जग बहादुर बुढा

बुढा साहित्यकार एवं मानवशास्त्री हुन् ।

|

मानव सभ्यताको उदयसँगै वस्तु विनिमय मानव जीवन पद्धतिको एउटा अभिन्न अंग थियो । ढुङ्गे युगको बेलादेखि नै जब मानवहरू झुन्डझुन्डहरूमा बस्ने, घुमन्ते र फिरन्ते जीवन व्यतीत गर्दा देखिबाट एकअर्काबीच मासुसँग हातहतियारहरूको साटासाटबाट प्रारम्भ भएको वस्तु विनिमय, पछि कृषि युग हुँदै मुद्राको प्रचलन नहुँदासम्म विश्वका प्रायः मुलुकहरू चलिरह्यो । जसरी अहिले विश्वव्यापीकरणसँगै एक देशमा उत्पादित वस्तुहरू बडेमान पानीजहाज तथा हवाइमार्ग र रेल मार्गद्वारा सात समुद्र पारी लगिन्छ । त्यसरी उबेला पनि औद्याैगिकरण हुनुअघि पनि महिना दिनको लामो यात्रा गरेर वस्तुभाउहरूको लावालस्कर (क्याराभान ट्रेड) गरेर एक ठाउँको उत्पादित वस्तु अर्को ठाउँको वस्तुसँग विनिमय हुन्थ्यो ।

इतिहासको एक कालखण्डमा कर्णाली समृद्ध थियो । खस साम्राज्यकाे वैभव काठमाडौँ (नेपाल) उपत्यकासम्म थियो । खस साम्राज्यको उदगम भूमि होस् या नेपाली भाषाको उद्गमभूमि, कर्णालीको एउटा आफ्नै विराट इतिहास थियो । भेरी र कर्णाली जस्ता अलौकिक नदीहरूको उद्गम बिन्दु नेपालको इतिहासमा एउटा छुट्टै विरासत बोकेको क्षेत्र हो कर्णाली । त्यस बेलाको कर्णाली एक किसिमको समृद्ध थियो । कर्णालीमा उत्पादित अनाज (खाद्यन्न) तिब्बतमा निर्यात हुन्थ्यो । समृद्ध कर्णाली बनाउने मान्ठाहरू (हिमाली जाति/भोटे, खस, र मतवाली) हरूको कर्मभूमि कर्णाली र तिनै कर्मठ हटारु मान्ठाहरूको इतिहास कोट्याउने प्रयास यो आलेखमा गरिने छ ।

कर्णालीका उच्च हिमाली भूभाग (भोट) तिब्बतसँग सीमा जोडिएका क्षेत्रहरूमा हिमाली जातिहरू, मध्यतिर मगर र मतवाली जातिहरूको बासस्थान रहेको पाइन्छ भने कर्णालीका तल्लो भू–भाग खस र ठकुरीहरू बसोबास क्षेत्र हो । यी तीन क्षेत्रका भूभागहरमा बस्ने मनिसहरूको सम्बन्धलाई नुन, ऊन र अन्नले जोडेको थियो । यी क्षेत्रका बासिन्दाहरूको पेशा कृषि र पशुपालनसँगै लामो दूरीको व्यापार थियो । व्यापारमा विशेष गरी नुन, ऊन र अन्नको विनिमय हुन्थ्याे ।  नुन र अन्न खानको लागि र पुनः विनिमयको लागि प्रयोग हुन्थे भने ऊनबाट वस्त्र बनाएर ती वस्त्रहरू हाटहरूमा बेच्ने गर्थे । यिनै हटारुहरूले नै कर्णालीको अर्थतन्त्र थामेको थियो । हटारुको सम्बन्धलाई नेचाङ (इष्ट) तथा मितमितेरी सम्बन्धले बाँधेको थियो । हटारुहरूको यात्रा तीब्बतदेखि हिमाल, पहाडदेखि तराई र भारतसम्म पनि हुने गर्थे । जसलाई हामी ‘भोट जान्या र हाट जान्या’ भनेर पनि बुझिन्छ । ‘भोट जान्या र हाट जान्या’ प्रक्रियामा सम्बन्धित क्षेत्रमा मान्ठाहरूको आ-आफ्नो भूमिका हुने गर्थे ।

वस्तु विनिमयसँगै विचारहरूको पनि विनिमय हुन्थे । मानिसहरूबीच सम्बन्धहरू स्थापित हुन्थे । हिमालको सम्बन्ध पहाड हुँदै तराईसम्म मानिस स्थापित हुन्थे । भूगोललाई मानिसहरूले जोड्थे र मानिसहरूलाई संस्कृति र सम्बन्धहरूले जोड्थे । समाज आत्मनिर्भर हुन्थे, मेहनेत र परिश्रमले भौतिक रूपमा दुःख भए पनि मानसिक रूपमा सुखी थिए । हाट जान्या भोट जान्यामा सबै उमेर समूह महिला, बालकदेखि वयस्क पुरुष सबै समाहित हुन्थे । प्रत्येक समूहमा एक जना टोली नेता हुन्थे, ती टोली नेताले कहाँ बस्ने, कहिले फर्किने आदिइत्यादिको चाँजोपाँजो मिलाउनेदेखि लिएर बगाल (समूह) लाई सुरक्षित रूपमा आफ्नो गन्तव्य पुर्याउनु पर्ने नैतिक दायित्व हुन्थे । त्यही बगाल(समूह)को बीच बालक र युवाहरू बिस्तारै त्यहीभित्र नेतृत्वको पनि विकास हुन्थे । यी र यावत हेर्दा केही नदेखिने जस्तो तर त्यस भित्र जीवन पद्धति र मानवीय महत्वपूर्ण आयमहरू थियो ‘हाट जान्या र भोट जान्या’ संस्कृतिमा ।

उत्तरमा तिब्बतसँग सीमा जोडिएका हिमाली जातिहरूले वर्षायाममा तिब्बतमा गएर नुन लिएर आउँथे । कार्तिक मंसिरमा त्यही नुन लिएर याकमा जाकेर रोङ (बेंसी) क्षेत्रमा आएर रोङ्बाहरूसँग नुन र अन्न साटासाट गर्थे । रोङ्बाहरूले फेरि त्यही नुनलाई भेडा बाख्रामा जाकेर खसान (म्होन) खस र ठकुरीहरूसँग धानचामल र उवासँग नुन र ऊनको सटाबाजी गर्थे । फेरि खस र ठकुरीहरूले ऊनबाट बनेका वस्त्र, सिलाजित, र जडीबुटीहरू बोकी तराई र भारत सम्म गएर व्यापार गर्थे । ठकुरी र खसहरूले तराई तथा भारतबाट चिया, चुरोट, मसला, धातुजन्य, प्लास्टिक, चिनी आदि लिएर फर्किने गर्थे ।

कर्णालीको हटारुको रुट

कर्णालीका हटारुहरूको चारवटा प्रमुख रुटहरू थिए । ती रुटहरूबाट कर्णलीका हटारुहरूले आफ्नो व्यापार गर्थे । हुम्लाको ताक्लाकोट र लाप्चा, मुगूको नाक्चा, डोल्पाको मरिम, कान्कुन, र क्याटो यी नाकाहरूबाट हुम्ली, मुगाली र डोल्पो आदिवासीहरूले नुन र ऊन ल्याएर रोङ(बेंसी) क्षेत्रमा ल्याउने गर्थे । तिब्बत पठार र मरुभूमि भएकोले त्यहाँ नुन हुन्थ्यो तर अन्नको उब्जनी हुँदैनथ्यो । त्यसैले त्यहाँको लागि अन्न महत्वपूर्ण थियो भने दक्षिण कर्णाली क्षेत्रमा नुन नभएकोले नुन महत्वपूर्ण थियो । त्यही दुई क्षेत्रबीचको वस्तुको आपूर्ति हटारुहरूले गर्थे । तिब्बतबाट ल्याएको नुन उत्तरी नाका हुँदै उपल्लो कर्णालीका बासिन्दाले र मध्य कर्णालीमा ल्याउँथ्यो र मध्य कर्णालीको अन्न फेरि तीब्बत पुर्याउँथ्यो । त्यसबेला कर्णालीमा चारवटा प्रचलित रुटहरू थियो ।

१. एउटा उपल्लो मुगू–करण र जाजारकोट हुँदै दैलेख - उपल्लो मुगुबाट मुगालीहरू र करणीहरूले तिब्बतबाट नुन लिएर खसान (तल्लो मुगु र जुम्ला) क्षेत्रमा ल्याउँथे । त्यही नुनलाई खसान क्षेत्रका खस र ठकुरीहरूले जाजरकोट हुँदै सुर्खेत र दाङ सम्म पनि पुर्याउँथे । 



२. उपल्लो हुम्लाको ताक्लाकोट र लाप्चालाबाट तल्लो हुम्ला हुँदै बाजुरा र अछामसम्म - उपल्लो हुम्ला सन्जाल –ताक्लाकोट नाका एकदमै महत्वपूर्ण नाका थियो । यस वरपर धेरै बस्ती भएकोले पनि त्यो नाका निकै महत्वपूर्ण थियो । उता महाकाली तिरबाट ब्याँसीहरू पनि ताक्लाकोट आउँथ्यो । लाप्चालाबाट लिम्यालहरूले नुन ल्याएर सीमीकोट वरपर विनिमय गर्थे ।

३. त्यस्तै गरी डोल्पा फोक्सुन्दो र रिग्मो तिर बाट नुन लिएर जुम्लाको मनीसाङु, डिल्ली कोटसम्म नुन लिएर आउथे । त्यसपछि ती नुनहरू खस र ठकुरीहरूले बाजुरा र अछाम सम्म पुर्याउँथे ।

४. उपल्लो डोल्पाका डोल्पोहरुले मरिम, क्याटो नाका हुँदै तिछुरोङ क्षेत्रमा नुन ल्याउँथे । त्यही नुन तराली मगरहरूले रुकुम र जाजरकोट सम्म ल्याएर चामलसँग साट्थे ।

केश नं. १

डोल्पा तिछुरोङ क्षेत्रका तराली मगरहरू र उपल्लो डोल्पाका डोल्पो जातिहरू बीच नेचाङ (इष्ट)को सम्बन्ध थियो । कार्तिक मंसिरको महिनामा डोल्पो नेचाङ (इष्ट) हरुले भोटे नुन र ऊन लिएर तिछुरोङ आउने गर्थे । अनि नुन र अन्नको विनिमय हुन्थियो । तराली मगरहरूले आफूलाई चाहिने नुन राखेर बाँकी अधिशेस नुन लिएर फेरि मंसिरतिर दक्षिण खसान क्षेत्र हुँदै रुकुम र जाजरकोटसम्म बाधे (भेडाबाख्रा)मा जाकेर बकर (भेडाको क्यारभान) जाने गर्थे । ती नुन चामलसँग साटेर चैत्र बैशाखमा तिछुरोङ फर्किन्थे । त्योसँग कसैले ऊन र अन्न साटेर ऊनबाट स्वीटर, पटुका, राडी बुनेर जंगलाको लेख छिचोल्दै रुकुम र रोल्पा सम्म पुग्थे । रुकुम रोल्पामा ती समान बेचेर बुट्वल र भारतको कालिम्पुङ र कल्कता सम्म पुगेर चिया, घोडाको घण्टी आदि ल्याएर चित्र बैशाख तिछुरोङ फर्किन्थे । ती समान लिएर फेरि साउन भदौमा उपल्लो डोल्पा (भोट) जाने गर्थे ।

केश नं. २

मुगुको उपल्लो क्षेत्रका मुगूम र करनहरू साउन भदौमा नाम्जाला पास भएर याक क्याराभान लिएर तिब्बतको छेप्तु जान्थे । त्यहाँ मुगालीहरू र तिब्बती ड्रोक्पाहरू नुन र अनाज साटेर मुगालीहरू नुन लिएर आउँथे । मंसिरमा फेरि त्यही नुन र उन लिएर मुगाली र करनीहरू मुगूको गम्गडी आसपास र जुम्लाको सिंजासम्म पुग्थे । त्यहाँ उनीहरूको नेचाङ (इष्ट्) खस र ठकुरीहरू हुन्थे । नुन र ऊन, चामल लगायत अन्य अन्नसँग साट्थे ।

केश नं. ३

हुम्लाको प्रमुख र मुख्य नाका ताक्लाकोट कर्णलीको सबैभन्दा महत्वपूर्ण नाका थियो । यो नाकामा हुम्लाको मात्र नभएर बझाङ र दर्चुलाका ब्याँसीहरू नुन लिन पुग्थे । विशेष गरी हुम्लाबाट नुन लिन विभिन्न समुदायहहरू जस्तै साथ थाप्ले (यारी, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), स्यान्देफाले (खाङ्गल गाउँ, जाडखोल्ची), पाँचसती (केर्मी, दिङ्ना, च्याडुकि, याक्बा, र टाङेन), बाह्रथाप्ले (बुरुङ्शे, तोर्पा, निमाटाङ, र बरगाँउ), लिमी (तिल, हाल्जी र झाङ) आदि ताक्लाकोटमा गएर नुन र अन्न साटेर ल्याउथे । हुम्लामा लिमीका हटारुहरू लाप्चा पास भएर तिब्बत जान्थे । त्यसैगरी, हुम्ला कर्णालीको पश्चिम भेगमा बस्ने दार्मा, मेल्छाम, दिपलाङ र नेप्का बासीहरू भने ताँके खोला हुँदै चाङ्ला पास हुँदै तिब्बत गएर नुन र अन्न साट्थे । सातथाप्ले (यारि, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), त्यही नुन र ऊन याक, जोपालाई जाकेर बाजुरा र आछाम सम्म पुग्थे । त्यसैगरी, पाँच थाप्लेका याक्बाहरू भेडामा नुनको लुकाल(भारी) जाकेर कार्तिकतिर अछाम पुग्थे । त्यसैगरी, हुम्लाका बाह्रथाप्लेहरू पनि भेडालाई नुन बोकाएर रास्कोटधारा हुँदै बाजुरा पुग्थे भने लिमीका लिम्यालहरू तल्लो हुम्ला ठकुरी र खसहरूसँग नुन र अन्न साट्थे । नुनसँग अन्नका साथै खाेर्सानी, चुरोट र मह आदि पनि साट्थे ।  



केश नं. ४

जुम्लाका खस र ठकुरीहरूले नुन, ऊन सगँसँगै जडीबुटीहरू, शिलाजित, कस्तुरीको बिणा आदि लिएर नेपालगन्ज र भारतसम्म पुग्ने गर्थे । तराई तथा भारतबाट मसला, चिया, चिनी, धातुबाट बनेका चीजबीज आदि लिएर आउँथे र ती वस्तुहरू फेरि मुगालीहरूलाई बेच्ने गर्दथे ।

नुन चक्रमा ग्रहण र हटारुको अवस्था

एकछत्र रूपमा चलेको भोटे नुन चक्रमा बिस्तारै सन् १९५९ पछिको ग्रहण लाग्दै गएको देखिन्छ । शुरूमा एकछत्र रूपले चलेको भोटे नुन चक्र बिस्तारै आंशिक हुँदै विस्तापनसम्मको अवस्थामा पुग्यो । भोटे नुन चक्र विस्तापन हुनको कारणहरू बारे मानवशास्त्रीहरू हेमन्ड्रफ (१९७५), जेम्स फिसर (१९८७), केन्नेथ बौएर(२००४) र भूगोलविद बेरी सि. बिसप (१९९०) ले गरेको अध्ययनहरूमा भेटिन्छ । उनीहरूका अनुसार नुन चक्रमा ग्रहण लाग्नुको एक प्रमुख कारण, तिब्बतलाई चीनले आफ्नो अधिनमा राखेर सीमासम्बन्धी नीतिमा कडाइ गर्यो । चीन सरकारले तिब्बतमा भोटेनुनमा अत्यधिक कर बढायो र भोटे नुन उत्पादनमा पनि कोटा प्रणाली लागू गर्यो । जसकाे कारण भोटे नुन महँगो हुन थाल्यो । सिमामा कडाइ कारणले पहिला जस्तो सजिलै आवतजावत गर्न सम्भव थिएन । अर्को पक्ष विकासमा आएको परिवर्तन जस्तै नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्ग तथा हवाइ एयरपोर्टहरूको निर्माण, १९६३ मा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना पश्चात देशी नुन मध्यपहाडी क्षेत्रहरूमा हेलिकप्टर चार्टर गरेर हिमाली जिल्लाहरूमा सहुलियत रूपमा वितरण गर्न थाल्यो । त्यस सँगसँगै भोटे नुनमा खुला भएर आयोडिन नहुने र त्यसको कारण गलगाँड आउँछ भन्ने खालको बजारू विज्ञापन र औलो उन्मुलन जस्ता विविध कारणले भारतीय देशी नुनको बजार बिस्तारमा टेवा पुग्न गयो र फलस्वरूप त्यस्ले पनि भोटे नुन विस्थापन गराउनमा भूमिका खेलेको देखिन्छ ।

नुनको चक्र हराउँदै जाँदा त्यसको प्रत्यक्ष असर हिमाली आदिवासीहरूको ज्ञान, सिप र कलाहरूमा पर्न गयो । नुन बोक्नको लागि याक, जोपा, घोडा र भेडाबाख्रा हुनै पर्थ्याे । लामोधुरीको भोटे नुन चक्रको यात्राको सारथि यिनै वस्तुभाउहरूसँग हुन्थियो । यिनै वस्तुभाउहरूमा भारी बोकाएर भोटे नुन र अनाज लिने ल्याउने गर्थ्याे । जब चीनले सीमा क्षेत्र कडाइ गर्यो, त्यससँगै चरनको लागि असुविधा हुन गयो र त्योसँगै पशुपालन घट्दै गयो पशुपालन घटेपछि उनको पूर्तिमा पनि कमी आउन थाल्यो र ऊनबाट बुन्ने कपडाहरू बख्खु, दोचा, कम्मल आदिको उत्पादनमा घट्दै गयो । त्यससँगै आदिवासी ज्ञान र सिपहरू पनि ओझेलमा पर्दै गयो । आदिवासी ज्ञान, सिप, कलाबाट बनेका लुगाफाटाहरूको सट्टामा नयाँ बजारू लत्ता कपडा र खानाहरूले ठाँउ ओगट्न थाल्यो ।

यसरी ‘हाट जान्या र भोट जान्या’ विस्तापित हुँदै जाँदा र कर्णालीका हटारुको सवालमा नुनको व्यापारको मन्दीपछि जनजीवन झन कठिन र कष्टकर हुँदै गयो । हिजो तिब्बतमा अनाजको निर्यात गर्ने कर्णालीका हिमाली क्षेत्रमा आज त्यही तिब्बततिरबाट चामल आयत गरिरहेको छ । त्यसैले हिजो भोटे नुन चक्रको कालमा तिब्बतमा हाम्रो नेपालको मध्यपहाडबाट अनाज चक्रको विपरीत आज ती हिमाली भूभागहरूमा चामल, मैदा, घ्यू, तथा दैनिक उपभोगको वस्तुहरूको लागि पूर्ण रूपले चीनमा भर पर्नुपरेको छ । त्यहीसँग स्वावलम्बी संस्कृति घट्दै, परनिर्भरता र उपभोग्तावादले प्रशय पाउँदै गइरहेको छ ।



 

जग बहादुर बुढा

लेखकबाट थप...