भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

मजाक गर्ने बाहानामा कुनै दुब्लो मान्छेलाई गोजीमा इट्टा हालेर हिँड चैत वैशाखको हुरीले उडाएर चराको गुँडमा राखी देला, ओ बुख्याँचा, दुब्लो, ख्याउटे, दाउरे, त्यस्तै मोटो मान्छे हन्तकाली, अन्नको काल, हात्ती, सुगुर, भैंसी त्यस्तै कालो मान्छे देखे हप्सी, औँठे, अँध्यारो, बल्याक बोर्ड, चस्मा लगाउने मान्छेलाई चार आँखे, बत्ती गुल, डबल ब्याट्री सिङ्गल पावर, लैंगिक अल्पसंख्यक देखे छ*, हि*जस्ता अनेक उपमा र उपमेयले न्वारन गर्ने गरिन्छ ।

यसरी न्वारन शाब्दिक तथा सांकेतिक इसरा आदिबाट गरिन्छ । उल्लिखित तमाम न्वारान व्यक्तिको व्यवहार वा मेरो क्षमता हेरेर नभई उसकाे शारीरिक बनावट बोल्ने शैली र व्यवहारको आधारमा गरिन्छ । विभिन्न टेलिसिरियल, चलचित्र अभिनय तथा सार्वजनिक स्थलमा समेत शारीरिक बनाबटलाई मजाकको रूपमा प्रस्तुत गरेका थुप्रै घटनाहरू देख्न सुन्न पाइन्छ । कोही मान्छे अड्किएर बोल्छ त्यो त्यो व्यक्तिको बानी वा दुर्बलता हो, कोही मान्छे अत्यधिक कालो वा गोरो छ त्यो उसकाे शारीरिक बनाट हो । उक्त शारीरिक बनावटको विषयलाई लिएर कमेडी गर्नु के तर्कसंगत छ त ? यसरी कसैको शारीरिक बनावट, व्यवहार जस्ता विषयको आडलिएर मजाक उडाउनु एक हिंसा हो । किन समाजका व्यक्तिहरू यस्ता हिंसाको सिकार भैरहेका छन् ? के व्यक्तिले आफूसँग भएको शारीरिक बनावट वा व्यवहारको आधारमा बाँच्न खोज्नु अपराध हो र त्यो अपराधलाई मनोरञ्जनको रूपमा प्रयोग गरिनु पर्ने हो त ? आखिर किन हुन्छ शारीरिक र व्यावहारिक दुर्बलता मजाकको विषय ? यसका कारणहरू के हुन् त आउनुस् हेरौं ।

कारणहरूलाई विभिन्न तरिकाले हेर्न सकिन्छ तर यहाँ समग्रमा हेर्दा निम्न कारण देखिन्छन्ः

१. सामाजिक सांस्कृतिक मनोवैज्ञानिक वा पक्ष

समाजमा बस्ने मान्छेहरूको स्वरूप आकार प्रकार शैली र व्यवहार सामान्यतया मिल्दोजुल्दो हुन्छ । अर्थात् अझ भनौँ समाजले  सामान्य स्वरूप, व्यवहार र रङ्गको निर्धारण गरेको हुन्छ, उक्त निर्धारण भन्दा केही व्यक्तिको शारीरिक स्वरूप र व्यवहार  फरक पर्छ भने त्यो हेलाको वा मजाकको पात्र बन्न पुग्दछ । उदाहरणका लागिः ब्राह्मण समुदायमा पर्न नाको चुच्चो हुनुपर्ने, गहुँगोरो हुनुपर्ने, मगर समुदायमा पर्न नाक थेप्चो हुनुपर्ने, डल्लो हुनुपर्ने । यदि कारणवश कुनै ब्राह्मण समुदायको मान्छेको नाक थेप्चो भयो भने उसलाई ठिमाह करार गरिन्छ र मौका मिलेसम्म उसलाई जन्म दिने आमालाई समेत आक्षेप लगाउन थालिन्छ । यस्तै समाजले शारीरिक रूपरङ्ग, बोल्ने शैली, शारिरिक आकारप्रकार, हिँड्ने खाने शैली जस्ता थुप्रै पक्षमा घोषित वा अघोषित मानक निर्माण गरेको हुन्छ । सो मानक भन्दा बाहिर वा मानकको अपवाद कुनै व्यक्ति पर्दछ भने उसलाई उक्त समाजबाट अप्रत्यक्ष रूपमा बहिस्कार गर्नका लागि उसकाे रूपरङ्ग, व्यावहारिक, शारीरिक अपाङ्गताकाे भद्दा मजाक गरिन्छ, अनेक उपमा र उपमेय दिइन्छ । यसरी मजाक गर्दा मजाक गर्ने व्यक्ति बसेको समाज, हुर्केको वातावरण शैक्षिक अवस्था जस्ता विभिन्न पक्षले  दरिलो प्रभाव पारेका हुन्छन् ।

२. व्यक्तिगत मनोविज्ञान

यसरी शारीरिक स्वरूप तथा व्यवहारको मजाक उडाउने व्यक्तिहरू समाजले निर्धारण गरेको स्वरूपभित्र परेका हुन्छ र उनीहरूले आफ्नो स्वरूप वा व्यवहार भन्दा बाहिर पर्ने मान्छेलाई बहिस्कार गर्नुपर्छ भन्ने सिकेका हुन्छन् । उदाहरणका लागि एक पुरुष वा महिलाले लैंगिक अल्पसंख्यकलाई आफ्नो समुदायको नठान्नु र उसलाई बहिस्कार गर्न हि*, छ* जस्ता उपमेय प्रदान गरी हिंसा गर्नु, मधेसको व्यक्तिलाई शारीरिक रङ्ग र बोलीका आधारमा बहिस्कार गर्न खोज्नु । कुनै समयमा अपनत्व देखाउनका लागि प्रयोग गरिने शब्द पनि मजाक वा हिंसा को कारण बन्न सक्दछन् । उदाहरणका लागि सुदूरपश्चिमको कुनै व्यक्तिलाई पूर्वको कुनै अर्को व्यक्तिले पहिलो व्यक्तिलाई अपनत्व देखाउन उसकाे भाषा बोल्ने प्रयास गर्छ । तमीले खाना खाया, तमी आया गया, लाया जस्ता शब्दको प्रयोग गर्छ । यसरी शब्द प्रयोग गर्दा पहिलो व्यक्तिलाई उसकाे भाषाका साथै उसकाे बोल्ने शैलीको मजाक उडाएको भान हुन्छ र उसले हिंसा भोग्छ । 

यसरी हेर्दा व्यक्तिले आफूले गरेको सिकेको व्यवहारका आधारमा आफूले खोजे भन्दा फरक शारीरिक बनावट तथा व्यवहारको मजाक गर्दछ । 

यसरी मजाक उडाउँदा पीडित व्यक्तिमा के-कस्ता समस्याहरू देखा पर्छन् त त्यो बुझ्न जरुरी छ । 

पीडित व्यक्तिमा देखा पर्ने समस्याहरू

सामान्यतया समाजले निर्माण गरेका मानकभन्दा बाहिर पर्ने व्यक्तिहरू शारीरिक र व्यावहारिक दुर्बलताका कारण उपेक्षित भई पिडित बन्न पुग्छन् ।

यसरी पिडित भएका व्यक्तिहरूमा सबैभन्दा पहिलो र ठूलो असर पर्ने क्षेत्रको उसकाे मानसिक क्षेत्र, पीडामा परेको मानिस मानसिक रूपले विक्षिप्त हुने, उसलाई आफैँदेखि घृणा लाग्ने, आफ्नो रूपरङ्ग ,स्वरूप, व्यवहार आफैँलाई मन नपर्ने हुन थाल्दछ । भावनात्मक रूपमा कमजोर बन्न पुग्दछ । सामाजिक काममा सक्रिय हुन न चाहने, एकलकाटे हुने, एक्लै बस्न रुचाउने, साथी समूह निर्माण गर्न नसक्नेजस्ता समस्याहरू देखिन्छन् । त्यस्तै मानसिक पीडाका कारण उक्त व्यक्तिमा भएको सृजनात्मक शक्ति क्षय हुने जस्ता समस्या देखा पर्न थाल्दछन् भने समाजबाट उपेक्षित भइरहँदा उक्त उपेक्षाको विरोध गर्नका लागि हिंस्रक बन्ने, रिसाहा बन्ने, उभद्रो गर्ने, सामाजिक नीति नियमविरुद्ध काम गर्ने, कुटपिट, झै-झगडा गर्न थाल्ने सामाजमा अभद्र विद्रोह गर्ने साथै हत्या वा आत्महत्या गर्ने समेत व्यवहारहरू प्रस्तुत गर्न सक्दछ्न् । 

शारीरिक बनावट र व्यवहार व्यक्तिले आफूले चाहेर अक्सर निर्माण गरेको हुँदैन । व्यक्तिको भ्रुण अवस्था देखि जन्मने अवस्थासम्मको समय त्यसैगरी हुर्किएको परिवार, समाज वातावरण, शारीरिक अवस्था, भौगोलिक अवस्था, सामाजिक आर्थिक सांस्कृतिक अवस्थाजस्ता थुप्रै पक्षले निर्धारण गरेको हुन्छ । कुनै व्यक्ति कालो हुनु व्यक्तिले चाहेर भएको होइन, कुनै व्यक्ति अड्किएर बोल्नु उसले आफूले चाहेको होइन, कुनै व्यक्ति LGBTIQ हुनु व्यक्तिको आफ्नो चाहाना होइन । यसरी व्यक्तिको शारीरिक, व्यवहारिक अवस्था फरक पर्नु उसकाे गल्ती होइन । गल्ती के हो भने समाजका सभ्य व्यक्तिले उक्त व्यक्तिको शारीरिक बनावट व्यवहार र दुर्बलताको मजाक उडाउनु हो र उसलाई मजाकको पात्र करार गरिनु हो । अभिभावकहरूले आफ्ना सन्तानहरूलाई फरक स्वभाव, शारीरिक बनावट भएका व्यक्तिहरूलाई मजाकको पात्र गराउन बन्द गर्नुपर्छ, उनीहरूलाई पुरातन सोच अनुसारको समाजका सदस्यभन्दा पर पर्ने भएकाले  बहिस्कार गर्नु पर्छ भनेर सिकाउनु गलत हो । 

विभिन्न प्रकारका टेलिसिरियल, चलचित्र, कथा, नाटक तथा सार्वजनिक स्थलमा  शारीरिक बनावट व्यवहार र दुर्बलता भएकै कारण उक्त दुर्बलतालाई मजाक बनाएर प्रस्तुत गर्नाले उक्त चलचित्र, सिरियल हेर्ने सार्वजानिक स्थलमा बसेका अन्य दर्शकले केपनि सिक्ने भनेको फरक शारीरिक बनावट, व्यवहार र दुर्बलता भएका व्यक्तिहरूको मजाक उडाउनु पर्छ र उसलाई सामाजिक बहिस्कार गर्नु पर्छ भन्ने हो । कुनै चस्मा लगाउने व्यक्ति चस्मा नलागाउने समुदायमा छ र उक्त चस्मा लगाउने व्यक्तिलाई उसले चस्मा लगाएकै आधारमा चारआँखे, डबल ब्याट्री सिङ्गल पावर जस्ता शब्द प्रयोग गरिन्छ भने उसलाई चस्मा नलगाउने समुदायको सदस्य होइनस् भनी बहिस्कार गरिएको हो । उसले चस्मा लगाएकै कारण मजाकको पात्र बनेको हो । यसरी मजाकका पात्र बन्नेहरूमा बढी दुब्ला र मोटा शरीर भएका मानिस, LGBTIQ, शारीरिक रङ्ग कालो वा गोरो भएका आदि पर्छन् भने भौगोलिकता, राजनीतिक विचार, धर्म, जातजस्ता अन्य पक्षले पनि असर गरेका हुन्छन् । उल्लिखित शारीरिक बनावट तथा दुर्बलताका कारण हुने पीडा पंक्तिकार स्वयंले भोगेका पनि छन् भने जानीनजानी पंक्तिकारले यस्ता प्रकारका हिंसा पनि गरेकाे छ । यसकाे अर्थ यो हो कि शारीरिक बनावट व्यवहार तथा दुर्बलता मजाक बन्ने विषय जरा बनेर समाजमा गडेको छ ।

शारीरिक बनावट व्यवहार तथा दुर्बलता मजाकको विषय बन्नबाट रोक्ने कसरी ?

शारीरिक बनावट, व्यवहार व्यक्ति अनुसार फरकफरक हुन्छ । व्यक्ति जन्मिएको अवस्था, हुर्किएको वातावरण समाजअनुसार उसकाे व्यवहार फरक हुन्छ । सबै शारीरिक बनावट र व्यवहार भएका व्यक्ति सम्मान पूर्व बाँच्न पाउनु पर्छ भने कुरा समाजका सबै पक्षलाई बुझाउन जरुरी छ । अनौपचारिक, औपचारिक तथा आकस्मिक शिक्षाका माध्यमबाट एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्ने बुझाउन जरुरी छ । अभिभावक, विद्यालय र समाजमा रहेका सरोकार वाला पक्षले आफू र आफ्ना सन्तान विद्यार्थी र समाजका व्यक्तिलाई सबैखाले शारीरिक बनाबट, व्यवहार र दुर्बलताको सम्मान गर्दै उक्त अवस्थामा रहेका व्यक्तिलाई सम्मानपूर्वक सामाजिक रूपमा स्वीकार गर्नुपर्ने अवस्था सृजना गर्नु पर्दछ । शारीरिक बनावट, व्यवहार तथा दुर्बलताका आधारमा हुने मजाक हिंसा हो जसले व्यक्तिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको साथै मानव अधिकारको हनन गर्दछ भन्ने बुझाउनु पर्दछ । जसकालागि व्यक्तिगत रूपबाट आफैँ सरिक हुनुपर्दछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...