क. भूमिका
चाडपर्व, मेलापात, जात्रा र परम्परा; सबैलाई रीतितिथि, प्रचलन अथवा प्रथा भन्न सकियो । हर्षोल्लासको हेतु (दसैँ/ फागु), पारिवारिक कल्याण हेतु (छठी, घरी, जितिया पर्व), मातापिता-गुरु प्रति आदरभाव हेतु (कुशें औंशी, सतबीज छर्ने दिन आदि) र दाजुभाइ, दिदीबहिनी प्रति स्नेह/बान्धत्वभाव हेतु (भाइटीका, नवआगनुत्क रक्षाबन्धन आदि), दाम्पत्य जीवन सुधार हेतु (तीज, सोमवारी आदि), कृषि र पशुचौपायाको हीतका लागि (नाग पंचमी, वसन्त पंचमी आदि), मुक्ति एवं शान्तिका लागि (पितृपक्ष, मात्रु नवमी आदि), विभूति एवं सहिद दिवसको अवसर पारेर (शलहेस दिवस लगायत अनेकन), विशुद्ध धार्मिक हिसाबकिताबमा अड्ने गरी (हरिबोधनी र हरिशयनी एकादशी, शिवरात्री, जेठ दशहरा आदि) या पर्यटनलाई लाभान्वित बनाउन (सलहेस जात्रा, मिथिला परिक्रमा आदि) वर्तमान नेपालको सामाजिक अस्तित्वको अभिन्न अंग बनिरहेका छन् ।
प्रकृतिमाथिको विजय, स्वभाव माथिको विजय, वैरी माथिको विजय, प्राकृतिक एवं भौतिक विपदहरूमाथि विजय, सत्ता र शासकमाथिको विजय लगायतका अनेकन कथानकहरू यी यस्ता रीतितिथि, प्रचलन र प्रथासँग जोडिएर आएको पाइन्छ । धर्म, संस्कार प्रतीकात्मक रहन्छ । यसमा अनेक प्रतीक र बिम्बको प्रयोग भइरहेका हुन्छन् ।
विशेषतः दसैँको माहोल छ यतिखेर । र, यो वर्ष दसैँले कोरोना कहर पनि झेल्यो । दसैँको पूर्वसन्ध्याममा उपत्यकाको भीडभाड’ छिचोल्दै बजार गरी भ्याएँ । स्वास्थ्य संकट र दसैँको घर्षणले कहिकतै मन भौतारिएको पनि थियो तर जेनतेन त्यो दशा टर्यो । यतिखेर म त्यही बजारमा किनेको ल्वान्ग मुखमा च्यापेर खुरूखुरु यो लेखिरहेको छु ।
अष्टमीको दिन खसी-बोका काट्नु र नवमीको दिन मैदी कोट (जहाँ पृथ्वीनारायण शाहको व्रतवन्ध गरिएको जनश्रुति छ) सम्म उक्लनुलाई ५/७ वर्षदेखि मैले चाख दिएर नियालिरहेकै हो । त्यसबाहेक दशमीको दिन टीका थाप्नु, जमरा सिउरनु र ढाकाटोपी ढल्काएर पिङ मच्चाउन वल्लो-पल्लो गाउँसम्म डुलीभ्याउनु नित्य कर्म जस्तो हुने नै भयो । यो सब स्वत: हुने गर्दथे, यसपाला पनि भए ।
अब यति भूमिकाले पुग्छ । अब म मलाई लेख्न मन लागेको कुरामा प्रवेश गर्छु ।
भाग- १
ख. विषय प्रवेश
‘विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृतिको वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव-पर्व शुरू भएको हो । महादशमी महाखुसीयालीको पर्व हो ।’- मलाई पहिले पहिले यस्तै लाग्थ्यो। पछि म आफैँसँग विभिन्न प्रश्न गर्दै आइरहेको छु ।
दसैँका सैद्धान्तिक पक्ष र व्याहारिक पक्षका विभिन्न आयामहरू देखिन्छन् । दसैँ ठ्याक्कै के हो, कहिलेदेखि शुरू भयो, के-कति कारणले दसैँ अहिलेसम्म अस्तित्वमा छ ? यसको उपयोगिता के हो ? दसैँबाट समाजले के-कति कुरा प्राप्त गरिरहेको छ ? के-कति कुराहरू खोसिरहेको छ ? यी प्रश्नहरू मलाई सामान्यतया चासोपूर्ण लाग्छन् । यसका जवाफहरू एउटा घेरा, एउटा परिधि या एउटा परिभाषाभित्र समाहित हुने ल्याकत राख्दैनन् ।
म आफ्नो गाउँटोलमा क्लाँटा बाजा बजाउँदै मालाश्री धुन बजाएको सुनेर हुर्किएको होइन । म आफ्ना कान्छा हजुरबाउको पुरानो रेडियो (एभ्री डे ब्याट्री मैं किनेर ल्याएर हाल्दिने गर्थे) मा दसैँका यियस्ता धुनहरू सुनेर दसैँको रौनकतामा रम्दै हुर्की बढेको हुँ । पछि वैदेशिक रोजगारीको सिलसिलामा बुबा अरब भासिएपछी ममी र हजुरआमाको लालनपालनमा नयाँ लुगा, ५/७ धार्नीको खसीको मासु लुछ्दै १५ दिनको समयअवधिभर सांस्कृतिक एवं उहाँहरूको आज्ञाको शिरोपालन गर्दै उमेरको हुन् पुगेछु ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि (उहाँहरूले जानेसम्मको) अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामका देवी र शक्तिको पूजा आराधना गरेको नजिकबाट नियालेको छु । त्यसपश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने विश्वासलाई मैले चुपचाप घुटुक्क निलेको हूँ ।
१. पूजा विधि
पहिलो दिन शैलपुत्री देवीको पूजा गरी गाईको घ्यूबाट बनेको परिकार प्रसाद स्वरूप खाएको हूँ ।
दोस्रो दिन ब्रह्मचारिणी देवी र सख्खर, तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना र गाईको दूधबाट बनाइएका विभिन्न परिकार, चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना र मालपुवा, पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना र केराको भोग, छैटौँ दिन कात्यायनी माताको पूजा आराधना र मह, सप्तमीका दिन फूलपाती भित्र्याई कालरात्री भगवतीको पूजा र सख्खर, अष्टमीका दिन खसीबोकाको बली, महागौरी भगवतीको पूजा आराधना र नरिवल, नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना र घ्यू अर्पण गरेको देख्दै आएको हूँ ।
२. जमरा
धान, गहूँ, मकै र जौका लामा आँकुरा अर्थात् जमरा (पहिले जौ मात्र) । सप्तधान्य (जमरा) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रसन्न हुन्छिन् भन्ने सुनेको र दिनहूँ जमरामा पानी हाल्न भाइसँग मेरो लटारो हुने गर्थ्यो । जमराले शितलता प्रदान गर्छ भनिन्थ्यो । शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरभित्र भित्र्याउँदा घरभित्र रहने रोगबृद्धि कारक जीवाणु नष्ट हुने पारिवारिक विश्वासले वैज्ञानिकता पाइसकेको छ ।
अ. इरानमा जमराको प्रयोग
घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो भन्ने तर्क एकठाउँमा छ । तर एउटा अर्को तर्क पनि भेटियो ।
इरानको नयाँ वर्ष नौरोज (कसैले नौरुज त कसैले नवरोज, १३ दिनको पर्व) को लागि तयार पारिने सब्जी अर्थात् जमराको प्रयोग हुने गर्छ । उनीहरू सब्जी सजाउन मात्र जमराको प्रयोग गर्दछन् । प्रथमतः उनीहरू जौलाई भिजाएर एउटा सेतो कपडामा पोको पार्छन् । केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ । त्यसलाई एउटा थालमा राख्छन् र त्यो बढ्न थाल्छ । नछोपिने हुनाले त्यो पहेँलो होइन हरियो देखिन्छ । १३ दिनका दिन त्यो जमरा नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन छ ।
युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एशियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ । उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन् । (दसैँको जमरा र इरानी नयाँ वर्षको जमरा, बीबीसी)
आ. महत्व
जौलाई संस्कृतमा ‘यव (सामान्यतय सात दिनभित्र हुर्कन्छ जसलाई यवरस पनि भनिन्छ)’ भनिन्छ । यसमा औषधिय गुण (आन्तरिक र नसर्ने रोगका लागि) पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रूपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई ‘अन्नको राजा’ मानिन्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ (हृष्टपुष्ट मर्निङ वाकरका प्रिय पेयपदार्थ) ।
इ. उत्पति
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो । जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिर बाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्ने उनको पनि तर्क छ ।
'खाद्यान्नको स्रोत भेटिएको खुसीमा सम्मानपूर्वक शिरमा सिउरिने चलन बसेको हुनसक्छ,' श्रेष्ठले जमरा संस्कृतिको इतिहास उत्खनन् गर्दै भनेका छन्, 'हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिने यो खाद्यान्न एकताको सूत्रधार पनि हो ।' धेरै दिन प्रकाशबाट लुकाएर राखिने हुनाले यसले घामको महत्व पनि अर्थाउने नै भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरूङ चाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन् । उनी भन्छन्, "प्रसार त भएको हो तर यताबाट उता गयो कि उताबाट यता आयो भन्न सकिन्न । भारतीय सभ्यता निकै प्रभावशाली भएकाले यताबाट उता गएको पनि हुन सक्छ ।"
उ. शृंगारको रूपमा जमरा
संस्कृतिविद तेजेश्वरबाबु ग्वंग दसैं र यसका कर्मलाई कृषिसँग जोडिएको विधि मान्छन् । उनी जमरालाई श्रृंगारका रूपमा पनि व्याख्या गर्छन् ।
जमरा शब्द संस्कृतबाट आएको बताउँदै उनले भने, 'संस्कृतको ‘यवरा’बाट नै जमरा भएको हो । जमरा सुनौलो हुन्छ, विजयपछि दुर्गाको पूजाअर्चना र शोभा शृंगारका लागि (फरक रङ अर्थात् पहेँलो हुने हुनाले) जमरा प्रयोग अनिवार्य गर्न थालियो ।'
ऊ. जमरामा नयाँ अनुहार
नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ । त्यसैले, अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ ।
“मकै बाहिरबाट नेपाल भित्रिएको अन्नबाली हो । मैले त्यसलाई अतिथि बिरुवा भन्ने गरेको छु, मेरो भाषामा भन्दा मकैको जमरा लगाउनु एक किसिमले अतिथि सम्मान पनि हो ।”, श्रेष्ठको भनाइ छ ।
सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय हुने भन्दै सप्तधान्य रोपण गरी दूर्गा देवीलाई चढाएर विजयादशमीको दिन रातो टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी दशमी सकिन्थ्यो । त्यसपछि कोजाग्रत व्रत अघिसम्म मामाघर, बुढो मावलीसम्म टीका थाप्न पुग्नु अर्को उत्साहको क्षण रहन्थ्यो मलाई ।
३. टीका
टीका आशीष, सुरक्षा, सफलता, समृद्धि, युद्धमा विजयी र भगवानको प्रतीक इत्यादि हो । यो हिन्दू संस्कारमा मात्र नभएर अन्यत्र पनि भेटिन्छ ।
संस्कृतिविद् जगमान गुरूङका अनुसार टीका विभिन्न धर्मको ट्रेडमार्क हो । जस्तो निधारमा तेर्सो पारेर तीन धर्का खरानी लगाएको छ भने त्यो शैव । रातो वा सेतो चन्दन लगाएको छ भने वैष्णव । सिन्दुरको टीका लगाएको छ भने उपासक अनि गाजलजस्तो कालो टीका लगाएको रहेछ भने त्यो तान्त्रिक ।
अ. रङ
रङको कुरा गर्दा - रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ । यसबाहेक रातो र सेतो टीकालाई रजोगुण र सप्तगुणसँग जोडेर हेर्न सकिने इतिहासकार प्राध्यापक जगदीशचन्द रेग्मीको मत छ ।
रजोगुण भनेको सृष्टि र सन्तान प्राप्तिसँग जोडिन आयो । देवीको उपासना गर्नु भनेकै रजोगुणको उपासना गर्ने भएकाले रातो टीका रजोगुण उपासकहरूले लगाउने गर्छन् । त्यस्तै चिन्तन मनन गरेर बस्ने चिन्तकहरूको सप्तगुणी भएकाले उनीहरूले सेतो टीका लगाउने गरे ।
निलो रङको टीका पनि नेपालबाहिर ल्याउने गरीन्छ, यसले स्वास्थ्य प्रतिबिम्ब दर्शाउँछ ।
डा. गुरुङका भनाइमा काठमाडाैँ उपत्यकाबाहेक नेपालका अन्य क्षेत्रमा दसैँमा पहिले दहीमा अक्षता मुछेर सेतो टीका लगाउने चलन थियो । उनका अनुसार बाहुन क्षेत्रीहरूले अहिले रातो टीका लगाउने गर्छन् भने कतिपय जनजातिले सेतो टीका लगाउँछन् ।
काठमाडाैँ उपत्यकाका नेवारहरूले रातो र कालो मिसिएको तथा कालो टीका पनि लगाउने गरेका छन् । त्यस्तै दैलेखमा भने बाहुन क्षेत्रीले दही र अक्षतामा बेसार मिसाएर पहेँलो टीका लागाउने चलन पनि रहेको छ । यद्दपी नेवारहरूले लगाउने कालो टीका उनीहरूको तन्त्र परम्परासँग जोडिएको उनको भनाइ छ ।
आ. शब्दार्थ
अक्षता (टीकाको एउटा रूप) । साधारणतः अक्षता भनेको कनिका नभएको चामल हो ,जुन क्षतविक्षत वा खंडित हुन पुगेको छैन । अभंजित, सम्पूर्ण, सिंगो, सर्वाङ्ग, घायल नभएको, घाउ रहित भन्ने अर्थ यसले दिइहाल्यो । चामल वोक्रा भित्र बन्द हुने भएकोले यो कहिल्यै जूठोपनि हुन्न | पूजामा कनिकाको प्रयोग बन्देज नै छ ।
पितृकार्यमा पहेंलो वा सेतो, संस्कारादि कर्ममा रातो, शिवदेखि प्रत्येक देवी देवतालाई उनको रूपको परिकल्पना अनुसार चढाइने अक्षता नवग्रह पूजा गरिँदा, ग्रहहरूको स्वरूप अनुसार हुनेगर्दछ । अक्षता (चाम) लाई वामन पुराणले सर्वश्रेष्ठ मानेको भेटियो ।
अक्षताको अर्को अर्थ पुरुषको संसर्ग नभएको केटी या स्वास्नीमान्छे, सम्भोगक्रियाद्वारा योनी क्षत नभएकी कुमारी भनेर नेपाली बृहत शब्दकोशले बताउँछ ।
इ. निधार
अक्षता दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभागमा लगाइन्छ । निधारको मध्य भाग्य अर्थात् आज्ञा चक्र (शिवको तेस्रो आँखाको आख्यान, जो विवेक र ब्रम्हसँग सम्बन्ध राख्दछ), जो दुई आँखीभौंको ठ्याक्क माँझमा पर्छ । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्दछ भन्ने छ ।
यहीकारण टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरियाे । निधारमा टीका वा अक्षेता लाएर भगवान वा देवीलाई आफ्नो निधारमा चढाइन्छ भन्ने तर्क पनि छ ।’
अन्यत्र नअडिने र केहि समयमै झर्ने/खस्ने डरले निधार टीका अड्याउनको लागि उपयुक्त स्थान हो ।
निधारलाई सम्पूर्ण शरीर नियन्त्रण गर्ने स्थानको रूपमा ऋषि यज्ञवल्क्यले अर्थाएको उल्लेख पाइन्छ ।
ई. धान (चाम)
माथि अक्षताको कुरा आयो तर धान छुट्यो । उर्भर अन्न प्राणलाई धान्ने ‘प्राणेश्वर’का रूपमा धानलाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन शुरू भएको संस्कृतवीद डा. जगमान गुरुङको दाबी छ ।
मानव विकास भर्खर कृषि युगमा प्रवेश गरेको थियो, खाद्यान्नको महत्व उच्च थियो । त्यो बेला पहाड र लेकमा हुने अन्न हरू मकै र जौं थिए । त्यो अन्न भित्र्याए पछि घरमा सह आएको मानिन्थ्यो । वर्षाको काम पनि सकिएको र सबै कुराले अनुकुल भएको मौसम भएकोले त्यस अन्न भित्र्याएको खुसियालीमा जमरा र सेतो टीका लाउने आएको तर्क तर्कसंगत लाग्दछ । बजारको आवागमन सजिलो भएपछी अबीरको प्रयोग भएको उनको तर्क छ । यो तर्क मगर समुदायसँग सम्बन्धित राख्दछ (जगमानका थप लेखहरू र अन्तर्वार्ताहरू यसलाई पुष्टि गर्दछ ) ।
पछि हिन्दू धर्मको प्रभाव बढ्दै जादा नवदुर्गा पूजा र प्राचीन टीका लाउने संस्कृति मिश्रणबाट आज हामीले मनाउने दसैँ विकास भएको मान्न सकिने आधार देखिन्छ ।
४. बसाइँ
टीका लगाइमाग्नेले पश्चिम(अँध्यारो) फर्केनुपर्ने र टीका लगाइदिनेले पूर्व(उज्यालो) फर्केर बस्नुपर्ने मान्यता अँध्यारोबाट उज्यालोतर्फको कुरा भइहाल्यो । यही तर्कले माथि इरानदेखि जमरा यता आइपुगेको हुनसक्ने संकेत गर्यो (यद्यपि बहस जारी छ) ।
५. शुभ साइत
हजुरआमाले विजयादशमीको दिन अक्षरारम्भ गर्नु लाभदायक हुने भन्दै मसँग अक्षर सिकी मागेका थिए । विजयादशमीलाई उहाँ अहिले पनि सवोत्तम शुभ साइत मान्नु हुन्छ । करिब-करिब यही यस्तै गरी दसैँको एउटा साङ्गोपाङ्गो चित्र मेरो मानसपलट रहँदै आएको थियो । (यसबारे मरो अध्ययन कम छ )
६. आशिर्वाद
आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।
आफूभन्दा ठूलाबाट दसैँमा टीका जमरा थाप्दा ठूलाबडाले दुईथरी श्लोक भन्ने चलन छ ।
पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरीन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरीन्छ ।
अ. आयू द्रोणसुते
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥
“द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् ।”- रातो टीका र हरियो/पहेलो जमरा थाप्दै गर्दा कान्छा हजुरबाले संस्कृत श्लोक गुनगुनाउ’थे । जसलाई फुटाएर त्यसको अर्थ छिचोल्ने काम मैले पछिल्ला वर्षहरूमा मात्रै सकेको हूँ ।
आ. जयन्ती मंगला काली
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
अर्थ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके । हजुरलाई मेरो नमस्कार छ ।
जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।
६. परिवेश
नीलो आकाश र चंगा, हरियो चौर र लठ्ठे पिङ, सफ्फा-सुग्घर घर आँगन, घरको भित्ताको रंगरोगन (पहिले पहिले कमेरोले सेतो र एभ्रीडे ब्याट्री फुटाएर कालो रंग बनाएर, अहिले घरहरू सिमेन्टेड भए), भान्सा र थरिथरिका परिकार, शरद ऋतु र खेतबारीमा धान/तोरी, आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण माहोल र मनमोहक वातावरण । मैले सरसर्ती दसैँबारे देखे/भोगेका कुराहरू यी-यति नै हुन् ।
करिब ३/४ वर्ष देखि दसैँ नजिकिएसँगै दसैँ बहिस्कार, रातो टीका बहिस्कार, दसैँ बहस, दसैँ माने पनि हुन्छ नमाने पनि हुन्छ भन्ने वाक्योक्ति, दसैँको पक्ष र विपक्ष, कम्युनिष्टहरूका विचारविमर्श, सत्ताको एकल नीति, सांस्कृतिक अतिक्रमण, धर्मान्ध जस्ता अभियान, कार्यक्रम, शब्द र तीनले बोकेका अर्थहरू त्यसपछि मैले फुटाउने प्रयास गर्दै जाने थालें । जो अहिले पनि जारी नै छ । दसैँ बिदा, दसैँ भत्ता लगायतका विषयहरू चर्चा पनि हुँदै आइरहेकै छ ।
भाग- २
मलाई महिषासुर (वा भैँसासुर) वध, रावण वध, वृत्रासुर वध, सम्राट अशोक र बौद्ध धर्म, द्रव्य शाह र मंगोल पुर्खाको वध, पृथ्वीनारायाण शाह र साम्रज्य विस्तार, राजेन्द्र विक्रम शाह( रणबहादुर शाह र दसैँ अनिवार्यता, राणा र मनुवादी नीति, गोरे बहादुर खपांगी प्रवृत्ति र दसैँ बहिस्कार, भारतको दशहरा र हाम्रो दसैँबीचको भेद जस्ता विषयहरूमा पढ्नु थियो, बुझ्नु थियो । यता, दसैँलाई उत्सवको रूपमा बताईरहँदा लडाइँको पूर्वसन्ध्याको उपमासहित नवरात्रीभर हातहरियारको सरसफाई र पूजाआजा (दुर्गा जगाउने विधि) पनि हुँदै आइरहेको देख्दै आइरहेको थिए । यिनै कुराहरूको थोरबहुत गरिएको अध्ययनको सूचकाक्षर यो लेख हुन पुगेको हो ।
माथि उल्लेखित घटना-परिघटनाहरू पहिले फटाफट भनि भ्यायौँ ।
क. महिसासुर वध
दुर्गाले 'राक्षस (असुर)' महिषासुरको हत्या गरेको कारण उत्सवस्वरूप दसैँ मनाउन थालिएको कथन सर्वविदितै छ ।
केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' पनि मनाउन थालिएको रहेछ, यो मेरो लागि नौलो कुरा रह्यो । सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले शुरू गरेका यो परम्परा (भन्न मिल्छ) महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर सहित अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका रहेछन् । महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे । अहिले त्यो छाडेर खेति र मजदुरी गर्छन् ।
झारखण्ड, छत्तीसगढ र पश्चिम बंगालको तराइ इलाकामा असुरहरूको बाक्लो जनघनत्व छ । उनीहरू आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन् । उनीहरू दुर्गापूजालाई आफ्नो अपमान ठान्छन् ।
असुर समुदायकी लेखिका ‘शुषमा असुर’ महिषासुर महिलामाथि हतियार उठाउँदैनथे भनेर भन्छिन् । यसै कारण दुर्गाले छल गरेर महिषासुरको वध गरेको उनी मान्दछिन् ।
यता, महिषासुर शब्दको अर्थ ‘महाशक्तिमान’, त्यसपछी ‘राजा’ र त्यसपछी ‘भैंसी’को रूपमा प्रयोगमा आएको भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले लेखेका छन् । ‘महिष’ र ‘असुर’ शब्दको मिलनबाट महिषासुर अर्थात् महाशक्तिमान अर्थ बन्न पुगेको, ‘महिष’को अर्थ पछी राजा हुन् पुगेको र त्यसपछि महिषको अर्थ भैंसी हुन पुगेको उनले औल्याएका छन् । अनार्यहरू आर्यभन्दा काला वर्णका हुने कारण भैंसीको रंगसँग दाज्न पुग्दा महिषासुर ‘भैँसासुर’ बन्न पुगेको तर्क भेटिन्छ ।
असुर शब्दको पुरानो अर्थ ‘राक्षस’ नभई प्राणदाता रहेको वैदिक कोशले उल्लेख गरेको भेटियो । संस्कृत शब्दकोष लेखक वीएस आप्टेले 'असु'को अर्थ 'प्राण' उल्लेख गरेका छन् । असुरको निर्माण 'अ' मा 'सुर' जोडिएर नभइ 'असु'मा 'र' जोडिएर भएको उनको दाबी छ ।
अब अर्को पाटो हेरौं..,
महिषासुरका पिता रंभ असुरहरूका राजा थिए, जसले एक पटक जलमा बस्ने एउटा भैंसीसँग प्रेम गरेका थिए, जसको योगले महिषासुरको आगमन भयो । महिषासुर आफ्नो इच्छा अनुसार भैंसी र मानिसको रूप धारण गर्न सक्दथे ।
महिषासुर सृष्टिकर्ता ब्रम्हाका महान भक्त थिए र कुनै पनि देवता अथवा दानवले उनीमाथि विजय प्राप्त गर्न सक्दैन भनेर ब्रम्हाजीले उनलाई वरदान दिएका थिए । महिषासुरले विस्तारै स्वर्ग लोकका देवताहरूलाई दु:ख दिन थाले र पृथ्वीमा पनि विध्वंश मचाउन थाले ।
एक पटक महिषासुरले स्वर्गमा अचानक आक्रमण गरे र इन्द्रलाई परास्त गरेर स्वर्गमा अधिकार जमाए । त्यसपछि समस्त देवताहरूलाई भगाइदिए । देवगण दु:खी भएर त्रिमूर्ति ब्रम्हा, विष्णु र महेश्वरकहाँ सहायता माग्न गए । देवताहरूले सहयोग पाउने भए ।
देवताहरूले पटक-पटक युद्द गरे, तर महिषासुरलाई जित्न सकेनन् । महिषासुरको अत्याचारले सीमा नाघेपछि देवी–भगवतीले जन्म लिनुपरेको थियो । पछि उनको यो रूपलाई ‘महिषासुर मर्दिनी’ भनिन थालियो ।
समस्त देवताहरूको तेज पुञ्जबाट प्रकट भएकी देवीलाई भगवान शिवले त्रिशुल दिए । भगवान विष्णुले देवीलाई चक्र प्रदान गरे । यस प्रकार सबै देवी–देवताहरूले अनेक प्रकारका शस्त्र–अस्त्र देवीको हात सजाइदिए । इन्द्रले आफ्नो बज्र र ऐरावत हात्तीबाट निकालेर एउटा घण्टा देवीलाई दिए । सूर्यले आफ्नो किरणहरूको तेजले भरिएको ढाल, तलवार र दिव्य सिंह अर्थात् सिंहको सवारीको लागि यी देवीको लागि अर्पित गरीदिए । विश्वकर्माले विभिन्न अभेद्य कवच र अस्त्र दिएर महिषासुर मर्दिनीलाई सबै प्रकारको अस्त्रहरूले सुशोभित गरीदिए ।
केही समयपछि एउटी विशालकाय रूपवान स्त्री, धेरै हातहरू भएकी र शस्त्र–अस्त्रले सज्जित भएर सिंहमा बसेर युद्धको लागि आइरहेकी महिषासुरले देख्यो । महिषासुरका सेनाको सेनापति अगाडि बढेर देवीसँग युद्ध गर्न थाल्यो । तर, देवी भगवतीले आफ्नो शस्त्रले सबै राक्षसहरूको सेनालाई तहस–नहस गर्न थालिन् ।
त्यो युद्धमा महिषासुरको बधसँगै अन्य दैत्य पनि मारिए । यसै विजयलाई प्रतीक बनाएर विजयदशमी मनाउन थालियो । यो एउटा तर्क भयो ।
ख. रावण वध
असत्यका पक्षपाती रावणलाई रामले यसै दिन वध गरेको चित्रण गरी सोही कुराको खुसियालीमा यो पर्वको शुरूवात गरिएको भन्ने तर्क सर्वविदितै छ ।
प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा गरिने रावण वध कार्यक्रमसँगसँगै अहिले आएर लङ्कादहन कार्यक्रम पनि हुँदै आइरहेको छ । पण्डाल लगाएर रावणको पुत्ला दहन काठमाडौँ पनि हुन थालेको छ ।
भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम यता आएको धेरै भएको छैन । भारतको गङ्गा किनारका मैदानमा विकसित संस्कृति हाम्रो नभएको संस्कृतविद जगमान गुरुङ बताउँछन् । उनी दुर्गा पूजालाई चाहि नेपालको पहाडी भेगमा जानजातीले शुरू गरेको संस्कृति हो भनि भन्दछन् । उतिबेला सेनाको अंग्रपंक्तिमा रही लडाइँ लड्ने पहाडी जनजाति रहेको र युद्द मैदानमा जानु अघि मार हान्ने जिम्मा जनजातिलाई दिइएको उनको भनाइ छ ।
यही भनाइमा टेकेर उनले टीकाराम यात्रीसँगको एक अन्तर्वार्तामा बलि हान्ने देखि अक्षतामा रगत मुछेर टीका लगाउने चलन जानजातिबाट शुरू भएको भनेका छन् । अहिले आएर मौलिकता खोज्ने नाममा दसैँलाई बाहुन-क्षेत्रीको चाड भनेर आफू(जनजाति) बाहिर बस्नु भनेको हाम्रो आफ्नै पुर्खाको शानको अपव्याख्या हो ।’- उनले भनेका छन् ।
बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेकाे धेरै वर्ष नभएको गुरुङले बताएका छन् । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रूपमा रातो सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ ।
पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ । ‘पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आˆनो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’
‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बूहरू लडाकु जाति हुन् । उनीहरूले दुश्मनलाई मछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले सोहि अन्तर्वार्तामा बोलेका छन् ।
डा. गुरुङको यो भनाइले दसैँको कुन इतिहासतर्फ संकेत गर्दछ ? यस बारे थप चर्चा हुनेछ, अहिले रावण र रामायणसँग जोडेर केहि चर्चाहरू गरौँ;
१. रावणलाई ‘राक्षस’ कै दर्जा
इरानबाट भारत बसाइँ सरेका आर्यहरूको पुरानो भारतीय बासिन्दा भील, द्रविड, गौड र कोलहरूका बीचको लडाइँको कथालाई रामायण मान्न हिन्दू दर्शन, हिन्दूत्व र हिन्दू सामाजिक, धार्मिक, सांस्कृतिक तथा अहिलेको राजनीतिक विचार सहमत छ जस्तो म पाउदिन । रावणलाई ‘राक्षस’कै दर्ज दिन मरीमेट्ने प्रवृतिसँग मेरो पनि विमति छ ।
२. सीता रावणको छोरी
रावण सिताको छोरी हो भन्ने प्रसंग, जसअनुसार देवी सोता कलशबाट उत्पन्न भईन र तत्क्षण नै सीता लंकामा रहिन भने लंकाको शर्वनाश हुनेछ आकाशवाणी भयो । तर कालको गतिलाई कसैले पनि टार्न सकेन । रावण स्वयं सितालाई आफैँले हरण गरेर लंका लग्यो र सीता हरणकै अहंकारका कारण उसको विनाश भयो । सोही किम्बन्ती अनुसार अनिकालबाट मूक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकी (सीता, सिया या मैथली पर्यावाची नाम) को जन्म भएको थियो ।
३. रावणका गुण अवगुण
रावण दश अवगुण- काम, क्रोध, लोभ, मोह, मद, इर्ष्या स्वार्थ, अन्नाय, अमानवीय व्यवहार र अहंकार ।
रावणका दश गुण- महान ज्ञानी(इन्द्र जाल, कुमार तन्त्र, रावण भेट जस्ता किताबको रचना, शिव ताण्डवको रचना) , शक्तिशाली (आकाश गामिनी विधा, रूप परिवर्तन गर्ने विधा लगायत), उच्च राजनीतिक चेत (अंग दिप, मलयद्विप, शंकद्विप विजय), महान उपासक (शिवभक्त, ब्रम्हासँग वर प्राप्त), विज्ञानका ज्ञाता (पुष्पक विमान), रसायन शास्त्रको जानकार (चन्द्र हास तरवार), पारिवारिक सम्बन्धप्रति जिम्मेदार, मर्यादित चरित्र (सितालाई अग्निवाटीकामा महिला हेरचाहकर्मी सहित राख्नु), निष्पक्षभाव (सुपर्णखाको वनजंगलमा स्वतन्त्र विचरण), कर्तव्यपरायण (रामलाई सेना बनाउन र युद्दको तयारीको लागि समय दिनु) । (विभिन्न स्रोतहरू )
४. विभिन्न रावण मन्दिर र पूजा आराधना
भारतको आन्ध्र प्रदेशमा रावणको ठूलाे मन्दिर (काकीनादा मन्दिर) सहित पूजा आराधना हुँदै आइरहेको छ । उत्तरप्रदेशको रावण मन्दिर विसराख (विसराख गाउँलाई रावणको जन्मभूमि मानेर), कानपुरको दशानान रावण मन्दिर, राजस्थानको जोधपुर रावन मन्दिर, मध्यप्रदेशको रावणग्राम रावण मन्दिर रहेका छन् । यसैगरी विदिशा (रावणग्राम) मा मन्दोदरीको पूजा हुने गरेको छ । मन्दोरमा पनि रावणका मन्दिर रहेका छन् । श्रीलंकाका श्री मुन्नेश्वारम देवस्थानाम र थिरुक्कोनेश्वारम कोभिल मन्दिरमा रावणका ठुलाठुला मूर्तिसहित (आफ्नो शिरमा शिव पार्वती राखेको) मन्दिरहरू रहेका छन् । (नेटमा उपलब्ध)
समग्र विन्ध्य पर्वत र जंगलमा, खासगरीकन मध्यप्रदेशको मुख्य भूभाग ओगट्ने दण्डकारण्य क्षेत्रमा द्रविड आदिवासीहरू गोण्ड, उराँव र शवरहरूको बसोबास छ । र, समग्र भारतमै गोण्डहरू मात्रै यस्तो जाति हो, जसले आफूलाई रावणवंशी भनेर चिनाउँछ । लगभग ४०० वर्षअगाडि शासन गर्ने प्रतापी गोण्ड राजाले सुनको मुद्रामा ‘श्री संग्रामशाही देव – पौलस्त्य वंश’ भनेर उल्लेख गरेका छन् । पौलस्त्य वंश भनेको रावणवंशको वैकल्पिक नाम हो । यी गोण्डहरूको सघन बस्ती मध्यप्रदेशको अमरकंटक क्षेत्रमा छ । नीहरूको लोकगीतमा लंका र राजा रावणको सन्दर्भ उल्लेख भेटिएको छ । त्यस्तै यहाँ हरेक वर्ष रावणका छोरा मेघनादका नाममा पर्व नै मनाइन्छ (कोसेली : रामायणको लंका : श्रीलंका कि भारतमा ?, भोगीराज चाम्लिङ) ।
भारतलाई ‘सोनेका चिडिया’ भनिनु र लंकालाई ‘ सुनको राज्य’ भनिनु अनि श्रीलंकामा पनि रावणका मूर्ति एवं मन्दिरहरू हुनु बीच के-कस्ता राजहरू जकडिएका छन् ? मलाई यसबारे जान्न बुझ्न मन छ । अहिले यस विषयमा थप चर्चा यही रोक्छु ।
५. द्रविडनाडु र पेरियार
द्रविडनाडुको माग गरेका ई.वी. रामासामी नायकर ‘पेरियार’ (१७ सेप्टेम्बर, १८७९—२४ डिसम्बर १९७३ ) आफूलाई नास्तिक बताउथे तर उनी रामायणको चर्को विरोध सहित लेखेका लेखहरू नेटमा उपलब्ध नै छन् ।
पेरियार रामायणलाई धार्मिक किताब होइन कि राजनीतिक किताब मान्दथे । “रामायण, जसलाई ब्राहमणहरूले दक्षिणवासी अनार्यमाथि उत्तर आर्यको विजय एवं प्रभुत्वको जायज ठहराउनको लागि लेखेका हुन् । यो गैर-ब्राह्मणमाथि ब्राह्मणको तथा महिलामाथि पुरुषको वर्चस्वको जायजेथा हो, उपकरण हो ।”
रामायणको मूल अन्तरवस्तुको उजागर गर्नको लागि पेरियारले ‘वाल्मीकि रामायणको ब्राहमणद्वारा गरिएको अनुवाद सहित अन्य राम कथाहरू जस्तै; कम्ब रामायण, तुलसीदासको रामायण(रामचरित मानस), बौद्ध रामायण, जैन रामायण आदि को अनुवाद तथा तीसँग सम्बन्धित ग्रन्थहरूको सम्यक अध्ययन गरेका थिए ।
उनले करिब ४० वर्षसम्म अध्ययन गरेपश्चात तमिल भाषामा लेखिएको पुस्तक ‘ रामायण पादीरंगल’मा आफ्नो निचोड प्रस्तुत गरेका छन् । यो पुस्तक सन् १९४४ मा तमिल भाषामा प्रकाशित भएको थियो । यसको उल्लेख पेरियारको पत्रिका ‘कदी अरासू(गणतन्त्र) को इस्वीको १६ डिसम्बरमा प्रकाशित अंकमा गरिएको छ । यसको अंग्रेजी अनुवाद द्रविडर कषगम प्रकाशनले ‘The Ramayana : A true reading’ नामले इश्वीको १९५९ मा प्रकाशित गरेको छ । यसको हिन्दी अनुवादको प्रकाशक ललई सिंह यादव एवं अनुवादक राम आधार हुन् । इश्वीको १९६९ को ९ डिसेम्बरमा तत्कालीन उत्तर प्रदेश सरकारले ‘सच्ची रामायण’ माथि प्रतिबन्ध लगाएर पुस्तक जफत समेत गरेको थियो ।
६. रामायण र सम्राट अशोक
भ्वाइस अफ इन्डीजेनियसले, रामायणको कथालाई भारतका महान् शासक अशोक (ई.पु.३७२–३३२ को कथा हो पनि भनेको छ । अशोकको छोरा कुणालको श्रीमती कञ्चनमालालाई सीताको नाउँ लिई लेखिएको कथाको रूपमा बौद्ध जातक कथाहरू (जातक संख्या ४६१) मिसाएर लेखिएको हो भनेको पाइन्छ (बैद्धिक मतका सुख मर्दन, पृष्ठ ११) भनि उल्लेख गरेको भेटें ।
यता, भ्वाइस अफ बुद्धले त्यो समयमा ब्राह्मणद्वारा हुने गरेको गौहत्या एवं यज्ञमाथि पाबन्दी लगाएपश्चात अशोकलाई काल्पनिक रावणको रूपमा चित्रण गरीन थालियो भन्ने भावप्रदायक विचारसहितका लेखहरू छापेको रहेछ । त्यहाँ उसले मौर्य समाजको नष्ट, त्यस समयमा बुद्दिष्टहरू नष्ट, शुद्र-अतिशुद्र लगायतका वर्ण व्यवस्थाको सुत्रपात अनि बुद्ध र अशोकको अस्तित्व मेटाउने हरसम्भव कोसिस भएको पनि लेखेको छ ।
यहाँ अर्को कुरा पनि आउँछ, अशोका रूखको उल्लेख । शोक विहिन रूख अर्थात अ+शोक । अशोका रूखलाई लिएर लेखिएका किम्बदन्तीहरू नेटमै उपलब्ध छन् ।
‘अशोका रूख’ र ‘सम्राट अशोक’ बीच के-कति नजिक्याई छ, यसबारे मलाई जान्नु छ ।
७. वृत्रासुर वध :
वृत्रासुर र इन्द्रको लडाइँको कथाको परिमार्जित स्वरूप रामायण हो भन्ने तर्क पनि रहेछ ।
वृत्र प्राचीन वैदिक धर्ममा एक असुर भनि वर्णन गरिएको छ- जो एक सर्प (अझदहा वा ड्रागन) थियो । संस्कृतमा ‘वृत्र’को अर्थ ‘ढाकने वाला’ भन्ने हुन्छ । वृत्रको अर्को एक नाम ‘अहि’ पनि थियो, जसको अर्थ ‘सर्प’ हुन्छ । ‘अहि’ प्राचीन इरानी भाषा (अवास्ताई भाषा) मा ‘अजि’ या ‘अझी’ सँग मिल्न पुग्दछ ।
वेद अनुसार वृत्र एक यस्तो अझदहा थियो जसले नदीको बाटो रोकेर सुखा पैदा गरीदिएको थियो । यसैकारण इन्द्रले लडाइँमा उसको वध गरेका थिए । कहिकाही वृत्रालाई तीन टाउको भएको सर्प पनि भनि दर्शाएको पाइन्छ । यसको वर्णन राम-लक्षमण संवादको रूपमा रामायणमा पनि उल्लेख पाइन्छ ।
र, यही तर्कमा उभिएर वृत्रासुरको वधलाई उत्सवको रूपमा मनाउने गरिएको कथानकहरू भेटिन आइपुगे । (नेटमा उपलब्ध)
***
अत: रावणको एकातर्फीरूपमा मात्र चर्चापरिचर्चा गर्नु रावणको अल्पांश चिनारी मात्रै हुने देखियो । रावणका गुण-अवगुणहरू केलाएर रावणको लेखाजोखा गर्नु न्यायोचित हुन्छ । दसैँ मनाइरहँदा या दशहरा मनाइरहँदा यताउता(नेपाल-भारत) यो काम भइरहेको छैन ।
यहाँ त झन्, भारतमा अयोध्याका राजा वेश्यपुत्र वशिष्ठकै चेला रामचन्द्रले नवरात्रीभर दुर्गा भवानीको आराधना गरी दशौं दिनमा लंकाका राजा रावणको वध गरेको दिनको सम्झना स्वरूप कथित हिन्दूहरूले विजयोत्सव स्वरूप दसैँ मनाइएको होइन कि भारतीय हिन्दूहरूले चाहि दसहरा मनाएका हुन् भन्ने तर्क भेटिन पुग्यो । महिषासुर र दुर्गाको कथा जस्तै यहाँ पनि खेलाँची भएको उनीहरूको तर्क छ ।
नेपालमा दसैँ मनाउनुको कारण अर्कै छ भन्दै द्रव्य शाह र मंगोल पुर्खाको वध, पृथ्वीनारायाण शाह र साम्रज्य विस्तार लगायतका कारणहरू अघि सारिएको मैले पाएँ ।
वाल्मिकी संस्कृत रामायण (इसापूर्व पाँचौं शताब्दीदेखि पहिलो शताब्दीसम्म) र तुलसीदास (ईसाको १४९७-१६२३)को अवधि रामचरितमानस बीचको मतभेद त झन विवादको अर्को हाँगो भइहाल्यो ।
भारतमा १६औं शताब्दीभन्दा अघि राम मन्दिर बनेको वा रामलाई ईश्वरको रूपमा पूजा गरेको पाइँदैन । सन् १५५४ वा १५३२ मा जन्मेका तुल्सीदासको इष्टदेव रामको महिमालाई ईश्वरतुल्य बनाई तुल्सीदासको रामायण लेखेपछि मात्र रामलाई ईश्वरको अवतारको रूपमा मानिने वा पूजा गरिने चलन भारतमा चलेको हो (नवभारत टाइम्स, ४ जनावरी ९९०) ।
ग. सम्राट अशोकले बौद्ध धर्म अँगालेको दिन
उल्लेखित प्रसंग बाहेक पनि सम्राट अशोकलाई लिएर अर्को घटना भेटें ।
चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्म अंगालेर अस्त्र त्याग गरेको महत्त्वपूर्ण दिन पनि यही दिन (विजयादशमी) हो भनिएको छ । कालिंगा युद्ध पश्चात सम्राट अशोकले बौद्ध धर्म अँगालेको भन्ने तर्कहरू सबै सहमत जस्तै देखिएका छन् । त्यो युद्ध इसा पूर्व २६० मा शुरू भएको मानिन्छ । यसलाई आधार मान्ने हो भएन दसैँ (विजय उत्सव) मनाउन थालिएको २२ सय वर्ष हुन् लाग्यो ।
घ. खेप्प सुङ, बिदाई पूजा र तामाङ जाति
बौद्ध धर्ममा गहिरो ज्ञान राख्ने सामाजिक व्यक्तित्व मोहन लामा रुम्बाले बडादसैँ तामाङ जातिको “तम्ब” परम्परामा आफ्नो इस्टदेव संरक्षक खेप्प सुङ्को बिदाई पूजा गर्ने दिन पनि यही दिन रहेको र दक्षिणकाली फर्पिङको यङ्लेसो गुफामा गुरु रेम्पुर्छेले सिद्धी प्राप्त गरेको दिन पनि यही दिन रहेको भनि उल्लेख गरेका छन् ।
१. परिचय
चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तोलाई नेपाली भाषाले ‘सराङ’ भन्दछ भने तामाङले ‘ङङा’, अथवा ‘मेलाङ’ भन्दछ । यही मेलाङ अपभ्रंस हुँदै ‘म्हेनिङ’ हुन पुगेको र यही ‘म्हेनिङ पर्व’लाई तामाङ समुदायहरूले दसैँ पर्वको रूपमा मान्दै आइरहेको छ ।
तामाङ समुदायले दसैँ पर्वको बेला खेप्पा सुङ्को पूजा गर्छ, खेप्पा सुङलाई कतै कतै गुरुचन पनि भन्ने गरीन्छ । तामाङ भाषामा खेप्पाको अर्थ वृद्ध बुजुर्वा वरिष्ठ अभिभावक हुन्छ ।
२. इतिहास
जब धर्तीमा अन्याय अत्याचार बढ्दै गएपछि घाङरी रेम्पुर्छे (कैलाश पर्वत)मा विराजमान ह्ला छेन्पो (महादेव)ले आफ्नो जट्टाबाट एउटा शक्तिसाली सहयोगीको रूपमा खेप्पाको उत्पत्ति गरेका थिए । कैलाश पर्वतबाट खेप्पा र महादेव दुवै दक्षिण तिर झर्दै यहाँ भएको विग्नवाधा अनिष्ट हटाउदै हिड्ने क्रममा गोकर्णमा आइपुगे । गोकर्णबाट खेप्प सुङलाई यतै छोडेर महादेव एक्लै भारतवर्ष (घ्याकार ह्युल्) जान लाग्दा खेप्प सुङ्ले आफ्नो जट्टालाई धर्ती आकाश भरि फैलाएर महादेवलाई एक्लै जान बाट रोके । ‘ म पनि तपाईं कै साथमा भारतवर्ष जान्छु’ भनेर भन्न थालेपछि महादेवले ‘तिमी यहीँ बस्नुपर्छ । यहाँ बसेर सारा प्राणीहरूको संरक्षणमा लाग्नु । यिनीहरूले तिमिलाई पुज्ने छ’ भनेर सम्झाएको भन्ने छ ।
यही, महादेवलाई आफू भारतवर्षबाट नफर्कुन्जेल खेप्प सुङलाई हिमाल वारिको र पार्वतीलाई हिमाल पारीको मानव जगतको संरक्षण गर्ने जिम्मेवारी दिएको उल्लेख गरेका छन् । [ मेनिङ (म्हेनिङ), दसैँ (तामाङ समुदायको), मोहन लामा]
भाग - ३
घ. द्रव्य शाह र मंगोल पुर्खाको वध :
१.द्रव्य शाह र गोरखा विजय
राजा यशोब्रम्ह शाहका कान्छा छोराको रूपमा जन्मिएका द्रव्य शाह (छत्र शाह र राम शाहको हजुरबाउ तथा पुरेन्द्र शाहको पिता) आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए ।
गोरखा राज्यमा मतवाली घले (कहिँ खड्का जातिको पनि उल्लेख पाएँ) थरका राजा राज्य गर्दथे तर उनलाइ प्रजाहरू मन पराउँदैनथे । गोरखाका शक्तिशाली भारदारहरू पनि राजासँग सन्तुष्ट थिएनन् । उनीहरू खड्का/घले राजाको सट्टामा अन्य योग्य व्यक्तिलाई राजा बनाउन चाहन्थे भने द्रव्य शाह पनि गोरखाका राजा बन्न ज्यादै प्रयत्नशील थिए । यस्तो परिस्थितिमा दुवै पक्षको स्वार्थ मिलेका हुनाले गोरखामाथि आक्रमण गरी त्यहाँका राजालाई पराजित गर्ने सरसल्लाह गर्न थाले ।
द्रव्य शाहले सर्वप्रथम गोरखाका जनताहरूलाई आफ्नो समर्थक बनाएपछी वि.सं १६१६ को भाद्रमा आफ्ना सहयोगीहरूका साथ लिगलिगकोटबाट गोरखामाथि आक्रमण गरे । लगातार १५ दिनसम्म युद्ध भयो तर द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् तर उनी निराश भने भएनन् । अर्कोपटक पुन: आक्रमण गर्नका लागि गणेश पाँडे, नारायणदास अर्ज्याल, भगिरथ पन्त, गङ्गाराम राना, मुरली खवास, सर्वेश्वर खनाल, केशव बोहोरा, गजानन्द भट्टराई लगायतका गोर्खाली भारदार तथा प्रजाहरूले द्रव्य शाहलाई तल्लो कोटमा लुकाई खड्का/घले राजालाई आत्मसमर्पण गराउने प्रयास गरे तर सफल भएनन् । त्यसै राती आक्रमणका लागि उपयुक्त साइत जुरेको हुनाले द्रव्य शाहको समुहले अचानक आक्रमण गर्यो । द्रव्य शाहको हातबाट खड्का/घले राजा मारिएकाले गोरखा राज्यमाथि विजय प्राप्त भयो । यसरी सन् १५६९ मा द्रव्य शाहले गोरखा राज्य स्थापना गरे ।
यो विजयाउत्सवलाई पछी विजयदशमीको रूपमा चित्रांकित गरियाे भन्ने तर्क एकाथरीको रहेको पाएँ ।
२. दूध नाघेर आउन पाउने छैनौँ
द्रव्य शाहको यो विजयबाट उनका दाजु नरहरि शाहलाई इर्ष्या भयो । उनले ´´भाइ द्रव्य शाहले मेरै सरदारको रूपमा गोरखा विजय गरेकाले गोरखामाथि लमजुङकै अधिकार हुन्छ´´भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढ्यो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथि आक्रमण गर्ने लगायतका योजनाहरू बनाइ पटक पटक प्रयास गर्यो तर उसलाई सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो ।
यहीबीच दुबै राजाकी आमा राजमाता वसन्तावती (चम्पावति पनि भनिएको छ)ले छोराहरू नरहरी शाह र द्रव्य शाहको मनमुटाव मिलाउनको निम्ति छोराहरूलाई वारि पारी राखेर आफू बिचमा भइ उक्त ठाउँबाट दूध बगाएर ‘अब तिमीहरू दुबैको पाइला यो दूध नागेर आउन पाउने छैनौ’ भनी संकल्प गरे पश्चात् त्यहाँ दूधको पोखरी जमेर तल चम्पावती नदी हुँदै चेपे नदी भएर अन्तत गोरखा र लम्जुङ को सिमाना छुट्टिएको भन्ने किंबदन्ती छ ।
३. लिगलिगकोट र दसैँ
लिगलिगकोट गोरखा जिल्लाको साविक आँपपिपल गाविसमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो ।
दसैँसँग जोडिएको लिगलिगकोट(लिङलिङ) नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द ‘लिङलिङ’ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द ‘कोट’ मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विश्वास रहेको छ । हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा उक्त स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भएको हो ।
आर्य खस बाहुन क्षेत्रीहरूको आगमन हुनु भन्दा पहिला गाउँ ठाउँहरूको नाम स्थानीय मंगोल समुदायको भाषामा रहेको पाइन्छ ।
गण्डक आसपासमा रहेका मगर गुरुङ बुद्ध धर्मावलम्बी थिए । जब घले राजाको हत्या भयो तव वर्तमान गोरखाका कोटहरू द्रव्य शाहको कब्जामा आयो र समग्रमा बुद्धमार्गीहरूलाई जवरजस्ती हिन्दूकरण गर्दै विजय उत्सव मनाइन थालियो । द्रव्य शाहको उर्दी अनुरूप घलेलाई मारी गोरखा स्थापना भएको हुँदा अब गोरखाको नियम मान्नु पर्ने बाध्यता सिर्जना भयो र अन्ततः घले राजाको रगतमा मुछिएको चामल निधारमा टाँसी उत्सव मनाउन थालियो । गोरखा र लमजुङका आदेश नमान्ने अहिन्दू मूलबासीहरूलाई चेपे नदीमा निर्मम हत्यागरी फ्याकियो । कतिपयले आफू बच्नकै लागि शान्तिको कामना गर्दै सेतो टीका ग्रहण गर्दै आत्मासमर्पन गरे । त्यही दिन देखि बहुसंख्यक मूलबासी मंगोलहरूको राजनैतिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू बन्देज गर्न थालियो, खोसिने अभियानको थालनी भयो भनि इन्डीजिनियस भ्वाइसले लेखेको भेटें ।
४. दौडबाट राजा छान्ने परम्परा
लिगलिगकोट र यस स्थान दौड जित्ने मानिस एक वर्षको लागि राजा बन्ने परम्पराको चर्चा माथि छुट्न पुगेछ ।
प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि, तत्कालीन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । विक्रमको संवत १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले ।
मुकुन्द सेनको छोराको पालादेखि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरूले आफैँ राज्यको घोषणा गरी राज्य चलाउन थालेको इतिहास छ । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य सञ्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परम्पराको थालनी भयो । जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थाल्यो । त्यसलाई लिगलिगकोटको दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ कि.मि. को दूरी निर्धारण गरियाे । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए भनेर अर्को कथन यहाँ भेटिन आइपुग्छ ।
ङ. पृथ्वीनाराय शाह र राज्य विस्तार
पृथ्वी नारायण शाह नेपाललाई एकीकृत (यहाँ पनि बहस छ) गर्ने यात्रामा हिंड्न लागेको समय अघि देखि नै (माथिका प्रसंगहरू) ‘विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ’ भन्ने परम्परा बसिसकेको थियो । यहाँ सोहि परम्पराको लौरो समाएर उनकी आमाले उनलाई अक्षताको टीका(साइतको टीका) लगाएर बिदा गरेको भन्ने कुरा छ । यो सर्वविदितै पक्ष हो, यसबारे चर्चा गरिरहनु परोइन ।
अब अर्को पाटो…,
पृथ्वी नारायण शाह निरन्तर साम्राज्य विस्तार गर्दै उपत्यका प्रवेश गरे । जय प्रकाश मल्ललाई हराई काठमाण्डौमा दसैँ प्रवेश गराएको इतिहास भेटिन्छ । यसको प्रमाणको रूपमा नागार्जुन डाडामुनिको ‘अर्को गोरखा’ बाट ल्याइएको फूलपातीलाई हनुमानढोकामा कसरी भित्र्याइन्छ भन्ने प्रश्नको उत्तर रहेको बताईएको पाएँ ।
साम्राज्य भनेको विगत २५०० वर्षदेखि (विश्वको पहिलो सामाज्य अक्काडिएन साम्राज्य, २२५० इसापूर्वमा
निर्माण भएको) विश्वमा सबैभन्दा बढी प्रचलित एक राजनैतिक व्यवस्था हो । कुनै पनि साम्राज्य निर्माण गर्न र त्यसलाई टीकाउन आमहत्या, बचेकाहरू माथि दासत्व र शासन अस्वीकार गर्नेहरूमाथि निर्वासन जस्ता हतियारहरूको प्रयोग भएको पाइन्छ ।
गोरखा साम्राज्यलाई विस्तार गर्न र टीकाउन पृथ्वीनारायणले पनि लडाइँ, हत्या, विरोधीहरूको शोषण, दमन र उत्पीडनलाई हतियार बनाएका थिए । कुनै पनि साम्राज्यले गरेका अपराध र कुकृत्यहरूको मात्रै होइन त्यसका उपलब्धिहरूको पनि लेखाजोखा गर्नु भुल्नु हुँदैन ।
“कुनै पनि साम्राज्य र त्यसको निर्माताको मूल्यांकनमा पूर्ण कालो (ब्ल्याक) वा सेतो (ह्वाइट) मसी प्रयोग गरीनु हुन्न । पृथ्वीनारायण शाहको हकमा पनि त्यो कुरा लागु हुन्छ ।” भन्ने डा. उत्तमबाबू श्रेष्ठसँग म सहमत छु ।
कुकृत्य र उपलब्धीबारे लेखाजोखा गरीरहँदा प्रकृया (तत्कालीन) र परिणाम (भविष्य) कसलाई प्रधान मान्ने भन्ने कुरा पनि उठ्छ, क्लासिकल दिलेमा (classic dilemma) लाई लिएर थुप्रो बहस हुँदै आइरहेकै छन् । यो कालो-सेतो भन्दा नि खैरो कुरा हो । ग्रे एरियामा बसेर पृथ्वीनारायण शाहप्रति म एकतर्फी हुन् सकेको छैन । यस विषयमा मेरो अध्ययन पुगेको छैन, म यो स्विकार्छु ।
च. राजेन्द्र विक्रम शाह- रणबहादुर शाह र दसैँ अनिवार्यता
पूर्वतिर बढ्दै जादा माझ किरात र लिम्बूवानको इतिहासले पनि दसैँ मंगोलहरूको होइन भन्ने प्रसस्त आधार भेटिएको यतातर्फको कुरा छ । राजेन्द्र विक्रम शाहले रुक्का जारी गरी दुर्गा, कालि मान्नु पर्ने, दसैँ मान्नु पर्ने भनेर बाध्य बनाएको भन्ने छ ।
वि.सं. १८४३ मा रणबहादुर शाहले लिम्बूहरूलाई दसैँ अनिवार्य मान्नु भनि लालमोहर दिए । लिम्बूहरूलाई लालमोहर दिएपछि वि.सं. १८४८ सालमा पूर्वमा बसोबास गर्ने लिम्बू समुदायमा दसैँ मान्ने नमान्ने भन्ने विवाद नै भएको कथन छ । दसैँ नमान्नेलाई कार्वाही गर्न थाले पछि वि.सं. १८४८ पछि लिम्बूवानका लिम्बूहरूलाई दसैँ मान्न बाध्य बने । यहीबाट दसैँ नमाने सुव्वाङ्गी र किपट खोस्ने जस्ता कार्य शाह राजाले गर्न थालेको इतिहास छ ।
यसरी विस्तारै आफ्नो चाड मनाउनेलाई हिन्दू दसैँ मनाउन उर्दी जारी भयो । वि.सं. १८४८ साल पछि लिम्बू राईहरूमा सुब्बा, कार्वारी र जिम्मावाल रहने भएको हुँदा अनिवार्य नौ दुर्गा भवानीको पूजा गर्नु पर्ने, दसैँ मान्नका लागि घर लिपपोत गर्नुपर्ने र भित्तामा बलि दिएको हात तथा पैताला डुवाई छाप हान्नुपर्ने जस्ता उर्दी जारी भयो भनेर फेरी पनि इन्डोजेनियसले भ्वाइसले लेखेको छ । जसको थप चर्चा तल हुनेछ ।
छ. दसैँ बहिष्कार
१. राजेन्द्र शाह र पाँचथरको इतिहास
राजा राजेन्द्र शाहको पालामा लिम्बूवानबाट कुरुवा (प्रतिनिधि) काठमाडाैँ झिकाउने चलन बस्यो । पहिलोपटक दस लिम्बूवान र सत्र थुमको प्रतिनिधित्व गरी याङरूप थुमका बागनसिंह (बागवीर) हेम्ब्या कुरुवा छानिएर काठमाडौँ आए । राजाको आदेशमा उनले दुई डोरे जनै लगाए । गोबध नगर्ने, राजधर्म मान्ने र सारा लिम्बूवानका लिम्बू जातिले जनै अनिवार्य लगाउनुपर्ने राजाको आदेश स्वीकार गरे । १६ ढाकर जनै बोकाएर उनी याङ्रूप थुम गए । याङ्रूप थुमका केही लिम्बूले त दुई डोरे जनै लगाए पनि । त्यस निर्णयको विरोधमा अन्य थुमका लिम्बूहरू उत्रिए । आपत्कालीन चुम्लुङ (सभा) बस्यो । लिम्बूहरूले जनै लगाउने कुराको विरोध भयो ।
आफ्नो जातिको रीति गुमाएको अभियोगमा बागनसिंहलाई कुरुवा पदबाट हटाई नयाँ कुरुवाका रूपमा याङनाम हिवाखोला थुमबाट अटलसिंह जबेगूलाई केन्द्रमा पठाइयो । उनले काठमाडौँ पुगेर राजासमक्ष लिम्बूवानको जनताले आफ्नै किरात धर्म तथा नीति मान्ने, जनै नलगाउने, गोबध नगर्ने तर मरेको गाईको मासु एक पैसा मेन्जेन (जरिवाना) तिरेर खान पाउनुपर्ने माग गरे । राजाले उक्त माग पूरा गरे । अनि लिम्बूहरूको रीति थामिएको कुरा डा. देवी दुलालले लेखेको ‘पाँचथरको इतिहास’ नामक कृतिमा उल्लेख छ ।
२. राणाशासक र रगतको पन्जाछाप :
राणाशासकले दसैँ मान्नुपर्ने उर्दी लगाउँदा विसं १९४२ मा रामलिहाङ र रिदमाले धनकुटामा बहिष्कार गरेपछि सहादत हुनुपर्यो । दसैँ लाद्ने क्रममा राज्यले दुई जनाको हत्या गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलित भएका कथनहरू भेटिन्छन् । मानवशास्त्री डम्बर चेम्जोङका शब्दमा दसैँमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडाअड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा । दसैँ नमानेको, पशुबलि नदीएको भेटिए सजायको भागीदार हुन्थे लिम्बू सुब्बाहरू । (दसैँ माने पनि हुन्छ, बहिस्कार गरे पनि हुन्छ; सचेत राई)
३. नेपाली राजनीतिमा अदेखा सच्चाई र गोरे बहादुर खपांगी
दसैँको दिनलाई लिएर राज्य लुटिएको, पुर्खाको हत्या भएको दिन भनेर मंगोल अभियन्ताहरू सहमत भएको पनि पाएँ ।
२०२८ साल देखि मसिनो स्वरहरूमा दसैँ बहिस्कारको लालनी भएको भएता पनि बहुदल आए पछि दसैँ वहिस्कार सतहमा देखा पर्यो । २०४२ सालमा जब डा. गोपाल गुरुङद्वारा ‘नेपाली राजनीतिमा अदेखा सच्चाइ’ प्रकाशित भयो त्यसपछि सोही पुस्तकका आधारमा धार्मिक, सांस्कृतिक विभेदको पोल खुल्दै गएको आधारहरू भेटिए । यससँगै दसैँ बहिस्कारका अभियानहरू अझ जोडबलले उठेको भेटें ।
यहीबीच दिवंगत गोरे बहादुर खपांगी (२०७३ भाद्र ११ गते निधन) को नाम चर्चित छ । उनी पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहको निगाहामा मन्त्री बनेको र पछी उनैको हातबाट टीका ग्रहण गरे पछि दसैँ वहिस्कारमा धक्का लागेको भनेर अभियन्ताहरूले उल्लेख गर्दै आइरहेका छन् ।
“मंगोलहरूले दसैँमा रमाउनु र आफ्नो बाउआमा मरेको दिन रमाउनु एकै हो । हिन्दू आर्यन बाहुन क्षेत्रीलाई भन्दा दोष होइन यो र नमान भनिएकोे कदापी होइन ।”, दसैँ बहिस्कारमा एक्येवद्धता जनाउनेहरू साङ्गोपाङ्गो विचार यही वाक्य वरपर पनि भेटें।
यहीबीच अर्को तप्का पश्चिमा संस्कार तथा संस्कृतिलाई सहज रूपमा आत्मसात् गर्नेहरूले दसैँ बहिस्कार गरेको भन्दै आइरहेका छन् । यसले दसैँलाई थप विवादित बनाइरहेकै छ ।
ज. उखानले उब्जाएको प्रश्नहरू
‘हुने खानेलाई दसैँ, नहुनेलाई दसा’, ‘आयो दसैँ रमाई-रमाई, गयो दसैँ ऋण बोकाई’; जस्ता लोकोतोक्ति उखान)ले के-कस्तो सामाजिक संरचना र आर्थिक तथा सामाजिक पक्षलाई इंगित गर्दछ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानलाई मेरो यो प्रश्न हो ।
ज. दसैँ र दशहरा
“टीका र जमरा हटाइदिने हो भने हाम्रो दसैँ र भारतको ‘दशहरा’ बीच खास भिन्नता रहँदैन । भारतका हिन्दू धर्मावलम्बी दशहरामा नवरात्रिभरि उत्सव गर्छन् । विजया दशमीको दिन हामीले जस्तो टीका र जमरा लगाएर ठूलाबडाको आशीर्वाद भने थाप्दैनन् । धार्मिक चाड मात्र हुँदो हो त हाम्रो दसैं मनाउने आधारभूत तरिकामै यति ठूलो भिन्नता हुँदैनथ्यो ।” संस्कृतिविद् जगमान गुरुङ दसैँलाई ‘लडाइँसँग जोडिएको संस्कृति’ मान्छन् । जसको चर्चा माथि गरिइसकिएको छ ।
जमरा
मानव विकास भर्खर कृषि युगमा प्रवेश गरेको थियो, त्यही भएर खाद्यान्नको महत्व उच्च थियो । त्यो बेला पहाड र लेकमा हुने अन्न हरू मकै र जौं थिए । त्यो अन्न भित्र्याए पछि घरमा सह आएको मानिन्थ्यो । वर्षाको काम पनि सकिएको र सबै कुराले अनुकुल भएको मौसम भएकोले त्यस अन्न भित्र्याएको खुसियाली मा जमरा र सेतो टीका लाउने आएको तर्क तर्कसंगत लाग्दछ । यो तर्क मगर समुदायसँग सम्बन्धित राख्दछ, जुन ठिक पनि छ । (जगमानका थप लेखहरू र अन्तर्वार्ताहरू यसलाई पुष्टि गर्दछ ।) पछि हिन्दू धर्मको प्रभाब बढ्दै जादा नवदुर्गा पूजा र प्राचीन टीका लाउने संस्कृति मिश्रणबाट आज हामीले मनाउने दसैँ विकास भएको मान्न सकेन आधार देखिन्छ ।
वैदिक युगबारे जानकार वरिष्ठ उपन्यासकार मदनमणि दीक्षित आफ्नो किताब ऋग्वैदिक नारि चरित्रमा लेख्छन्, “ भारतमा विजयदशमीको रूप भने नेपालमा भन्दा झनै बढ्ता फरक छ । नवरात्र (नौरथा) र दसैँ मनाउने नेपाल र भारतका पृथक् जनसमुदायहरूमा एउटा विषयमा प्रयाश: समानता पाइन्छ । त्यो हो दुर्गापूजा र महाअष्टमीका दिन देवीलाई पशु बलि दिने क्रिया । ती पृथकताहरू रूप र स्रोतको अध्ययन छुट्टै विषय हो ।” (पृष्ठ : ४३-४४ ) नवरात्रको दुर्गापूजा र विजयादशमीका समबन्धमा धर्मशास्त्रीय, वैज्ञानिक समाजशास्त्रीय अध्ययन गरीनु पर्ने उनको निचोड छ ।
यहाँ उनले दसैँमा जमरा राख्ने विधि, टीकाको महत्व, दियो/गणेश/कलशको इतिहास, तिथितत्वको आधारमा कहाँ-कहा कतिकति दिन नवरात्र मनाइन्छ लगायत पूजाविधिका अनेक प्रसंग र सांस्कृतिक सन्दर्भहरू उल्लेख गरेका छन् ।
“दशमीको दिन दुर्गालाई सेलाउँदा कालिका पुराणअनुसार शवरोत्सवका रूपमा गरीन्छन् केहि ठाउँमा । नेपालमा आयो चलन छैन । शवरहरू भारतका ति प्राचीन आदिवासी हुन् । शवरोत्सवमा शवरहरूले झैं खरपातका पोशाक लगाएर जीउमा हिलो पोतेर वनवासीहरूले झैं जंगली नाचगान गरीन्छन् । त्यो शवरोत्सव आज नेपालमा सम्भ्रान्त पारिवारिक मिलन र आनन्दोत्सवमा परिमाण भएको छ । समाजमा त्यसैगरी परिवर्तन हुँदै आएका छन् । मानव समाज कतै स्थित र गतिहीन छैन पनि ।” (ऐजन, पृष्ठ ४९)
झ. पशु बलि र विरोध
भारतमा बंगालमा अन्तभन्दा धेरै धूमधाम र विशेष श्रद्धाका साथ नवरात्रि मनाउँछन् । भारतमा र हाम्रै मधेसमा पनि नवरात्रिभर ठूल्ठूला पण्डालमा दुर्गाका माटाका मूर्ति सजाइ पूजा गरेपछि मूर्तिलाई नदी, समुद्रमा लगेर विसर्जन गरीन्छ । पहाडी क्षेत्रमा भने शक्ति पीठमै गई दर्शन/पूजा गर्ने, बलि दिने चलन छ । काठमाडौँ उपत्यका र पूर्वमा पूर्णिमाका दिन टीका विसर्जन नगरुन्जेल लगाइने टीका पश्चिम पहाडमा दशमीको दिनमात्र लगाइन्छ । काठमाडौँ उपत्यकामा निधारको मध्यमा मात्र लगाइने टीका पहाडतिर पूरै निधारभरि लगाइन्छ ।
“मातृपूजाको समबन्ध कृषिको उत्पति र विकाससित छ । दुर्गापूजाको विशेषता पशु बलि हो । पूजामा रगतको त्यो समावेशलाई नारीको प्रजनन शक्ति र त्यसको पूर्वशक्ति नारीद्वारा ऋतु दर्शनसित जोडेर हेर्ने पक्षमा आधुनिक सोधकर्ताहरू छन् । यसैकारण केहि ठाउँमा अझैं पनि कृषिका चरणहरूमा र खेतमा समेत पशु बलि दिने चलन पाइन्छ ।
प्राचीन रैथाने दुर्गापूजालाई कालान्तारमा ‘हिन्दूकारण’ गर्दै लाग्दा बलि, मांसको उपयोग गरिने आराधनाको ‘सात्त्विकीकरण’ गर्न थालिएर त्यससित् उपवास, जप, निरामिष, नैवेद्य तथा व्रतहरू जोडिए, बलिको रगतको सट्टा सिन्दूरको रातोले मातृशक्तिलाई सन्तुष्ट राख्न खोजियो ।” (ऋग्वैदिक नारी चरित्र, पृष्ठ: ५०-५१)
आलेखमा दीक्षितले दुर्गापूजा यो भू-भागको अति प्राचीन चाडपर्व भएको बारबार उल्लेख गरेका छन् ।
धार्मिक मान्यता अनुसार कामको प्रतीक हाँस, क्रोधको प्रतीक भेडा, लोभको प्रतीक कुखुरा, मोहको प्रतीक परेवा, पदको प्रतीक राँगोकोे बलि दिने चलन छ । यसलाई दुई थरि कथन छ,
१. विधि पुर्याएर गरे बलि प्रथा हिंसात्मक होइन
बलि प्रथाको पछाडि अहिंसा छ भन्ने कथन पछाडि पनि मैले कारणहरू भेट्टाए । जथाभावी मानिसले पशु हिंसा नगरुन भनेर प्राचीन ऋषिहरूले एउटा व्यवस्था गरे । सोहीअनुसार जथाभावी पशु हिंसा नगर्नका लागि विधि तय गरियाे । यसबाहेक बलि दिनका लागि पशु युवाअवस्थामा हुनु पर्ने, स्त्री पशुलाई बलि दिन्न नपाइने तथा पशु निरोगी हुनुपर्ने जस्ता नियमहरू सहित यो तर्क अगाडि सारिएको रहेछ । जसको प्रतितर्कको रूपमा विधि पुर्याएर बलि दिँदा पुण्य नहुने र अहिले त्यही भइरहेको भनि उल्लेख गरिएको छ । (भारतीय विभिन्न स्रोतहरू)
धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको बताएका थिए । उनले देवीदेवतालाई दिइने बली प्रसादका रूपमा कसैले मासु खान्छ भने त्यो राम्रै हुने बताए । “अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनुपर्छ, मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो”, शास्त्रमै उल्लेख भएकाले पशु बली रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने उनको तर्क थियो ।
गौतमका अनुसार बली पनि तीन प्रकारका हुन्छन् : सात्विक बली, राजस बली र तामस बली । चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत आदिले पूजा गर्ने विधिलाई सात्विक बली ।
सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बली । सात्विक र राजस दुवै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजाविधिलाई तामस बली । मासु नखाने (शाकाहारी)ले पनि बली दिएर सुँघेर छोड्ने परम्परासमेत रहेको उनको तर्क रहेको छ ।
२. बलि प्रथा विकृति हो
नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दै आएको छ । गढिमाईको बलि होस् वा दसैँको बेलामा देवीपीठहरूमा दिइने बलि होस्, त्यहाँ दानविय नृसंस हत्या भइरहेको छ ।
नेपाल वायुसेवा निगमद्वारा वोइङ्ग खराब हुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयक्त रूपमा बोकाको बलि दिएको घटना, प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिएको एवं भैंसी पूजा गरेका घटनाहरू हिजोआज नै देखिरहेकै हो ।
सरसर्ती हेर्दा कर्मकाण्डीय पक्षलाई अंगीकार गर्ने धार्मिक व्यक्ति वा संस्था यसको पक्षमा र आध्यात्मिक पक्षलाई अंगीकार गर्ने तथा समयानुकूल संस्कार/संस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोच राख्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
बलीप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले पशुवलीका नाममा अब देशका मठमन्दिरहरू वधशालामा परिणत हुँदै गरेको बताउँदै ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बली दिने भनिएको हो, पशुलाई होइन ।’ भनेर उल्लेख गरेका छन् ।
हिन्दू संस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ ।
बलि दिनु भनेको त्याग गर्नु हो भने हामी भित्र रहेका काम, त्रोध, लाभ, मोह घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु या त्यसको बलि दिनु उपयुक्त हुन्छ ।
ञ. दसमी कि दशमी ? दसैँ/दसैं/दशैँ/दशैं ?
दशमी संस्कृत शब्द हो । त्यही दशमीबाट दशै भयो । तत्सम् शब्द तत्भव भयो । दशमी र दशै दुवै मोटो श हुन्छ । अहिले पातलो शब्द स पनि लेख्न थालियो । त्यसो गर्दा पातलो स सँग दशैको सम्बन्ध फाट्छ । त्यो पनि सांस्कृतिक ह्रास हो । यसहिसाबले व्याकरणका विवाद पनि मैले भेटेँ ।
ट. दसैँ, किरात र सेतो टीका
दसैँ मान्नु पर्छ भन्ने यो धारले दसैँको आदिवासी तथा किरातहरूको चाड हो भन्ने विचार राख्दछ । यसमा आर्य हिन्दूहरूले आफ्ना कुराहरू जोडेर आफ्नो बनाएका हुन । त्यसैले, यसलाई नमान्नु भनेको किरात तथा आदिवासी जनजातिको संस्कृतिको अवज्ञा हो भन्ने विचार रहेको छ ।
ठ. दसैँ मगरको होइन
नेपालमा मगर जातिहरूको इतिहास हेर्दा मगरहरू सुरुमा हिन्दू चाडपर्व मान्ने जाति थिएनन् । तेह्रौं शताब्दीमा मुसलमानहरूको भारत प्रवेशपछि नेपाल पसेका शरणार्थी बाहुनहरूको चपेटामा सबैभन्दा पहिले यहाँका खसहरू (बाहुनबाट खसेको क्षेत्री होइन) थारुहरू र मगरहरू परेका हुन् । मध्य–नेपाल हालको गण्डक–लुम्बिनी, गण्डकको, धौलागिरी क्षेत्रमा बाहुनहरूले प्रवेश गर्दा सर्वप्रथम यस क्षेत्रका मगर राजाहरू र मगर मुखियाहरूलाई प्रभावित पारी हिन्दू क्षेत्री बनाए । फलस्वरूप आज अमरसिंह थापा, भीमसेन थापाहरू थापा क्षेत्री भनी बाहुनहरूले लेखेको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा यिनीहरू मगर हुन् (Gurkhas, Vansitart, पृष्ठ ६१) । पाल्पाका मुकुन्द सेन मगर नै हुन् (Nepal, Daniel Right, पृष्ठ १०२) । यहाँसम्म कि गोरखाको राजालाई पनि मगर हो भनी प्रस्ट उल्लेख गरेको पाइन्छ (हिमपत साँस्कृतिक, वि.सं २०१६, पृष्ठ ९) । जेहोस्, बाहुनहरूको हिन्दूकरणको अभियानबाट सबैभन्दा बढी मगरहरू प्रभावित भएका छन् ।बाहुनहरूको हिन्दूकरणको अभियानबाट सबैभन्दा बढी मगरहरू प्रभावित भएका छन् ।
भाग ४
विवादलाई छिचोलेर दसैँलाई हेरौँ
एउटै समुदाय र एउटै ठाउँमा पनि समयक्रममा दसैँ मनाउने चलनमा परिवर्तन आउँंदै जान्छ, गएको छ । पहिले यस्तो परिवर्तनको गति धेरै ढिलो हुन्थ्यो र थाहा हुन्नथ्यो । अहिले विज्ञान प्रविधिको तीव्र विकास र भूमण्डलीकरणले गरेर परिवर्तनको गति तीव्र भएको छ र एउटै पुस्ताले महसुस गर्न सक्ने भएको छ ।
नेपालको सन्दर्भमा रातो टीका र सेतो टीका लगाउने प्रचलन रहेको छ । कतै कसै–कसैले कृषिसंग जोडेर बालि भित्र्याउने(हार्भेष्ट फेष्टिवल) भनेको पनि पाइन्छ । हार्भेस्ट फेस्टिबलसँग जोडेर नेपालमा धानखेति कहिलेदेखि शुरू भयो र अक्षताको रूपमा टीका आइपुग्यो भन्ने प्रश्न आइपुग्छ । जमरा(मकै, गहूँ, जहूं)लाई लिएर विवाद नभेटिए पनि धान चामललाई लिएर ठूलो विवाद छ । यो पछिल्ला अढाई सय (द्रव्य शाह पछी) भित्रिएको हो भन्ने छ । यहाँनेर स्वास्थ्य बहस आवश्यक छ ।
यो पक्का हो कि, हामी अझै पनि आफूमाथि आफैँंले शासन गर्न सक्षम छैनौँ । इतिहास र मिथकीय पात्रलाई भर्याङ बनाएर सत्ताको बार्दली चढ्ने कूटनीतिक चालबाजी भइरहेको हुन्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। वंशावली, लोकगाथा र अनुश्रुतिले इतिहासको आंशिक सत्य संकेत भने गर्दछन्, यो तथ्य पनि त् भुल्नु भएन । काल्पनिकीको सजीधजाउ पनि होइरहने कुरा हो । तर मानिसभन्दा अलग संस्कृति बन्न सक्दैन । संस्कृतिभन्दा अलग मानिस रहन सक्दैन । संस्कृतिका स्रष्टा मानिस हुन् । यसकारण, संस्कार जीवन पद्धति बन्छ । जहाँ संस्कार छ; त्यहाँ जीवन छ । जहाँ संस्कार छैन त्यहाँ जीवन पनि बाँच्दैन; समाज पनि बाँच्दैन ।
यी यस्ता युद्ध भएका छन्, ति किन भए ? तिनका कारणहरू खोजौं । ति अब नहोस् भन्ने कामना स्वरूप ती वीरगाथाका कथाहरू यहाँसम्म आइपुगेका हुन् कि (यो तर्कलाई काट्ने अरू तर्कहरूबारे माथि व्याख्या भएकै छ) । बहुधार्मिक, बहु सांस्कृतिक, बहुभाषिक, बहुजाती युक्त विविधता मुलुकको देशमा एकल भाषा, धर्म , भेष जर्वजस्त लाद्नुप्रति गैरहिन्दूको आवाज उठ्नु स्वभाविक हो, ती आवाजलाई सुन्नु पर्दछ । ति आवाजका पनि इतिहास छन्,माधुर्यता छन्, स्वर छन्, त्यसप्रति राज्य र सत्ता बहिरो हुनु उपयुक्त होइन् । राज्यसत्ताको तानाशाही सोच र व्यवहार अब स्वीकार्य कदाचित् हुनु भएन ।
चाड–पर्व–संस्कार समाजलाई असलतिर उन्मुख गराउने एक उज्यालो पनि हो, यो भुल्नु हुँदैन । सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैंभर यसरी अनिश्चितता रुमलिनु हुँदैन ।
भारतमा बेलायतले निर्माण गरेको रेल सन्जाल (भलै त्यो बेलायती साम्राज्य टीकाउनकै लागि निर्माण भएको थियो) त्यसलाई भारतीयहरूले भत्काएका छैनन्, बरु विस्तार गरेका छन् । हामीले पनि भीम समशेरले चलाएको शनिबारको सार्वजनिक बिदालाई अहिलेसम्म पनि मानिरहेका छौं, त्यो चलनलाई राणा शासनको अवशेषका रूपमा हेरेका छैनौँ ।
नेपाल हिमाली देश । जति धेरै हिमाल हुन्छन् । जलप्रवाह त्यति नै बढी हुन्छ । पहिले हिमालहरूमा विशाल हिउँ हुन्थ्यो । नदीनाला ठूलाठूला हुन्थे । वर्षामा बाढी आउँछ । प्राचीन कालमा पैदलै हिडेर नदी तर्नुपथ्यो । हिउँदमा बिबाहवारी हुने । टाढाटाढाबाट घर आउनु पथ्र्यो । पुल थिएन । टाढा भएकाहरूको केही खवर आउँदैन । असार बित्छ, साउन, भदौ बित्छ, अनि असोजको आधाआधी बितेपछि जव शुक्ल पक्ष आउँछ । वर्षातका भेल साम्य भएका हुन्छन्, पानी सङ्लो भएको हुन्छ । नदी कहाबाट तर्ने भन्ने बुद्धि लगाउनन सजिलो हुन्छ । पारिका मान्छे वारी, वारीका मान्छे पारी जान्छन् । भेटघाट हुन्छ । यो वर्षा त बाँचियो, प्रकृति माथि जित हाँसिल गरियाे भन्ने महसुस हुन्छ सबैमा ।
शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन् । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैको भेटघाट हुन्छ । रमाइलो वातावरण हुन्छ । अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस भनेर आर्शिवाद दिने गरीन्छ । यसरी दसैँ पर्वको आरम्भ भयो कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
नवरात्रिमा देवीलाई अनिवार्य पशुबलि दिने चलनमा सुधार ल्याऔँ । वास्तवमा अहिले पनि काटमार नगर्नेहरूले फर्सी, कुभिण्डो, घिरौंला जस्ता वनस्पति 'बलि' दिएर, जीवहत्या नगरी कालरात्रि पूजा गर्ने धेरै छन् । त्यस्ता कुराको अनुशरण गराैँ ।
दसैँको महत्व, आवश्यकता, मान्ने शैली र व्याख्या बारे बहस हुनु स्वभाविक हो । कुनै चाडलाई धार्मिक भन्दा बढी सांस्कृतिक र सामाजिक दृष्टिले हेर्नु आवश्यक छ । सँगै, धार्मिक, सामाजिक सहिष्णुतका लागि चाडपर्व सहयोगी हुनुपर्छ । चाडपर्वले आपसी सहिष्णुता बढाउन सकोस् । जयन्ती मंगलाकारी संस्कार मानवधर्म साथै पर्यावरणमूलक चाडपर्व हो, पर्यावरण संरक्षणतर्फ पनि सोचौँ ।
कतिपय निश्चित जातिका मात्र हुन्छन् तर हरेक चार्डको पछाडि सुन्दर इतिहास र विज्ञान लुकेको हुन्छ तीनलाई खोज्नु पर्छ । भस्मासुरले आफूलाई छोई हेर्दा आफैँं भस्म हुन पुगेको कथन किन पो दोर्हाईरहनु र ?
जसरी तामझाम सहितको ‘सैनिक उत्सव’ घोडेजात्रामा बदलिदा काठमाडौँ को मौलिक सांस्कृतिक पर्व पाँहाचरे भने ओझेल पर्दै आएको छ । घोडेजात्राभन्दा अजिमाको खट जुधाउने पाँचाहरे र यही बेला पशुपतिमा मनाइने ‘दुदु च्याँ च्याँ’ उत्सवलाई बढ्ता महत्वपूर्ण छन्, तीनको चर्चा हुन् छोडेको छ । दसैँको यो हालत नहोला ।
प्रस्तुत लेखमा अनेकाैँ कडी संलग्न छन् । प्राविधिक कारणले ती कडीहरूलाई यहाँ उल्लेख गर्न सकेनाैँ । यसप्रति सम्पादकमण्डल क्षमाप्रार्थी छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...