जग बहादुर बुढा

बुढा साहित्यकार एवं मानवशास्त्री हुन् ।

|

कुरा मिति २०६१ सालतिरको हो । जेठको ९ र १० गते क्रमशः लुङ्जु र तोपार बन छोडे । दुईदिन लुङ्जु र तोपारमा यार्चा टिप्न गैयो । खासै धेरै पाइएन् । उता रुकुमतिरको वन भने माओवादीले पहरा लाएको थियो । प्राय गरी जेठको पहिलो सातादेखि नै रुकुमतिरबाट आएका माओवादीहरूले शहरतारा र रुकुमको सीमामा पहरा लगाउने गर्थे ।

पहिला शहरताराको वनक्षेत्र पानीडालसम्म थियो र पछि जब यार्चा टिप्न शुरू भयो त्यो सँगै वनको महत्व बढ्यो र माओवादीहरूको पकड क्षेत्र रुकुम भएकोले शहरताराले पहिलेदेखि भोगचलन गर्दै आएको वन हडपे । जनयुद्ध कालमा माओवादीको डर र त्रासले वर्षौंदेखिको भोगचलन गर्दै आएको वन गुमाए । नडराओस् पनि कसरी, माओवादीहरू हतियारी हुन्थे, उनीहरूकोविरुद्ध गए जनकारवाही भोग्नु पर्दथ्यो । त्यसताका तिछुरोङ क्षेत्रको शहरतारा र लावन गाविसहरू सदरमुकामको नजिकै भएपनि माओवादीहरूको पकडमा थियो । त्यति मात्र कहाँ हो र त्यस बेलाको यार्चाको लागि मुख्य व्यापारिक केन्द्र धोतारापसम्म माओवादीको पकड थियो । यार्चा टिप्नको लागि संकलन पूर्जी होस् या यार्चा खरिद बिक्रीको लागि व्यापार गर्न होस् माओवादीको अनुमति पत्र लिएर मात्र संकलन र कारोबार गर्नु पर्दथ्यो । वर्षेनि माओवादीले डोल्पाकाे यार्चाबाट राम्रो आम्दानी गर्थे ।

माओवादीले हडप्नु पहिले तिछुरोङ क्षेत्रका गाउँहरूमा प्रचलित प्रथाजनित संस्था ‘जोम्जे’ भन्ने गाउँ सभाबाट यार्चाकुन्बु टिप्न जाने, वन कुर्ने तथा गाउँघरको रीतिथितीहरू बनाउने गर्थे । तर, जब यार्चाकुन्बुको चलनचल्ती भयो, गाउँको रीतिथितीहरूमा पनि माओवादी जनवर्गीय संगठनको दबाब पर्न थाले । गाउँका ठालुहरूलाई जनवर्गीय एरिया इन्चार्जहरूले शोषक र सामान्तीको दर्जा दिँदै विस्तापित गराए । तिछुरोङ क्षेत्रका गाउँहरूमा पनि माओवादी पार्टीका एरिया इन्चार्जहरूको बर्चस्व थियो । तिनै एरिया कमान्डरले यार्चाकुन्बुको वन रोक्ने, फुकुवा गर्ने, संकलन र व्यापारमा निगरानी गर्थे । एकातिर उनीहरू गरिब र निमुखाहरूको हितका लागि भन्थे भने अर्कोतिर उनीहरू आफैँ भने स्थानीय व्यापारीहरूसँग मिलेर जबरजस्ती जनताहरूको यार्साकुन्बु किन्थे र तिनीहरूले भनेको व्यापरीहरू यार्चा बेचेन भने कार्बाही पनि गर्थे । नामचाहिँ माओवादी, गरिब निमुखाहरूको हकअधिकार र समाजमा पिछडा वर्ग, लिंग र जातिको उत्थान भने पनि व्यवहारमा व्यापारीहरूसँग मिलेमतो गरेको देख्दा मनमनै एक किसिमको रिस उठ्थ्यो । रिस उठेपनि रिस थाम्नु बाहेकको विकल्प थिएन । उनीहरूविरुद्ध गाउँमा कसैले केही भनिहाले भने पनि कारबाहीमा परिहाल्थ्यो ।

जेठको १२ गते, रुकुम क्षेत्रको वन छोड्ने खबर थियो । रुकुम क्षेत्रको वनमा धेरै यार्चा पाउँछ भनेर चर्चा हुन्यो । धेरै यार्चा खन्ने आशाका साथ ११ गते बेलुका म र अन्य तीन जना साथीहरू सहित, हामी चारजना साथीहरू त्यसको भोलिपल्ट रुकुमको वनमा यार्चा टिप्न जाने भनेर शहरताराको लेकमा जाने योजनाका साथ हाम्रो क्याम्पबाट बेलुका ४ बजेतिर हिँडियो । बेलुकाको समय घाम डुब्न लागेको थियो । ढुङ्गा अनि खोंच, झाडीको अप्ठयारो बाटो छिचोल्दै, साथीहरूलाई पछ्याउँदै हामी अघि बढ्याैँ । हिँड्ने क्रममा एउटा खोला आइपुग्यो, त्यही खोलाले नै गुम्बातारा र शहरताराको सिमा निर्धारण गरेको छ । हाम्रो नेपालको एक गाउँदेखि अर्को गाउँ र एक गाविसदेखि अर्को गाविस, एक जिल्लाका साँध सिमानाहरू खोला, नाला, पहाड र देउरालीहरूले छुट्टाएको हुन्थ्यो ।

खोलामा पुगे पछि भने रात परी हाल्यो । रात परे पनि हामी टर्च बाल्दै अघि बढ्यौँ । रातको बेला त्यसमा पनि ढुङ्गा अनि झाडीको बाटो छिचोल्दै अघि बढ्दै थियौ । केही पर पुगेपछि, शहरताराको क्याम्पमा बत्ती बलिरहेको र अवाजहरू पनि सुनिन थाले । अब त पुग्न लागेछ भनेर मनमा एक किसिमको उमंग आयो ।

भिरालो खोंच जस्तै त्यसैमा टेन्टहरूमा बलेको बत्तीहरूको मधुरो उज्यालो र टेन्टको छेउ किनारामा बलेको आगोहरू र होहल्लाहरूले ठूलै उत्सव भइरहे हो कि झैँ थियो । शहरतारा तिछुरोङ क्षेत्रको सबैभन्दा ठूलो गाउँ भएर पनि होला । टेन्ट र मानिसहरू टन्न थिए । त्योसँगै त्यहाँ रुकुम र जाजरकोटदेखिका मानिसहरू आउँथे । बल्लबल्ल तीन घन्टाको कडा हिँडाइपछि हामी शहरताराको क्याम्पमा पुगियो ।

हामी एकजना दाइको टेन्टमा पस्यौँ । उहाँ त्यहाँका एक जल्दाबल्दा व्यापारी हुन् । टेन्टभित्र छिर्दा कुनै दोकानमा छिरेको जस्तो महसुस भयो । टेन्टको ढोकानिर पानीको ग्यालिनहरू राखेको थियो, हामीले अभिवादनसहित भित्र छिर्यौं । ती दाइले नि, ‘ए भाइहरू पो, ल आउनुस् भित्र भन्दै हाँस्दै’ स्वागत गरे । टेन्टकोबीच भागमा अगेना थियो, त्यसकाे दायाँ र बायाँपट्टी केही मानिसहरू लस्करै बसेर केही पिउँदै थिए, कसैको अगाडि बियरको बोतल थियो त कसैको अगाडि कोकको बोतल ।

अगेनाको पश्चिम पट्टी ती दाइ बसेका थिए, उनको पछाडि दायाँदेखि बायाँसम्म क्रमशः चाउचाउ, बिस्कुट, लुगालत्ता, बियर, कोक, फ्यान्टा, जुस, व्हिस्कि, चाइनीज अक्षरका लेखिएका केही कार्टुनहरूको चाङ थियो । टेन्टको दायाँ र बायाँमा भने बोराहरू चिनेर राखेको थियो, सायद चामलका बोराहरू थियो । टेन्ट भित्र बसेका प्रायः सबै चिना परिचित नै थियो । दुईतीन जनालाई भने चिन्न सकिएन सायद तिनीहरू रुकुम जाजरकोट तिरका जस्तै थिए । हामीले चिनेकाहरूलाई अभिवादन गरियो । शुरूमा हामीलाई चिया (नुन चिया) ले स्वागत गरे । अनि दाइले के पिउनु हुन्छ भने, हाम्रो दुईजना साथीहरू भने सोल्मारी (रक्सी) लिन थाले, म र अर्को साथीले सोलमारी (रक्सी) नचल्ने भएर हामीलाई जुस दिनुभयो र बिस्तारै कुराकानी हुँदै थियो । भोलि वन कति खेर छोड्ने कुरो छ भन्ने हाम्रो जिज्ञासामा बिहान ९ बजे छोड्ने भन्ने जानकारी पाइयो ।  

जुस र चिया खाएर हामी दुईजना साथीहरू केहीबेर यसो बाहिर तिर निस्केको त छेउको अर्को टेन्टमा नेपाली फिल्म चलेको रहेछ । टेन्टभरि मानिसहरू खचाखच थियो र मानिसहरू फिल्म हेर्दै थिए । अर्को टेन्टमा भने सोलार बत्ती बालेर जुवा खेलिरहेको थियो । अलि उता गएको एकजना साथी भेटे र उनीसँग कहिले आएको कुरा गरियो, ती साथीले फेरि अर्को टेन्टमा लगेर मःम कि चाउमिन के खाउ भनेर अफर गरे, शुरूमा हामी दुईले अब खाना खाने बेला भयो केही नखाउ भन्दा उनले जिद्दी गरी एक पिलेट मःम मागिहाले र खानैपर्ने बाध्य बनाए । यतिखेर मलाई मनमनै लाग्यो र ती साथीलाई सोधिहाले, यहाँ त पूराकापूरा शहरबजार नै पुगेको जस्तो लाग्यो त । ‘हो नि यहाँ यस्तै छ’ ती साथीले भने। त्यहाँ पनि झुण्डझुण्डमा टेन्टहरू थियो । यानिकी टोलटोल । टोलहरूको आफ्नो छुट्टै नामहरू पनि थिए । कुनैको नाम स्याली बजार, कुनै पुतली बजार त्यस्तैत्यस्तै । ती नामहरू कसरी रहन गयो भन्ने मेरो जिज्ञासामा साथीले भने, स्याउली बजारमा पहिला स्याउली नाम गरेकि भन्ने एक जना महिलाले टेन्टमा होटेल थापेको र त्यहाँको नाम स्याउली बजार रहेको र अर्को टोलमा पनि रुकुमतिर एकजना पुतली नाम गरेको महिलाले टेन्ट होटेल गर्ने भाको भएर पुतली बजार राखेको रे भने । वास्तवमा नाम भनेको, मानिसले राखेकोे हो । हिजो मेरो नाम जग बहादुर नराखेर बम बहादुर राखेको भए त आज म बम बहादुर नै हुन्थे होला । हिजो कुनैबेला कलमलाई कलम नै नभनेर कापी भनेको भए आज पनि कलम नभनेर कलमलाई कापी भन्ने थियो होला मैले भने, हो मा हो मिलाए मेरा दुई साथीहरूले पनि । 

साथीले फेरि थपे, यहाँ त पूरा बजार नै जस्तो हुन्छ, दिउँसोदिउँसो यार्चा खोज्न जाने बेलुकाबेलुका मोजमस्ती, यस्तै त हो नि मान्छेको जीवन । यार्चा खोज्न दिउँसो जति दुःख र कस्ट भए पनि बेलुकाको माहोलले दिउँसोको थकानलाई मज्जाले मेटाउँछ । यी र यावत् कुरा गर्दै गर्दा हामी बस्ने दाइको छोरा हामीलाई खोज्दै त्यही आए । खान तयार भयो भनेर आए र ती साथीसँग भोलि बिहान भेट्ने बाचा गरी हामी हाम्रो दाइको टेण्ट तिर लाग्यौँ । खाना खाइयो । दिउँसोभरि यार्चा खोजेर साँझमा फेरि ३ घण्टा हिँडेर आएकोले जिउ निकै थाकेको थियो । खान खाइसकेपछि भने कति खाएर सुतौँ जस्तो भैसकेको थियो । केहीबेरपछि खाना खाइसके हामी दुई साथी सुत्न अर्को टेन्टमा गयौँ र दुईजना साथीहरू भने सोलमारी तान्दै व्यापारी दाइसँग गफिँदै बसे ।

राती अबेर र दिनभरको थकान होला, बिहान सात बजेतिर मात्र निद्रा खुल्यो र हामी दुईजना साथी उठेर व्यापारी दाइको टेण्ट तिर गैयो । त्यहाँ सबै उठेको थियो । भाउजुले चिया बसालेको थियो । केही केटाकेटीहरू चाउचाउ र बिस्कुट किन्न आइरहेका थिए । एक जनाले एउटा यार्सा नै लिएर आए । एउटा यार्चा एउटा दुई चाउचाउ दिएर पठाए । कोहीकोही मानिसहरू उकालो लाग्दै थियो भने हामी खाजा खाँदै थियौँ । खाजामा चिया र चाउचाउ थियो । करिब आठ बजेतिर हामी पनि उकालो लागियो ।

एक घन्टा उकालो चडाइपछि हामी लुङखोल्लो (माझला) भन्ने ठाउँमा पुगियो । बन्दुकदारी जनसेनाहरू तैनाथ अवस्थामा थिए । ती मध्ये एकजना आर्मीको ड्रेस जस्तै र रातो तारा अंकित टोपी लगाएको थियो । उनको वरिपरि ६/७ जथ्थाहरू थियो, प्रायः सबै बन्दुकधारी थिए । मानिसहरू लावालस्करै पूर्जी काट्न काटिरहेको थियो । तीनजना जनसेनाहरूले एउटा पूर्जी काट्दै दुईहजार रुपैयाँ जम्मा गर्दै थियो । पछि हाम्रो पनि पालो आयो हामीले नि दुईदुई हजार तिरेर पूर्जी लिइयो । पूर्जी काट्ने क्रम दुईतीन घन्टा नै चलिरहयो । मानिसहरू धेरै जम्मा भैसके थियो । पूर्जी काट्ने दैरानमा वन ११ बजे छोड्ने भन्ने कुरो सुनियो । सबैजना कहिले वन छड्ला भन्ने आशमा बसेका थिए । सबैको हातमा कुटो र तिखो पारिएको लठ्ठी थियो । त्यसै शिलशिलामा उता मैकोटतिर पनि ७००० जति जना छन् र तिनीहरू पुँपाल पुगेको छैन र उनीहरू त्यहाँ पुगेपछि यताबाट वन छोड्ने हो तपाईंहरू नआत्तेर बस्नु होला भन्दै माइकिङ गरे । 

त्यसपछि भने सबै आआफ्नै धुनमा गफिँदै थिए । हामी पनि गफिँदै थियाैँ । फेरि माइकिङ गर्यो कि अब १२ बजे मात्र वन छोड्ने । एघार बजिसकेको थियो अझै १ घन्टा थियो । मानिसहरूलाई भोक पनि लाग्न थालिसकेछन् क्यारे कोही चाउचाउ र बिस्कुट निकाल्दै फोड्दै खाँदै थिए । मानिसहरू झुण्डझुण्ड बसेर गफिँदै थिए । त्यतिखेर एकजना अधबैंसे मान्छे उनका केही साथीहरू हाम्रो छेउतिर बसेका थिए । मैले तपाईंहरूको घर कता पर्यो भनेर सोधेँ, “तल्लु दामाचौर रुकुम हजुर भने” ।

अनि तपाईंहरू सधैँ यार्चा टिप्न आउनु हुन्छ ? फेरि सोधेँ, “हजुर सधैँ आउने गर्छौ, हाम्रो एकजना साथीको तराली साहु मित छन् । हाम्रो रासन पानी सबै उहाँले व्यवस्था गर्नुहुन्छ, हामीले एकमुस्ट टिपेको यार्चा चल्तीको भाउमा उहाँलाई नै बेच्नु पर्छ । तीन वर्ष भयो लगातार आउन थालेको । पोहोर त राम्रो नै भाको थियो हेरम अब यो वर्षा के हुन्छ । परारको वर्ष शुरूमा आउँदा त गाह्रो भाको थियो लेक लागेर दुईदिन बिमार जस्तै नै भयो, हामी औल (बेँसी)को मान्छे र बानी नपरेकोले होला । तर यसपालि त लेक लागेन” भने । त्यसको छेउमा बसेका एकजना केटा थियो करिब १४ वर्ष जति देखिने, मैले सोधे, उ भाइको नाम के हो ? “मेरो नाम हरि बहादुर बिष्ट हो” भने, मैले फेरि सोधे, यार्चा टिप्न सधैं आउछौँ ? भाइले जवाफ दिए, “सधैँ होइन पहिलो चोटी हो, म कक्षा ८ मा पढ्छु, यसो किताब कापी र कलम किन्ने रुपैयाँ जम्मा गर्न सक्छ कि भने आएकाे” भने । उनीहरूको बोलीमा आशाहरू मिसिएको थियो । त्यही बेला मनमनै लाग्यो कि यो हुलमा कति जनाका आ-आफ्ना सपनाहरू होलान्, कसैले यार्चा टिपेर घर बनाउने, कसैको यार्चा टिपेर गरगहना किन्ने, कोही वर्षभरिको घरखर्ची धान्ने, यी र यस्तै सपनाहरू ।

यी र यस्तै कुराहरू सोच्दै गर्दैगर्दा, फेरि माइकिङ गरे, “सबै तयार रहनु होला अबको १५ मिनेटमा वन छोडिनेछ” भनेर एकजना जनसेनाले जनाउ दिए । माओवादीको यो जनाउ दिने प्रक्रियाचाहिँ राम्रो लाग्यो । मैले फेरि कुरा निरन्तर दिँदै आधाबैँसेले फेरि सोधे, ‘अनि यार्चाबाट कमाएको पैसा के गर्नुहुन्छ त ? उनले जवाफ दिए, “घरमा बालबच्चा तिनको पढाई र घरखर्ची चलाउँछु । यस्तै छ हामी गरिबको जीवन, अब यहाँबाट गएर रोपाईँ गर्नुपर्छ अनि फेरि, हिउँदमा काम गर्न इन्डिया जानुपर्छ” भने ।

यी र यस्तै कुरा गर्दा तीन राउन्ड हावाइ फायर गरिहाले । त्यसपछि तछाडमछाडका साथ मान्छेहरू दगर्नु थाले । त्यही तछाडमाछाडको भिडमा म पनि सामेल भएँ । केहीबेरपछि कोही सो सो (जय जय) भन्दै खन्न थालिसके । यति हतार थियो कि यदि कोही लडेपनि त्यहाँ कसैलाई प्रभाह हुने थिएन । साथीहरू कता छुटेछुटे । म भने एकजना यार्चा टिप्न नाम कहिलिएका दाइको पछि लाग्ने निधोका साथ उनलाई पछ्याएँ । उनी सबैभन्दा अगि त्यसपछि अर्को तीनजना र म चौथोमा थिएँ । उनी अगि अगि टिप्दै जाँदै थियो, हामी पनि यार्चा खन्दै उनलाई पछ्याउँदै अघि बढ्तैथियौँ । टिप्दै दगुर्दै खन्दै दगुर्दै गर्दा, हामी निकै टाढा आइपुगेको थियो । समयको मेलो नै पाएइन । मैले कति टिपे याद भएन, तर ती दाइ र अन्य साथीहरूको यार्चा हालेको पोकोपन्तुर ठूलै थियो । हेर्दाहेर्दै हामी पानीढालसम्म पुगेका रहेछाैँ र उता रुकुमको पुँपालतिरबाट आएका मान्छेहरू पनि त्यतै थियो यार्चा खोज्दै थियो । समय करिब ५ बजिसकेको थियो हाम्रो बगालको दाइले फर्कौ भने, हामी त्यहीँबाट फर्कियौँ ।

दिउँसो जोसमा बाटाका हिउँहरूको याद गरेको थिएन तर फर्किंदा भने बाटामा तीनचार दिन अगाडि परेको हिउँ थियो । ज्यान थाकिसकेको थियो, चारपाँच दिनदेखिको यार्चा खोज्न हिँडेकोले होला । त्यहिबेला थकानसँगै भोक पनि लागिरहेको थियो । भोक नलागोस् नि कसरी बिहान ८ बजे खाएको चाउचाउले कति थामोस् । झोलामा चाउचाउ थियो, म चाउचाउ पारखी होइन, तर मन नपरे पनि केहि बेरको भोक थाम्न भएनि खान बाध्य भएँ, साथीहरूसँग बाँडीचुडी खाइयो । त्यसले केही भएपनि राहातको महशुस भयो ।

जीउ थाकेर लोत भएको थियो । शहरतारा क्याम्प पुग्न अझै दुई घण्टा थियो । थकानले पाहिलाहरू अघि बढ्नै मानिरहेको थिएन । शक्तिहरू पूरै सिद्धिइसकेको जस्तै लागेको जस्तो थियो । हिँड्न मन नै थिएन तर पनि नहिँडी सुखै थिएन । दुईजना साथीहरू भने हिँडिसके, हामी दुईजना साथी भने बिस्तारै हिँड्याैँ । म सबैभन्दा अन्तिममा थिएँ । मेरो साथि अघिअघि म उनलाई पछ्याउँदै थिए । बल्लबल्ल अघि बिहान पूर्जी काट्ने ठाउँमा पुग्यो र त्यहाँबाट तल टेन्टहरू देखिन थाल्यो । गोधुली साँझ हुन लागेको थियो थियो, टेन्टहरूमा आगो बलेको दृश्यहरूले अब पुग्न लाग्यो मनमा झिनो आशा पलायो र अलिअलि शक्ति पलाएको जस्तो महसुस भयो । आधा घण्टाको ओरालो झराई पछि क्याम्पमा पुगौँ । 

[email protected]

जग बहादुर बुढा

लेखकबाट थप...