गाई काटेको आरोपमा एकजना दलितसहित नौ जना तामाङलाई पक्राउ गरियो
गाई काटेको आरोपमा एकजना दलितसहित नौ जना तामाङलाई पक्राउ गरियो
गाई काटेको आरोपमा एकजना दलितसहित ९ जना तामाङलाई मकवानपुरमा पक्राउ गरिएछ ।
१. अहिले गाइगोरु पुज्ने हिन्दुहरू नै कुनैबेला गाइगोरु काटेर खाने गर्दथे । हिन्दुहरूले गाई खाएको धेरै अध्ययनले देखाएका छन् । महाभारतको शान्तिपर्वमा त्यसबेलाका राजा रान्तिदेवले पाहुनालाई गाइगोरु काटेर ख्वाएको प्रसङ्ग उल्लेख छ भने गौमेध यज्ञ गरेर गाइगोरुको मासु खाने प्रसङ्ग हिन्दु साहित्यमा भेटिन्छ । हिन्दुले गाइगोरु खान छाड्नुको कारणबारे पनि समाज शास्त्रीय अध्ययन भएका छन् । सम्भवतः कृषि प्रयोजनका लागि उनीहरूले गाई गोरु खान छाडे । त्यसैले अहिले गाई गोरु पूजा गरे पनि कुनै समय अहिलेका हिन्दुहरू नै गाई गोरु खाने गर्दथे ।
२. गाई गोरुलाई जबरजस्ती पाल्नैपर्ने हिन्दु अतिवादीको उर्दीले गाइगोरु र तिनका पालक किसान नै सबैभन्दा ठुलो मारमा परिरहेका छन् । भारत र नेपालकै सडकमा समेत गाइगोरुको बेहाल छ, बुढ्यौलीमा कुनै स्याहार नपाएर चिसा सडकमा गाइगोरु छट्पटाइरहेका छन् । त्यस्ता गाइगोरुको अनधिकृत तस्करी भइरहेको छ । आफ्नै जीवन पाल्न नसकिरहेको किसान अनुत्पादक भैसकेका बुढा गाइगोरु ऋण काढेर पाल्नुपर्ने बाध्यतामा छन् । बुढा गाइगोरु पाल्नुपर्ने हिन्दु अतिवादीको उर्दीले किसानको ढाड भाँचिएको छ । पाल्न नसकेपछि सडकमा गाई गोरु छाड्नुको विकल्प छैन । त्यसैले गाइगोरु र किसान दुइटैले मिति सकिएको अन्धविश्वासका कारण कष्ट बेहोर्नुपरेको छ ।
३. कसैले गाई गोरु पूजा गर्नु उसको धार्मिक स्वतन्त्रताको प्रश्न हो तर कसैलाई पुस्तौँदेखि खाइरहेको आहारदेखि वञ्चित गर्नु जातिवाद हो । अझ कसैले आफ्नो आहार लुकेर खानुपर्ने, सिनो खानुपर्ने, डराएर खानुपर्ने स्थिति सहन सकिने स्तरको अत्याचार नै होइन । जङ्गबहादुरको मुलुकी ऐनले मासिन्या मतवालीमा राखेको तामाङमाथि यो देशमा केचाहिँ भएन ? तिनलाई घाटमा टाउको काट्नेदेखि दास बनाउनेसम्म, तामाङ महिलालाई यौन दासी बनाउनेदेखि तिनको श्रममाथि लुट मच्याउनेसम्म, तामाङलाई कपटपूर्ण तरिकाले युद्धमा हराएर तिनको भूमि कब्जा गर्नेदेखि भिमफेदीदेखि शासकको गाडी बोकाउनेसम्म । गर्न सकिने र गर्न मिल्ने जम्मै अत्याचार बेहोरेको छ तामाङले । सबै ठुला दरबारको जग उधिन्ने हो भने तामाङका नलिहाड भेटिन्छन् । साँचो इतिहास लेखियो भने त्यसका प्रत्येक पाना तामाङको रगतले रक्ताम्मे भएको देखिने छ । र, त्यही अत्याचारको निरन्तरता आजसम्म पनि फरक आवरणमा जारी छ । गाई हत्यामा तामाङलाई पक्राउ गरिनु मासिन्या मतवाली बनाएर तामाङ मास्ने क्रूरताकै निरन्तरता हो । धर्म निरपेक्ष देशमा कसैले धार्मिक तुजुक देखाउन गढीमाईमा हजारौँ राँगा केही हप्तामा ढालेर हेरि नसक्नुको बर्बरता देखाउन पाउने, प्रत्येक दिन देवीको मन्दिरमा कलिला पाठा काटेर रगतको खोलै बगाउन पाउने तर कसैले पुस्तौँदेखि खाइ आएको आहारबाट वञ्चित हुनुपर्ने ? सधैँ तामाङले पनि सहेर मात्रै नबस्ला । कि धर्मनिरपेक्षताको कार्यान्वयन गर्नुपर्ने, होइन भने यो जातिवादी राज्यसामु आदिवासी/ जनजाति विद्रोहलाई सामना गर्न तयार रहनुपर्ने विकल्प मात्रै बाँकी छ । पक्राउ गरिएकालाई विनाशर्त तत्काल रिहाइ गरियोस् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...