मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

उठान बिन्दुः  
याक्थुङ् जातिमा महिलाहरू सुत्केरी भएपछि भोजन दिनुभन्दा पाँचमिनेट अगाडि पकाई बनाएका खानाहरू सेहेँ, सिण्डी, भूतप्रेत तथा चोखे देउताहरूलाई बुझाउनुपर्ने विधि आउँछ । ती विधिलाई साम्फोःप्मा विधि भनिन्छ । यो विधि याक्थुङ् सुत्केरी महिलाहरूको अनिवार्य कर्ममा पर्दछन् ।

सीमाः
यो साम्फोःप्मा विधि भनेको याक्थुङ् (लिम्बू) जातिको महिलाहरू सुत्केरी भएपछि पुरुष बच्चा भए आठदिन र महिला बच्चा भए सातदिन खाना दिनुभन्दा पाँचमिनेट अगाडि गरिने मौखिक र मौलिक संस्कारका प्रयोगहरू हुन् । यो पाःन्थःर् जिल्लाको याम्बोःङ् गाउँ हाल फाल्गुनन्द गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने याक्थुङ् समुदायमा प्रयोग हुँदै आएका विधिहरू उल्लेख गरिएका छन् । यसैक्षेत्रभित्र २०४७ देखि लगभग २०७२ सालसम्म मुन्धुमसाबा तथा संस्कारविद्हरू स्व. स्वरूपसिं याङ्देम्बा नेम्बाङ्, स्व. सुभाष फेजोङ् नेम्बाङ्, स्व. सुवमाया मेयङ् नेम्बाङ लगायत थुप्प्रै बुढापाका र महिलाहरूलाई भेटेर वार्तामा प्राप्त लेखोट हुन् । उहाँहरू अहिले जीवित हुनुहुन्न ।

साम्फोःप्मा विधिको विषयमा पुस्तकहरू मेरो आफ्नो बाहेक प्राप्त गरेको छैन । मलिसा याक्थुङ्बा लिम्बूले संकलन गरी लेखेको पुस्तक ‘याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शास्त्र’ नामक पुस्तकको पेज नं. ३ र ४ मा साम्फोःप्मा मुन्धुम् उपशीर्षक स्रोतको आधार बनाइएको छ ।

सामग्रीहरू र प्रयोगः
साम्फोःप्मा विधिमा चाहिने आवश्यक सामान तथा सामग्रीहरू माङ्थक्ना सिं (माङ्थक्ना काठ), तःक् (भात), सा (मासु), सङ्वा? (जाँडको छोक्रा), फेजा? (खुकुरी),  फएःत् (नाङ्लो) र तक्सिङ् (लौरो) चाहिन्छ ।

माङ्थक्ना काठ, खुकुरी, सुत्केरीलाई दिन तयार गरेका खानाहरूमा भात, मासु, जाँडको छोक्रा आदि नाङ्लोमाथि छुट्टाछुट्टै राख्नुपर्छ । नाङ्लोमा खानाहरू राखेर एकहातले नाङ्लो बोक्ने र अर्को हातले लौरोले नाङ्लोको मुनि भागमा खरःक् खरःक् आवाजमा कोर्दै मुन्धुम फलाक्दै लानुपर्छ । आँगनको अलिक पर या वर, घरको बाहिर कुनै ठाउँमा पुर्याएर नाङ्लोमा बोकेकोे खाद्यवस्तुहरूलाई मुन्धुमसँगै चोखो ठाउँमा खन्याइ दिनु वा फालिदिनु पर्छ । नाङ्लो, माङ्थक्ना काठ, खुकुरी र लौरो भने फिर्ता ल्याउनु पर्छ ।

माङ्थक्ना काठ, खुकुरी, सुत्केरीलाई दिन तयार गरेका खानाहरूमा भात, मासु, जाँडको छोक्रा आदि नाङ्लोमाथि छुट्टाछुट्टै राख्नुपर्छ । नाङ्लोमा खानाहरू राखेर एकहातले नाङ्लो बोक्ने र अर्को हातले लौरोले नाङ्लोको मुनि भागमा खरःक् खरःक् आवाजमा कोर्दै मुन्धुम फलाक्दै लानुपर्छ ।

साम्फोःप्मा मुन्धुम्मा फलाक्ने मन्त्रः
सुत्केरीले खाने खाद्यवस्तुहरू सबै नाङ्लोमाथि राखेर एकहातले बोक्ने र अर्को हातले लौरोले नाङ्लो मुनि कोर्दे फलाक्ने मन्त्रहरू निम्न हुन् ।

को?ओ, चाङ्गो केल?रेर केस्या केबे । माङ्थक्ना केबोःक्खे । कन् सावामा याप्मिःन् तुक्खे मेजाःतेन्नो । चाःमा पि?आसेग्या? । माङ्थक्ना खेने?आङ् कन् चाःमा थुङ्मा चेदे?रे, थुङेदे?रे । सि?या योःक्या केवयिसाङ् हिनि?आङ् बाकन् चेम्मे ते?रेम्मे पि?आसेग्या?रो । लासाङ्गेन् कुसा, पगुगेन् कुदःक्, माङ्वागेन् कुथि को? पि?आसेग्या? । माङ्धक्ना, सुगुप्, फङ्वाःत्, लेछाम्, फुङ्साम्, सोघामुरिङ् केरेक्ले कन् चेम्मे ते?रेम्मे, थुङेम्ते?रेम्मो । आर सि?या योःक्याराङ् चेम्मे । आल्ल कन् सावामाःन् तुक्खे केजाःत्तुम्गर फिसुःम्बु फेया वा, तोःङ्सुःम्बु तोःङ्आङ् वा, साम्जिःक्केन् मुन्धुम्आङ् वा, आल्ल हिनि? पेगेम्मो ।

भावार्थ ‘यहाँ खाउँ–खाउँ लाग्दै गर्दा मरेर गयौ । माङ्थक्ना भयौ । यी सुत्केरीलाई दुःख नदिनु । खान दिएका छौँ । माङ्थक्ना तिमीले पनि खानु पिउनु । वोक्सा–बोक्सी भएपनि तिमीहरूले पनि यहि खानु, पिउनु दिएका छौँ । मासु, भात, जाँड दिएका छौँ । माङ्थक्ना, सेहेँ, सिण्डी, जागित्र, प्रेत, पिशाच सबैले यो खाएर जाउ, पिएर जाउ । अब बोक्सा–बोक्सीले पनि खानु । यसपछि पनि सुत्केरीलाई दुःख दियौ भने हामीसँग खुकुरी, धनुबाण, तन्त्रमन्त्र छ । अब तिमीहरू जाउ है ।’

यो मन्त्र समाप्तसँगै लगेको खाना (खाद्यवस्तु)हरू चोखो स्थानमा घोप्ट्याएर नाङ्लो, माङ्थक्ना काठ, खुकरी र लौरो ल्याउनुपर्छ । अनिमात्र सुत्केरीलाई पकाएको खानाहरू दिनुपर्छ । 

मनोवैज्ञानिक असरः 
साम्फोःप्मा विधि नगर्दा सुत्केरीलाई साँच्चै चोखे लाग्ने, अमन हुने, वमन हुने, खाना अरुचि हुने र दूध सुकेर जाने हुन्छ । आमाको दूधमा असर भई बच्चालाई समेत असर हुने गर्दछ । सुत्केरीलाई बिमार हुने, निद्रा लाग्ने, हाई काढी रहने जस्ता लक्षणहरू देखा पर्दछन् । सुवमाया मेयङ् नेम्बाङ (१९९७–२०७७) अनुसार ‘कत्तिपय सुत्केरी महिलाहरू यसैले पनि प्राण तान्ने गर्दछ । बच्चाहरूले दूध नखाने, वमन् गर्ने, रुने, पखाला लाग्ने समेत गर्दछन् ।’

सुत्केरीका नाममा पकाएका खाना वा कुनै वस्तुहरू अन्य कुनै पनि मानिसहरूले सेवन गर्नु हुँदैन भन्ने विश्वास छ । संस्कारविद् सुभाष फेजोङ् नेम्बाङ् (१९९८–२०६९) भनाई अनुसार ‘यो खाना वा वस्तुहरू सेवन गरेमा असुद्धि, कुवुद्धि र अज्ञानी हुन्छ भन्ने समाजमा विश्वास छ भने देवारी धन्वन्तरीहरूलाई जुठो लागेर धत्तिने समेत हुन्छन् । सुत्केरी सूतक याक्थुङ् समुदायमा २२ दिनसम्म लगातार वार्नुपर्छ । यो सूतक नबारेमा जुठो लागेर धत्तिने, मानसिक असर हुने, शारीरिक असर समेत हुने हुन्छ ।’

सुत्केरी सूतक याक्थुङ् समुदायमा २२ दिनसम्म लगातार वार्नुपर्छ । यो सूतक नबारेमा जुठो लागेर धत्तिने, मानसिक असर हुने, शारीरिक असर समेत हुनेहुन्छ ।’

विश्वासका कुराः
माङ्थक्ना संस्कार र विधि वास्तवमा चोखे हटाउने, बोक्सी हटाउने र अमन हटाउने एउटा विधि हो । यो विधि गरी दिएपछि सुत्केरीलाई खान र पिउनमा रुचि बढ्ने, अमन र वमन नहुने, विमार नहुने, हाई नआउने हुन्छ । बच्चाले दूध खाने, वमन नहुने, नरुने हुन्छन् । यो साम्फोःप्मा गरेपछि त्यस्तो सुत्केरीलाई खानाको रुचि, दूध आउने, बच्चालाई केही नहुने, विमारी नहुने, कअमन र वमन नहुने विश्वास छ ।

माङ्थक्नाः
मुन्धुमविद तथा संस्कारविद स्वरुपसिं याङ्देम्बा नेम्बाङ् (१९७६–२०५८) भनाई अनुसार प्राचीन सभ्यताका बेला याक्थुङ् समुदायमा कुनै एकजना (माङ्थक्ना) खाउँ–खाउँ लाग्दालाग्दै खानेबेलामा उनको मृत्यु भएछ । खाउँ–खाउँ अवस्थामा मरेपछि तिनलाई दप्फन गरे । दप्फन गरेकै स्थानमा माङ्थक्ना रुख उम्रे । ती रूखलाई माङ्थक्ना रूख भनिन्छ । यस माङ्थक्नालाई चोखे पनि भन्न सकिन्छ । माङ्थक्ना चोखे देउताको रूपमा मान्दै आए । याक्थुङ् समुदायमा सुत्केरी अवस्थामा माङ्थक्ना र सुत्केरी बाहेक अन्य स्थानमा चेमाङ् भएर बसे ।

निष्कर्षः
वर्तमान याक्थुङ् समुदायमा माङ्फोःप्मा विधिहरू छोड्दै लगेको देखिन्छ । किनभने आफ्नो संस्कारभन्दा अरूको संस्कार राम्रो देख्ने आँखाहरू याक्थुङ् समुदायमा प्रसस्तै नक्कलेहरू छन् । सफल सुत्केरी भएपछि उनलाई पौष्टिक आहारहरू दिँदा चोखे लाग्ला कि, नजरनाश लाग्ला कि, कुनै भूतप्रेत, बोक्सी डैना लाग्ला कि भन्ने जो परम्परागत रुढिता छ । यस्तो रुढीवादी परम्परालाई विश्वास नगर्ने नेपाली शिक्षाले असर गरे, एकातिर । सुत्केरीलाई वोक्सी डैना नलागेपनि उनलाई अमन हुन्छ । वमन हुन्छ । दूध आउँदैन । निद्रा लाग्छ । हाई आउँछ । वच्चाले दूध खाँदैन र वमन गर्छ । साम्फोःप्मा विधि गरेपछि यस्तो असर नभएको थुप्प्रै प्रमाणहरू आफ्नै आमा, बोजुहरु नै छन् । तसर्थ संस्कार छोड्नु भनेको जाति नै त्याग्नु हो । यो संस्कारले याक्थुङ् महिला सुत्केरीको रक्षा र कल्याण हुन्छ र भलो हुन्छ भने सकारात्मक संस्कार र विधिहरू अपनाउँदा राम्रो हुन्छ । के माङ्थक्ना विधि सुत्केरीलाई गरिदिँदा गट्ठे होइन्छ र ? होइन् ।

तसर्थ सबै याक्थुङ् समुदायले आफैँसँग भएको सुन्दर संस्कारहरू कमखर्चमा गर्नेगरी विधिहरू प्रयोग गर्दै लैजानुपर्छ । व्रत बसी तिजमा रातोसाडी लाएर नाच्दैमा सुन्दर पति पाउँछ भन्ने सामाजिक चलन नभएको याक्थुङ् महिलाहरूले तिज मान्नु अनि बर्थडेमा जन्मदेखि अहिलेसम्मको वर्ष जत्ति ओटा बत्तीहरू निभाएर सुन्दर भविष्य वन्छ भन्ने सामाजिक चलन नभएको याक्थुङ् समुदायहरूले हेप्पी बर्थडे मान्नु अनौठो लाग्छ, या त उनीहरू जस्तो सभ्य बन्ने नक्कल । यस्तो नक्कलले अबको दुईपुस्ता अथवा पचास वर्षपछि हामी को हौँ भनेर पहिचानमा आउनु नै गाह्रो होइएला जस्तो लाग्छ । याक्थुङ् वा खसआर्य या गोरा जाति कुन हौँ भनेर बेपत्ते सम्प्रदायका यत्ता न उत्ता जाति भइएला भन्ने डर लागेको छ । एउटा सोच, सुत्केरी हुँदा माङ्फोःप्मा विधि हिन्दु महिलाहरूले मान्न सक्छ त ? माङ्गेन्ना? विधि क्रिश्चियनहरूले मान्न सक्छ त ? प्रश्न याक्थुङ् सभ्य र वौद्धिक समुदायमा छ । धन्यवाद ।

स्रोतः 
लिम्बू, मलिसा याक्थुङ्बा –याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र (निबुखोला आसपास) २०७३, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेल ललीतपुर
याङ्देम्बा स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८) कोःक्माहिम् याम्बोःङ् पाःन्थःर्
फेजोङ् सुभाष नेम्बाङ् (ज. १९९८/१०/२६ – मृ. २०६९/०५/२९) तिङ्गेक्थुक्पा याम्बोःङ् पाःन्थःर्
मेयङ्, सुवमाया नेम्बाङ (ज. १९९७/१०/०८ – मृ. २०७७/१०/२५) याम्बोःङ्, पाःन्थःर्

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...