजस्तोहरूको संस्कृति र सांस्कृतिक एकता नभइञ्जेल प्रदेश र संघीय सत्तामा हात लिन सकिन्न । त्यतिबेलासम्मै संवैधानिक अड्चन, समस्या, व्यवधान र  अवरोधहरू हरेक संविधान निर्माण, कानून, ऐन, नीति निर्माणहरूमा आदिवासी जनजातिहरूको संस्कृति र सांस्कृतिक सम्पदाहरू माथि सरकारी जेनोसाइड हुने नै छ ।

च्याब्रुङ्सँगै प्रतिबन्धित केही संस्कृतिहरू ः

नेपालको संविधानका आधारमा जाने हो भने याक्थुङ् जातिको च्याब्रुङ् नै पहिलो प्रतिबन्ध हुने बाजा हाे । यसपछि गाईकाटी पूजा गर्ने पित्चम्मा देउता पनि प्रतिबन्धित हुने भए । पित्चम्मा देवतापछि अर्को दुङ्दुङ्गे देउता पनि बन्धनमा पर्ने भए । जब च्याब्रुङ् नै प्रतिबन्ध भएपछि नयाँघरमा घरवैंश संस्कार थक्थाम्धाम् पनि थुनुवामा पर्ने भए भने शुभविवाह मेःत्काम्गाम् र कूलपुजा समेत छेकवारमा पर्ने भए । यस्तो बन्धनमा पर्दैछ भन्ने संस्कृतिवादीहरूले सोचेका छन् त ? छैन । यस्तै प्रतिबन्ध लागेको च्याब्रुङ्हरू तिनै संघीय शासकहरू र प्रदेशका शासकहरू टुरमुकाममा आउँदा स्वागत गर्नका लागि नाच्न लगाउनु, ठाउँ–ठाउँमा उद्घाटनमा च्याब्रुङ् नै बजाउन लगाउनु र तिनीहरूको सिको गरेर तल्लो स्थानीय तहमा पनि केन्द्रीय तथा प्रदेश शासक वर्गहरूको कारिन्दाहरूलाई स्वागतमा उपयोग गर्न लगाउनु यत्ति दलील उपनिवेश भएको छ कि जसकाे मापन गर्नै सकिन्न ।

पित्चम्मा देउता पुजा गर्दा याक्थुङ् जातिहरुले गाई नै काटेर पुजा गर्दथे र मुन्धुम प्रयोग हुँदै आए । पछि प्रतिबन्धित भएपछि गाईको सट्टामा कसैले बाख्रा त कसैले राँगा काटे । निक्कै लामो समयसम्म गाई काट्न प्रतिबन्धलाई माओवादी दशवर्षे जनयुद्ध कालखण्डमा गाईकाटी खान युद्धकारी कम्युनिष्टहरूले सिके तर पित्चम्मा देउताकालागि थिएन । ‘झापामा दुइतीन जनाले गाई काटी खाएछन् । गाई काटी खानेहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्दै धर्ना, जुलुस र चक्काजाम आदि कार्यक्रमहरू भए । किन गाई काटी खान नहुने ? आन्दोलनकारीहरूको उत्तर थियो रे, किनकि गाई हाम्री देवी हुन्, लक्ष्मी’ (आङ्देम्बे, ०६९ः १०) । यसरी गाईलाई लक्ष्मी मान्ने संस्कार, संस्कृति हुने जातिको संस्कृति याक्थुङ् जातिले अनिवार्य लक्ष्मी मान्नुपर्छ र मार्नु हुँदैन भनी मार्न नलगाउनु र लक्ष्मी मान्नु लगाउनु नै सांस्कृतिक जेनोसाइड होइन र ! 

वर्तमानसम्म च्याब्रुङ संस्कृतिको अवस्थाः

नेपालका आदिवासी जनजाति, खस, मुस्लिम, बुद्धिष्ट, दलित लगायतका जाति र वर्गहरूको संस्कार संस्कृतिहरू माथि सरकारी आक्रमण र नीतिगत बन्देज गराएर खसआर्यको नियम कानूनहरू मान्न लगाउनु नै सांस्कृतिक जेनोसाइड हो। यस अन्तर्गत याक्थुङ् जातिको च्याब्रुङ् पनि सांस्कृतिक जेनोसाइडको पीडित पक्ष हुन् ।

च्याब्रुङ्को पूजा गरिने देवतालाई ‘दुङ्दुङ्गे’ भनिन्छ । यो दुङ्दुङ्गे पूजामा अनिवार्य च्याब्रुङ् चाहिन्छ । च्याब्रुङ् थिएन भने यस देउताको पूजा हुँदैन । च्याब्रुङ् बजाएर ईश्वरको आराधना, भक्तिभाव र सेवा गरिने भएकोले नै दुङ्दुङगे भनिएको हो । नेपालका संविधानहरू, प्रचलित कानूनहरु र ऐनहरुले प्रतिवन्ध लगाए, यी देउतालाई ।

च्याब्रुङ्मा राम्रो र मुन्धुमी रूख भनेको खमारी (हःङ्सिङ्) हो । हःङ्सिङ् नभएमा सागेसिङ् या साङ्सेमासिङ् रूखबाट च्याब्रुङ् बनाइन्छन् । ‘यी रूखहरूबाट बनेको च्याब्रुङ्को आवाजले दशगाउँ थर्काउँछ’ भन्ने कुरा च्याब्रुङ नर्तक नासपाते कान्छा (लालबहादुर नेम्बाङ्) (५३) बताउँछन् । ‘अरू प्रकारका रूखहरूबाट बनेपनि आवाज सुरिलो र थर्कमान हुन सक्दैन, भद्धा हुन्छ’ भनेर च्याब्रुङ् नर्तक पूर्णकुमार नेम्बाङ् (४७) बताउँछन् । यसरी नै च्याब्रुङ्का लागि राम्रो छाला भनेको गाईको छाला र मोहोरीका लागि सग्लो बाख्राको छाला नै धेरै राम्रो हुने कुरा च्याब्रुङ् प्रेमी घनेन्द्रकुमार नेम्बाङ् (४६) भन्छन् । सानै उमेरदेखि च्याब्रुङ् भिरेर विहा तथा नयाँघरको घरवशैंमा नर्तक भएर जाने अर्जुन लिम्बू (३०) ले भने च्याब्रुङ् नाच्नेहरूको संख्या घट्दै जानु, नयाँ नर्तकहरू निस्कन नसक्नु, तालिम नहुनु र च्याब्रुङ् उत्पादन हुन नसक्नुमा धेरै चिन्ता मान्छन् ।

स्वर्गीय सुभाष नेम्बाङ् (१९९८– २०६९) को भनाई अनुसार पित्चम्मा देउतालाई खुशी पार्न कोरली गाई राखेर पूजा गरिने र कूलपूजा गर्दा पनि कोरली गाई (करःङ्सा नाम्बित् फुङ्बित् अथवा करःङ् पित्) राखेर पूजा गरिने चलन थियो, पहिले । राणा सरकार ढलेपछि प्रजातन्त्र आयो र फेरि निरदल पञ्चायत आयो । ती व्यवस्थाहरुले पित्चम्मा देउता र कूलपुजामा कोरली गाई तफ्र्याउन नहुने सुब्बाहरूमा उर्दी गरे र छोडिँदै गए । त्यसको सट्टामा राँगा राखिने गरिन्छ।’ नेम्बाङ्काे भनाई अनुसार च्याब्रुङ्कै लागि पनि ती पूजाहरू गरेको हुनुपर्छ ।

गाई अथवा गोरु काट्ने सवालमा थुप्प्रै गोसवालाहरू जेल परे । तरैपनि गोस गर्न छोडेका छैनन् । केवल यो माओवादीको जनयुद्धले ल्याएको गोबध होइन । यो त हज्जारौं–हज्जार वर्ष पहिलेदेखि राजा महाराजा, रैतीहरूले हरेक कार्यहरूमा गोवध संस्कार चलाएर ल्याएका हुन् । भर्खर चलाएको संस्कृति होइन । राजाहरूले मेजमानीको रूपमा गोरु (लिम्बू, ०७१ः १८) वा कोरली गाई तर्फ्याएर अतिथिहरूलाई सम्मान गर्दथे । जसलाई फेदोःङ् भनिन्छ । पित्चम्मा देउता अहिलेको नक्कले देउता संसारी होइनन् । हज्जारौं–हज्जार वर्ष पहिलेदेखि मान्दै ल्याएका पित्चम्मा देवता हुन् भने दुङ्दुङ्गे देउता पनि । घर बनाएर च्याब्रुङ् नाच्ने प्रथा पनि ढुङ्गेयुग (परापाषाण) देखि कृषियुग (नवपाषाण) प्रवेशसँगै शुरू भएका संस्कार संस्कृति हुन् । यहि बेलादेखि च्याब्रुङ्को ताना र ताल पट्टिको छाला प्रयोग गर्दै आएको चलनलाई नेपाल सरकारले गोबध रोक्नु, जेल हाल्नु र च्याब्रुङ्लाई विस्थापन गर्न वरिपरि अश्लील छेकबारहरू लगाएर हटाउन खोज्नु याक्थुङ् जातिलाई आफ्नै आँखा अगाडि विष घोलेर खानु दिनु सरह हो र सांस्कृतिक जेनोसाइड पनि ।

खसआर्यहरूका संस्कार संस्कृतिलाई मात्र मान्यता दिएर कानून बनाउँदै लैजानु नै हिन्दु सनातन धर्मको जातीय सांस्कृतिक जेनोसाइड हो । याक्थुङ् जातिको धर्म, संस्कार र संस्कृतिको शरीरमाथि हिन्दु सनातन धर्मको धर्म, संस्कार र संस्कृतिलाई कानूनी मान्यता दिएर जबरजस्ती लाद्नु हो अथवा पित्चम्मा देउता पूजाको सट्टा सत्यनारायणको पूजा गर भन्नु नै हो । दुङ्दुङ्गे देउताको सट्टामा ‘श्रीमद्भागवत् सप्ताह पूराण गर’ भन्न खोज्नु नै हो । यसरी याक्थुङ् जातिको धर्म, संस्कार र संस्कृतिलाई मारेर सांस्कृतिक जेनोसाइड गर्दा खसआर्यलाई के फाइदा होला ? सांस्कृतिक सम्पदामाथि खलल होइन र ! आखिर सांस्कृतिक सद्भावमा मानवचेत पुग्दा बाध्यतावशः दक्षिण अफ्रिकाको नियतजस्तो कालान्तरमा भोग्नु नपरोस् भन्ने हो । याक्थुङ् जातिको च्याब्रुङ्लाई सांस्कृतिक जेनोसाइड गरेर प्रतिबन्ध लगाउदै च्याब्रुङ् नबजाउने, नबनाउने र याक्थुङ् जातिको वास्तविक सांस्कृतिक पहिचान खतम गरी खसआर्यको संस्कार संस्कृति लाद्नु मानवचेतको संस्कृति अवश्य होइनन् होला । सांस्कृतिक दानवीय र तानाशाही हुन्छ कि ? सर्वधर्म हितायः भनेर हिन्दु सनातन धर्मलाई मात्र हित, कल्याण, संरक्षण र सम्वर्द्धन गर्ने संविधानले संस्कार, संस्कृति, सांस्कृतिक र धार्मिक पक्षमा खसआर्य बाहेककालाई दर्विलै जेनोसाइड गरेका छन् । यस्तो नियतहरूमाथि भण्डाफोर र विरोधहरू सांस्कृतिक मानवचेतमा आउनुपर्छ ।

केही मैत्रीपूर्ण प्रस्ताव र सहिष्णूतागत प्रयोगः 

सांस्कृतिक जेनोसाइड गरेर जेनोसाइडभित्र पर्ने आम नेपाली नागरिकहरू ‘जस्तैः याक्थुङ् जाति’ एक न एकदिन असहज संघर्ष त गर्ला नै, च्याब्रुङ् जस्ताहरूको गाथा लिएर । तसर्थ यस्तो परिस्थिति आउन नदिन बेलैले सांस्कृतिक जेनोसाइड चिन्तनलाई मनैबाट आफै परास्त गराउनु सरल उपाय हो । अनिमात्र सबैको आ–आफ्नो संस्कार, संस्कृति र सांस्कृतिक सम्पदाहरू संरक्षण र संवर्द्धन गर्ने मार्गदर्शनमा लाग्न सकिन्छ । यसरी याक्थुङ् संस्कृतिभित्रका सांस्कृतिक सम्पदाहरूलाई जिउँदो राख्न संरक्षण र सम्वर्द्धन गर्नका लागि याक्थुङ् मुन्धुम अनुसार निम्न मैत्रीपूर्ण प्रस्तावहरू पेश गरिएको छ ।



क) च्याब्रुङ् उद्योग सञ्चालन गर्ने । त्यसकालागि हरेक याक्थुङ् वन जंगलमा अल्टिच्युटका आधारमा खमारी र खमारीको अलावा सागे र साङ्सेमा विरुवाहरू अनिवार्य रोपण गर्ने । उमेर पुगेका ती रूखहरू याक्थुङ् जाति वाहेक अन्य जातिहरूलाई किन्न नदिने तर बाजा निर्माणकै प्रयोजनमा हो भने च्याब्रुङ्सँगै अन्य बाजाका लागि प्रयोग गर्न दिने।
ख) पित्चम्मा देउताको पूजामा अनिवार्य करःङ्सा नाम्बित् फुङ्वित् राखेर सेवा गर्ने । भोग गर्नेले सोइपरी र नगर्नेले सोइपरी गर्ने ।
ग) दुलहा पक्षको शुभविवाह र नयाँघरको घरबसैंमा अनिवार्य च्याब्रुङ् प्रयोग गर्ने ।
घ) कूलपूजामा अनिवार्य च्याब्रुङ् प्रयोग गर्ने, करःङ्सा नाम्बित् फुङ्वित् राखेर सेवा गर्ने र भोग गर्नेले सोइपरी र नगर्नेले सोइपरी गर्ने ।
ङ) दुङ्दुङ्गे देउतालाई सम्बन्धित थरीहरूले व्यापक रूपमा पूजा सेवा गर्ने र चेलीहरूलाई पनि व्यापक गर्न लगाउने ।
च) च्याब्रुङ् संस्कार थाम्नकालागि तुम्याहाङ् प्रथालाई दरिलो बनाउने ।
छ) तालिम (नाचहरू, गाथा तथा गीतहरू र निर्माण) हरेक याक्थुङ् समूदायका टोल–टोलमा गर्ने ।
ज) नर्तकहरूले अनिवार्य याक्थुङ् भाषा बोल्ने ।
झ) अधिकारका कुरा हो, स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा माथिका आठवटा बुँदालाई मान्यता दिनेलाई चुनावमा निर्विकल्प सघाउने ।
ञ) यी माथिका बुँदाहरूलाई मान्यता दिने संस्था तथा समूहलाई मात्र च्याब्रुङ् उपलब्ध गराउने र सांस्कृतिक एकता गर्ने।
यी दशओटा बुँदाहरू वास्तवमा नेपालको संविधानतः छन् तर तिनै संविधानले एउटा ढोका खोलाई दिएका छन् भने त्यही खोलिएका ढोकालाई बन्दुकको मोहोरी राखेर छेकी दिएका पनि छन् । तसर्थ च्याब्रुङ संस्कृतिवालाहरू र च्याब्रुङ् जस्तै सांस्कृतिक जेनोसाइडभित्र पर्ने संस्कृतिवालाहरू बीच हरेक समय, काल, अवस्था, मताधिकार र इतिहासमा सांस्कृतिक चेतले एक भएर संस्कृतिलाई थिच्ने, मिच्ने, हेप्ने, दल्ने र पेल्ने संस्कृतिवालाहरूलाई सद्भावपूर्ण तरिकाले विच्छेदन गर्दै लैजानु परमकर्तव्यहरू आपसेआप आउँदै गएको देखिन्छ । कि त अब याक्थुङ् जातिले गाईलाई लक्ष्मी मान्नै पर्ने र च्याब्रुङ्को ताना र छाला नबनाउनु पर्ने नै हो भने खसआर्य जातिले पनि हाङ्साम् (कूलपुजा) पूजागर्दा सुँगुरवध गर्नैपर्छ नि त, लिनादिनाको संस्कृतिमा । या त संविधानमा उल्लेख भएका संस्कृति र सांस्कृतिक भन्ने शब्द काट्न वेश कि त नेपाली समूदायमा रहेका संस्कृति तथा सांस्कृतिक सम्पदाहरू निर्वाध रूपमा जेनोसाइड विहीन प्रयोग गर्न पाइयोस् । होइन भने ‘मेरो गोरुको बारै टक्का’ले आफ्नो मान्न लगाउने तर अरूको नमान्ने जेनोसाइडले एकदिन असिम सांस्कृतिक विषमक्रान्ति समयले आफैँ ल्याउन सक्छ । 

संविधान मान्ने, जान्ने र लेख्नेले संविधानमा लेखिएका संस्कृति र सांस्कृतिक भन्ने शब्दहरू परिभाषागत रूपमा बुझेकै छन् । नबुझ्ने त पक्कै होइनन् होला । के त्यो संस्कृति र सांस्कृतिक भन्ने शब्द खसआर्यका लागि मात्र बनेको हो ? कि अरूहरूको पनि । यदि अरूहरूको पनि हो भने ती शब्दहरूले गाईको छाला काढ्न अधिकार दिए जस्तै लाग्छ, भाषा र व्याख्यामा । नभए के अरू तिनीहरू लाटाहरू हुन् त ? लाटा होइनन् भने प्रयोगमा छेकबार गरिनु महापाप हुन्छ, मार्काण्डेय कसम । अनि त भन्छन् ‘लाटो लड्छ दुई बल्ड्याङ्, बाठो लड्छ बाह्र बल्ड्याङ्’ । यहि बार बल्ड्याङ् लडेकै कारण संविधानभित्र राष्ट्रिय जनावरमा गाई, धर्मनिरपेक्षको स्पष्टीकरणमा सनातन धर्म र खसआर्यको जातीय स्पष्टिकरणमा क्षेत्री बाहुन् सन्यासी (दशनामी), ठकुरी भनेर हत्तारले सुलुत्त छिराएको होला । ती अरूहरूको संस्कृति र सांस्कृतिक सम्पदालाई निमिट्यान्न गर्न र सिध्याउन होइन र ! लाटोहरूमा बल्ल चेतना भया ।


अन्तमा,
यो लेखनताका च्याब्रुङ्का मेरा गुरु स्वर्गीय छविलाल नेम्बाङ्, मुन्धुम गुरु स्व. स्वरुपसिं नेम्बाङ्, तुम्याहाङ् स्व. जसवहादुर नेम्बाङ् र मुन्धुमवेत्ता तथा वंशावली लेखक स्व. सुभाष नेम्बाङ्लाई सम्झेँ र उहाँहरूलाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँहरूकै दिक्षाटन र देनले यो लेख सम्पन्न भएको छ । 

स्रोत व्यक्तिहरूः

    नेम्बाङ् पूर्णकुमार (४७), फाल्गुनन्द गापा २, सुरीखावा
    नास्पाते कान्छा (लालबहादुर नेम्बाङ्) (५३) फाल्गुनन्द गापा २, लुप्चाप्पा
    नेम्बाङ घनेन्द्रकुमार (कामाने) (४६), फाल्गुनन्द गापा २, सुरीखावा
    लिम्बू अर्जुन (३०), फाल्गुनन्द गापा २, पज?मा
    नेम्बाङ् स्व. जसवहादुर (१९६४–२०५७), फाल्गुनन्द गापा २, हाङ्यक
    नेम्बाङ् स्व. स्वरुपसिं (१९७६–२०५८), फाल्गुनन्द गापा २, कोःक्माहिम
    नेम्बाङ स्व. छबीलाल (१९९४–२०७२ चैत्र), फाल्गुनन्द गापा २, सुरीखावा
    नेम्बाङ् स्व. सुभाष १९९८–२०६९ भदौ), फाल्गुनन्द गापा २, तिङ्ग्रेÞःक्थुक्पा

स्रोत पुस्तकहरूः
    चेम्जोङ इमानसिं, ‘किरात इतिहास र संष्कृति’ (अनुवादक शेरबहादुर इङ्नाम), प्रकाशक मण्डल शनिश्चरे गाविस ६ शालवाडि जिल्ला झापा नेपाल, २०५१
    लिम्बू मलिसा याक्थुङ्बा, ‘याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र २०४९’ (निबूखोला आसपास), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेल ललीतपुर २०७३ 
    इङ्नाम भगीराज, ‘लिम्बू जातिको इतिहास’, रेनु लिम्बु तुम्बाहाम्फे, मनिष इङ्नाम, रिना सुब्बा, अतित इङ्नाम, शान्ताकला मुदेन्छङ् साँवा २०७५ भाद्र 
    सुब्बा धनहाङ्, ‘लिम्बुवानका लोककथा’, हाङ्मा लाबुङ् (साँवा), २०६५
    सम्पादक मण्डल थाम्सुहाङ् पुष्प सुब्बा समूह, ‘लिम्बू छन्दहरु’, रुपनारायण लावती फेदेन पाँचथर, २०५८
    आङ्देम्बे तेजमान, ‘भाषा सँष्कृति र इतिहासका क्यान्सरहरु’, दिलविक्रम आङ्देम्बे –आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान) २०६९
    चापागाई डा. नरेन्द्र, ‘संक्षिप्त नेपाली शब्दभण्डार’, श्याम पुस्तक भण्डार २०६७, विराटनगर
    लिम्बू मलिसा याक्थुङ्बा, ‘याक्थुङ् भाषा र साहित्य’ (अनुवादसहित प्रकाशोन्मुख पाण्डुलिपि), याम्बोङ, पाःन्थःर
    केरुङ, मधुराज ‘लिम्बू लोकपद्यमा केसामको अध्ययन’, शब्द सोपान, ११ बैसाख २०७८ (अनलाइन)
    सिवाकोटी प्रा.डा. गोपाल, नेपालको संविधान, २०७२, पैरवी प्रकाशन पुतली सडक काठमाण्डौं
    पापो लक्ष्मीकुमार सेर्मा, याक्थुङ् पाङ्खेदा?, पूर्णकुमार सेर्मा (भुपु मन्त्री) २०५५
    लिम्बू मलिसा याक्थुङ्बा ‘लिम्बुवानमा पाँचथरको इतिहास’, कामना नेम्बाङ, २०७१

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...