भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

ज नास्तामा के खाने ? बच्चालाई नास्ताको रूपमा के खुवाउने ? बच्चालाई टिफिन (दिवा खाजा) के पठाउने ? बिरामी वा कुनै आफन्त भेट्न जानु छ के लैजाने ? अपवादबाहेक यी सबै कुराको एक सरल र समान जवाफ भेटिन्छ हाम्रो समाजमा त्यो हो, बजारको प्याकेटमा उपलब्ध भएको खाने कुरा दिने वा लौजाने । जस्तै चाउचाउ, बिस्कुट, प्रिजरभेटिभ मिसाई प्याकेटमा राखिएको विभिन्न प्रकारको जुस, अझ चिसो पेय पर्दाथ हाम्रो संस्कृतिको रूपमा विकसित हुँदैछ भने चाउचाउचाउमिन त राष्ट्रिय खानाको रूपमा ।

भोक लाग्यो कि भोक मेटाउन अहिलेका पुस्ताले खोज्ने खानेकुरा भने उल्लिखित खाना बढी हुन् । जुन खानालाई जंक फुड (पत्रु खाना) भनिन्छ । 

यस्तो कुनै दिन हुँदैन, जुन दिन मानिसहरूले यस्ता पत्रु खानेकुरा नखाएका होस् । खान सजिलो हुने, स्वादिलो हुने जिब्रो लोभ्याउने तथा पेट भरिने हुँदा यस्ता खानाको बढी प्रयोग हुन्छ । तर, स्वास्थ्यलाई हानी गर्छ । बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र लामो समय सम्म टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ र प्रिजरभेटिभको मिश्रण गरिएको हुन्छ । त्यही तत्व हाम्रो पाचन प्राणालिमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरूको खानपान बनिरहेको कुरा विभिन्न अध्ययनले देखाइसकेको छ ।

अक्सर के देखिन्छ भने, जुन चीज खाना स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिक्कै हानिकारक हुन पुग्छ । यस्ता खानेकुराले पाचन प्राणालीका साथै स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

अक्सर हामीलाई जंक फुड स्वास्थको लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि प्रयोग गरिरहेका छौँ । अझ अहिलेको पुस्ताको दैनिकीमा जंक फुड अभिन्न रूपमा जोडिएको प्रष्ट देख्न सकिन्छ । जंक फुडको स्वाद नलिएसम्म उनीहरूको तलतल मेटिँदैन । किनभने जंक फुड तुलनात्मक रूपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफुड सेवन गर्नेहरू बढ्दो छन् ।

के हो त जंक फुड/पत्रु खाना ?

सामान्यतया जंक फुड भन्नाले बजारमा उपलब्ध प्याकेट र बोतलमा प्याक गरिएका र लामो समय राखिएका खाना बुझ्न सकिन्छ । शरीरको लागि फाइदा गर्ने भन्दा पनि स्वाद दिने, मीठो लाग्ने चिल्लो, पिरो, अमिलोजस्ता कुराको मिश्रण गरिएको खाना लाई बुझ्न सकिन्छ । चिल्लो पदार्थ कार्बोहाइड्रेट, खराब पोषणयुक्त चीज, ट्रान्सफ्याट, सोडियम, चिनी तथा अनेक किसिमको रसायन तथा कार्बनको प्रयोग अत्यधिक गरिएका खाना हुन् । जसकाे कारण पाचन प्रणालीमा समस्या आउने, कुपोषण देखापर्ने विशेषगरी मोटोपन जस्ता समस्या देखा पर्ने हुन्छ । खासगरी जंक फुडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ । बजारमा पाइने चाउचाउ बिस्कुट, लेज, कुर्कुरे तथा चिसो पेयपदार्थ यसका उदाहरण हुन् । 

किन स्वादिलो हुन्छ पत्रु खाना ?

जंक फुड बनाउने क्रममा त्यस्ता केही चीज प्रयोग गरिन्छ । जो खानामा एकदम स्वादिलो हुन्छ । (जस्तो चाउचाउमा अजिनामोटाको प्रयोग, मिठाइमा रङ्ग तथा फेलबरको प्रयोग) । तर, हामीले यो भुल्न हुँदैन कि, जुन चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिन्छ, त्यो स्वस्थ्यवर्द्धक हुँदैन । हाम्रो शरीरको लागि अत्यन्तै हानिकारक हुन्छ ।

उदाहरणका लागि सबैले प्रयोग गर्ने चाउचाउ (चिकन भुजिया) जसमा प्रति १०० ग्राममा २२ ग्राम फ्याट हुन्छ भने ५०४.८ केसिएल इनर्जी हुन्छ । त्यस्तै, डबल ह्यामबर्गर खानमा सबैलाई मीठो लाग्छ । तर, यसकाे सेवनले ९४२ क्यालोरी पनि शरीरमा पुग्छ । अर्थात चाउचाउ, वर्गर वा अन्य खानाहरू खानमा त स्वादिलो हुन्छन् । तर, त्यसमा रहेको हानिकारक फ्याटले शरीरलाई उत्तिकै कमजोर बनाइरहेको हुन्छ ।

जंक फुड कसरी चिन्ने ?

बजारमा बेच्न राखिएका खाद्य पदार्थ, जसकाे आकर्षक प्याकिङ्ग गरिएको हुन्छ, लामो समय राखिएको हुन्छ । साथै जसलाई आकर्षक र मीठो देखाउन विभिन्न रङ्ग तथा स्वाद मिसाइएको हुन्छ । जसका लागि उक्त खानेकुराको खोलमा रहेको लेबलिङ्ग हेर्न सकिन्छ । 

चाउचाउ, कुरकुरे, आलु चिप्स, बिस्कुट, लेज, कोल्ड ड्रिंक, पिज्जा, बर्गर, मम, चाउमिन, डोनट, पपकर्न, सबै जंक फुड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ पत्रु खाना हुन् ।

जंक फुडले कस्ताे असर गर्छ ?

पत्रु खानाको प्रयोगले शरीरका विभिन्न प्राणालीमा असर गर्छ । यसकाे पहिलो असर पाचन प्रणालीमा पर्न जान्छ । जसकाे कारण शरीरमा पोषणको अभाव भइ कुपोषण देखिने, मोटोपन आउने, शारीरिक वृद्धिविकासमा बाधा पुग्ने, मानसिक विकासमा अवरोध आउने, जुका पर्ने, आँखाको रोशनी कमजोर हुने, रक्तअल्पता हुने जस्ता धेरै शारीरिक समस्याहरू देखा पर्न थाल्छ्न। 

यसलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छः

१. पत्रु खानाको प्रयोगले, अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौँ । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफुडमा पोषक तत्व हुँदैन । त्यसैले कुपोषण देखा पर्न थाल्छ ।

२. जंक फुडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्‍यौँ भने एक हप्तामै तौल बढ्छ । तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरू, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरूलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरूको घर बन्न पुग्छ ।

३. अहिले मधुमेह तथा मुटुका रोगीहरू बढ्दो छन् । यसको मुख्यकारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, अत्यधिक मात्रामा जंक फूड सेवन गर्ने बच्चाहरू मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिँदैन ।

४. जंक फुडमा सोडियमको मात्रा बढी हुने हुँदा अधिक सोडियम सेवनको कारण मुटुको समस्या निम्तिन सक्छ  । त्यति मात्र होइन, आवश्यकता भन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।

बजारमा पाइने जुस पनि हानिकारक छ त ?

अक्सर बिरामी पर्दा वा हामीलाई स्वस्थ रहनका लागि जुस सेवन गर्न सिफारिस गरिन्छ । फलफूलबाट बन्ने जुस स्वास्थ्यका लागि फाइदजनक पनि हुन्छ । तर, बजारमा पाइने प्रिजरभेटिभ तथा फेलेबर मात्र मिसाइएको जुस जुसले फाइदा होइन, बेफाइदा गर्छ । सामान्य तथा फ्रेस फलफूलको जुस २-३ दिनभित्र बिग्रन थाल्छ तर बजारमा पाइने जुसको अवधि कम्तीमा ९ महिना रहेको हुन्छ । अब आफैँ भन्नुस् यति लामो समयसम्म जुस राख्न कति हानिकारक रसायनको प्रयोग गरिएको होला ?

प्याकेटमा उपलब्ध यी जुसमा विभिन्न फल र फ्लेवर पाइन्छ । तर, त्यो विशुद्ध वा प्राकृतिक फलको जुस होइन । त्यसमा केवल फ्लेवर र स्वाद मिश्रण गरिएको हो । यस्ता परिकारमा रंग र स्वादका लागि अखाद्य पदार्थ पनि मिश्रण गरिएको हुन्छ ।

हानिकारक पेस्ट्री

हामीले बिहान उठ्दाबित्तिकै चिया सङ्ग खाने पाउरोटी, दुनोट, पास्ता तथा अधिकांश पेस्ट्री, कुकी र केक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसलाई तयार गर्नका लागि सामान्यतः रिफाइन्ड चिनी, रिफाइन्ड गहुँको आटा र बाेसो मिसाइएको हुन्छ भने पकाउन प्रयोग भैरहेको तेलको प्रयोग गरिने तथ्री पनि बाहिरिने गरेको छ । त्यसैले यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ । 

के बजारमा पाइने सबै कुरा अस्वस्थ्यकर हुन्छ ?

बजारमा पाइने सबै तयारी खानेकुरा जंकफुड हो, होइन ? बजारमा उपलब्ध खानेकुरामध्ये कतिपय स्वस्थ्यकर हुन्छ ? जंक फुडमा जस्तो अखाद्य पदार्थ मिश्रण गरिएको हुँदैन । तर, त्यसको पहिचान भने गर्नुपर्छ । फ्रेस रूपमा बनेका खाद्य पदार्थ जस्तै फलफूल, रोटि तरकारी आदि ।

निष्कर्षः

जंक फुडको विकास विशेषगरी आपतकालीन अवस्थामा शरीरलाई बचाई राख्नका लागि प्रयोग गर्न निर्माण गरिएको हो । विभिन्न प्राकृतिक विपत्तिकाे अवस्थामा अर्को विकल्प नभेटिँदासम्मका लागि बाँच्नका लागि यस्ता खाना प्रयोग गरिएता पनि नियमित रूपमा यस्ता खानाको प्रयोगले शारीरिक, मानसिक तथा सामाजिकरूपमा समस्या निम्त्याउछ । यस्ता खाना निरुत्साहित पार्नका लागि प्राकृतिकरूपमा पाइने तथा घरमा बनाउन सकिने खानालाई जोड दिनु पर्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...