हरि अधिकारी

काठमाडाैँ । देशभरिका ७५३ पालिकाहरूका पदाधिकारीहरूको चयन गर्न गत वैशाख ३० गते भएको निर्वाचनका परिणामहरू धमाधम आइरहेका छन् । अहिलेसम्म घोषित भइसकेका परिणामहरू र मतगणना भइरहेका ठाउँहरूमा विभिन्न दलहरूले लिइरहेको अग्रतालाई हेर्दा नेपाली जनता यस पटक गत निर्वाचनको भन्दा ठ्याक्कै फरक म्याण्डेट दिन चाहन्छन् भन्ने बुझिन्छ। जनताले व्यक्त गरेको परिवर्तनको यो चाहना देशैभरि प्रतिध्वनित भएको छ भन्ने कुरा मेची महाकाली सबैतिर त्यसका उमेदवारहरूको फजिती हुनुका साथै गत वर्षसम्म राज्यको ढुकुटी खेलाएर बसेको त्यस दलले  अपरिमित परिमाणमा पैसा खन्याएको झापा जिल्लामा समेत त्यसको हालत त्यति राम्रो नदेखिनुले प्रमाणित गर्दछ। प्रधानमन्त्रीको विधायिका-क्षेत्रको नगरपालिका दमकमै पनि एमाले उमेदवारको जीत सुनिश्चित देखिँदैन।

नेपाली मतदाताहरूले यस साल एमालेविरुद्ध लिएको यो यु-टर्नका लागि मुख्यतस् बितेका ५ वर्षमा एमालेले नेतृत्व गरेका बहुसंख्यक पालिकाहरूमा व्याप्त अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती र पालिकाभित्रका जनताहरूलाई पक्ष-विपक्षमा बाँडी गर्ने गरिएको पक्षपातपूर्ण व्यवहार जिम्मेवार छन् भन्दा अलिकति पनि अर्घेलो हुँदैन। हुन पनि एमालेले जितेका पालिकाहरूमा परियोजनाहरूको छनोट र तिनका लागि बजेट विनियोजन गर्नेदेखि तिनको सञ्चालनसम्मका प्रक्रियामा घोर पक्षपात हुने गरेको थियो भन्ने आरोप छ। थोरै मात्र पनि शुभ-लाभ हुने कुनै पनि मामिलामा गैर(एमालेहरूलाई ढिम्किन पनि नदिने गरिएको गुनासो जताततैबाट आइरहेको थियो पालिका पदाधिकारीहरूले बिताएको पूरा ५ वर्षभरि नै। पोहोरसम्म संघीय सत्ता पनि उसैको हातमा भएकोले एमालेका नेता(कार्यकर्ताहरूका दुवै हातमा लड्डु हुने गरेको थियो भन्नेहरू पनि धेरै छन् ।

राष्ट्रिय लूट-खसोटको यस्तो जुगुप्शाजनक प्रकरणको पृष्ठभूमिमा यस पटक नेपाली जनताले एमाले विरुद्ध जुन कठोरताका साथ नकारात्मक भावना प्रकट गरेका छन् र मतपत्रमार्फत त्यसलाई व्यक्त गरेका छन् त्यो अद्‍भूत छ। त्यो अद्‍भूत किन पनि छ भने त्यसका सामु त्यो धनाढ्य राजनीतिक संगठनले खर्च गरेको अकूत पैसा बेअसर साबित भएको छ। गरीव मतदाताहरूले एमालेले बाँडेको पैसा लिन त लिए होलान् तर त्यसले जनताको मनमा बसेको उमेदवारका पक्षमा मत हाल्न रोकेको देखिएन। पैसाको अहम् भूमिका रहेको यस सालको महँगो चुनावमा देशभरिका आर्थिक रूपले कमजोर तर योग्य धेरै उमेदवारहरू विजयी भएका छन्। यो उत्साहजनक तथ्यले जनता जनार्दन झट्ट हेर्दा बेवकूफ लाग्न सक्छ तर यथार्थमा उसको सामूहिक चेतना त्यत्तिकै विवेकशील र चतुर हुन्छ भन्ने कुराको सत्यापन गर्दछ। सद्य सम्पन्न निर्वाचनको परिणामले आम जनता जति सजिलैसँग रिझिन्छ त्यतिनै तीव्र संवेगका आक्रोशित पनि हुन सक्दछ भन्ने कुरा पनि प्रमाणित गरेको छ। आम मतदाताले प्रहार गर्ने लाठोबाट कुनै आवाज त निस्किँदैन तर त्यसबाट लाग्ने चोट भने सांघातिक हुन्छ भन्ने तीतो सत्यसँग पनि  एमाले नेतृत्वले साक्षात्कार गरेको हुनु पर्दछ।

देशका ७५३ पालिकाहरूमा पदाधिकारीहरू चुन्नका लागि पाँच वर्षअघि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई मतदाताहरूको पहिलो रोजाइको राजनीतिक शक्ति बनाउँनका निम्ति केही निश्चित तत्वहरूले अहम् भूमिका खेलेका थिए। तीमध्ये सर्वाधिक बलियो तत्व त केपी ओलीको व्यक्तित्वको असाधारणीकरण नै थियो। अनेक किसिमले डेन्टिङ-पेन्टिङ गरेर ओलीको छविलाई टलक्क टल्काइएको थियो जसले गर्दा  उहाँको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको थियो त्यसबेला । आफ्ना समकक्षीहरूलाई आपसमा जुधाएर शक्तिसञ्चय गर्न जान्ने एउटा सामान्य खुराफाती व्यक्तिबाट राष्ट्रिय स्तरमै चम्किलो राजनीतिक नक्षत्र बनाउँन धेरै पैसा खर्च गरिएको थियो । मिडियाको एउटा बलियो सञ्जाल खडा गरिएको थियो जसको एउटै मात्र काम थियो ओलीको छविमा पालिस लगाउँने र चम्काउँने। गद्दीनशीन राजा वीरेन्द्रको वंश-विनाश हुनेगरी भएको दरबार हत्याकाण्डपछि निरन्तर जारी रहेको संक्रमण-कालबाट वाक्क-दिक्क भएका अन्यौलग्रस्त नेपाली जनता एउटा हिरोको खोज गरिरहेका थिए। केही समयका लागि केपी ओलीले त्यो हिरोको स्थान ग्रहण गरे।

ओलीका लागि त्यो समय अनुकूल थियो। त्यो विशेष कालखण्डमा देशमा सक्रिय कुनै पनि दलमा  वरिष्ठता र योग्यताका दृष्टिले सम्मानित नेताहरू थिएनन् त्यतिबेला। ओलीका समकक्षी नेताहरूमध्ये धेरैजसो परीक्षण भइसकेका र खासै राम्रो छवि बनाउँन नसकेर पन्छिएका थिए। अर्कोतिर ओली स्वयं पूरा तयारीका साथ मैदानमा उत्रिनु भएको थियो र जसलाई परिस्थितिले पनि साथ दिइरहेको थियो। ओली वाचाल थिए। ओलीको बोली त्यतिबेलासम्म वाक्पटु नै लाग्दथ्यो। अहिलेको जस्तो रिस उठाउँने बक्बकको तहमा पुगिसकेको थिएन। झुटा वाचाबन्धन गर्न खप्पिस र झुटा सपनाहरूका व्यापारी ओलीलाई जनताका सामु साखुल्ले राष्ट्रवादी बन्ने सुनौला अवसर छिमेकी महाशक्तिराष्ट्र भारतले दिलाइदिएको थियो भने खूबै काम गर्न सक्ने योग्य व्यवस्थापकका रूप प्रस्तुत हुन त्यतिबेला बहुतै बेकम्मा किसिमले शासन गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले। दुवै अवसरदाताहरूलाई मनमनै धन्यवाद दिँदै ओलीले भारतलाई सार्वजनिक रूपमै लताडेझैँ गर्नुभयो भने देउवाको त अनेक इस्यु उठाएर टिप्पा नै टिप्ने प्रयत्न गर्नुभयो। झूट र फरेबमा आधारित उहाँको ट्यक्टिसले काम गर्‍यो। प्रायशस् भावनाको तरङ्गमा तैरिरहने आम नेपाली जनताको नजरमा उहाँ हिरो बन्नुभयो।  

त्यसरी जनताको नजरमा सप्रयास हिरो बनेका एमाले प्रमुख केपी शर्मा ओलीलाई पत्यार गर्नु नपर्ने कुनै कारण नभएकाले ७४ सालमा भएको चुनावमा मतदाताहरूले देशभरिका ७५३ पालिकाहरूमध्ये २२० भन्दा बढीको साँचो उहाँको दलका उमेदवारहरूको हातमा हालिदिएका थिए। ओलीको पक्षमा अभूतपूर्व लहर चलेको त्यो बडो उत्साहप्रद समयमा एमालेले जितेका अनेकौँ पालिकाहरूको पंक्तिमा राजधानी शहर काठमाडौजस्तो प्रतिष्ठित महानगर पनि सामेल थियो। साथै, पोखरा महानगर लगायत बीसौँ नगरपालिका र झण्डै दुई सयजति गाउँपालिकाहरूमा शानदार जीत हासिल गरेर एमालेले ७४ सालकै मंसिर महिनामा हुने प्रदेशसभा तथा संघीय संसदको चुनावमा प्रचण्ड बहुमत प्राप्त गर्न आधारशिला खडा गरेको थियो। अन्ततोगत्वा भयो पनि त्यही। माओवादी केन्द्र भनिने अर्को वाम घटकसँग तालमेल गरी लडेको चुनावमा एमालेले संयुक्त रूपमा दुई तिहाईको नजिक पुग्ने बहुमत हासिल गर्‍यो र नेपालको संसदीय इतिहासमा पूर्ण बहुमतका साथ सत्ताशीन हुने पहिलो वामपन्थी दल बनेको श्रेय आर्जन गर्‍यो।

आफ्नो दैत्याकार दम्भ र भ्रष्टाचारी प्रवृत्तिको वशीभूत भएर एकताकाका चर्चित र लोकप्रिय नेता एमाले अध्यक्ष ओलीले संसदमा भएको आफ्नो दलको बहुमतलाई खेर फाल्ने जुन हिमालय-सदृश भूल गर्नुभयो पालिकाहरूको चुनावमा उहाँको दलले खाएको धोबी-चुटाइ त्यसैको एउटा उपोत्पादन मात्र हो। आफूभित्र निर्वाचित तानाशाह बन्ने वाहियात आकांक्षा जगाएर केपी ओलीले संविधानमाथि नै छेडछाड गर्ने धृष्टता नगरेको भए न माधवकुमार नेपाल र प्रचण्ड पार्टीबाट बाहिरिनु पर्थ्यो, न शेरबहादुर देउवा हातमा पाँचौ पटक प्रधानमन्त्रीको पद आउँथ्योन त अस्ति ३० गते भएको चुनावमा एमालेलाई धोबीपाट लगाउँने उद्देश्यले ५ दलका बीच चुनावी तालमेल नै हुन्थ्यो। अंग्रेजहरू भन्छन्स्  तिमीले जे रोप्छौ त्यही फल्ने हो। सक्छौ भने मेराविरुद्ध मोर्चाबन्दी गर भनेर हाँक दिएपछि बिचराहरू के गरुन्रु एमालेविरुद्ध एकगठ भए। त्यसको परिणाम सबैको सामु छ। सत्ताशीन गठबन्धनका सदस्यहरूले आपसमा तालमेल गरेर पालिकाहरूको चुनाव लड्ने निर्णय गरेका दिनदेखि एमालेका सुप्रिम लिडरदेखि वडा तहको भाइनाइके सम्मले गठबन्धनलाई किन यसरी सरापेको होला भन्ने मेरो मनको खुल्दुली अहिले आएर मेटिएको छ। मैले बुझेँ गठबन्धनले कस्ने सुर्किनेले आफ्नो सासनलीलाई नै टुटाइदिन्छ भन्ने कुरा यी सबैले गठबन्धन बनेकै दिन बुझिसकेका थिए।

अहिलेसम्म घोषित परिणाम र रुझानका आधारमा भन्ने हो भने यस वर्षको पालिकाहरूको निर्वाचनमा सबैभन्दा बढी लाभको स्थितिमा नेपाली कांग्रेस पार्टी रहने देखिन्छ। कांग्रेस दोस्रो हुने एमालेसँग फराकिलो अग्रता राख्दै पहिलो नम्बरको विजेता दल हुनेछ। उसले करीव ३०० पालिकाहरूको नेतृत्व गर्ने अनुमान छ। एमाले गरीव खाले दोस्रो हुनेछ। उसले काठमाडौ, पोखरा, बुटवल, घोराही, बनेपा, पनौती, सूर्यविनायक, मध्यपुर थिमी लगायत धेरै नगरपालिका गुमाउँने प्रवल सम्भावना छ। अहिलेको रुझान हेर्दा ओलीको गृहनगर दमकमा समेत एमाले पराजित हुन्छ जस्तो छ। दमकमा गठबन्धनले समेत सघाएका राप्रपाका राम थापा मेयरमा स्पर्धा गरिरहेका छन्। यी पंक्तिको तर्जुमा गर्ने बेलासम्म राम थापा एमालेकी उमेदवारभन्दा ६०० मतले अगाडि थिए।

काठमाडौ महानगरमा स्वतन्त्र उमेदवार इन्जिनियर बालेन शाहले मतगणना शुरू भएकै क्षणदेखि लगातार अग्रता लिइरहेका छन्। बालेनको जीतको सम्भावना क्षण-प्रतिक्षण बलियो हुँदै गइरहेको छ।  राजधानी महानगरको मेयर पदमा एक स्वतन्त्र युवा उमेदवारको जीत भयो भने त्यसले देशमै नयाँ राजनीतिक क्षितिजको उद्‍घाटन गर्ने प्रत्याशा गर्न सकिन्छ। बालेनले पाएको अपार जनसमर्थनमा पुराना राजनीतिक दलहरूको अकर्मण्यता र असफलताप्रतिको जनाक्रोश प्रतिध्वनित भएको छ भन्दा अत्युक्ति हुँदैन। ती सबै पुराना दलहरूका लागि यो खतराको घण्टी हुनसक्छ। बालेनको समर्थनमा उठेको तुमुल ध्वनिको अनुगूँज आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि अवश्य सुनिने छ। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...