पुष्पहाङ लोवा

                                     

“जहाँ अन्याय हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ।”— नेल्सन मण्डेला
फागुनको सात गते पान्थरबाट मुक्कुम्लुङ् पदयात्रा सुरु भयो । पदयात्रा भनिए तापनि नाम्जाःङ्गे (तल्लो फेदी) सम्म गाडीबाट यात्रा भयो । पदयात्राको एउटै उद्देश्य थियो— मुक्कुम्लुङ् क्षेत्रमा भइरहेको अन्यायको प्रतिरोध अथवा केबलकार खारेजी । पान्थरबाट बाटो लाग्दा म र भाषाशास्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य दिलेन्द्र कुरुम्बाङ् मात्र थियौँ । अरू जिल्ला बाहिरका थिए । फेदेनबाट सुरु भएको यात्रा जोरसालको ओरालो हुँदै उजाडिएको हेःङ्वा खोला पुग्यो । केही वर्ष अगाडिसम्म पर्याप्त मात्रामा निलो पानी बग्ने मनोरम  हेःङ्वा खोला कमिलाको सहरमा परिणत भइसकेको छ । अब यहाँ कुनै जलचर जीव पाइने छैन । पूरै विद्रूपीकरण भइसकेको छ, मानौं एउटा मरुभूमि जस्तै । छैन पुल खोलामा, उजाडिएको सुख्खा बगर मात्र । यो कस्तो विकास हो ? प्रकृति र पर्यावरणलाई नै ध्वस्त पार्ने ।

केही वर्ष अगाडिसम्म पर्याप्त मात्रामा निलो पानी बग्ने मनोरम  हेःङ्वा खोला कमिलाको सहरमा परिणत भइसकेको छ । अब यहाँ कुनै जलचर जीव पाइने छैन । पूरै विद्रूपीकरण भइसकेको छ, मानौं एउटा मरुभूमि जस्तै । छैन पुल खोलामा, उजाडिएको सुख्खा बगर मात्र । यो कस्तो विकास हो ? प्रकृति र पर्यावरणलाई नै ध्वस्त पार्ने ।


हेःङ्वा खोला पार गरेर हाम्रो यात्रा भारपाको गोलाइ हुँदै अगाडि बढ्यो । चतुरे, जोर पोखरी, पेःङ्याक्पा, नागी हुँदै आङ्बुङ्को ओरालो भएर मुगाःङ्लुङ् काःङ्वामा (काबेली) तरेर ताप्वाजङ् (ताप्लेजङ्) तर्फ अघि लाग्यौँ । फुङ्लिङ् बजार पार गरेर हामी सिधै नाम्जाःङ्गे हानियौँ । विभिन्न जिल्लाका प्रकृतिप्रेमी सहयोद्दा मित्रहरूसित भेट भयो नाम्जाःङ्गेमा । नाम्जाःङ्गेको एकछिन बसाइपछि पहिचानप्रेमी युवा व्यक्तित्व सुनिल आङ्बो, सुरेन्द्र पालुङ्वा, दिलेन्द्र कुरुम्बाङ् लगायत सयौँको सङ्ख्यामा हामी माथिल्लो फेदीसम्मको गन्तव्यतर्फ उकालो लाग्यौँ । हातमा लाठी टेक्दै टेक्दै । केही दिन अगाडि मात्र केबलकार खारेजी आन्दोलनका आन्दोलनकारीहरू माथि सशस्त्र प्रहरीले गोली हानेको बलुडाँडामा पुगियो । निकै लागेको थियो भोक । सुनिल आङ्बोले भुटेको मकै दुई प्याकेट किने । बलुडाँडाको एउटा घरमा बसेर खायौँ तातेपानीसँग । मधेसमा उत्पादन हुने हरियो खुर्सानी टोक्यौँ । त्यसपछि पुनः उन्मुख भयौँ हामी, हाम्रै गन्तव्यतर्फ ।
जाँदाजाँदै भेटिए उकालो बाटोमा मुक्कुम्लुङ् दर्शन गरेर ओरालो झरिरहेका थुप्रैका थुप्रै तीर्थालुहरू । तीर्थयात्रा केवल धार्मिक आस्थासित मात्र सम्बन्धित नभएर समर्पण, साहस र आध्यात्मिक अनुभूतिसित पनि जोडिएको हुन्छ भन्ने उनीहरूको अभिप्राय बुझ्ने अवसर प्राप्त भयो । केबलकार बन्नु राम्रो या नराम्रो ? भन्ने प्रश्नमा तीर्थयात्रीको जवाफ थियो  “हिजोआज हामीमा पैदलयात्रा गर्ने संस्कृति हराउँदै गइरहेको छ, यो स्वास्थ्यको लागि राम्रो होइन, कहिलेकाहीँ यसरी ट्रेकिङ पनि शरीरको लागि आवश्यक छ, तीर्थयात्रा त पैदल हिँडेरै ईश्वरको दर्शन गर्नुपर्छ । केबलकार चढेर किन जानु तीर्थयात्रा ? डेटिङ जाँदा भइहाल्छ नि !”
हो, साँच्चै चीनको कैलाश मानसरोवर यात्रा, भारतको अमरनाथ यात्रा, चारधाम यात्रा केदारनाथ मन्दिर, स्पेनको सान्तियागो दे कोम्पोस्टेला, इटालीको रोम भ्याटिकन सिटी, इथियोपियाको लालिबेला जस्ता विश्वका तीर्थस्थलहरूमा तीर्थयात्रीहरू पैदल यात्रा गर्छन् । यसको मुख्य कारण आत्मानुभूति, मानसिक शुद्दि, धर्मप्रतिको समर्पण तथा आध्यात्मिक ज्ञान प्राप्ति हो । यी देशहरू गरीब भएर, अविकसित भएर केबलकार बनाउन नसकेको हो ? पक्कै पनि त्यसो होइन । कुनै पनि मानिसको आस्था र संस्कृतिको धरोहरलाई जीवन्त राख्नु, प्रकृति र पर्यावरणलाई बचाइ राख्न सक्नु नै विकास हो । कसैको सभ्यताको धरोहर ढालेर गरिएको भौतिक संरचना विकास नभएर विध्वंश मात्र हो । ती देशहरूले यी कुरा बुझेका हुनाले यस्ता विशेष आस्था र सभ्यताका धरोहरहरूलाई संरक्षण गरिराख्छन् ।

माओवादी जनयुद्धमा हामीसँग हतियार हुन्थ्यो, सैन्यविज्ञान थाहा थियो । मुक्कुम्लुङ् आन्दोलन भनेको शान्तिपूर्ण आन्दोलन भएको हुनाले हामी निःशस्त्र छौँ । यहाँ त हाम्रो आन्दोलन विरुद्ध भिजिलान्ते समेत परिचालित छन् । चेतनाशून्य मासुको थुप्रो भिजिलान्तेको हातमा धारिला हतियार छन् ।


अलि मास्तिर पुगेपछि एउटा स्थानीय व्यवसायीको पसलमा एकछिन थकाइ मार्दामार्दै गुराँस र केबलकारकै प्रसङ्ग उप्कियो । “यस ठाउँमा हामी धेरै पटक पक्राउ परेका छौँ, पुलिसले समातेर लगेका छन् हामीलाई । पटकपटक जेल बसेका छौँ, जरिवाना तिरेका छौँ गुराँसको सानो हाँगा लाछेको निहुँमा । तर, खोइ त यिनीहरूलाई कारबाही भएको ? राष्ट्रिय फूल गुराँस लगायतका रुख ढालेर वनै सखाप पारिसके । यो केको केबलकार बनाउन खोजेको ? जब केबलकार बन्छ तब हामी यहाँबाट विस्थापित हुनुपर्छ । यस ठाउँमा हाम्रो धेरै लगानी फसेको छ, यत्रो घर बनाएका छौँ, अहिलेसम्म व्यवसाय मज्जाले सञ्चालन भइरहेको छ । केबलकार बनिसकेपछि त्यै कम्पनीको आफ्नै होटल व्यवसाय, आफ्नै गाडी, आफ्नै उत्पादन मात्र चल्ने हो । हामीलाई त पटक्कै मन परेको छैन केबलकार ।” स्थानीय व्यवसायीको गुनासो यस्तो थियो ।
झिसमिसे साँझले आफ्नो साम्राज्य फैलाइरहेको थियो । हामी पदयात्रा गरेर माथिल्लो फेदी पुग्यौँ । त्यहाँ नेपालका विभिन्न प्रदेश तथा जिल्लाका पहिचानपक्षधर, प्रकृतिप्रेमी, केबलकार खारेजी आन्दोलनका सयौँ आन्दोलनकारी सहयोद्घाहरू जम्मा भयौँ ।
“प्राकृतिक सम्पदा मास्न पाइँदैन
हामीलाई केबलकार चाहिँदैन
मुक्कुम्ल्ङ् हाम्रो शीर हो
मुक्कुम्लुङ् हाम्रो चोःत्लुङ् हो
केबलकार खारेज गर ।”
यसरी हामीले जोडजोडले लगाएको नारा सुनेर ढलिरहेका गुराँस र चाँपका बोटहरू पनि उठेर हामीलाई साथ दिन आइरहे झैँ प्रतीत भयो । हाम्रो प्रकृतिप्रतिको अगाध प्रेम देखेर वर्षौँ पुगेका बुढो रुखहरू पनि नयाँ जोस र जाँगर उमारेर हामीसँग नारा लगाइरहेका थिए । हाम्रो उत्साह र साहस देखेर मुक्कुम्लुङ् ढुक्कले बसिरहेको थियो भने अँध्यारो साँझ भाग्ला जस्तो भइरहेको थियो हामीदेखि निकै टाढा ।




बेलुकाको खानपिनपछि हामी आआफ्नै बासस्थानमा सुत्यौँ । बिहान आठ गते हामी उठ्नु अगावै सेताम्मे हिँउले हामीलाई स्वागत गरिसकेको थियो अथवा मुक्कुम्लुङ् पहाड हिउँको पछ्यौरीले सजिएर मुस्कुराइ रहेको थियो । जमिनभरि जमेको हिउँ खेल्न र फोटो खिच्न बिहानीको झुल्के घामसँगै निस्किए मानिसहरू । बिहानको खाना खाइसकेपछि माथिल्लो फेदी अथवा कान्छी थान छेवैको सानो खेल मैदानमा पुनः नारा जुलुस घन्कियो । कोणसभा भयो । पहिचानवादी नेता राम मादेन, डकेन्द्रसिं थेगिम र भूतपूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सारगर्वित सम्बोधन गरे कोणसभालाई । कोणसभालाई सम्बोधन गरिसकेपछि महतो मुक्कुम्लुङ्को दर्शन गर्न चुचुरोमै उक्लिए । त्यसपछि हामी नारा जुलुस लगाउँदै बलुडाँडामा झर्यौँ । बलुडाँडामा हामी हजारौँको सङ्ख्यामा जम्मा भयौँ । बलुडाँडाबाट सिधै ओरालो जङ्गलको बाटो हुँदै हामी केबलकार बन्दै गरेको स्टेसनमा हानियौँ । स्टेसन वरिपरि काँडेतार र ब्लेडतारले पुरै घेराबारा लगाएर बन्दुकसँग सयौँको सङ्ख्यामा तैनाथ उभिएका थिए सशस्त्र प्रहरी र जनपद प्रहरी ।
हाम्रो जनमासले माथिल्लो पट्टिबाट तारबार हटाउँदै प्रहरीहरूलाई पेल्दै तलैसम्म पुर्यायो । उता रोडबाट पनि हामीलाई छिर्न दिइएको थिएन । सयौँको सङ्ख्यामा रहेका प्रहरीहरूले हामीलाई छेकिरहेका थिए । हाम्रो जनमासले पनि सशक्त प्रतिरोध गर्दै माइकिङ् गर्यो
“प्लिज हामीलाई त्यो निर्माणाधीन केबलकारको स्टेसनसम्म पुगेर अवलोकन गरेर फर्किने वातावरण मिलाइ दिनोस् सुरक्षाकर्मी मित्रहरू !”
प्रहरीतर्फबाट पनि माइकिङ् भयो “तपाईँहरू सफल भइसक्नु भएको छ, शान्तिपूर्ण ढङ्गले आफ्नो माग राख्नुभएको छ, यहाँभन्दा अगाडि नबढी दिनोस् ।”
यसरी दोहोरो माइकिङ् भइरहेको  थियो । एकैछिनमा घम्साघम्सी हुन थालेपछि वातावरण सन्त्रासमय भइदियो । सुरक्षाकर्मी र आन्दोलनकारी बीच लाठी हानाहान भयो । प्रहरीले अश्रुग्यास प्रहार गर्यो । प्रहरीले प्रहार गरेको अश्रुग्यास आन्दोलनकारीले टिपेर उल्टै प्रहरीलाई प्रहार गरिदियो । हजारौँको सङ्ख्यामा जम्मा भएको आन्दोलनकारीले चारैतिरबाट घेराबन्दी लगाएर प्रहरीलाई एउटै थुप्रोमा उभिन बाध्य पारे । सुरक्षाकर्मीको संरक्षणमा रहेका भिजिलान्तेहरू निर्माणाधीन केबलकारको स्टेसन वरिपरि नाङ्गो खुकुरी नचाइरहेका थिए । आन्दोलनकारी साथीहरूले ती भिजिलान्तेको समूहलाई लखेटेपछि तिनीहरू त्यहाँबाट केही भागे त केही लुके । कुनै ब्यानर र स्टिकर विनाको एउटा सेतो रङ्गको गाडी अघि अघि दादागिरी शैलीमा आन्दोलनकारीको समूहलाई मिच्दै आयो भने पछि पछि पहेँलो रङ्गको एम्बुलेन्स आइरहेको थियो । केही आन्दोलनकारीले त्यो सेतो गाडीको सिसा तोडफोड गरे । त्यो गाडीभित्र सवार मान्छेले आफू मानवअधिकारकर्मी भएको बताए । तर, यहाँ प्रश्न उठ्न सक्छ कि साँच्चिकै ती मानवअधिकारकर्मी हो भने भरखरै मात्र बलुडाँडामा आन्दोलनकारीको छाती वारपार हुनेगरी प्रहरीले गोली चलाएको किन देखेन ?
अरु दिन परे पनि त्यो दिन परेन पानी र हिउँ । साँच्चिकै स्वच्छ थियो मौसम । विस्तारै ढुबिरहेको थियो घाम अस्ताचलमा । विस्तारै विस्तारै झिसमिसे साँझ छिप्पिएर अँध्यारो रातले छपक्क छोप्दै थियो धरतीलाई । हिमाली हावा त्यसै त चिसो, त्यस माथि हिउँदे याम । भोक, प्यास, ठण्डा र थकान सङ्गठित हुन थाले आन्दोलनकारीको शरीरमा । ठाउँ ठाउँमा आगो बालेर ताप्दै धर्ना दिएर बस्न थाले आन्दोलनकारीहरू समूह समूहमा । अन्य साथीहरूले खाजापानीको व्यवस्था गर्न थाले । चिउरा, बिस्कुट, चाउचाउ र पानी ओसारेको ओसारेकै गरे । आन्दोलनकारीको एउटै अडान थियो, निर्माणाधीन स्थलबाट स्क्याभेटर, गाडी, अन्य निर्माण सामग्री र कामदारहरू नहटाइएसम्म त्यहाँबाट एक कदम पनि पछि नहट्ने । आन्दोलनको क्रममा त्यहाँको बत्ती र खानेपानी पनि ध्वस्त भइसकेको हुनाले प्रहरीहरूले खान पिउन पाएका थिएनन् तर सुरक्षा वल थपिरहेको थियो । अन्ततः रातको दश बजे त्यहाँबाट सम्पूर्ण निर्माण सामग्री र कामदारहरू हटाउन सफल भइयो । सहज तरिकाले सामग्रीहरू हटाउने र आन्दोलनकारीले पनि टोडफोड नगर्ने भन्ने सुरक्षाकर्मी र आन्दोलनकारी बीच समन्वय भएको थियो तर पनि सुरक्षाकर्मीले स्कर्टिङ गर्दै त्यहाँबाट हटायो । एउटा विजय हासिल गरेर हामी पुनः उकालो लाग्यैाँ। हामी बलुडाँडामा पुग्दा खाना तयार भइसकेको थियो । खाना खाएर आआफ्नै यथाबासस्थानतिर आराम गर्न गयौँ । म आफ्नो कोठामा पुग्दा रातको साढे बाह्र बजे भइसकेको थियो ।




ओछ्यान लागे पनि ओढ्ने ओछ्याउने कपडा बरफ भइसकेका हुनाले तातिनै समय लाग्ने । बरफ जस्तै ओछ्यानभित्र तन ठिहिरिँदो अवस्थामा थियो भने मनको मझेरीमा विचारका बच्चाहरू खेलिरहेका थिए । एकैछिनमा तन्नेरी पुगेर मसाल जुलुस लगाइरहेका थिए, अन्याय र अत्याचारको विरुद्ध । यस्तै यस्तैमा चालै नपाइ म त विलीन भइसकेछु समयको सिरानी टेकेर । संघर्षका अनगिन्ती खुड्किला र उकालो बाटो छिचोलेर एउटा विजयोल्लासको झण्डा उभ्याइरहेको थिएँ मुक्कुम्लुङ्को सर्वोच्चतामा । मान्छेहरू खोकेको र बोलेको आवाजले म ओर्लिएँ विपनाको संसारमा । खोलेर खिर्की ओछ्यानबाटै सुन्दर पहाडको दृश्यावलोकन गरेँ, हिउँ पग्लिसकेको थियो भने कुनै कुनै ठाउँमा जमेको थियो । ठ्याक्कै यतिबेला फागुनको नौ गते भइसकेको थियो ।
नाम्जाःङ्गेमा भिजिलान्ते समूहद्वारा कहिले सञ्चारकर्मी माथि त कहिले आन्दोलनकारी माथि अराजक शैलीले साङ्घातिक आक्रमण भइरहेको सूचनाहरू आइरहेको हुनाले हामी बिहानको खाना नै नखाइ हस्याङ र फस्याङ नाम्जाःङ्गेतर्फ ओर्लियौँ । हामी बलुडाँडा पुग्दा बलुडाँडामा रहेका केही आन्दोलनकारी साथीहरू नाम्जाःङ्गेतर्फ झरेछन् । त्यताको समस्या साथीहरूले नै हल गरिसकेका हुनाले हामी बलुडाँडासम्म मात्र पुग्नुपर्यो । बिहानको खाना बलुडाँडामा भयो । खाना खाइ सकेर हामी आन्दोलनकारीहरू बलुडाँडाबाट केबलकार खारेजीको नारा लगाउँदै नाम्जाःङ्गेतर्फ अगाडि बढ्यौँ ।

सबैभन्दा चित नबुझ्ने कुरा चाहिँ सुरक्षाकर्मीको आडमा भिजिलान्तेहरू खुकुरी, लौरो, रड, तरबार र भाला जस्ता धारिलो हातहतियार प्रदर्शन गर्दै हामीलाई धम्की दिइरहेका हुन्थे । नेपालको कानुनी व्यवस्था अनुसार यस्ता हतियार देखाएर मानिसलाई धम्की दिनु गम्भीर अपराध हो । यस्ता तत्वहरूलाई फौजदारी अपराध संहिता, २०७४ अनुसार कारबाही हुनुपर्ने हो तर विडम्ना ! त्यही अपराधी समूहलाई सुरक्षाकर्मीले संरक्षण गरिरहेको थियो ।


विशाल मानवसागर नाम्जाःङ्गेमा अवतरण भयो । सशस्त्र र जनपद प्रहरी तैनाथ उभिएका थिए । हामीले जोडजोडका साथ नारा लगायौँ । त्यसपछि कोणसभा गर्यौँ । सबैभन्दा चित नबुझ्ने कुरा चाहिँ सुरक्षाकर्मीको आडमा भिजिलान्तेहरू खुकुरी, लौरो, रड, तरबार र भाला जस्ता धारिलो हातहतियार प्रदर्शन गर्दै हामीलाई धम्की दिइरहेका हुन्थे । नेपालको कानुनी व्यवस्था अनुसार यस्ता हतियार देखाएर मानिसलाई धम्की दिनु गम्भीर अपराध हो । यस्ता तत्वहरूलाई फौजदारी अपराध संहिता, २०७४ अनुसार कारबाही हुनुपर्ने हो तर विडम्ना ! त्यही अपराधी समूहलाई सुरक्षाकर्मीले संरक्षण गरिरहेको थियो । विभिन्न जिल्ला र प्रदेशबाट सहभागी भएका नेताहरूले कोणसभालाई सम्बोधन गरे । कोणसभा नसकिँदै पानी पर्न थाल्यो । अरु वक्ताहरूको बोल्ने पालो सकिँदै थियो । पहिचानवादी नेता मचिन्द्र बेघाको बोल्ने पालो सँगसँगै पानी पर्न थाल्यो । व्यक्तिको विचार सशक्त भएपछि अथवा भित्रैदेखि आन्दोलित भइसकेपछि भोक, प्यास, झरी, पानी, आँधीबेहरी र थकानको महसुस पनि नहुँदोरहेछ भन्ने सावित गर्यो मचिन्द्र बेघाको छिप्पिँदो जोसले । शरीर निथ्रुक्क भइसकेको थियो भिजेर पानीले तर मुक्कुम्लुङ् माथि भएको हस्तक्षेप विरुद्ध उत्तेजित भाषण गरेर गलेको थिएन ।
त्यो दिनको कार्यक्रम सकिएपछि हाम्रो जनमास पुनः बलुडाँडा र माथिल्लो फेदीतर्फ उकालो चढ्यो । हिउँ पर्न अगाडि कर्रा पर्दोरहेछ । उकालोमा जाँदाजाँदै कर्रा र पानीले बेस्सरी भिज्यो शरीर । बलुडाँडामा पुगेपछि राजेन्द्र महतोसँगै भइयो । महतोलाई एउटा पसलमा एक गिलास तातोपानी मागी दिएँ । जीवनको पहिलोपटक पुग्नु भएको रे हिउँ पर्ने हिमालमा । त्यसपछि हामी माथिल्लो फेदी मुक्कुम्लुङ् आधार शिविरको गेस्ट हाउस नम्बर नौमा पुग्यौँ । त्यहाँ पुग्दा हामीलाई निकै पुरेको थियो हिउँले । नालामा आउने खानेपानी बन्द भइसकेको थियो जमेर हिउँ । बेलुकीको खाना खायौँ जेनतेन त्यसपछि आराम गर्यौँ । मनमनै सोचेँ हाम्रा पहाडीया नेताहरू यसरी पदयात्रा गरेर मुक्कुम्लुङ् पुग्दैनन्, पुगिहाले पनि हेलिकप्टर चार्टर गरेर हस्तक्षेप गर्न मात्र पुग्छन् । तीनै नेताहरूलाई राष्ट्रवादीको पगरी गुथ्नुपर्ने ? तर, महतो भने मुक्कुम्लुङ् बचाउ पदयात्रामा छन् । सोच्दा, सोच्दै निदाइ गएछु ।
चिसो, चिसो हिउँको सासले स्पर्श गरिरहेको थियो शरीरलाई । दृश्यावलोकन गरिपठाएँ खोलेर झ्याल, सेताम्मे ढाकेको थियो हिउँले हरियाली जङ्गल र जमिन । अँध्यारो रातको पर्दा उघार्दै नयाँ बिहानी अथवा फागुनको दशौं दिनाङ्कले टेकिसकेको थियो धरती । माथिल्लो फेदीमा रहेका हामी राजेन्द्र महतो सहितका सम्पूर्ण टोलीहरू बलुडाँडातिर ओरालो झर्यौँ चिप्लिँदै लड्दै हिउँमा । बिहानको खाना बलुडाँडामा भयो । नेतृत्व पङ्तिको मिटिङ्पछि निर्णयहरू बुँदागत रूपमा सार्वजनिक भयो । ततनिर्णयानुसार हामी त्यो दिनको कार्यक्रमतर्फ केन्द्रित भयौँ । हजारौँको सङ्ख्यामा बलुडाँडादेखि नारा घन्काउँदै हाम्रो र्याली नाम्जाःङ्गेतिर झर्यो । नाम्जाःङ्गेमा केही समय नारा जुलुस लगायौँ । त्यसपछि पुनः नारा जुलुस लगाउँदै हाम्रो पदयात्रा ताप्लेजङ्को सदरमुकाम फुङ्लिङ् बजारतर्फ अगाडि बढ्यो । आदिवासी याक्थुङ् जातिहरूको पवित्रस्थल मुक्कुम्लुङ् क्षेत्रमा कास्कीका रविन्द्र अधिकारीको शालिक र पार्क प्रवेश गर्ने गेट भेटियो । रविन्द्रसँग कुनै सम्बन्ध नगाँसिएको भूमिमा उसको शालिक ठड्याउनु आफैँमा एउटा दमनकारी हस्तक्षेप मात्र नभएर पवित्र भूमिलाई अपवित्र पार्नु पनि हो । त्यो शालिक त्यहाँबाट कुनै न कुनै समय हटाउनैपर्ने गन्थन गर्दै अगाडि बढ्यौँ । पदयात्रा गर्दागर्दै हामीलाई लिन बजारबाट लस्करै आउन थाले गाडीहरू । बीचबाटोबाट कोही देउरालीबाट गाडीमा चढ्यौँ र सुकेटार विमानस्थल नजिकै जम्मा भयौँ । त्यसपछि लस्करै फुङ्लिङ् बजार प्रवेश गर्यौँ ।
फुङ्लिङ् पुगेपछि बेलुकी छ बजे पराजुली चोकबाट हाम्रो र्याली सुरु भएर दोबाटो हुँदै फाल्गुनन्दको शालिक भएको चोक तोक्मेडाँडा परिक्रमा गरि फेरि दोबाटो, कोप्चे बजार हुँदै वीरेन्द्र चोकमा पुगेर साङ्केतिक मसाल जुलुसमा परिणत भयो । यसक्रममा घरको बारदलीबाट आन्दोलनकारी माथि ढुङ्गा र झटारो प्रहार हुन थाल्यो । त्यसले हाम्रो शान्तिपूर्ण र्यालीलाई अशान्त बनायो । चौतर्फीबाट सशस्त्र प्रहरी र जनपद प्रहरीले हाम्रो शान्तिपूर्ण र्याली माथि आक्रमण गर्न थालेपछि दोहोरो झडपको स्थिति सिर्जना हुन थाल्यो । स्थिति तनावग्रस्त हुन थालेपछि हाम्रो र्याली तितरबितर भयो । साँझको पखेटाले भुइँ छोपी सक्दै गरेको हुनाले कता जाने, कता नजाने मेसो पाउनै गाह्रो भइरहेको थियो । एक त धेरैजसोलाई त्यहाँको भूगोल सम्बन्धी ज्ञान थिएन । तितरबितर भएर कुनै साथी कता पुगे, कुनै साथी कता । पचिानवादी नेता केदार धिमाल, मिसेकहाङ् थाम्सुहाङ् र म भने सँगै थियौँ । दङ्गा प्रहरीले हामीलाई लखेट्न थालेपछि वीरेन्द्र चोकबाट उकालो भाग्ने क्रममा त्यता माथि पनि प्रहरी तैनाथ रहेछन् ।
“यी साले आन्दोलकारीहरूलाई ठोक ठोक” भन्दै हामीलाई लखेट्न थाले । केदार र मलाई भेटेनन् तर मिसेकहाङ्ले दुईचार लाठी भेट्यो । त्यहाँदेखि कता गयो ? उकालो आएन । केदार, म र अर्को एकजना भाइ भने मास्तिरसम्म भाग्न सफल भयौँ तर कता जाने, कता नजाने ? अन्योलमा पर्यौँ । सबैभन्दा त्यहाँको भौगोलिक अध्ययन नहुनु दुःखको कुरा थियो । जहाँ हामी एउटा घर नजिकैको उकालो बाटोको सिँढीमा बसेर त्यहाँको अवस्था नियाली रहेका थियौँ । केही साम्य भएको जस्तो अवस्था बुझियो । आन्दोलनकारी साथीहरू विकेन्द्रित भएर घर घर र होटल होटलमा बस्न गए । जताततै प्रहरीको ज्यादती बढ्न थालिरहेकोले हामी भने साथीहरूसँग जोडिन सक्ने अवस्थामा थिएनौँ । तैपनि जोडिने प्रयास त गरिरहेका थियौँ । जहाँ हामी बसिरहेको ठाउँबाट उठेर अलि मास्तिरको अर्को बाटो प्रयोग गरेर जाँदै थियौँ ।
“यता माथिल्लो रोडमा मान्छेहरूको चहलपहल अलि बढी छ, यता तैनाथ गर्नु ।”
यस्तो वाक्यांश प्रष्ट सुनेँ मैले । त्यो मान्छेको आवाज आएकोपट्टि हेरेँ, बाटो मास्तिरको घरको छतबाट बोलिरहेको थियो । त्यसपछि जाँदै गरेको गन्तव्यतर्फ नियालेर हेर्दा अँध्यारोमा बन्दुक बोकेर उभिरहेको थियो प्रहरी । लगत्तै गन्तव्य मोडेर अर्कोतर्फ जाने सल्लाह दिएँ केदारलाई । त्यहाँबाट फर्केर हामी केही क्षण अँध्यारो पाटामा छलिएर उभियौँ । त्यसपछि माथिल्लो कच्ची रोडमा निस्केर तेर्सै तेर्सो गएर निस्पट अँध्यारो बीच एउटा अप्ठ्यारो डिलमा अडिएर तल वीरेन्द्र चोक वरिपरिको स्थिति प्रष्टसँग नियाली रहेका थियौँ ।
“ठोक, मार” लगायतका अपशब्दले भरिएको गाली गलौजको कर्कश आवाज बर्सिरहेको थियो । कतै घर भत्काए जस्तो डाङ्डाङ् र डुङ्डुङ् डरलाग्दो र अवाञ्छित आवाज आइरहेको थियो । कतै “मरेँ, ऐय्या बचाउँ !” जस्ता चीत्कारका स्वरले फुङ्लिङ् बजार दुःखिरहेको थियो । हाम्रा साथीहरू खाना खाँदै गरेको ठाउँमा, सुतिरहेको घर र होटलमा छापामार शैलीले प्रहरी प्रशासन र स्थानीय टोले गुण्डा, भिजिलान्तेको संयुक्त समूहले अश्रुग्यास प्रहार गरेर बर्बर आक्रमण गर्न थाले । घरको ढोका फोर्ने, सिसि क्यामेरा फुटाउने, आन्दोलनकारीलाई गिरफ्तार गरेर लाने, कसैको हातखुट्टा भँचाइदिने कसैको टाउको फुटाइदिने र मरणासन्न हुनेगरी कुटपिट गरेर फालिराख्ने जस्ता घोर मानवता विरोधी क्रूर व्यवहार प्रहरी र स्थानीय भिजिलान्तेको समूहले गर्यो । रातभर प्रहरी आतङ्कले बजारवासी र अन्य मानिस त्रसित थिए ।
छिप्पिँदै थियो रात । प्रहरी र भिजिलान्तेको आतङ्क मत्थर नभएपछि केदार र म दोखु जाने बाटोलाई पछ्याउन विवश भयौँ । त्यो ठाउँको भौगोलिक परिवेश हामी दुवैलाई थाहा नभएको । झण्डै बाह्र वर्ष अगाडि जम्माजम्मी एकपटक पुगेको हुँ । त्यहाँका बाटोघाटो, गोरेटो र गाउँघर कसरी जान्नु ? अँध्यारो पर्दालाई चिर्दै अगाडि बढ्न त बढ्यौँ तर कहाँ पुग्ने ? कहाँ बस्ने ? निश्चित गन्तव्य थिएन । भोक र प्यासले खग्रास भइसकेका थियौँ । मैले एउटा निर्णय लिएँ रातभरि हिँडेर बिहान जहाँ गाडी भेटिन्छ त्यहाँबाट चढेर पान्थर प्रवेश गर्ने । “तपाईँ एकछिन उभिँदै गर्नु” भनेर दोबाटोमा पुगेपछि हामीले अगाडिनै छोडी राखेको एउटा पसलतर्फ पुनः फर्कियो केदार । लामो समयसम्म पर्खिएर उभिएँ तर केदार फर्केन । त्यसपछि म बाटो माथिको जङ्गलमा पसेर लामो समय बसेँ । मसँग केदारको सम्पर्क नम्बर थिएन । पान्थरमा मधुराज केरुङ्लाई सम्पर्क गरेर नम्बर मागेँ । नम्बर दियो मस्त निद्राबाट ब्युँझिएर । नम्बर पाएपछि केदारलाई सम्पर्क गरेँ तर रिसिभ गरेन । रातको चादर ओढेर जङ्गलमा भौतिक शरीर बसिरहे तापनि मन भने अनियन्त्रित तवरले खेलिरहेको थियो । यसैबेला “हेलो पुष्प !” आवाज आयो । त्योभन्दा ठूलो खुसीको क्षण सायदै मात्र थियो होला मेरो जीवनमा । केदारले बोलाएपछि म पनि पसलतिर गएँ । कस्तो संयोग होला, सनम लिम्बू पनि त्यहाँ आइपुगेको रहेछ । त्यहाँ चाउचाउ पकाउन लगाएर खाइवरी पुनः हामी अर्को गाउँसम्म अगाडि बढ्यौँ ।
केही पर एउटा घरमा पुगेपछि बस्ने व्यवस्था मिल्यो । घरबेटीले ओछ्यान दियो । ओछ्यान त लागियो तर बन्दै फकाउन सकेन निद्राले ।

हुन त दशवर्षे सशस्त्र माओवादी जनयुद्धमा पनि म सहभागी थिएँ । जसको झलझली पूर्वभास भयो । त्यो जनयुद्धसँग मुक्कुम्लुङ् आन्दोलनलाई तुलना गरेँ । धेरै भिन्नता छ यसमा । माओवादी जनयुद्धमा हामीसँग हतियार हुन्थ्यो, सैन्यविज्ञान थाहा थियो । जनताले पनि संरक्षण गर्थे । एकोहोरो सेना, प्रहरीसँग मात्र हाम्रो भिडन्त हुन्थ्यो । मुक्कुम्लुङ् आन्दोलन भनेको शान्तिपूर्ण आन्दोलन भएको हुनाले हामी निःशस्त्र छौँ । यहाँ त हाम्रो आन्दोलन विरुद्ध भिजिलान्ते समेत परिचालित छन् । चेतनाशून्य मासुको थुप्रो भिजिलान्तेको हातमा धारिला हतियार छन् ।

हुन त दशवर्षे सशस्त्र माओवादी जनयुद्धमा पनि म सहभागी थिएँ । जसको झलझली पूर्वभास भयो । त्यो जनयुद्धसँग मुक्कुम्लुङ् आन्दोलनलाई तुलना गरेँ । धेरै भिन्नता छ यसमा । माओवादी जनयुद्धमा हामीसँग हतियार हुन्थ्यो, सैन्यविज्ञान थाहा थियो । जनताले पनि संरक्षण गर्थे । एकोहोरो सेना, प्रहरीसँग मात्र हाम्रो भिडन्त हुन्थ्यो । मुक्कुम्लुङ् आन्दोलन भनेको शान्तिपूर्ण आन्दोलन भएको हुनाले हामी निःशस्त्र छौँ । यहाँ त हाम्रो आन्दोलन विरुद्ध भिजिलान्ते समेत परिचालित छन् । चेतनाशून्य मासुको थुप्रो भिजिलान्तेको हातमा धारिला हतियार छन् । यिनीहरूसँग अलिकति पनि मानवीय संवेदना र विवेक छैन । उनीहरू केवल भाडाका सिपाही हुन् । जहाँ भेटे पनि हामीलाई मार्न सक्छन् । अङ्गभङ्ग बनाउन सक्छन् । उनीहरूको उद्देश्य नै व्यक्तिगत स्वार्थसिद्धि मात्रै हो । आन्दोलन गर्नु हाम्रो रहर होइन, बाध्यता हो । हामीले धेरै कुरा गरेका होइनौँ, हाम्रो पूर्खाको नाभिसँग जोडिएको पवित्र पहाड जोगाउनुपर्छ मात्र भनेका हौँ । किनभने याक्थुङ् समुदायको लागि मुक्कुम्लुङ्को महत्व ग्रीक जतिकै छ । एकजना व्यापारीलाई काँधमा बोकेर सिङ्गो सरकार नै आदिवासी विरुद्ध लाग्नु खेदजनक छ । कुनै पहाडहरू केवल पहाड मात्र नभएर धार्मिक तथा सांस्कृकि आस्थासँग जोडिएका हुन्छन् । कुनै ढुङ्गा केवल ढुङ्गा मात्र नभइ कसैको इतिहास, परम्परा वा संस्कृतिसँग जोडिएको हुन्छ । यस्ता सांस्कृतिक र ऐतिहासिक महत्व भएका स्थानहरूको संरक्षण गर्नु राज्यको दायित्व हो तर यसको विपरीत ती स्थानहरू भत्काइरहेको छ । यो त एक प्रतिनिधि घटना मात्र हो, देशभर यस्ता घटना कति छन् कति ! यसरी मेरो मनभित्र चलिरहेको थियो आँधीको वेग ।
मध्यरातमा प्रशासनले फुङ्लिङ बजारको चार किल्लामा निशेधाज्ञा जारी गरेको, मानिसहरूलाई धरपकड गरेर आतङ्क मच्चाइरहेको बारे सामाजिक सञ्जालबाट अवगत भइरहेको थियो बारबार । हामी बसेको घर पनि रोडकै छेउमा भएको हुनाले गाडीको आवतजावतको आवाजले सशङ्कित पारिरह्यो । रातको अन्तिम प्रहरमा झर्दै थियो भुइँमा मिर्मिरे उज्यालो । मार्टिन लुथर किङ जुनियर भन्छन्, “हाम्रो जीवन तबदेखि अन्त्य हुन थाल्छ हामी महत्वपूर्ण विषयमा मौन बस्छौँ ।” हो, हाम्रो जीवन अन्त्य भएको छैन । हामी कुनै पनि अन्याय सहेर मौन बस्न सक्दैनौँ । अन्याय विरुद्ध जस्तोसुकै जेहाद छेड्न पनि पछि नहट्ने प्रण गर्दै, बसेको घरबाट म हिटी चोक हानिएँ । 


लेखक याक्थुङ (लिम्बु) भाषाका कवि तथा साहित्यकार हुन । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...