अब आम सर्वसाधारणको पत्रिकाले निःसन्देह आम मानिस अझ विशेषतः इतिहासदेखि कै सीमान्तकृत वर्ग, समुदाय र लिङ्गको आवाज बोल्नैपर्छ जसको आवाजलाई सत्ता र इतिहासले आजसम्म दबाएर राखिरहेको छ । तिनको आवाज मुखरित गर्ने ल्याकत छैन भने कम्तीमा दमन गर्ने छुट बिल्कुलै छैन ।
कसको आवाज हो पत्रिका ?
१४ जुन २०२१ मा ‘पण्डित’ दिनबन्धु पोखरेलको लेख रातोपाटीमा छापियो । लेख एकदमै जातिवादी भएको र यसले जातिय विभेदको पृष्टपोषण गरेको आरोप लागेको छ । यसै प्रसंगमा पत्रकार नरेश ज्ञवालीले प्रश्न उठाएका छन्, ‘पोखरेलको लेख आपत्तिजनक छ, किनभने यसको अन्तर्यमा दलित समुदायमाथि गरिएको एतिहासिक विभेदलाई सहि ठहर्याउने घिनलाग्दो दलिल पेश गरिएको छ । यदि पत्रकारिताको नयाँ अभ्यासलाई पछ्याउने हो भने यो लेख अनलाइनबाट डिलिट गरिनु पर्छ र सम्पादकले पाठकसामू माफी माग्नु पर्छ ।’
ज्ञवालीले यो प्रसंगलाई एकवर्ष अघिको न्युयोर्क टाइम्सको रिपब्लिकन सिनेटर टम कटनको लेख प्रकरणसँग पनि जोडेका छन् । उनी भन्छन्, ‘दलित आन्दोलन र कसैको सिङ्गो जीवनले आर्जेको गौरवप्रति गरिने अट्टहास विचारपृष्ठको लायक हुन सक्दैन । दलित अभियन्ताहरूले यस विषयमा बोल्छ्न् कि बोल्दैनन् भन्ने सवाल फेरि पनि प्रमुख सवाल होइन, यो हाम्रो चेतनाको सवाल हो । यो रंगभेदी, नश्लभेदी, जात व्यवस्था विरोधी चेतनाको सवाल हो, जुन समाजका हरेक मानवले बोक्नु पर्छ ।’
‘लेखकले आफ्नो विचार राख्न पाउँछन् नि !’ भन्नेहरूको पनि ठूलो जमात छ । पत्रिकाको काम धारण निर्माण गर्ने पनि होइन, बरू फरक दृष्टिकोणहरू पस्केर पाठकलाई धारणा निर्माण गर्न स्वतन्त्र छोडिदिने हो । तर यति भन्दैमा पत्रिकालाई कुनै लेखकको प्रतिगामी विचार सम्प्रेषण गर्ने छुट भने आजको आमसञ्चारमा छैन । पत्रकारिताको काम समाजलाई चेतना भर्ने तथा सीमान्तकृतको आवाज मुखरित गर्नु पनि हो । समाजलाई पछाडि फर्काउने कुनै धर्मभिरु महाराजको प्रतिगामी आवाजलाई मुखरित गर्नु होइन ।
सीमान्तकृतहरू बोल्न सक्दैनन्, बोले पनि तिनको आवाज मुखरित हुन पाउँदैन, सत्ताले तिनलाई सुन्दैन । तिनको आवाज मुखरित हुन्थ्यो भने ति सीमान्तकृत नै रहीरहने थिएनन्, तिनलाई किनारीकृत बनाइने थिएन । त्यसैले त तिनको आवाज बोलिदिने काम बौद्धिक तप्का र लेखकहरूको हो । यी सबाल्टर्न स्टडीजकी प्राज्ञ गायत्री स्पिभाक चक्रवर्तीका संकथनहरू हुन् । ‘क्यान सबाल्टर्न स्पिक ?’ लेखिएकै ४४ वर्ष भइसकेको छ र उनको यो ज्ञानोपदेश प्राज्ञ र लेखकहरूको लागि हो कुनै स्वतन्त्र मिडिया या सञ्चार माध्ययमको लागि होइन । त्यसो त कुनै लेखक वा प्राज्ञ पनि सत्ताइत्तर वा सत्तापक्ष अथवा सम्भ्रान्त वर्ग या सीमान्तकृत जुनसुकै तप्काको पृष्ठपोषण गरेर लेख्न वा बोल्न स्वतन्त्र छ । उसले बोकेको विचारको आधारमा कसैले उसको कन्चडमा पेस्तोल ताक्न पाउँदैन ।
सीमान्तकृतको आवाज मात्रै बोक्नुपर्छ भनेर कुनै मुक–अमुक सञ्चार गृहलाई त झनै दबाव दिन सकिन्न । एक त प्रायजसो सञ्चार माध्यम प्रत्यक्ष –अप्रत्यक्ष कुनै विचार, घराना वा राजनीतिक धारणा वा दलद्वारा प्रभावित हुनु कुनै नौलो विषय होइन । त्यसमाथि पनि सन्तुलित विचार प्रक्षेपणको लागि पनि मिडियाले सत्ता पक्षीय र सत्ताइतर दुवै आवाजलाई स्थान दिनुपर्ने संस्कार वा पद्धति रहेको छ । काश, चक्रवर्तीको विचार सञ्चार माध्ययममा पनि लगाउने हो भने निश्चय नै अमेरिकाको फक्स न्युज र भारतका ‘गोदी’ मिडिया सञ्चार माध्ययमको गणनामा पर्ने थिएनन् । मिडिया संकृतिलाई नै हेर्ने हो भने पनि यो प्रष्ट छ कुनै पनि बिचार प्रक्षेपण गर्न सञ्चार जगत स्वतन्त्र छ । के साँच्चै स्वतन्त्र छ त ? तर न्युयोर्क टाइम्सको पछिल्लो घटनाले यसो भन्दैन ।
के भएको थियो न्युयोर्क टाइम्समा ?
तीन जुन २०२० मा जब सिङ्गो अमेरिका 'ब्ल्याक लाइभ्स म्याटरर्स' आन्दोलनबाट गुज्रिरहेको थियो रिपब्लिकन सिनेटर टम कटनको एउटा लेख न्युयोर्क टाइम्सको विचार स्तम्भमा छापियो । कटनले एन्टिफा जस्ता संगठनले सहर र सडकमा हिंसा भड्काइरहेको र बरू सेना परिचालन गरेर नै भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति नियन्त्रणमा लिँदै आम नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने औंल्याएका थिए ।
त्यसको ठीक भोलिपल्ट यही लेख छापेकै आधारमा न्युयोर्क टाइम्समा विचार पृष्ठ सम्पादक जेम्स बनेटले राजीनामा दिनुपर्ने स्थिति पैदा भयो । कारण एकातिर अमेरिका भर जातिय विभेद विरुद्धको आन्दोलन चरम उत्सर्गमा चलिरहेको थियो, अर्कोतिर कटनको लेखले त्यहाँ एन्टिफा लगायतका संगठनको घुसपेट भएको बताएको थियो । समग्रमा भन्नुपर्दा कटनको लेख अमेरिकाभर चलिरहेको अभियानको खिलापमा थियो त्यसैले पनि यो लेख सँगसँगै उदारवादी चिन्तन बोकेको न्युयोर्क टाइम्सको विरोध हुनु कुनै ठूलो विषय भने थिएन । लेख र ओपेनियन टिमलगायत पत्रिका माथि यसैलाई आधार बनाएर आम पाठक खनिनु सामान्य कुरो थियो ।
जेम्स बनेटको राजीनामा माग्नेमा ब्ल्याक लाइभ म्याटरका आन्दोलनकारीहरू थिएनन्, पत्रिकाका सम्पादक, प्रकाशक र मालिकहरू पनि थिएनन् । उनी भन्दा मुनिका न्यूयोर्क टाइम्सकै पत्रकारहरू थिए र जसलाई तिनकै भनाइ अनुसार आम प्रदर्शनको मर्म विपरीतको रिपब्लिकन सिनेटरको विचार आफू कार्यरत पत्रिकाको विचार स्तम्भमा छापिँदा तिनलाई साँच्चिकै लाज लागेको थियो ।
के कटनको लेख छाप्नु जेम्स बनेटको गल्ती नै थियो त ? अहिले नै यसको किटान गर्नु एकदमै हतार हुनेछ किनकि ओपिनियन पेजको इतिहासलाई नै हेर्ने हो भने पनि यो फरक–फरक मूल्य मान्यता र विचारलाई स्थान दिँदै एउटा वैचारिक बहस र मन्थन सिर्जेर आम मानिसलाई आफ्नो धारणा निर्माणको अवसर दिने प्लेटफर्म हो । पत्रिकाको विचार स्तम्भको इतिहास नै सय वर्षभन्दा लामो छ भने यो नयाँ शैलीको बिचार स्तम्भको शुरूवात गर्ने पनि न्युयोर्क टाइम्स आफैँ थियो । जसले १९७० सेक्टेम्बर २१ मा सम्पादकीयको अर्को पृष्ठको विचार स्तम्भ शुरू गर्दा भूमिकामा लेखेको थियो, ‘विश्व साघुँरिदै गएको छ भने राज्य झन् सशक्त बन्दैछ, यो प्रजातन्त्रको स्वास्थ्य तन्दुरुस्त राख्ने कुरा पनि आम मानिसको जटिल विषयमाथिको गहन बुझाइमा भर पर्छ । त्यसैले पनि यो सम्पादकीय बाहेकको अर्को पेजमा हामी आम मानिसका चासो र सरोकारका नयाँ विचारहरू पस्कनेछौँ ।’ यो नयाँ फर्म्याटको विचार स्तम्भ सार्वजनिक सरोकारका नयाँ विचारमाथि बहस र छलफलकै लागि तय गरिएको जस्तो देखिन्छ ।
पचास वर्षपछि न्युयोर्क टाइम्स ओपिनियनकै यही उदारवादी अवधारणा टम कटनको लेखको हकमा लागू हुन सकेन, विचार मन्थनको थलोको रूपमा परिभाषित ओपिनियनको स्पेसमा कुनै निश्चित विचारको लेख छापेकै आधारमा सम्पादकले राजीनामा नै दिनुपर्यो । अझ आश्चर्य चाहिँ यो छ कि जेम्स बनेटको राजीनामा माग्नेमा ब्ल्याक लाइभ म्याटरका आन्दोलनकारीहरू थिएनन्, पत्रिकाका सम्पादक, प्रकाशक र मालिकहरू पनि थिएनन् । उनी भन्दा मुनिका न्युयोर्क टाइम्सकै पत्रकारहरू थिए र जसलाई तिनकै भनाइ अनुसार आम प्रदर्शनको मर्म विपरीतको रिपब्लिकन सिनेटरको विचार आफू कार्यरत पत्रिकाको विचार स्तम्भमा छापिँदा तिनलाई साँच्चिकै लाज लागेको थियो। आठ सय भन्दा बढी न्युयोर्क टाइम्सका पत्रकारहरूले जेम्स बनेट विरुद्ध पत्रिकाको व्यवस्थापन समक्ष उजुरी मात्र गरेनन् यस प्रकरणको बारेका न्युयोर्क टाइम्समै लेख पनि छपाए ।
के जेम्स बनेटले अपराध नै गरेका थिए त ?
के जेम्स बनेटले अपराध नै गरेका थिए त ? लेख प्रकाशित भइसकेपछि शुरूमै उनी र न्युयोर्क टाइम्स विचार स्तम्भ आन्दोलनको समर्थनमा दह्रोसँग उभिँदै आएको बताए, ‘न्युयोर्क टाइम्सको विचार पृष्ठ सम्पादन मण्डलले यो विरोध स्वस्फूर्तसँग आएको, कसैको घुसपैठ नभएको र प्रहरीले प्रदर्शनकारी, पत्रकार र सर्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको विषय पनि जोडतोडले उठाइरहेको छ ।’ कटनको लेख छाप्नुका पछाडि म कैयौँ कारणहरू प्रष्ट पार्न सक्छु भन्दै उनले अर्को पनि ट्विट गरेका थिए, ‘टाइम्सको विचार स्तम्भले आन्दोलनको समर्थनमा, परिवर्तनको माग राख्दै र प्रहरी दमनको आलोचना गर्दै यथेष्ट लेखहरु छापेको छ । तर टाइम्सका पाठकहरूलाई नीति निर्माणको तहमा विराजमान व्याक्तिहरूको फरक मतको बारेमा जानकार बनाउनु पनि हाम्रो जिम्मेवारी हो । हामीलाई थाहा छ धेरै पाठकहरूलाई कटनको विचारले आघात पुर्याउको छ । हामीलाई लाग्छ यसलाई सार्वजनिक बहसमा ल्याउनुपर्छ ।’
ओपिनियन विचार मन्थनको थलो हो । आधुनिक फर्म्याटको विचार स्तम्भले पनि यही नै भन्छ र बनेटको बोली तर्क संगत पनि छ । तर अँह सामान्य अवस्थामा यो विचार तर्कसंगत हुन्थ्यो होला, कम्तीमा अहिले चाहिँ होइन किनकि अमेरिका संरचनात्मक रंगभेद विरुद्धको आन्दोलनमा जलिरहेको छ । त्यसैले उनको यो ट्विट पनि पाच्य हुने कुरै भएन न्युयोर्क टाइम्समा जातिय न्यायको पक्षमा कलम चलाइरहने लेखिका निकोल हन्ना जोन्सले लाजमर्दो भन्दै ट्विट गरेकी थिइन्, ‘यो काम कुनै अनैतिक त होइन तर यसले मलाई समस्यामा पारेको चै छ । एउटा अश्वेत महिला, एउटा पत्रकार तथा एउटा अमेरिकी हुनुको नाताले हामी अझै यस्तो पनि छापिरहेका छौँ भन्ने सम्झिँदा एकदमै लज्जित हुन्छु ।’ न्युयोर्क टाइम्सकै फिल्म समीक्षक म्यानोल्हा डर्गिसले भन्न भ्याएका थिए, ‘हुँदैन, हुँदैन, हुँदैन । तिमीले एकपछि अर्को गलत निर्णय लिएका छौँ, त्यसैले अब चलाइरहनु हुँदैन ।’ हवाइबाट निर्वाचित डेमोक्र्याट्स सिनेटर ब्रियान साजले त कटनको लेखलाई ‘अमिलो अंगुर’ भन्न भ्याएका थिए ।
५४ वर्षीय जेम्स बनेट न्युयोर्क टाइम्सका पुराना कर्मचारी हुन् । उनी १९९१ देखि २००६ सम्म टाइम्सकै समाचार कक्षमा थिए । त्यसपछि उनी द एटल्यान्टिकका सम्पादक हुँदै टाइम्स छोडेका थिए भने २०१६ मा टाइम्सकै ओपिनियन सम्हाल्न आइपुगेका थिए । विचार सम्पादकका रूपमा सुधारका थुप्रै काम गरेपनि उनको यो चार वर्षे कार्यकाल विवादरहित भने भएन । र, कटन लेख प्रकरण उनलाई पहिलो झड्का होइन ।
बनेटले ओपेनियन सम्हालेपछि ब्रेकिङ न्युजका आधारमा ताजा विचारमा लेख लेखाउने, 'इन्भेस्टिकेटिभ' पत्रकारितामा जोड दिने र विषय र व्यक्ति तोकेरै विचार स्तम्भ लेखाउने कामलाई प्रथामिकतामा राखेका थिए भने थुप्रै स्तम्भकार र लेख कन्ट्रिब्युटर नियुक्त गरेका थिए । आफ्नो सम्पादकीय मण्डललाई पनि तोकेरै लेख लेख्न लगाउने गरेका थिए ।
बनेटले स्तम्भकार बनाएका ब्रेट स्टेफन्सको पहिलो लेखले नै धेरैलाई चिड्याएको थियो । उनको अर्को लेख ‘द सेक्रेट्स अफ जिउज जेनियस’ पनि विवादास्पद बनेको थियो । उनले सन्दर्भ सामाग्रीको रूपमा उल्लेख गरेको एउटा पुस्तक र लेखकले जातिवादी सिद्धान्तलाई मलजल गरेको थियो । तर टम कटनको लेख सम्पादक जेम्स बनेटको लागि एकदमै महँगो साबित त त्यतिबेला भयो जतिबेला न्युयोर्क टाइम्सका आठ सय बढी कर्मचारीले बनेटको राजीनामा माग गर्दै बिहीबार म्यानेजमेन्टलाई पत्र थमाए । त्यतिमात्र होइन असन्तुष्ट समूहले कटन लेख प्रकरण र बनेटको राजीनामा प्रक्रियाको विषयमा न्युयोर्क टाइम्समै लेख छपाए ।
परिणामस्वरूप बनेटले मात्र राजीनामा दिन परेन, डेपुटी ओपिनियन सम्पादक जिम दाओलाई पनि समाचार विभाग तिर सरुवा गरियो । यस प्रकरण पश्चात् प्रकाशक ए जि सुल्सबर्गरले आपतकालीन बैठक बोलाए र बनेटले राजीनामा दिए । सुल्सबर्गरले भनेका थिए, ‘ओपिनियनको सम्पादनमा त्रुटि भयो, त्यो लेख हामीले छाप्नु हुने थिएन । जेम्स (बेनेट) र मैले सल्लाह गरिसकेका छौँ अबको नयाँ विचारलाई लिएर अघि बढ्न ओपेनियनमा नयाँ टिम र नेत्तृत्व चाहिन्छ ।’ त्यसो त यो लेख प्रकरणबारे टम कटन स्वयंले पनि फक्स न्युजसँग भन्न भ्याए, ‘मेरो लेखले न्युयोर्क टाइम्सको स्ट्यान्डर्ड मिट गर्दैन । उनीहरू लेफ्ट खेमा र नयाँ विचारलाई जोड दिन्छन् ।’
किन भयो कटनको लेखमा समस्या ?
के न्युयोर्क टाइम्सले कुनै निश्चित विचारको लेखलाई मात्र प्रशय दिनुपर्छ ? यो त न्युयोर्क टाइम्सले १९७० मा नयाँ शैलीको ओपेनियन शुरू गर्दाको नीति त थिएन । तर अँह कटनको लेखले अश्वेतको रंगभेद विरोधी आन्दोलनको खिल्ली उडाएको थियो भने सो लेखले न्युयोर्क टाइम्सका प्रगतिशील कर्मचारी विशेषतः ‘पिपल अफ कलर’लाई झन् ठूलो समस्यातिर धकेलेको थियो ।
बेनेट प्रकरणले उठाएको अर्को बहस भनेको सम्पादक र पत्रकारबीचको सम्बन्ध नै हो । यसले भन्छ, अब सम्पादक मिडिया हाउस र आम पाठकसँगमात्र होइन आफू मातहतका पत्रकारप्रति पनि उत्तिकै जवाफदेही हुनैपर्छ ।
ब्ल्याक लाइभ्स म्याटर आन्दोलन दौरान बरखास्तीमा पर्ने बनेट एक्लो सम्पादक होइनन् । द फिलाडेल्फिया इन्क्वेररका सम्पादक स्टान विस्चनोस्कीले पनि बनेट प्रकरण लगत्तै राजीनामा दिनुपरेको थियो । उनको पत्रिकामा नियमित स्तम्भकार तथा इन्क्वेररकी आर्किटेक्ट बिज्ञ इन्गा साफ्रोनको लेख ‘बिल्डिङ म्याटर्स टू’ शीर्षकमा छापिएको थियो । यो लेखको शीर्षकले पनि सिङ्गो अमेरिकीमा चलिरहेको आन्दोलनको भावनामाथि मान मर्दन गरेको थियो, उपहास गरेको थियो । दुवै प्रकरणले भन्छ सम्भवतः अब विचार पृष्टको परम्परागत मान्यता पनि बदल्ने समय आएको छ ।
पत्रिकाको काम सूचना सम्प्रेषण गर्ने हो । अझ पश्चिमी मुलधारका सञ्चार जगत्लाई उदारवादी चिन्तकका हिमायती नै मानिन्छन् । पाठकलाई सूचना दिएर आफ्नो धारणा निर्माण गर्ने छुट सञ्चार माध्यमले दिन्छन् भन्ने मान्यता पनि दह्रोसँग स्थापित छ । यद्यपि पछिल्लो समय यिनै पश्चिमी सञ्चार माध्यमलाई पाठकसामू जबरजस्ती आफ्नो धारणा लाद्ने गरेको तर्क पनि बाहिर आइरहेको छ । चाहे आम सर्वसाधारण या सत्ता दुवैको आवाज एकोहोरोसँग मुखरित गर्ने दुवै खेमाका मिडियाहरू जोडबलका साथ अस्तित्वमा छन् । न्युयोर्क टाइम्सको कटन लेख र बेनेटको निलम्बन प्रकरणले पत्रकारिता विशेषतः विचार स्तम्भको सवालमा एकदुई ऐतिहासिक मानक स्थापना भने निश्चित रूपमा गरेको छ ।
पहिलो कुरा त अब आम सर्वसाधारणको पत्रिकाले निःसन्देह आम मानिस अझ विशेषतः इतिहासदेखि कै सीमान्तकृत वर्ग, समुदाय र लिङ्गको आवाज बोल्नैपर्छ जसको आवाजलाई सत्ता र इतिहासले आजसम्म दबाएर राखिरहेको छ । तिनको आवाज मुखरित गर्ने ल्याकत छैन भने कम्तीमा दमन गर्ने छुट बिल्कुलै छैन । कटनको लेखले निश्चित रूपमा अमेरिकामा उठिरहेको अश्वेतको आवाजलाई दमन गरेको छ ।
अहिले हामी ग्लोबलाइजेसनको चरणमा छौँ त्यसैले त अमेरिकाको आन्दोलन तथा न्युयोर्क टाइम्सको सबै ट्रेन्डको बाछिटा हामीमाझ सीधै आइपुग्छ । यही बाछिटा र सँगसँगै नेपालमा घटेका जातिय उत्पीडनका घटनाकै कारण नेपालमा पनि ‘दलित लाइफ्स म्याटर’को सशक्त आन्दोलन चलिरहेको छ । र, यस्तो समय यहाँको कुनै लेखक र पत्रिकाले ‘जङ्गे जोक्स’ले आफ्नो पेज भर्छ भने निःसन्देह उ मुलुकी ऐन र उसको जातिय विभेदलाई पृष्ठपोषण मात्र गरिरहेको छैन इतिहासदेखि नै चरम उत्पीडनमा रहेको समुदायले सकससँग आवाज उठाउन गरेको जमर्कोमाथि उपहासको अट्ठहास पनि गरिरहेको छ ।
बेनेट प्रकरणले उठाएको अर्को बहस भनेको सम्पादक र पत्रकारबीचको सम्बन्ध नै हो । यसले भन्छ, अब सम्पादक मिडिया हाउस र आम पाठकसँगमात्र होइन, आफू मातहतका पत्रकारप्रति पनि उत्तिकै जवाफदेही हुनैपर्छ ।
हाम्रो पत्रकारिता अहिले यो चरणमा पुगिसकेको छ कि छैन ? आजका नेपाली पत्रकारले सम्पादकका निर्णय प्रक्रियामा प्रश्न उठाउन सक्छन् कि सक्दैनन् ? सक्दैनन् भने किन सक्दैनन्, यसको बहस पनि नेपाली पत्रकारिताले खोजिरहेको छ । जब अमेरिकामा चलिरहेको ब्ल्याक लाइभ्स म्याटर्स नेपाली सडकमा दलित लाइभ्स म्याटर्सको रूपमा आइपुग्छ भने न्युयोर्क टाइम्सको सीमान्तकृतको आवाज मुखरित गर्नैपर्ने र सम्पादकको जवाफदेहिता पत्रकारले खोज्नुपर्ने पद्धति नेपाली पत्रकारितामा किन आउन सक्दैन ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...