पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।
विषय प्रवेशः
याक्थुङ् आख्यान र खसआर्य मतानुसार अम्लाबुङ् (पुरानो सुर्केनागी – ६) गाउँपञ्चायत हुँदै नवमीडाँडा गाउँविकास समितिको वडा नं. २ अहिले फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सत्यरुपा/सत्तेरुपा/सत्तिरुपाको नाम र तिनको अवस्थितिबारे खोज गरिएको छ । सत्यरुपा/सत्तेरुपा/सत्तिरुपा/सेत्त्रुप्पा (सेत्रुप्पा)/सेत्लुप्पा/सिःलुप्पा निभुखोलाको फेञ्चेखोला दोभान र फाक्तेप खोलाको दोभानका मुखमाथि लुम्सो बसेको दुईटा भञ्ज्याङ् तीनवटा थुम्किमा बाँडिएका एकसुन्दर र मनमोहक सानो गाउँ छ । स्थानीकतामाथि भाषिक जेनोसाइड पर्नसक्ने प्रवल सम्भावनाहरू बढ्दै जाँदा यही गाउँको परिवेशमा रही यसको ऐतिहासिक खोज र अनुसन्धानकालागि पेश गरिएको छ ।
खोज क्षेत्र र स्रोतः
उल्लिखित गाउँबारे अनुसन्धानको विषयमा वर्तमान सत्तेरुपा, सक्रुम्बा, ढाँडे गाउँका बुडापाकाहरू र युवाहरूलाई भेटेर वार्तागरी स्रोतको रूपमा लिइएको छ । सत्तेरुपाका हर्कधोज नेम्बाङ्, नइन्द्रबहादुर चौहान, राजेन्द्र खत्री, बौधमान नेम्बाङ्, सुभा पलनसिं नेम्बाङ्को श्रीमती र रुपनारायण कुमाल, सक्रुम्बाका कृष्णकुमार नेम्बाङ्, ढाँडेका नन्दकुमार चेम्जोङ्, भोगटेनीका सुरेन्द्रराज आङ्देम्बे छन् । पुस्तकहरुमा मलिसा याक्थुङ्बा लिम्बू लिखित ‘लिम्बुवानमा पाँचथरको इतिहास’, इमानसिं चेम्जोङ् लिखित ‘किरात इतिहास र संस्कृति’ र भगीराज इङ्नाम लिखित ‘लिम्बू जातिको इतिहास’लाई साधारण आधार लिइएको छ ।
नामाकरण उठान र पुरातत्वका बारेः
सत्तिरुपालाई धेरै श्रोतव्यक्तिहरूको आधारले सत्तिगई त्यस डाँडामा पोलेकाले यस ठाउँलाई सत्तिरुपा भनेको हो, भन्दछन् । यसै क्रममा सत्तिजाने जातिहरू को-को पर्दछन् ? भन्ने सोधनीमा धेरैको भनाई ‘खसआर्यहरूमा मात्र सत्तिजाने प्रथा रहेको छ’ भन्दछन् । ‘खसआर्यहरू कहिले पनि खोला बाहेक अन्य स्थानहरूमा जलाउने प्रथा छैन’ पनि भन्दछन् । ‘यो थुम्किमा खसआर्यहरूले शव जलाएनन् र खोला नजिक भएपछि यस डाँडामा जलाउने कुरा पनि आउँदैन’ भनेर त्यहाँ बसोवास गर्ने खसआर्यहरू स्वीकार्छन् । याक्थुङ् परम्परा अनुसार जलाउनु भनेको अकालमृत्यु भएकाहरूलाई जलाउने र अन्य मृतकलाई माटो खनेर ढुङ्गाको खाल्डो बनाई सम्मानकासाथ लाश दहन गर्ने गर्दछन् । याक्थुङ् परम्परामा सत्तिजाने प्रथा पनि नरहेका कुरा मुन्धुम बताउँछन् । अब रह्यो कुनै जाति (खसआर्य र याक्थुङ बाहेक) हरूले पो सती गएकाले यस ठाउँको नाम सत्तिरुपा भएको हो कि भन्ने पनि एकपाटा जिउँदो छ ।
सत्तिरुपालाई सत्तिलुप्पा पनि भनिँदो रहेछ । त्यो सत्तिलुप्पा थुम्किको सबैभन्दा तल्लो थुम्किलाई मान्छन् र यहाँ ‘केही कोइला र पोलिएका हाँडहरू पाइएको’ भन्ने कुरा त्यस जग्गा भोगचलन गर्ने सुभा पलनसिं नेम्बाङ्का श्रीमतीले बताइन् । मुन्धुमसाबा नन्दकुमार चेम्जोङ् (८१) अनुसार ‘यहाँका आँगनहरू बिराउँदा हाडखोर, भाँडावर्तन र केही पाँचमोहरे निमन (डलर) पाइएको र अहिले यसै गाउँको केही व्यक्तिहरूसँग सुरक्षित वा निगरानीमा माटोमै लुकाई राखेको हुनसक्ने’ बताउँछन् । सत्तिलुप्पाको माथिल्लो थुम्किमा पनि यस्तो ‘कोइला र केही मालाका दानाहरू पाइएका’ जग्गाधनी हर्कधोज नेम्बाङ (७२) बताउँछन् । यसको आधाभागदेखि भञ्ज्याङ् वरिपरि पुरानो चिहानहरू रहेको र यस ठाउँलाई दारिम्बा भनिन्छ । दारिम्बालाई चिहानडाँडा पनि भनिँदो रहेछ । हर्कधोज नेम्बाङ् (७२) अनुसार ‘‘यहाँ वि.सं. २०२२ सालमा ‘निभु राज्यसोरी प्राइमरी स्कुल’ स्थापना गरी चउर खन्दा थुप्प्रै चिहानहरु रहेको, उक्त चिहानमा कच्चिया, केहि सूनका गहनाहरू र हाडखोरहरू प्राप्त गरे । यो स्कुल तीनवर्ष चलेपछि माथि तिरतिरे लगभग दुईघण्टा उकालो पल्लो डाँडोमा सारेर लगे । त्यसवेलाको विद्यालयको शिक्षक अम्बिका घिमिरे हुनुहुन्थ्यो ।’’
याक्थुङ् जातिहरूको जातिय प्रथा सत्तिजाने नरहेकोले याक्थुङ् जातिको भाषा प्रयोग रहेन कि भन्ने छ । खसआर्यहरूको सत्तिप्रथाकालागि नौपूस्ता अघिआएका चैनपुरहुँदै खुँगा एकतिन भएर सत्तिरुपा डाँडामा आउने नरवीर खत्री (अधिकारी) का नौपुस्ते नाति राजेन्द्र खत्रि (४९) ले ‘यो डाँडामा कुनै पनि खसआर्यहरू सत्तिगई नजलाइएको’ स्वीकार्छन् भने यसरी नै यही खत्रीहरूकाे माध्यमबाट आउने ६ पुस्ता अघि स्यावरुम्बा हुँदै याम्बोङ्को शाप्सुदेखि सत्तिरुपामा आउने सिंगबीर चौहानको छपुस्ते नाती नईन्द्रवहादुर चौहान (७०)ले पनि स्वीकार्छन् । चौहानहरू सातघर छन् भने खत्रीहरु दुईघरमा सिमित छन्, यो खोजसम्ममा । चौहान (७०)का अनुसार ‘यहाँ त्यसवेला एकघर याक्थुङ् र अर्कोघर खत्री नरवीरका सन्तान मात्र बसेका र एकक्षेत्री याम्बोङ्को शाप्सुमा आई बसेको थाहा पाएर तिनै खत्रीले संगती बनाई सिंगवीरलाई चेली दिएर यस ठाउँमा ल्याएका हुन् । वहाँहरु यसरी आएर वस्दा याम्बोङ् गाउँका सुब्बाहरुकोमा जग्गाको रसिद काटि तिरो तिर्दथे र सत्तिरुपा डाँडा याम्बोङ्गे सुब्बाहरुका किपट थिए ।’ मानवशाष्त्रका आधारमा नौपुस्ते खत्रीहरु अहिले न्युनतम् १८० वर्ष (राजेन्द्र दुइपुस्ता सहित) र छपुस्ते चौहानहरु अहिले न्युनतम् १४० वर्ष (नइन्द्रबहादुर तीनपुस्ता सहित) पुग्न सक्छ । ती सन्तानहरूले यस थुम्किमा सत्तिप्रथामा नजलाइएको स्वीकार गरेका छन् ।
यही सत्तिरुपा गाउँमा तीनपुस्ता अघिदेखि कुमाल थरी आएर बसेका रुपनारायण कूमाल (७१) ले पनि सत्तिप्रथा कुमालमा नरहेको स्वीकारेका छन् भने उनीहरू भक्तपुरे कुमालहरु हुन् ।
सत्तिरुपा (सत्तिलुप्पा) होकि सेत्लुप्पादेखि सत्तेलुप्पा हो ?
सत्तिरुपा गाउँ नागी (नागाहरूको क्षेत्र)को निभूखोला तल्लोभेग औल पर्दछ । वि.सं. १८३१ भाद्र–असोजको (लिम्बूः २०७२) गोर्खाने सेनाहरूसँग तमोरको याक्चिवुङ्मा भिषण युद्दमा एक्लै जितेर स्वराज घोषित फेन्जेलिङ् (मुक्) लाई याक्थुङ् राजाहरू मिलेर युद्ध जितेवापत पूर्वमा फेञ्चेखोला पश्चिम लायःङ् खोल्सा, उत्तरमा तिजोक डाँडाको पानी ढलो र दखिनमा निभुखोला चारकिल्ला भित्रका जग्गालाई वीरताको भूमि पुरस्कार दिएका हुन् । अनुमानतः यसरी फेन्जेलिङ्ले प्राप्त गरेको वीरताको जग्गामा त्यसबेला नागा (लाप्चा)हरू बसोबास गरेका थिए । फेञ्जेलिङ्ले कत्तिपय गोर्खाने राजासँग लड्न सघाउने नागाहरूलाई रैती बनाई रखाए भने गोर्खाने राजालाई समर्थन गर्ने केही नागाहरूलाई धपाए । फेञ्जेलिङ्(मुक्) का याक्थुङ् सेनाहरू र गोर्खाने सेनाहरूसँग लड्दा थुप्प्रै याक्थुङ् सेनाहरू मारिएर शहादत प्राप्त गरे । तिनीहरूको सामूहिक शवहरू ल्याएर यहाँ जलाउने वा गाड्ने काम गरे । यसरी मारिएका वा मरेका लाशहरुको दहन क्षेत्रलाई याक्थुङ् भाषामा सिःलुप्पाहुँदै सेत्लुप्पा हुन्छ । सेत्लुप्पाबाट सेत्त्रुप्पा (सेत्रुपा) हुनगए । सेत्त्रुप्पा (सेत्रुपा)बाट सत्तेलुप्पा भएको हुनुपर्छ । सेत्लुप्पाको अर्थ ‘थाक्थाक् गाडिएको’ भन्ने हुन्छ । यसरी सेत्लुप्पालाई नेपाली जिव्रोकरण हुँदा सत्तेरुपा भएको हुनुपर्दछ । यस निभूखोला वरिपरिका याक्थुङ् पुरानो जनजिब्रो बुडापाकाहरुको आधारमा सत्तेरुपा वा सत्तिरुपा नभनेर (सेत्त्रुप्पा) सेत्रुपा भनेर स्थाननाम वाचित गरेको यो सोधकर्ताले सुनेका थिए । सेत्रुपा (सेत्त्रुप्पा) भन्नु नै सेत्लुप्पा हो । यो क्षेत्रमा फेÞन्जेÞलिङ्(मुक्)का दरसन्तान र उनले जग्गा भोगचलनका लागि जिम्मा दिएको दरसन्तान सुब्बा–सुभाङ्गिहरुले जग्गा संरक्षण गर्दै आएका थिए । यद्यपि केही छिटफुट अंश अद्यावधिक छँदैछ ।
रैथाने नागा (लाप्चा)का विषयमाः
खोज र अनुसन्धानका आधारमा प्राप्त उपक्रमहरू र इतिहासहरूमा लेखिएका ३२ हजार (चेम्जोङ, २१८ः २०५१) ले लिम्बुवान छोडेका यत्रो ठूलो संख्याका हिसाबमा यस खोजसँग सामिप्यता राख्छ । तेसबेला नागा (लाप्चा)हरु समेत याक्थुङ् वर्गमा राखिनुपर्छ । किनकि हरेक स्वभावमा याक्थुङ्हरूसँग ठ्याक्कै मिल्छन् । भाषा, रूप, डाल सब्मिल्थे । नागी गाउँमा नागा (लाप्चा)हरूको गाउँ थियो र उनीहरूको चिहानहरू सार्किटार मास्तिरदेखि मारुनीडाँडा हुँदै सेत्रुप्पासम्मको माटो प्रयोग गरेको पाइन्छन् । फेञ्चेखोलाको दोभानदेखि माथि याम्बोङ् गाउँसम्म उनीहरूको बसोबास थिए । याक्थुङहरूले यिनीहरूलाई लाप्चा भन्थे । ‘लाप्चा’ अथवा लेप्चा भन्नाले ‘शरीरमा लुगा नभएको नाङ्गो जस्तो देखिने व्यक्तिलाई’ भनिन्छ । उनीहरू प्रायशः लुगाको विकसित रूपमा पुगेका थिएनन् र लुगा नलगाउने समूदायमा पर्थे । तसर्थ लाप्चा अथवा नेपालीमा नागा भनिएको हुनुपर्छ । याक्थुङ्हरूमा लुगाको विकसित चेत आइ सकेको देखिन्छन् । नागा (लाप्चा)हरू माटोका भाँडा र आभूषणहरू, ढुङ्गाका भाँडा, हतियार र आभूषणहरू र केही धातुका भाँडा, हतियार र आभूषणहरू बनाउन अत्ति सिपालु थिए । उनीहरूको आभूषण प्रयोग र याक्थुङ् जातिहरूको आभूषण प्रयोगमा समान छन् । उनीहरूबाट बनाइएका खाम्ब्रक्मा (इङ्नाम, ७८–८० ः २०७५), पन्छे, कान्धिहरू, माटाका भाँडा प्रकारहरू अहिलेसम्म एकाध–एकाध पाइन्छन् ।
सत्तिरुपामा जिमाला (खाम्ब्रक्मा) चलाउने नागा (लाप्चा) जातिहरूको चिहानहरू रहेको पाइन्छन् । सत्तिरुपा उर्वरभूमीमा नागा (लाप्चा)हरू बसेपनि फेञ्जेलिङ्(मुक्)ले आफ्नो बीरताले प्राप्त गरेको भूमिलाई फेन्जेतेप्पा कोलोनीमा गभाए । र नागा (लाप्चा)हरू त्यही नै रैती बनाएर राखे । तेसबेला याम्बोङ् गाउँमा याम्भङ् नामको नागा (लाप्चा) राजा थिए । उनी गोर्खाने राजाका समर्थक थिए र उनलाई फेञ्जेलिङ्(मुक्) ले खेदाई–खेदाई मारेको दन्त्यकथा छ । यही याम्भङ् राजा बसेकोले याम्बोङ् गाउँको नाम रहन गए भन्ने एउटा मत छ ।
फेञ्जेलिङ्(मुक्) र याक्थुङ् समूदायहरूले सवै नागा (लाप्चा)हरू खेदाइएको भने होइन र याक्थुङ् जातिहरू त्यत्ति हिंस्रक जाति पनि होइनन् । बरू शत्रुहरूका लागि लडाकु चैँ हो । हिंस्रक गोर्खाने शासन सत्ता भित्रिन खोजेका कारण र गोर्खाने राजासंग नागा (लाप्चा) समुदाय सुरक्षित हुन नसक्ने थाहा पाएपछि सायद यहाँबाट विस्थापित भएको हुनुपर्छ। नागा (लाप्चा)हरूसँग याक्थुङ् जातिहरूमा वैवाहिक, पारिवारिक, सामाजिक, आर्थिक र भाषिकरूपमा अन्योन्याश्रित सम्बन्ध थियो, प्रगाढ रूपले । उनीहरूसँग हरेक व्यवहार, चलन, रीतिथिति, संस्कार, संस्कृति, कर्महरूमा एकै थिए । नागा (लाप्चा)हरू तान्त्रिक विद्या र जडिबुडी ओखतीमूलोमा अब्बल थिए । गोर्खाने राजाबाट पटक–पटक आक्रमणका कारण आफूहरू सुरक्षित हुन नसक्ने पत्ता पाएपछि पूर्वतिर परिवारको परिवार या गाउँको गाउँ बसाइँ सरेर गएका हुन् । याक्थुङ्हरू युद्ध थामेर देशभक्तिका लागि पनि बसे । कतिपय नागा (लाप्चा)हरूको गाउँ नै विस्थापन हुँदाताका याक्थुङ्हरू पनि केही पलायन भए ।
याक्थुङ् जनसङ्ख्याभन्दा अति कम जनसंख्या रहेका नागा (लाप्चा)हरू प्रायशः युद्द नचाहने शान्तिवादी समूदाय वर्गको हुनुपर्छ । या त हतियार चलाउन नसक्ने र सुरक्षाकवच प्रयोग गर्न नसक्ने जाति भएको हुनुपर्छ । केवल शरीर प्रायः सबैभागमा नाङ्गो भएकाले उनीहरू प्रायश गैरी–गैरी स्थानहरूमा टहरा बनाएर वस्दथे भने डाँडामा बस्न सक्दैनथे । उनीहरूले युद्ध नचाहेका र लड्न नसकेका कारण गोर्खाने र याक्थुङ्हरूको रणमैदान त्यागेर गएको हुनुपर्छ । उनीहरू गोर्खाने सेनाहरूको खुनी आक्रमणको विपक्षमा र युद्धको पूर्ण पक्षमा नरहेकै कारण आफ्नो मातृभूमि त्यागेर गएका हुन् । केही गोर्खाने राजालाई समर्थन गर्ने नागा (लाप्चा)हरूलाई भने फेञ्जेलिङ्(मुक्)ले बदला स्वरूप भौतिक आक्रमण गरेको भने सत्य हुनसक्छ ।
सत्रुपा वा सतदेवीः
सत्तिरुपा केवल प्राचीनकालको स्वयम्भुमनुका श्रीमती सत्यरुपा यात दक्षप्रजापतिका छोरी सत्यदेवीको नामबाट सत्तिरुपा बनेको हो कि जस्तो आभाष दिन्छ । तर ‘‘मानव प्रारम्भका पिता र माता स्वयम्भुमनुका श्रीमती सत्यरुपा र स्वस्थानीव्रत कथाका पात्र सत्यदेवीबाट ‘सत्यरुपा’ ठाउँको नाम नभएको’’ भनेर त्यहाँका खसआर्य समाजले स्वीकार्छन्। जसमा ‘सत्यरुपा’ र ‘सत्यदेवी’को नामबाट ‘सत्तिरुपा’ नभएको स्थानीय नइन्द्रबहादुर चौहान (७०)ले ठोकुवा गर्छन् र ‘आफ्ना पुर्खा जिजु–वजेहरु समेतले यो सत्यरुपा वा सत्यदेवीको नामबाट नभएको’ भनेर उनी बताउँछन् । तसर्थ दक्ष प्रजापतिको छोरीको नामबाट पनि नभएको दावी उनको छ र यसरी नै राजेन्द्र खत्री (४९)ले पनि वोलीपरम्परामा नआएको स्वीकार्छन् ।
सत्तिरुपा वा सत्तेरुप्पा वा सत्तिलुप्पा वा सेत्लुप्पा के हो ?
त्यहाँका बासिन्दाहरूको आख्यान परम्परा अनुसार भन्ने हो भने यो ठाउँमा सत्ति पसी पोलेकाले सत्तिरुपा हुन गएको मत रहेको छ तर यस ठाउँमा खसआर्यहरूको ९ पुस्तादेखि यत्तामात्र आएको देखिने र उनीहरूले नै सत्तिप्रथा चलाए कि भन्ने शंका गर्दा राजेन्द्र खत्री (४९) स्वीकार्नु हुन्न । अर्को खसआर्यहरूले खोला वाहेक डाँडा, थुम्कि अथवा जमिनमा जलाउने संस्कार नरहेको नइन्द्रवहादुर चौहान (७०) स्वीकार्छन् । याक्थुङ् जातिहरूमा पनि सत्तिजाने प्रचलन नरहेको मुन्धुमसाबा नन्दकुमार चेम्जोङ् (८१) बताउँछन् । तसर्थ सत्तिपनि नगएको ठाउँ तर सत्तिरुपा भनिनु आफैँमा दोविधात्मक तर्क छ । तसर्थ याक्थुङ् भाषाको सिःलुप्पा, सेत्लुप्पा, सेत्त्रुप्पा (सेत्रुप्पा)बाट सत्तेरुपा हुँदै सत्तिरुपा हुनसक्ने भाषिक नजिकता भने आउन सक्छ । अर्को, याक्थुङ् भाषिक उच्चारणमा ‘ल’लाई ‘र’ र ‘र’लाई ‘ल’ अक्षरहरू आफैँ बन्छन् । तसर्थ ‘ल’ र ‘र’ सम्वर्ण हुन् अथवा एउटै वर्णको रूपमा । यस आधारमा ‘लु’ अक्षरलाई ‘रु’ बन्न जान्छ अनिमात्र सेत्त्रुप्पा (सेत्रुप्पा) भनिन्छ ।
तिगेन्जङ्नाको आवाद हुनसक्छः
प्रचलित सत्तेरुपामा सबैभन्दा पहिले मानवविकास क्रमको कृषियूग देखिनै आवाद हुँदै आएको हुनुपर्छ । यस डाँडोदेखि उत्तरपुर्वको माथि सार्किटार हुँदै नागी गाउँसम्म धेरै पुरानो आवाद गरिएका स्थानहरू पाइन्छन् । अर्को नागा (लाप्चा)हरू याक्थुङ् समुदायसँगै एकएक कोलोनी भएर बस्दै आएको अनुमान गर्न सकिन्छ जस्तै हिजोआज बाहुन क्षेत्री वा अन्य जातिहरूसँग मिलेर बसे झैँ । नागा (लाप्चा)मा पनि सत्ति जाने प्रथा नरहेको पुष्टि हुन्छ किनभने सत्तेरुपा गाउँको दारिम्बालाई लाप्चा चिहान पनि भनिँदो रहेछ । यसै आधारमा पनि यसक्षेत्रमा परापुर्वकालदेखि नै मानववस्ती भएको देखिन्छन् । परापाषाण युगकालिन तिगेन्जङ्नाले अनाज उत्पादनका लागि सत्तेरुपाका थुम्किहरू प्रयोग गरेको हुनुपर्दछ । नजिक निभूखोला छ । लगभग इशापूर्व दशलाखदेखि दशहजार वर्ष अगावैको अनुमान हुन्छ । यहाँबाट निभूखोलाका बेली भागहरु सबै देख्न सकिने मनमोहक र आनन्ददायक थुम्कि छ । यसरी नै तिगेन्जङ्नाले प्रयोग गरेको ठूलो ओडार याम्बोङ्को सुसुवागाउँ पल्लो पाटामा अवस्थित छ ।
तिगेन्जङ्ना तिर्खाएर पानी खाएको स्थान थोकुवा खोला (शाप्सु मास्तिर) र तिगेन्जङ्नाले तरुल भ्याकुर खन्न जाँदा भोकाएको स्थान साक्खेवा यसैक्षेत्रमा पर्दछन् । नाम्सामी–केसामीहरु खेल्ने ठाउँ पङ्वा, नाम्सामी–केसामी गर्भमा हल्लिएको ठाउँ याम्बोङ्टार र नाम्सामी–केसामीको पैतला भएको माङ्जोःक्तेन् पनि यही वरिपरि नै छन् । नाम्सामी–केसामी (दाजुभाई) को अन्तिम युद्धस्थान पङ्वा (कसैले छ्यागु) र नाम्सामी–केसामीकी आमाले कुन छोराले जित्छ भनि फूल चिन्ने राखेर छुट्याएको स्थान फ्ङ्सेन पनि खासै टाढा छैन । सिमलको एक दिशाका हाँगाहरू समेत केसामीको जीउले लाछेर झारेको र अचेल ती सिमलहरू एकपट्टि हाँगाहरु लाछिएर झरी सत्ते हारेको क्षेत्र पनि यही हो अथवा विजयपुरको बासमा टुप्पी नभए झैं ।
याक्थुङ् साक्थिम ताङ्सेप् ससङ्जुम्भोका अध्यक्ष सुरेन्द्रराज आङ्देम्बे अनुसार ‘सत्तेरुपाबाट उत्तरपश्चिमको पातलीटार नजिक ओडारमा नाम्सामीले केसामीसंग युद्ध लड्दा जित्नका लागि सिद्धप्राप्त गरेको स्थान साम्दाःक्लुङ् छ।’ मुम्धुमसाबा नन्दकुमार चेम्जोङ् (८१) र याक्थुङ् साक्थिम ताङ्सेप् सङ्जुम्भोका सचिव कृष्णकुमार नेम्बाङ्का अनुसार ‘यो साम्दाःक्लुङ्को स्थानीय पुरानो नाम लुङ्गाःङ्गाःङ् हो ।’ साम्दाःक्लुङ् (लुङ्गाःङ्गाःङ्)को एकओडारमा भोगटेनीका चन्द्रलाल अधिकारीले वि.सं. १९६०/७० सालदेखि यत्ता पुजासेवा गर्दै दुधकुण्ड चढाउने काम गर्दैआए र यसको निरन्तरता छ । शिलाहरुमा विभिन्न जीवहरूका पदचिन्ह (पैतला) समेत छन् । २०७६ माघ १ देखि वार्षिक रूपमा माघेपर्वको मेला लगाउन शुरू गरेको कुरा सङ्जुम्भो अध्यक्ष सुरेन्द्रराज आङ्देम्बेले बताउँछन् ।
ईशापूर्व १० हज्जारदेखि ५ हजारवर्षसम्म (इङनाम, ६८ः २०७५) पहिलेका मान्छेहरू ओडारमा बस्दथे भनेता पनि यस क्षेत्रमा आइपुग्दा कृषियुग प्रारम्भिक भएकाले उर्वरा जमिनमा बस्न थालेको पाइन्छन् । नागा (लाप्चा)हरूमा पनि याक्थुङ् प्रचलनका मृत्युसंस्कार, आभूषण (गरगहना), भाषा, खायनपायन आदि मिल्ने भएकोले नागा (लाप्चा)हरूले पनि शवदहन अचेल याक्थुङ् जातिले पुर्दै आएको जस्तै नै छ । यसरी चिहान बनाउने जातिमा नागा (लाप्चा)हरू पनि पर्दछन् । यसैका आधारमा नागा (लाप्चा)हरूको चिहान सत्तेरुपामा हुनसक्छ । मुन्धुमसाबा नन्दकुमार चेम्जोङ् (८१) अनुसार ‘यसलाई लाप्चा चिहानडाँडा भनिन्छ’ भने हर्कधोज नेम्बाङ् (७२) अनुसार ‘यसलाई याम्बोङ्गेहरुको चिहान पनि भनिन्छ ।’
केसामीको छाला सुकाएको ढुङ्गा, केसामी बसेका गुफा तथा ओडारहरू पाइन्छन् । यसैको आधारमा सत्तेरुपाको थुम्किमा चिसो याम ताका र खेतीका लागि तिगेन्जङ्ना बसेको हुनसक्छ । यो विसं १८३१ भदौ–असोज (लिम्बूः२०७२) देखि हालसम्म किपटको रूपमा राख्ने फेन्जेलिङ्(मुक्)का सन्तानहरूले निक्कै लामो समयसम्म जग्गा भोगचलन गरेका थिए । रस्ति रसाइ, बस्ती बसाइका कारण ती किपट जग्गाहरू अचेल धेरै जाति वर्गहरूको जग्गा हक भोकमा गइसकेको छ ।
निष्कर्षः
सत्तेरुपास्थित रहेको चिहान, प्राप्त भाँडावर्तन तथा निमन पैसा र कोइलाहरूलाई कार्बन परीक्षण गर्न बाँकी छ । यिनीहरूको कार्बन परीक्षण गरेर कुन जाति, वर्ग र समयको हो भनेर पत्ता लगाउन सहज हुनेछ । यस कार्यमा स्थानीय वौद्धिक तथा स्थानीय सरकारले ध्यान पुर्याउनु पर्छ ।
सेत्लुप्पा, सेत्त्रुप्पा, सत्तेरुप्पाको वर्तमान सत्तिरुप्पा गाउँमा कच्ची मोटरबाटो, निभूखोलामा पक्की पूल र राष्ट्रिय प्रशारणबाट विजुली पुगीसकेको छ । यस थुम्की कुनैमा फेञ्जेलिङ्(मुक्) योद्दाको प्रतिरूप वा तिगेन्जङ्नाको प्रतिरूप स्थापना गरी पर्यटन विकास गर्न सकिन्छ । नाम्सामी केसामीका प्रतिरुपहरू राख्न सकिन्छ भने निभूराजा निभूरानीको स्तम्भ शिलाहरू पनि राख्न सकिन्छ ।
सेत्रुप्पाको पूर्वदखिन सयमिटर मूनी निभू, फाक्तेप र फेञ्चेखोलाको सुम्वादो (त्रिवेणी) स्थल छ । सुम्वादो क्षेत्रमा घाट र व्यवस्थित ‘सुम्वादो हाट’ लगाउन सकिने सम्भावनाहरू प्रशस्त छन् । चिसोकालभरिको लागि रिसोर्टहरूको सम्भावना पनि त्यतिक्कै छ । सुम्वादोतिर झर्नका लागि पुरानो ठूला पदमार्गहरू बाहेक याम्बोङ, हेलाङ्, सेत्रुप्पा र फाक्तेप गाउँबाट कच्ची मोटरवाटोले जोडिइ सकेका छन् । निभूखोला र फाक्तेप खोलामा झोलुङ्गे पूल समेत छ । पौडी र माछाका लागि पोखरीहरू, ताम्भुङजा स्थलहरू, जंगल यात्राहरू गर्न सकिने सुम्वादोका मानवनिर्मित छटाहरूमा पर्न सक्छन् । निभूखोलाबाट लघु जलविद्युत समेत उत्पादन छ । यस क्षेत्रलाई सुम्वादो भ्याल्लीको रूपमा विकास गर्न सकिन्छ । सुम्वादो भ्याल्ली प्लानिङ गर्दा फेञ्जेखोला सेक्टर, निभूखोला सेक्टर र फाक्तेपखोला सेक्टर बनाई चारै वडालाई फाइदा हुने गरी योजनाहरू बनाउन सकिने अवस्थाहरू प्रशस्तै छन् । प्राकृतिक रूपमा प्राप्त जंगलहरू, भीरपहराहरू, खोलाहरू र खेतीयोग्य जमिनहरू छन् । यिनीहरूलाई कला कौशलपूर्ण ढंगले हरेक सरकारहरूको सहयोगले सदुपयोग गर्न सके धेरै स्थानीय मानिसहरूका रोजगारीको अवसर हुन सक्नेछ ।
धन्यवाद ज्ञापनः
यस कार्यमा सघाउने सार्किटार निवासी दिलकुमार (अजय) नेम्बाङ् धन्यवादका पात्र हुनुहुन्छ । उहाँले आफ्नो काम समेत बिर्सेर खोज–अनुसन्धान कार्यमा सघाएका छन् । फोटो उपलब्ध गराउनेमा सहयोगी दिलकुमार (अजय) नेम्बाङ् र गणेश नेम्बाङ् दुवैलाई हार्दिक आभार व्यक्त गर्दछु । यसपछि भीम नेम्बाङ्, शिक्षक खड्क नेम्बाङ्, हंश नेम्बाङ्, भाषाशिक्षक श्यामकुमार नेम्बाङ् र कवि हेम सेमिक्वा प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
स्रोत व्यक्तिः
नेम्बाङ् हर्कधोज याङ्देम्बा (२००४/०६/२२ बुधबार) सत्तेरुपा गाउँ
नेम्बाङ् प्रेमबहादुर याङ्देम्बा (२०००/०२) सत्तेरुपा गाउँ
चेम्जोङ् नन्दकुमार (१९९५/०६/०५) ढाँडे
कुमाल रुपनारायण (२००५/११/०५ शुक्रवार) सत्तेरुपा गाउँ
चौहान नइन्द्रबहादुर (२००६/०८) सत्तेरुपा गाउँ
नेम्बाङ् बौधराज याङ्देम्बा (५० वर्ष) सत्तेरुपा गाउँ
अधिकारी राजेन्द्र खत्री (४९ वर्ष) सत्तेरुपा गाउँ
आङ्देम्बे सुरेन्द्रराज, भोगटेनी गाउँ
नेम्बाङ्, कृष्णकुमार, सक्रुम्बा गाउँ
स्रोत सामग्रीहरूः
चेम्जोङ इमानसिं – किरात इतिहास र सँष्कृति (अनुवादक सेरबहादुर इङ्नाम पापो) २०५१, शनिश्चरे गाविस ६, सालबाडी, झापा नेपाल
लिम्बू मलिसा याक्थुङ्बा – लिम्बुवानमा पाँचथरको ईतिहास, नेम्बाङ् कामना याम्बोङ् पाःन्थःर्, २०७२
इङ्नाम् भगिराज – लिम्बूजातिको ईतिहास, तुम्बाहाम्फे रेनु लिम्बू समूह काठमाण्डु २०७५
विसं १९७६ सालको शिलालेख, सत्तेरुपा गाउँ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...