लक्ष्मण पन्त

मार्च २ १९६० मा गुल्मीकाे छत्रकाेटमा जन्मिएका लक्ष्मण पन्त साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । वाणिज्यमा स्नातक पन्तका आधुनिक नेपालकाे इतिहास र नेपाल भारत र छिमेकीजस्ता कृतिहरू प्रकाशित छन् ।

मार्च २ १९६० मा गुल्मीकाे छत्रकाेटमा जन्मिएका लक्ष्मण पन्त साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । वाणिज्यमा स्नातक पन्तका आधुनिक नेपालकाे इतिहास र नेपाल भारत र छिमेकीजस्ता कृतिहरू प्रकाशित छन् । 

हिमालय श्रृंखलाको पूर्वमा अवस्थित साढे ७ लाख जनसंख्या भएको मुलुक भुटान तीनतिरबाट भारत र उत्तरमा चीनसित जोडिएको छ । संयुक्त राष्ट्रसंघको सदस्यसमेत रहेको भुटान त्यसो त एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक हो तर व्यवहारिक हिसाबले भारत संरक्षित राज्यका रूपमा रहेको छ । भुटानको मुख्यतः सुरक्षा र विदेश नीति भारत मातहत रहेको छ । १९४९ मा दुवै देशबीच सम्पन्न शान्ति तथा मैत्री सन्धिमा भुटानको वैदेशिक मामिलामा भारतले पथप्रदर्शन गर्ने छ भन्ने उल्लेख रहेको थियो । उक्त सन्धि भएको ५८ वर्षपछि २००७ मा नयाँ दिल्लीमा दुवै मुलुकले पुरानो सन्धिलाई विस्थापित गरी नयाँ सन्धिमा हस्ताक्षर गरेका थिए जसमा १९४९ को सन्धिमा रहेको विदेश नीतिमा भारतले पथप्रदर्शन गर्नेछ भन्ने पदावलीका ठाउँमा राष्ट्रिय महत्त्वका मुद्दाहरूमा निकट रहेर एक अर्कोलाई सहयोग गर्ने भन्ने उल्लेख गरिएको छ ।

उत्तरमा चीनसित सीमा जोडिएको भुटानलाई भारतले चीन र भारतका बीचको बफर जोनका रूपमा लिने गरेको छ । चिकन नेक भनेर चिनिने सिलगढी करिडोर भारतको राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ जसको पश्चिम, उत्तर र दक्षिणमा क्रमशः नेपाल, भुटान र बंगलादेश रहेका छन् यसै करिडोरले भारतको पूर्वोत्तरलाई बाँकी भारतसित जोडेको छ । दिल्लीको विचारमा चीन र भारतका बीच लडाइँ छेडिएको खण्डमा चीनले त्यस करिडोरमा सेना पठाउने छ ।

भारत चीन र भुटानबीचको त्रिदेशीय सीमामा अवस्थित सामरिक हिसाबले अत्यन्त महत्त्वपूर्ण चुम्बी उपत्यका यसै क्षेत्रमा पर्दछ । सुरक्षाका अतिरिक्त भारतका महत्त्वपूर्ण आर्थिक हितहरू पनि भुटानसित जोडिएका छन् । भुटानले भारतसित मिलेर सन् २०२० सम्म १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य निश्चित गरेको छ । उसले हाल १५ सय मेगावाट बिजुली भुटानसित किन्ने गरेको छ जसको दर लगभग भारु २ प्रतियुनिट छ । यो भारतमा उपभोक्ताहरुले किन्ने बिजुलीको दरभन्दा कैयौ गुना सस्तो छ । भारतमा वर्तमानमा कतिपय राज्यहरूमा महिनामा ३०० युनिट भन्दा माथि बिजुलीको खपत गर्ने उपभोक्ताले प्रति युनिट ८ रुपैयाँसम्म तिर्नु पर्दछ । नेपालले मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत् भारतबाट किनेको बिजुलीको प्रतियुनिट मूल्य एक वर्षपूर्व अर्थात् २०१६ मा भारु ३६० रहेको छ ।

भारत र भुटानबीच २००६ मा भएका विभिन्न दुइपक्षीय जल सम्झौताबाट भुटानका नदीहरूमाथि भारतको एकलौटी अधिकार कायम भएको छ भुटानको स्वर्ण जल भारतका लागि सुरक्षा पछिको अर्को महत्त्वपूर्ण मुद्दा हो नेपालले भुटानको जलस्रोत उपयोगको मोडेललाई पच्छाउन सके नेपाल भुटान जस्तै समृद्ध बन्ने सपनाहरू दशकौदेखि यहाँका जनतालाई बाँडिदै आएको छ । भुटानमा भारतीय लगानीमा त्यहाँका नदीहरूबाट जलस्रोतको उत्पादनबाट आर्थिक वृद्धि दर उच्च भएकोमा दुईमत हुन सक्तैन तर आज भुटान यसकै कारण विदेशी ऋणको भारले नराम्रोसित थिचिएको छ । अंग्रेजी अखबार भुटानिजका अनुसार १२०० मेगावाटको पुनत्सड्छु- एक जलविद्युत योजनाको लागत ४० अर्बबाट बढेर १७५ अर्ब नु पुगेको छ । परियोजनाको ठेक्का भारतीय कम्पनी लार्सन एन्ड टर्बोलाई दिइएको छ । त्यसरी बढ्न गएको लागत अर्थात् घाटाको धेरैजसो अंश भुटानले नै बेहोर्नु पर्ने सम्झौतामा उल्लेख रहेको छ । त्यस परियोजनाबाट २०१६ देखि विद्युत उत्पादन हुने भनिएकोमा अब यसको निर्माण कार्य तीन वर्ष पछि धकेलिएको छ । भारतीय ऋण र अनुदानबाट निर्माण हुने उक्त परियोजनाको ऋणको अंश ६० प्रतिशत रहेको छ । भुटानको मौद्रिक प्राधिकरणले जारी गरेको प्रतिवेदन अनुसार वर्ष २०१४-२०१५ मा भुटानको विदेशी ऋण मुलुकको कुल गार्हस्थ उत्पादनको १२० प्रतिशत पुगेको थियो ।

भारतले प्रदान गर्ने ऋणमा भुटानले वार्षिक १० प्रतिशत ब्याज भुग्तानी गर्नु पर्दछ जो सबैभन्दा चर्को ब्याज दर हो । भुटानका अर्थशास्त्रीहरूले जति धनराशि भुटानमा भारतबाट गएको छ त्यो भन्दा तीव्र गतिले भुटानबाट मुद्रा बाहिरिएको बताउने गरेका छन् । भुटानमा जलविद्युत उत्पादन गर्ने सबै कम्पनीहरू भारतीय छन् । परियोजनाहरूमा सामग्री, जनशक्ति मेसिनरी सबै भारतबाट आपूर्ति हुने गरेको छ । भुटानी जनता विस्थापनका शिकार भएका छन् । त्यहाँको जंगल र पर्यावरण नष्ट भएको छ । भुटानले आफ्नो विकासका लागि जनताको विस्थापन र पर्यावरणीय असन्तुलनको चर्को मूल्य तिर्नु परेको त छ नै, राष्ट्रको सार्वभौमसत्ताको समेत सौदाबाजी गर्नु परेको छ । भुटान दक्षिण एसियामा भारतको सबैभन्दा निकटको मित्र हो । प्रधानमन्त्री मोदीले तीन वर्षपूर्व प्रधानमन्त्री पदको शपथ लिएपछि आफ्नो पहिलो विदेश भ्रमण भुटानलाई बनाउनुले भारतका लागि भुटानको धेरै ठुलो महत्त्व रहेको स्पष्ट हुन्छ ।

दक्षिण एसियाली सार्क संगठनका मुलुकहरूमध्ये भुटानबाहेक अन्य कुनै पनि मुलुकसित भारतको राम्रो सम्बन्ध रहेको छैन । भुटानसितको सम्बन्ध पनि परस्पर हार्दिकतामा होइन भयमा आधारित रहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । किनकि भारतले सिक्किमको तरवार सधै भुटानमाथि झुन्डाइदिएको छ । भुटानलाई दक्षिण एसियामा भारतको अन्तिम मित्र भनेर पनि भन्ने गरिएको छ । आफ्ना दक्षिण एसियाली निकट छिमेकी मुलुकहरू पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र मालद्वीपसितको सम्बन्ध मरूभूमिसरह भएको अवस्थामा भुटान दक्षिण एसियामा भारतका लागि हरितभूमिका रूपमा रहेको छ ।

भुटानसितको सुमधुर सम्बन्ध बाट आश्वस्त रहेको भारतका लागि २१ जुन २०१२ भारत-भुटान सम्बन्धको इतिहासमा त्यो तारीख थियो जब भुटानका प्रधानमन्त्री जिग्मे थिन्लेले चिनिया प्रधानमन्त्री वेन जिया बाओलाई भारतको जानकारी र अनुमतिबिना नै ब्राजीलको रियोमा अप्रत्याशित रूपमा भेटेका थिए । भेटमा बाओले भुटानसित पञ्चशीलका आधारमा औपचारिक सम्बन्ध कायम गर्न र चीनमा भुटानको कूटनीतिक मिशनको स्थापना गर्न चीन इच्छुक रहेको बताएका थिए । बाओले यस अवसरमा चीन र भुटान पहाड र नदीहरूले जोडेका छिमेकी भएको तथा दुवैबीचमा इतिहासदेखि नै अटूट मित्रवत् सम्बन्ध रहँदै आएको जनाएका थिए । ताइवान र तिब्बत जस्ता प्रमुख मुद्दाहरूमा भुटानले चीनलाई दन्हो समर्थन दिएको भन्दै चिनिया प्रधानमन्त्रीले भुटानले आफ्नो राष्ट्रिय आवश्यकतानुसार अवलम्बन गरेको विकासको मार्गलाई चीनले उच्च मूल्याङ्कन गरेको बताएका थिए । उनले चीन र भुटानबीच छिटोभन्दा छिटो सीमा निर्धारण गरी दुइपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुल्याउन इच्छुक रहेको समेत थिन्लेलाई जानकारी गराएका थिए । भुटानका प्रधानमन्त्रीले इतिहासमा पहिलो पटक दुवै मुलुकका प्रधानमन्त्री बीच भएको कुराकानीको ऐतिहासिक महत्त्व रहेको बताएका थिए । साथै उनले बाओलाई भुटान एक चीन नीतिप्रति दृढ रहेको जनाउँदै चीनसित समझदारीको विकास गर्न र मित्रतालाई सुदृढ गर्न चाहेको जिकिर गरेका थिए । दुइपक्षीय वार्तामा उनले चीनसित औपचारिक कूटनीतिक सम्बन्ध यथाशीघ्र कायम गर्न भुटान इच्छुक रहेको पनि बताएका थिए । १९४९ को सन्धिदेखि नै भुटानको परराष्ट्र मामिला हेर्दै आइरहेको भारतका लागि आफ्नो जानकारीबिना भएको उक्त अप्रत्याशित भेटघाट तथा अनौपचारिक वार्तालाप ठुलो चुनौती थियो । त्यसै भेटलाई आधार बनाएर भारतीय समाचारपत्रहरूले भुटानले चीनसित कूटनीतिक सम्बन्ध कायम गर्ने सर्तमा मात्र चीन भुटानसितको आफ्नो सीमा विवाद समाधान गर्न इच्छुक रहेको समाचारहरू प्रमुखताका साथ छापेका थिए । नयाँ दिल्लीको नजरमा थिन्लेको चिनिया प्रधानमन्त्रीसितको यो भेट एउटा अक्षम्य अपराध थियो । त्यतिमात्र होइन, भुटानले भारतको टाटा कम्पनीका बसहरूमात्र खरीद गर्दै आएको परम्परालाई तोडेर यसबीचमा सार्वजनिक यातायातका लागि चीनबाट २० बसहरू आयात गरेको थियो । यी घटनाहरूपछि दिल्ली थिन्लेलाई सबक सिकाउने योजनामा सक्रिय भएर लागेको थियो ।

प्रधानमन्त्री थिन्लेले चीनसित भारतको अनुमतिबिना रियोमा चिनिया प्रधानमन्त्रीलाई भेटेको घटनाको दण्डस्वरूप भारतले जुन २०१३ मा भुटानलाई धारा र मट्टितेलमाथि दिदै आएको अनुदान एकाएक बन्द गरिदिएको थियो जसले गर्दा भुटानमरि धारा र मट्टितेलको कालाबजारी बढेको थियो र भाउ आकाशिन पुगेको थियो । जनतामा थिन्लेको सरकारप्रति असन्तुष्टि बढेको थियो । भुटानले स्वतन्त्र विदेश नीति अवलम्बन गर्ने प्रयास थालेको विभिन्न मुलुकहरूसित दौत्य सम्बन्ध कायम गर्न सफल रहेको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएर योजनाहरूको निर्माण गर्न थालेको थियो । यस्ता कदमहरूबाट थिन्ले र उनको पार्टी भुटानी जनतामा लोकप्रिय बनेको थियो ।

३१ मे २०१३ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा थिन्लेको भुटान शान्ति तथा समृद्धि दलले ३३ मत प्राप्त गरी पहिलो स्थान र विपक्षी पीपुल्स डेमोक्रेटिक पार्टीले १२ मत मात्र प्राप्त गरी दोस्रो स्थान हासिल गरेबाट थिन्लेको लोकप्रियताको पुष्टि हुन्छ । भुटानको संविधान अनुसार संसदको निर्वाचनका दुई चरण हुन्छन् । पहिलो चक्रको निर्वाचनमा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने दलहरूबीच मात्र अन्तिम चरणको निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । तर अचम्म के भयो भने पहिलो राउण्डमा सबैभन्दा बढी मत हासिल गर्ने जिग्मे थिन्लेको पार्टी अन्तिम राउण्डको निर्वाचनमा १२ सीट मात्र हासिल गर्न सफल भयो । पीडीपीले ३३ सीट हासिल गर्न सफल भयो । भारतको हस्तक्षेपका कारणले मात्र यसो हुन सम्भव भएको हो । भारत आफ्नो पक्षका उम्मेदवारलाई जिताउन सफल भए पनि उसले भुटानको एउटा ठुलो जनमतलाई एउटा यसै गलत कदमबाट आफू विरुद्ध उभ्याउन पुगेको थियो । यो भारतीय विदेश नीतिको सबैभन्दा ठुलो असफलता हो यस्तै स्थिति रहिरहे भुटान दक्षिण एसियामा भारतको कहिलेसम्म अन्तिम मित्र बनिरहने हो, भन्न सकिन्न ।

भुटानमा लोकप्रिय एकजना ब्लगर वाङ्चा शाङ्गेले आफ्नो ब्लगमा भुटानी जनताको भावनालाई प्रतिनिधित्व गर्दै लेखेका छन्ः सदासदा भारतीय मादलको तालमा नाच्ने राजनीतिबाट माथि उठनु नै भारत-भुटान सम्बन्ध भुटानको राष्ट्रिय हितमा छ । हामी भारतको राम्रो छिमेकी मात्र होइनौ, विश्वसनीय मित्र पनि हो । तर भुटान र भुटानी जनता सार्वभौम हुन् । तसर्थ केवल भारतलाई खुशी तुल्याउनुमात्र हाम्रो राष्ट्रिय हितमा हुन सक्तैन, हामी आफै पनि खुशी हुनु पर्दछ । हामी मालिकले चाहेजसरी उपभोग गर्ने यौनकर्मी होइनौ । भुटानी जनता भारतको छायाँबाट टाढिएर मुक्त आकाशमा विचरण गर्न चाहन्छन् । उनीहरू चाहन्छन् कि एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका नाताले भुटानले आफ्नो उत्तरी छिमेकीसित समानताका आधारमा सम्बन्ध गाँसोस् । भुटानलाई स्वतन्त्र भएर बाँच्न दिने हो भने भारतलाई घाटा हुने छैन । बरू यसबाट दुवै मुलुकबीचको सम्बन्ध वास्तविक अर्थमा सुदृढ हुनेछ । यो कुरा दिल्लीले जति छिटो बुझ्यो त्यति फाइदा हुन्छ अन्यथा दक्षिण एसियाको आफ्नो अन्तिम मित्र पनि भारतले नगुमाउला भनेर भन्न सकिन्न । नेपाल भारत र छिमेकबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

लक्ष्मण पन्त

लेखकबाट थप...