विश्व पर्यटन दिवस विशेष

Yubaraj Kandel

Mr. Kadel has been working in the field of environment and development for two decades. Currently, he is a Ph.D. Scholar at LBU.

विदेशी पर्यटकको लागि नेपाल भ्रमण खुला भएको ७ दशक पुगेको छ । यति लामो इतिहास बोकेको नेपाली पर्यटन उद्यमको यात्रा भने निकै सुस्त भएको पाइन्छ । पर्यटन शुरू भएको ५ दशकसम्म पर्यटन व्यवसाय काठमाडौँ, पोखरा, सगरमाथा र चितवन सेरोफेरोमा मात्र केन्द्रित रह्यो । सरकारले पनि विदेशी पर्यटकहरु भित्राउने कुरालाई प्राथमिकता नदिएकोले पर्यटन क्षेत्र ती स्थान बाहेक अन्यत्र विस्तार हुन सकेन । विश्वमा पर्यटन उद्यमको नयाँ-नयाँ क्षेत्रहरूको तीव्र विस्तार भैरहेको बेलामा नेपालमा १० वर्षे माओवादी द्वन्द्वकाे कारणले पर्यटन क्षेत्र फैलिन नै पाएन । पछिल्लो दशकमा भने पर्यटनमा केहि सकारात्मक विस्तार भएको देखिन्छ । खासगरी देश संघीयतामा गैसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारहरूले पर्यटनलाई समृद्धिको आधार बनाउने योजनाहरू अघि सारिरहेका छन् । प्रदेश सरकारले गण्डकी भ्रमण वर्ष, लुम्बिनी भ्रमण वर्ष र कर्णाली भ्रमण वर्ष अनि संघीय सरकारले भिजिट नेपाल २०२० घोषणा गरेर त्यही अनुसारको केही तयारी पनि गरेका थिए तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारणले नेपालमा सबै किसिमका पर्यटन गतिविधिहरू ठप्प भएका छन् । कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र सजिलैसँग उठ्न सक्ने छैन । अझ परम्परागत किसिमको शहरी सम्पदा तथा संरक्षण क्षेत्रमा आधारित पर्यटनले गति लिनको लागि त मेहनत नै गर्नुपर्नेछ । विषम अवस्थामा पनि पर्यटनलाई जोगाउन सक्ने सम्भावना भएका सीमित क्षेत्रहरू छन्, तीमध्ये ग्रामीण पर्यटन सबैभन्दा भरपर्दो क्षेत्र देखिएको छ ।

के हो ग्रामीण पर्यटन ?
गाउँघरमा बसर गाउँकै परिवेशमा त्यहाँकै सुविधाहरू उपयोग गरी घुमफिर गर्नु नै ग्रामीण पर्यटन हो । गाउँका परम्परागत व्यवहार, त्यहाको मौलिक संस्कृति, खेतीपाती वा दैनिक व्यवहारको अवलोकन, गाउँको सेरोफेरोको भ्रमण अनि गाउँमै उत्पादन गरिएका सामाग्रीहरू खाँदै गाउँकै घरमा बस्ने अनि गाउँमै उत्पादन भएका कोशेलीहरू बोकेर जाने गतिविधिहरू ग्रामीण पर्यटनभित्र पर्छन् । ग्रामीण पर्यटन सांस्कृतिक र पर्या–पर्यटनको मिश्रण हो । यसमा व्यावसायिक पर्यटन क्षेत्रको संलग्नता रहदैन र पर्यटकीय लाभको ठूलो हिस्सा ग्रामीण क्षेत्रका बासिन्दाहरूमै रहन्छ । सहरका होटेलमा बसेर गाउँको उत्पादन चाख्ने, गाउँका मानिसलाई बोलाएर सांस्कृतिक झलक देखाउँने र गाउँघरमा घुम्न जाने कामलाई ग्रामीण पर्यटन भित्र राखिँदैन ।

पर्यटन नीतिमा ग्रामीण पर्यटन
राष्ट्रिय पर्यटन नीति २०६५ ले ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाउने नीति समावेश गरिएको छ । मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेशी, आदिवासी जनजाती लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न उक्त नीति समावेश गरिएको हो । सरकारले ग्रामीण पर्यटन उद्योग प्रवर्द्धनका लागि २० वटा कार्यनीतिहरू निर्धारण गरेको छ । ग्रामीण पर्यटनलाई गरीबी निवारणसँग आवद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पर्यटन प्रबद्र्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्याउने, समुदायमा स्थापित आदिवासी जनजातिको परम्परागत ज्ञानमा आधारित सम्पदाहरूको संरक्षण गरी पर्यटन विकास एवं प्रवद्र्धनमा आवद्ध गराउने, स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बिक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध जस्ता कार्यनीतिहरु बनाएर राष्ट्रिय पर्यटन नीतिले ग्रामिण पर्यटनलाई  ग्रामीण क्षेत्रमा स्वरोजगार र आम्दानीका अवसरहरू प्रदान गर्ने सोच राखेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तुतर्फ आकर्षित पर्यटकलाई पर्या–पर्यटन, ग्रामीण पर्यटनसँग आवद्ध गराई उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटन तर्फ आकर्षित गराउनका लागि आवश्यक प्याकेज बनाउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइने कुराहरु पर्यटन नीतिमा समेटिएका छन् ।

पन्ध्राैँ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) मा पर्यटन उपजको विकासमा स्थानीय साधन र उत्पादनलाई प्रोत्साहित गरिने, पर्यटकीय क्षेत्रको दिगो तथा प्रभावकारी व्यवस्थापनका लागि प्रदेश, स्थानीय तह र समुदायसँग सहकार्य गरिने, समुदायमा आधारित ग्रामीण एवम् होमस्टे पर्यटनको विस्तार गरी यस क्षेत्रबाट प्राप्त लाभलाई जनस्तरसम्म पुर्याइने तथा प्रत्येक स्थानीय तहमा स्थानीय विशेषता सहितको पर्यटकीय गन्तव्यको विकास र होमस्टेको व्यवस्था गर्न स्थानीय तहसँग सहकार्य गरिने कार्यक्रमहरू समावेश छन् । प्रदेशका वार्षिक र आवधिक आवधिक योजनाहरूमा पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग जोड्ने कुराहरू आइरहेका छन् । संघीय  र प्रदेश सरकारले मात्र नभएर नेपालका धेरैजसो पालिकाहरूले आफ्नो गाउँबस्तीमा पर्यटक पुर्याएर पर्यटकीय लाभ लिने कुराहरू आफ्ना नीति तथा कार्यक्रमहरूमा समावेश गर्दै आएका छन् ।

अभ्यास
हिउँद लागेपछि चुरे पहाड उक्लनेहरू थुप्रै भेटिन्छन् । पहाड र तराईका विभिन्न ठाउँमा रहेका होमस्टेमा पनि रात बिताउन जानेहरूको कमी हुँदैन । आक्कलझुक्कल विदेशी पर्यटकहरू गाउँघरका पाखा पखेरामा घुमेको देखिन्छ । बजार छेउछाउका गाउँबस्ती, खोलानाला र वन पहाड घुम्ने स्वदेशी घुमुवाहरूको संख्या बढिरहेपनि त्यसबाट ग्रामीण क्षेत्रले लाभ प्राप्त गर्न सकेको छैन । ग्रामीण क्षेत्रमा घुमघाम गर्न जानेहर लोकल कुखुरा र लोकल रक्सीको लोभले पुगिरहेका हुन्छन, यसलाई ग्रामीण पर्यटन कसरी मान्ने ? शहरी जीवन र भागदौडबाट वाक्क भएकाहरू ८/१० घण्टा स्वच्छ र शान्त वातावरणमा रमाउन र फोटो खिचेर फेसबुकमा हाल्नको लागि मात्र गाउँमा पुग्ने क्रम जति धेरै भएपनि गाउँले लाभ प्राप्त गर्न सकिरहेका छैनन् ।

अबको बाटो
ग्रामीण पर्यटनको मुख्य उद्धेश्य पर्यटकलाई गाउँघरका पाखा पखेरा, वनजंगल, रहनसहनमा आकर्षित गरेर गाउँमा बास बस्न बोलाएर आथित्यता प्रदान गरेर्र त्यसबापत आर्थिक लाभ लिनु हो । पर्यटकहरू केहीदिन गाउँकै परिवेशमा भुलेर गाउँका उत्पादनहरू प्रयोग गर्ने र कोशेलीको रूपमा गाउँका उत्पादनहरू लैजान सकेमा मात्र गाउँले पर्यटनबाट लाभ लिन सक्छ । गाउँका कुनै भट्टीमा बसेर रक्सी खाँदै हो-हल्ला गरेर फर्कने वा फोटो खिचेर फर्कनेहरू गाउँमा पुग्दा स्थानीयले लाभ लिन पाउँदैनन् । ग्रामीण पर्यटनलाई लाभदायक बनाउनको लागि स्थानीय बासिन्दाको अपनत्व हुनेगरी सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्छ । कसैले पर्यटकलाई घुमाएर, कसैले बास दिएर, कसैले कोशेली बेचेर अनि कसैले आफ्ना उत्पादनहरू चखाएर लाभ लिन सक्नेगरी पर्यटनका प्याकेजहरू ल्याउनुपर्छ । पर्यटकलाई जतिसक्दो गाउँमा भुल्ने र रमाउने अवस्था निर्माण गर्नुपर्छ । यसका लागि सम्पदाहरूको मौलिक रूपमा संरक्षण, वातावारणीय स्वच्छता, सरक्षित र मर्यादित बसाइँ, सहज यातायात, सामाजिक कुप्रथाको अन्त्य जस्ता कार्यहरू गर्नुपर्छ । आफ्नो वरपरको बारेमा वर्णन गरि पर्यटकलाई आकर्षित गर्न सक्ने जनशक्ति तयार गर्नुपर्छ । शुरूवातमै धेरै पर्यटकलाई गाउँमा पुर्याउन नसकिएला तर गाउँ छोडेर अन्यत्र गएकाहरूले मात्र पनि प्रयास गर्ने हो भने धेरै पर्यटकलाई गाउँमा पुर्याउन सकिन्छ । व्यावसायिक प्रतिष्ठान र संघ सस्थाका बैठक, तालिम, सम्मेलन गाउँमा राख्ने, विद्यार्थीहरूलाई विभिन्न गाउँमा घुमाएर अन्तरसांस्कृतिक घुलमेल गराउने, ठूला पर्यटन प्याकेज र संरक्षण क्षेत्रमा आधारित पर्यटन प्याकेजमा कम्तीमा एउटा ग्रामीण क्षेत्रलाई पनि जोड्ने हो भने ग्रामीण क्षेत्रमा पर्यटक पुर्याउन र पर्यटकीय लाभ लिन पक्कैपनि सकिनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।