लक्ष्मण पन्त

मार्च २ १९६० मा गुल्मीकाे छत्रकाेटमा जन्मिएका लक्ष्मण पन्त साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । वाणिज्यमा स्नातक पन्तका आधुनिक नेपालकाे इतिहास र नेपाल भारत र छिमेकीजस्ता कृतिहरू प्रकाशित छन् ।

मार्च २ १९६० मा गुल्मीकाे छत्रकाेटमा जन्मिएका लक्ष्मण पन्त साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । वाणिज्यमा स्नातक पन्तका आधुनिक नेपालकाे इतिहास र नेपाल भारत र छिमेकीजस्ता कृतिहरू प्रकाशित छन् । 

यवर्धने–राजीव गान्धी सम्झौताबाट दक्षिण एसियामा सोभियत ब्लकको हात माथि पर्न गएको थियो । बेलायत र अमेरिका यसबाट तिल्मिलाउन पुगेका थिए । त्यहाँका अखबारहरूमा श्रीलंकामाथि हस्तक्षेप गरेकोमा राजीव गान्धीको तीव्र आलोचना गरिएको थियो । श्रीलंका सम्झौताको बारेमा न्यूयोर्क टाइम्सको सम्पादकीयमा राजीव गान्धीको आलोचना गर्दै भनिएको थियोः

श्री गान्धीको लट्ठीछाप कूटनीतिले इन्दिरा गान्धीको साना छिमेकीप्रतिको आक्रमणकारी नीतिको सम्झना ताजा गराएको छ । श्रीमान् गान्धी आफ्नी आमा जस्तै छिटै आफ्नो धैर्यता गुमाउने शासकभित्र पर्दछन् । तर उनमा आफ्नी आमाको जस्तो धुर्त्याइँको भने कमी छ ।

त्यस्तै वाल स्टीट जर्नलले आफ्नो सम्पादकीयमा भारतलाई आफ्ना छिमेकीलाई कुल्चिँदै हिँड्ने मैमत्त हात्तीको संज्ञा दिएको थियो । पश्चिम जर्मनीबाट प्रकाशित हुने फ्रेंकफर्तर अलजेमाइने जाइतुड्ले २४ अप्रिल १९८७ को सम्पादकीयमा लेखेको थियोः 

श्रीलंकाका तमिल छापामारहरूलाई हतियार दिनु इन्दिरा गान्धीको गम्भीर भूल थियो भारतलाई कुनै हानि नपुयाएको छिमेकी मुलुकका विद्रोहीहरूलाई भारतले हतियार दिएको कुरा उसले स्वीकार नगरे पनि त्यसमा सच्चाई छ श्रीलंकाली तमिलहरूका भारतमा वर्षीदेखि अखाडाहरू रहेका छन् । भारतको नैतिक र भौतिक सहयोगबिना तमिल अल्पसंख्यकमाथि भएको भनिएको उत्पीडन विरुद्ध स्वतन्त्र तमिल इलमका लागि संघर्ष अगाडि बढाउनु सम्भव थिएन। आफ्नी आमाले छोडेको समस्यालाई राजीव गान्धीले आफ्नै देश खतरनाक अवस्थामा पुगेपछि बल्ल महसूस गर्न थालेका छन् । आफ्ना छिमेकीहरूलाई कमजोर बनाएर आफू शक्तिशाली बन्नु दिल्लीको चीरपरिचित रणनीति हो। श्रीलंकाको जातीय द्वन्द्व यसका लागि उपयुक्त रहेको छ इन्दिरा गान्धीले छाडेका छौडाहरूलाई नियन्त्रण गर्नु भारतीयहरूका लागि कठिन हुनेछ ।

सम्झौता भएको अर्को दिन अर्थात् ३० जुलाईबाट भारतीय शान्ति सेनाको हजार सैनिकहरूको पहिलो टुकडीलाई भारतले श्रीलंका पठाएको थियो । विभिन्न खेपमा श्रीलंका पठाइएका भारतीय सैनिकहरूको कुल संख्या ८० हजार रहेको थियो । त्यसमा चौथो र पाँचौ गोर्खा बटालियन पनि सामेल रहेको थियो । शान्ति सेना जाफना पुग्दा प्रभाकरन दिल्लीमा भारतीय सुरक्षा घेरामा विभिन्न उच्च अधिकारीहरूसित भेटवार्तामा व्यस्त थिए ।

दिल्लीमा प्रभाकरनले तमिलनाडुका मुख्य नेताहरू र भारतीय विदेश मन्त्रालय र खुफिया विभागका उच्च अधिकारीहरूलाई पनि भेटेका थिए । राजीव गान्धीले कोलम्बोमा सम्झौतामा हस्ताक्षर गरिरहँदा र तत्पश्चात् कोलम्बोमा सैन्य परेडको अवलोकन गर्दै गर्दा लिट्टेको आधार इलाकाबाट भारतीय विशेष जहाजबाट राजीव गान्धीको निर्देशनमा दिल्ली झिकाइएका प्रभाकरन दिल्लीमै थिए । श्रीलंका रवाना हुनु भन्दा केही दिन पहिले उनले दिल्लीमा प्रभाकरनेलाई भेटेका थिए । भनिन्छ, गान्धी र प्रभाकरनबीच अत्यन्त सौहार्दपूर्ण वातावरणमा वार्ताहरू भएका थिए । विदाई हुने बेलामा राजीव गान्धीले आफ्नो बुलेट प्रुफ ज्याकेट प्रभाकरनलाई पहिराउँदै आफ्नो ख्याल राख्न भनेका थिए । त्यतिबेला सम्भवतः उनले सपनामा पनि सोचेका थिएनन् कि उनले आफ्नै भावी हत्यारालाई जीवन रक्षक वस्त्रको उपहार दिदै छन । गान्धी र प्रभाकरनबीचको वार्ता अत्यन्त हार्दिक वातावरणमा भएको विभिन्न समाचार माध्यमहरुले जानकारी दिएता पनि प्रभाकरन श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेपकारी सम्झौताका पक्षमा थिएनन् । तर भारतलाई रिसाउन हालेर लिट्टे कहीं पनि पुग्न सक्तैन भन्ने पनि उनलाई राम्रोसँग थाहा थियो । त्यसैकारण उनले सम्झौताप्रति अनिच्छापूर्ण सहमति जनाएका थिए । लिट्टे आन्तरिक रूपमा सम्झौताको विरोधी थियो । 

दिल्लीमा प्रभाकरनमाथि आफूखुसी हिँडडुलमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो । एकातिर भारतीय शान्ति सेना श्रीलंकामा प्रवेश गर्दै गर्दा तमिल समुदायले सैनिकहरूलाई फुलमालाले स्वागत गर्दै थिए अर्कोतिर प्रभाकरनलाई दिल्लीमा सरकारले बन्धक बनाएको हल्ला पनि जाफनामा जोडतोडले चलिरहेको थियो । दिल्लीमा भएका प्रभाकरनलाई डीएमकेका सांसद वाई गोपाल सामीले भेटन चाहेका थिए, तर उनलाई सुरक्षाकर्मीहरूले भेट गर्न दिएका थिएनन् । गोपाल सामीका अनुसार प्रभाकरनले उनलाई ३० जुलाईमा फोनमार्फत सम्पर्क गरेका थिए । गोपालसामी भन्छन्ः दिउँसो १ बजे प्रभाकरनले मसित फोनमा कुरा गरेका थिए । उनले भनेका शब्दहरू अझै पनि मेरो मस्तिष्कमा ताजा छन् र म नमर्दासम्म मैले ती शब्दहरू बिर्सने छैन । उनले भनेका थिएः 

हामीलाई भारत सरकार र राजीव गान्धीबाट धोका भएको छ । मेरो पिठ्यूमा छुरा प्रहार भएको छ । त्यसपछि उनले तमिल भाषामा भने भाई । मैले पनि आफ्नो घाँटीमा साइनाइड क्याप्सुल झुन्ड्याएको छु । मैले आत्महत्या गर्ने सोचेको थिएँ तर सकिन । इलममा मेरा हजारी दाजुभाइ दिदीबहिनीहरू छन् । म त्यस्तो निर्णय लिन सक्दिन।

प्रभाकरनलाई भारतीय विशेष विमानले २ अगस्ट १९८७ मा जाफनामा सुरक्षित ओरालेको थियो । ४ अगस्टमा जाफना सहरस्थित सुदुमलाई मन्दिरको मैदानमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै प्रभाकरनले भारत श्रीलंका सम्झौतामा भारतको ढिपी (इन्सिस्टेन्स) का कारण आफू सहमत हुनु परेको बताएका थिए । उनले यो सम्झौता समग्रमा तमिलहरूको हितमा पनि नभएको बताएका थिए । 

याे पनिः भुटान : दक्षिण एसियामा भारतको 'अन्तिम मित्र'

५ अगस्टमा हतियार बुझाउने समारोहको आयोजनामा प्रभाकरन आफू स्वयं उपस्थित थिएनन् । उनले केवल आफ्ना सहायकहरूलाई पठाएका थिए । त्यस दिनको हतियार समर्पण समारोह जसलाई हतियार बिसाउने समारोह भनेर नामाकरण गरिएको थियो, मा केवल दुई ट्रकमा ल्याइएका केही पुराना हतियार मात्र बुझाइएको थियो । त्यसपछिका दिनहरुमा पनि हतियार बुझाउने काममा खासै प्रगति हासिल हुन सकेन । लिट्टेको असहमति मुख्यरूपमा निम्न विषयहरूमा थियोः

१. सम्झौता वार्ताहरूमा आफूहरूलाई सहभागी नगराइनु

२. सम्झौताबारे भारत सरकारले आफूलाई विश्वासमा नलिनु ३। लिट्टेका अतिरिक्त भारत सरकारले आफूसित शत्रुतापूर्ण सम्बन्ध रहेका अन्य तमिल संगठनहरूलाई मान्यता दिनु, सहयोग गर्नु ४। पूर्व र उत्तर प्रान्तलाई स्थायीरूपमा विलय नगर्नु

५. प्रान्तीय परिषदमा आफूबाहेक अन्य पक्षहरूलाई समावेश गर्नु

६. श्रीलंकाली सेना जाफनाबाट फिर्ता नजानु

७. जाफनाको प्रशासन सञ्चालन गर्ने र कर लगाउने अधिकार नदिनु

८. जयवर्धनेले जाफना र पूर्वोत्तर प्रान्तको प्रमुखमा लिट्टेको प्रस्ताव अनुसार बालासिङ्घमलाई नियुक्त नगर्नु

नेपाल भारत र छिमेकबाट

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

लक्ष्मण पन्त

लेखकबाट थप...