यतिखेर वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार, झुल्किन्छ है छाया वस्तु अनुसार......! यो चर्चित गीतको शब्दभाव सारै मर्मस्पर्शी महसुस भइरहेको छ स्तम्भकारलाई । डा. बाबुराम भट्टराईको पूर्व लिम्बूवानको यात्रापछि उनको अभिव्यक्ति र ट्वीटराई जान–अन्जान् वा नियतवश काँडाको आँखाले हेर्नेको जमात निक्कै ठूलो छ लिम्बू समुदायमा । विगत इतिहासकालदेखि नै उनले आदिवासी जनजाती दलित शिल्पीका लागि के गरे वा गरेनन् ? त्यसको लेखाजोखा नगरी सतही कमेन्ट गर्ने, त्यसमाथि पनि कसले कति निकृष्ट गाली गर्न क्षमता प्रदर्शन सक्ने र फेसबुक, इन्स्टाग्राम, ट्वीटहरूमा फलोवर्स कायम गर्न सक्ने भन्नेमा एउटा अघोषित् प्रतिस्पर्धा जस्तो देखिन्छ, यो अत्यन्त दुर्भाग्यपूर्ण छ ।
सन् १९८६ को दशकमै डा. भट्टराईले 'नेपालमा अविकास र क्षेत्रीय संरचनाको प्रकृतिः मार्क्सवादी विश्लेषण' शीर्षकको आफ्नो शाेधपत्रमा नेपालमा विकास नहुनुको मुख्य बाधक नेपालको जातीय विशेषतालाई राज्यले उचित तबरले सम्बाेधन गर्न नसक्नु नै मूल कारण हो भनेका थिए । यो कुरा विभिन्न सभा सम्मेलनहरूमा उनले पटक–पटक भन्ने गरेका छन् । यस हिसाबले डा. भट्टराई सम्भवत स्व. डा. हर्क गुरुङ र डोरबहादुर विष्टपछि समाजशास्त्रीय /मानवशास्त्रीय चिन्तन सहित सोसियल इन्जिनियरिङ गर्ने र त्यसलाई राजनीतिक दृष्टीकोण सहित उचित व्यवस्थापनका लागि सशक्त तवरले उपयुक्त ठाउँमा आवाज बुलन्द गर्ने पहिलो व्यक्ति उनै हुन् । उनको अध्ययनको पृष्ठभूमिले के इगिंत गर्छ त्यो बुझ्ने कोसिस हामीले गरेका छैनौँ ।
स्व. डा. हर्क गुरुङको अस्वाभाविक मृत्यु र डोरबहादुर विष्ट जो अहिलेसम्म पनि अलप छन् । त्यसो हुनुको पछाडि केही रहस्यहरू अवश्य छन्, हामीले कहिल्यै बुझ्ने र त्यसबाट सिक्ने चेष्टा गरेनौँ । अगष्ट ९ को दिनलाई विश्व आदिवासी दिवसका रूपमा मनाइन्छ । नेपालमा सन् १९९४ देखि आदिवासी जनजाती दिवसको रूपमा मनाउन थालिएको हो । प्रथम पटक महासंघको आयोजनामा तत्कालीन उप–प्रधानमन्त्री वामदेव गौतम प्रमुख अतिथि रहेको उक्त दिवसको दिन डा. भट्टराई पनि प्रमुख वक्ताको रूपमा आमन्त्रित थिए । त्यतिखेर कम्युनिष्टहरूले वर्गीय मुद्दाहरू बाहेक अन्य सामाजिक, सांस्कृतिक, धार्मिक, लैंगिक तथा क्षेत्रीय मुद्दाहरू उठाएकै थिएनन् । तर भट्टराईले त्यतिखेर नै नेपाल एकीकरणको नाममा आदिवासी जनजाती दलित शिल्पीहरूलाई ठूलो अन्याय र विभेद भएको छ ।सायद मेरो बाजे बराजुले पनि राज्यसत्ताको आडमा धेरै अन्याय गरेका होलान् । त्यसमा शिरै निहुर्याएर विनम्रतापूर्वक 'म (हातै जोडेर नै) माफी चाहन्छु' भनेर बोलिरहँदा पछिल्लो वक्ता स्व. गोरेबहादुर खपाङ्गीले भट्टराईलाई औंल्याउँदै यिनको विश्वास नगरौँ, यिनको जिन बाबु-बाजेबाटै सरेको छ भनेर तुच्छ गाली गरेका थिए । खपाङ्गीले त्यसो भनिरहँदा भट्टराईको शिर सरमले निहुरिएको प्रष्ट देखिन्थ्यो । अरूको अधिकारका लागि बोल्दा अपमान कति सहने ? कि हामी अहिले पनि निन्द्रामै धत्ताएर बोल्छौँ ?
भट्टराई सन् २०११ देखि १३ सम्म प्रधानमन्त्री पनि भए । त्यस बखत पहिलो संविधानसभाले सन् २०१२ भित्र नै संविधान बनाइ सक्नुपर्ने म्याण्डेट लिएको थियो । संविधान बनाउँनकै खातिर देशभरिबाट ६०१ सभासदहरू चुनिएका थिए । सन् २०१२ मे भित्र संविधानसभाको म्याद गुर्जदै थियो । संविधान जारी हुन नसक्ने परिस्थति देखिएपछि म्याद थप गर्ने कुरा चल्यो । तर तत्कालीन समय खीलराज रेग्मी प्रधान न्यायाधीश रहेको सर्वाेच्च अदालतले प्रकृया रोकेपछि जेठ १५ गते रातको १२ बजे संविधानसभा भंग भएको सबैलाई विदितै छ । तर त्यसको सम्पूर्ण दोष प्रधानमन्त्री भट्टराईलाई लगाइयो । यो कस्तो षडयन्त्र हो ? मूल कुरा राज्य पुनःसंरचना तथा शक्ति बाँडफाँड समितिले कोरेको १४ प्रदेश, २२ स्वयक्त क्षेत्र, र ३६ संरक्षित क्षेत्रको खाकालाई समर्थन गर्ने सभासदहरूको बलियो उपस्थिति देखिएपछि षडयन्त्रपूर्वक संविधानसभा नै तुहाइएको होइन ?
आँखाको नानीभित्रै षडयन्त्र हुँदापनि नदेखि भट्टराईलाई गाली गर्ने मनुवाहरूको आँखा साँच्चिकै फुलो परेकै हो ? वास्तवमा संविधानसभाको अन्तिम दिन ओलीको आदेसमा सुवासचन्द्र नेम्बाङको खलनायकीय भूमिका धेरैले बुझेको देखिन्न । त्यत्रो ऐतिहासिक दस्ताबेज नेपालको संविधान पारित हुने दिन सबैको ध्यान संविधानसभाहल तर्फ केन्द्रित भएकै थियो । जगजाहेर छ, त्यसदिन जेठको १५ गते बेलुकी सयौँ संख्यामा उपस्थित सभासदहरूले सभा सञ्चालनका लागि सभाध्यक्ष नेम्बाङलाई आग्रह गरेको इतिहासले बिर्सिँदैन । सम्बन्धित सभासदहरूसँग बुझ्दा सभा सञ्चालन गरे रगतको खोला बग्छ, लुक्नु ओलीले भनेपछि नेम्बाङ लुक्न पुगेका थिए । उनको पटक–पटक खोजी भयो, केही सभासदहरूले फोन पनि गरे, तर नेम्बाङले फोन काटिरहे । उनको अनुपस्थितिमा सभासदहरूले उप–सभामुख पूर्णकुमारी सुवेदीलाई बैठक सञ्चालन गर्न अनुरोध गरेका प्रमाणहरूको अर्काइभ् भएकै होला । प्रकृया र पद्धतिले सभामुख विदेश गएको बला वा लिखित रूपले जिम्मेवारी सुम्पेको बेला मात्र उप–सभामुखले सभा सञ्चालन गर्ने कानुनी व्यवस्था भएकोले सभा सञ्चालन हुन सकेन । त्यसपछि अन्ततः संविधान नै जारी नगरी पहिलो संविधानसभा भंग हुन पुग्यो । तर दोष तत्कालीन प्रधानमन्त्री बाबुरामराई लाइयो ।
भट्टराईलाई गाली गर्ने मनुवाहरूको चर्मचक्षुले केपी र नेम्बाङको खलनायकीय भूमिका किन देख्दैन/बुझ्दैन ? त्यस्तै दोस्राे संविधानसभाले सन् २०१५ (२०७२) को नयाँ संविधान जारी गर्दैगर्दा संविधानसभा भवन बाहिर र देशैभर बत्ती बाल्ने, हर्षबढाइँ गर्ने कार्य भइरहेको थियो । संविधानसभाले संविधान २०७२ विधिवत रूपमा जारी गरिसकेपछि बाहिर निस्किने क्रममा पहिलो पंक्तिमै उभिएर पत्रकारहरूको प्रश्नमा 'यो संविधान आदिवासी जनजातीमैत्री छैन । यो पूर्ण संविधान हैन, आधा ग्लास भरेको र आधा खाली रहेको गिलास जस्तै हो' भनेर प्रतिक्रिया दिने उनै हुन् । अहिले पनि सभा सम्मेलनहरूमा उनले यही विषयलाई जोड दिएर बोल्ने गरेका छन् । तर भट्टराईलाई गाली गर्ने मनुवाहरूले यो वास्तविकता बुझ्ने प्रयास किन गर्दैनन् ? प्रधानमन्त्री हुँदा उनी मधेशका दलित समुदाय मुसहरहरूकोमा खाने सुत्ने । चितवनको चेपाङ बस्तीमा गएर चेपाङजस्तै ओडारमा सुत्ने । करोडौँको ऐसआरामको सवारी साधन चढ्न छोडेर स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ । स्वदेशी अर्थतन्त्र बलियो बनाउनुपर्छ । आत्मनिर्भर हुनुपर्छ भनेर मुस्ताङ गाडी चढ्ने व्यक्ति उनै हुन् ।
अहिलेसम्म भएका प्रधानमन्त्रीहरूमध्येमा कोचाहिँ भट्टराई जतिको प्रगतिशील छ ? अन्य क्षेत्रमा उनको योगदानको लेखाजोखै छैन । अरू देशले उनी जतिको भिजनरी नेता पाए उनको ज्ञान र विवेक अधिकतम् उपयोग गरी एक्प्लोइट गर्थ्यो । किन मुसहरहरूको घरमा गएर खाए सुते, चेपाङ जातीसँगै ओडारमा किन गएर सुते ? त्यसको प्रतीकात्मक सन्देश के थियो ? भनेर उनलाई गाली गर्ने मनुवाहरूले किन बुझ्न चाहन्नन् ? वास्तवमा विविध जातजातीको पहिचानको मुद्दा नगलीकन निरन्तर उठाउने सवालमा उनी एक्लो महारथी हुन् । आदिवासी जनजाती दलित शिल्पीहरूको मुद्दा उठानको सवालमा वर्षाैंदेखि दृष्टिकोण परिवर्तन नगरी सतिसाल जस्तै उभिने व्यक्ति उनै हुन् । तर जसको लागि बोलीदियो उसैले उनलाई उल्टै गाली बेइज्जती गर्नु आदिवासी जनजातिका लागि अत्यन्त दुर्भाग्यको विषय हो । पहिचानको 'प' पनि सुन्न नचाहने नेतृत्वले नेतृत्व गरेको पार्टी र भातृ संगठनमा पद पैसा र पेटकै लागि आफ्नो इतिहास, सभ्यता, संस्कृति दाउमा राख्नेहरू कति विवेकहीन निकृष्ट पात्र हुन् । वास्तवमा निकृष्ट पात्र त्यो हो जसको आफ्नो विवेक चल्दैन । अरूले उसको शरीर नियन्त्रण गर्छन् । उसको विचार नियन्त्रित हुन्छ । अन्य अर्थमा त्यस्ताहरू विवेक नभएका अबोध बाख्राका पाठाहरू जस्तै पनि हुन् । बाउ–आमा ठानेर अघाएको चितुवा र ब्वाँसोको पछि त लाग्छन् । तर अन्ततः विचराहरू भोकाएको ब्वाँसो र चितुवाको आहारा बन्छन् । राजनीतिक क्षितिज नदेख्ने ती अविवेकी निकृष्ट मनुवाहरूले पनि अन्ततः त्यही नियति भोग्नुपर्ने छ । अन्तमा, डा. बाबुराम भट्टराईले बुझेको नेपाल र नेपाली पृष्ठभूमि मानवशास्त्रीय र राजनीतिक दृष्टीकोणले अत्यन्त सान्दर्भिक छ, वैज्ञानिक छ । उनको लिम्बूवानको इतिहास र माटो प्रतिको सम्मान राजनीतिक दृष्टिले अत्यन्त महत्वको विषय हो । अरू बाहुन नेताहरूले पनि यसरी नै बुझ्न जरुरी छ । अनि मात्र बलियो हुन्छ सद्भाव र सहिष्णुता कायम रहन्छ । अनिमात्र नेपाल समृद्धि र विकासतर्फ उन्मुख हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...