रिष्ठ गायक प्रेमध्वज प्रधानको दुखद निधनले यसबेला नेपाली  सांगीतिक आकाश धुम्मिएको छ । सन् १९३८ साल जुन ६ गते सिन्धुपाल्चोकको चौतारमा जन्मिएका प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्वरसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोष्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अँधेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । नेपाली संगीत जगतमा उनको योगदान अतुलनिय छ ।  उनकाे निधनसँगै नेपाली संगीत जगतले एक अभिभावक गुमाएकाे छ । नेपाली संगीत जगतमा उनकाे अभाव सधैँ खड्किरहनेछ । प्रेमध्वज प्रधान स्रष्टाकाे नजरमा कसरी बाँचे र बाँचिरहन्छन् "द मार्जिन"ले तयार पारेकाे उल्लेखित सामाग्री तल यसरी प्रस्तुत गरिएकाे छ :

 

लेखक, गणेश रसिक :

आज अग्रज दाजुको स्वर्गरोहणको खबरले अत्यतै दुखी  भएको छु । वास्तवमा नेपाली  संगितमा अहिले जिवित रहनुभएको अग्रज कलाकारमा वहाँ मात्रै हुनुहुन्थ्यो । र मैले उहाँका गीतहरु २० को दशकमा सुनेको हुँ पहिलोचोटी । 'गोरेटो त्यो गाउँको' 'रुक या नरुक' भन्ने गीतहरु गाउनु भएको थियो । त्यतिबेला अाधुनिक गीतहरुमा सबैभन्दा पपुलर गायकको रुपमा हुनुहुन्थ्यो । जब उहाँ स्टेजमा निस्कनु हुन्थ्यो उहाँको क्रेज एकदमै धेरै थियो । नेपाली  संगितमा प्रेमध्वज,नारायण गोपाल र बच्चु कैलाश त्यो समयका आ-आफ्नै विशेषता भएका गायकहरुकाे रुपमा चिन्छु । नेपाली संगितलाई आधुनिकिकरण गर्ने गायकको रुपमा उहाँलाइ सम्झन्छु । र उहाँ प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु ।

 

कवि ,विव्लभ प्रतिक :

प्रेमध्वज दाई अति मृदुभाषी हुनुहुन्थ्यो । सँधै मुस्कुराएर मसिनो स्वरमा कुरा गर्ने । निकै वर्षअघि हाम्रो बारम्बार भेट हुन्थ्यो । भेटमा सङ्गीतकै कुरा हुन्थ्यो ।  केही वर्षअघि भेट्दा हिन्दुस्तानी सङ्गीत अचेल पञ्जाबी सङ्गीतमा बदलिँदै गएको, नेपाली गीतमा काव्यात्मकता हराएको गुनासो मसँग गर्नुभएको थियो । तर त्यो पनि मुस्कुराएर । अरुले के गर्दैछन् भन्दा पनि आफूले के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ भन्नुभएको आजै जस्तो लाग्छ । उहाँको मधूर आवाजमा गीतहरु जति रेकर्ड हुनुपर्थ्याे, त्यो हुन पाएन । यो उहाँजस्तै थुप्रै कलाकारहरुको नियति हो । राजनीतिको डोकोले छोपिएको हाम्रो समाजमा यो आश्चर्यको कुरा पनि होइन । तर, उहाँले गाएका कालजयी गीतहरु चिरकालसम्म गुञ्जिरहने छन् । र हाम्रो मनलाई झङ्कृत तुल्याईरहनेछन् ।

 

संगीतकार/संचारकर्मी, टिका भण्डारी:

प्रेमध्वज प्रधान रेडियो नेपालको संस्थापक गायकको रुपमा लिन्छु । किनकी, २००७  सालपछि  रेडियो नेपालको स्थापनासँगै गीत गाउने गायक मध्येको एक हुनुहुन्छ । रेडियो नेपालमा सिधा प्रवेश चाहिँ २०१३ मा स्वर परिक्षणपछि भएको हो । र नेपाली  संगीत इतिहासमा यो स्वर्णिमकाल भनेर जुन २० देखि ४० को दशक जुन समय छ । त्यो कालमा चाहिँ प्रेमध्वज प्रधानले जे जति गीतहरु गाउनुभयो, आज ति गीतहरु अजर अमर बनेका छन् । गीत संगीत प्रति समर्पित गायक बिरलै छन्  । त्यसकारण पनि उहाँ नेपाली  संगीतको धरोहर हुनुहुन्छ । उहाँको अवसानले नेपाली संगीतमा अभावको महशुस सबैलाइ भएको छ । सबैलाई शाेकाकुल,स्तब्ध,मर्माहत बनाएको छ । अपुर्णिय क्षतिको रुपमा लिएका छाैँ । सबैले सधैँ सम्झिरहने, कालजयी गायकको रुपमा लिएको छु ।

 

साहित्यकार ,राजन मुकारुङ:

आफ्नै पाराको स्वर हो उनको । छुट्टै स्वाद पाइन्छ सुन्दा ।

 

गायक/संगीतकार, सुरेश कुमार क्षेत्री:

व्यक्तिगतरुपमा त्यति नजिक रहने मौका नपाएता पनि उहाँलाइ मैले सारै सिम्पल मानिसको रुपमा बुझेको छु । उहाँका गीतहरु पनि मेरा लागि प्रेरणाका स्रोत बनेको कुरोलाइ म स्विकार्दछु । उहाँको पार्थिव शरिर अब हामीमाझ नरहेता पनि उहाँका कालजयी गीतहरु नेपाली समाजमा आजीवन जिवन्त रहने निश्चित छ । मृतात्माको चिर शान्तिको कामना गर्दछु ।

 

गायक/संगीतकार - कुवेर राई:

अति सफा स्वरका धनि हुनुहुन्थ्याे । मखमली आवाज भन्छन्, सबैले बम्बईमा पनि मन पराइएको स्वर रे । ज्यादै सरल स्वभावका असल अग्रज गुमेको अवस्था हो यो । अभिभावक गुमायौं हामीले । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली।

 

गायिका, बेनुका राई:

उहाँसँग मेरो व्यक्तिगत भेटघाट त भएन तर उहाँकै गीतहरु सुनेर यहाँ सम्म आइपुगेका छौ ।  उहाँ  एउटा राम्रो गायक तथा सर्जक हुनुहुन्थ्याे  ।  उहाँका कालजयी गीतहरु आजसम्म पनि जिवित छ । कति मिठा मिठा गीतहरु गाउनुभएको छ । सायद कमै होला उहाँका गीत नसुन्ने । तर अचानक उहाँको देहवसानको खबरले मर्माहित तुल्याएको छ । एकदमै दुख लागेको छ । यस्तो अवस्थामाबित्नु भो कि हामी भौतिकरुपमा उपस्थित भएर श्रद्वाञ्जली दिन पनि पाएनौँ । सामाजिक सञ्जालैबाट भए पनि मृत-आत्माकाे चिर शान्तिको कामना गर्दछु ।

 

गायिका, झुमा लिम्बु:

उहाँहरुको समयमा संगीतमा जुन एउटा धार चलिरहेको थियो, त्यतिबेला अलि मोर्डन टाइपको गायकीबाट आफुलाई स्टाब्लिस गराएर आउनुभएको हो जस्तो लाग्छ । एकदमै सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँहरुको योगदानको बारेमा हामीले बोल्ने त कुरै आउँदैन । मेरो निमन्त्रणालाई स्विकारेर मेरो पहिलो एल्बम बिमोचन हुँदा पनि  अाउनुभएको थियो । मेरो संगीतकाे यात्रामा पहिलो पाइला राख्दा देखिनै आज सम्म भेट्न पाएँ ,संगत गर्न पाएँ ।  यस अर्थमा चाहिँ म आफुलाई भाग्यमानी  ठान्दछु । तर दुखकाे कुरा चाहिँ अहिले देशको बिकराल परिस्थितिले गर्दा श्रद्धाञ्जली दिन जान पाइएन । दुख लागेको छ । उहाँप्रति हार्दिक श्रद्वाञ्जली ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...