Opinion

मार्च ५, आज कार्ल मार्क्सको  जन्मदिन । मार्क्स, आधुनिक युगलाई सबैभन्दा धेरै प्रभावित तुल्याउने चिन्तक । यिनी बितेर गएको पनि दुई सय एक वर्ष भइसकेको छ । तत्कालिन र आजको समाजमा आकास र जमिनको फरक छैन । औधोगिक युग सुरु हुँदै गरेको त्यो जमाना र आजका संकटहरु र तिनका स्वरुपहरुमा पनि धेरै नै भिन्नता छ । आज हामीले भोगिरहेको सबैभन्दा ठूलो संकट पर्यावरण विनास र जलवायु परिवर्तन को हो जसले सबैभन्दा प्रताडित भुईंमान्छेहरु नै छन् । यो संकट मार्क्सको समयमा देखिएको थिएन । त्यसैले सम्भवत यो विषयमा उनले धेरै कलम पनि चलाइरहन परेन । सायद यसैका कारण हुनुपर्छ उनका अधिकांश राजनितिक अनुयायीहरुको लागि आजपनि जलवायु परिवर्तनको विषय प्रथामिकतामा पर्न सकेको छैन ।

तर, दुई सय ५० वर्ष अघिका उनका केही लेखहरु हेर्दा प्रष्ट हुन्छ कि, आज कार्ल मार्क्स थिए भने ग्रेटा थमवर्गहरुले उठाइरहेको जलवायु परिवर्तनको मुद्धा उनको पहिलो प्रथामिकतामा पर्ने थियो । उनले त्यतिबेलै भनेका थिए कि पुँजिवादले श्रमिकको मात्र शोषण गर्दैन, प्रकृतिको पनि गर्छ । द मार्जिनले मार्क्सको पर्यावरणीय चिन्तनलाई उजागर गर्ने द कन्भरसेसनमा छापिएको टेड बेन्टनको यो लेख अनुवाद गरेको छः  

कार्ल मार्क्स र आजको पर्यावरणीय संकट
 

टेड बेन्टन

‘पुँजिवादी कृषिले श्रमिकहरुको मात्रै शोषण गर्दैन, यसले माटोको पनि शोषण गर्छ । निश्चित समयमा उत्पादकत्व बढाउने प्रक्रियाले माटोको दिगो उत्पादकत्वलाई बर्बाद पार्छ ।’    – कार्ल मार्क्स, पुँजी भाग १

सोभियत युनियनको पतन पश्चात् र अर्थतन्त्रको केन्द्र चीनतिर सोझिएपछि यस्तो लाग्यो कि पुँजिवाद पनि अब सहरकेन्द्रित भएको छ । त्यसपछि, कार्ल मार्क्सका विचारहरुपनि थपक्क इतिहासको डस्टबिनमा मिल्काइयो । यद्यपि, २००८को विश्वव्यापी आर्थिक मन्दीसँगै धेरैजना अहिले मार्क्सका विचार खोज्न त्यही डस्टबिनतिर कुदेका छन् ।

भलो या कुभलोको लागि, यि जर्मन दार्शनिकको विचारले अरु सबै सामाजिक तथा राजनीतिक चिन्तकको विचारले भन्दा बेजोडसँग यो विश्वलाई नै प्रभावित पारेको छ । मार्क्सको गत वर्षको २०० औं वार्षिकीमा पनि मार्क्समाथिको परम्परागत बुझाइकै दबदबा कायम रह्यो । उनका आलोचक तथा अनुयायी दुवै पुँजिवाद तथा साम्राज्यवादले सिर्जेको असमानता तथा शोषणमा केन्द्रित भए । समाजलाई कसरी समाजवादतिर लैजान सकिन्छ भन्ने विषयमा मात्र जोड दिए ।

दुःखको कुरा, मार्क्सले मान्छे र प्रकृतिबीचको सम्बन्धमा के भनेका छन् भन्ने विषयमा भने खासै कसैको ध्यान गएन । यद्यपि, आधुनिक पूँजिवादका कारण मानव लगायत अन्य जीवको अस्तित्वनै खतरामा पर्ने गरि भएको बढ्दो पर्यावरणीय विनास अहिले हामीले भोगिरहेको सबैभन्दा ठूलो चुनौति हो । अहिले देखिएका जलवायु परिवर्तन जस्ता एकदमै विध्वशंक परिणामबाट पनि यो स्पष्ट हुन्छ । 

यसका अलावा अन्य धेरै विध्वंशहरु देख्न सकिन्छ । समुन्द्रमा थुप्रिएको अजैविक फोहोर, वनविनास, भू-क्षयीकरण, र जैविक विविधता एवं भूस्वरुपमा आएको नाटकिय परिवर्तन यस्ता केही उदाहरणहरु हुन् । 

केहीले भन्छन्, अहिलेका समस्याहरु नयाँ छन्, त्यसको समाधानको लागि शताब्दी अघिका मार्क्सका लेखनीमा किन घोत्लिरहनु ? त्यतिबेलाको ज्ञानले अहिले के काम गर्छ र ? तर, वास्तवमा यो समस्याग्रस्त तथा विरोधाभासपुर्ण मानव–प्रकृति सम्बन्धका मार्क्सको लागि आफ्नो जीवनकालभरीकै सबैभन्दा मुख्य चिन्तनको विषय थियो । यस सम्बन्धमा उनको धारणा एकदमै महत्वपुर्ण र अपरिहार्य छ । उनको विचार केही विरोधाभासपूर्ण भने छ, र यसको लागि अरु थप विचार संश्लेषणको आवश्यकता पर्छ ।

प्रकृतिबाट अलगिकरण

मार्क्सका सुरुवातका १८४४ तिरका लेखनहरु विशेषतः पुँजिवादले कसरी श्रमिकहरुलाई अलगिकरण (एक्लोपना)तिर धकेन्छ भन्ने विचार निर्माणमा केन्द्रित छ । मार्क्सले यो अलगिकरणको प्रमुख जडचैं मानिसलाई प्रकृतिबाट विमुख गराउनु नै हो भनेर भनेका छन् । तर मार्क्सको यो धारणामा कमै विज्ञहरुले ध्यान दिएका छन् ।

भूमीको खण्डिकरण र बाँडफाँडले साझा भूमीलाई व्यक्तिगत बनाइदियो । श्रमिकको बहिस्करण पनि साझा भूमिको खण्डिकरणसँगै सुरु हुन्छ । यसपछि अधिकांश ग्रामिण मानिसहरु आफ्नो आवश्यकता पुरा गर्ने भन्दा पनि आफ्नो श्रमशक्ति कसरी उद्योगपती वर्गलाई बेच्ने भन्ने ध्याउन्नेमा लाग्छन् । तर मार्क्सले भौतिक सुखको मात्रै कुरा गरेका छैनन्, प्रकृतिसँगको सम्बन्धबाट पाउने आनन्दबाट अलग्गिएर मानिसले कसरी जीवन जीउने शैलीनै बिगारेका छन् भन्ने कुरा पनि उनले गरेका छन् ।

पुँजिवाद पर्यावरणीय दृष्टिकोणबाट पनि दिगो छैन, त्यसैले प्रकृतिसँग र अन्य जीवहरुसँगको सद्भावपुर्ण सह–अस्तित्वको लागि समाजवाद आवश्यक छ ।

त्यस्तै मार्क्सका सुरुवाती लेखनहरुले इतिहासप्रतिको उनको दृष्टिकोण उजागर गरेको छ । यसमा उनले भनेका छन् कि श्रमिक सँगसँगै प्रकृतिको पनि शोषण अघि बढ्छ । मार्क्सका अनुसार भावी साम्यवादी समाजले मानिस–मानिसबीचको सँगसँगै मानिस र प्रकृतिबीचको द्वन्दको पनि समाधान गर्नुपर्छ । यति भएपछि मात्रै मानिसले सद्भावपुर्वक ढंगमा आफ्ना आवश्यकताहरु पुरा गर्न सक्छ । र, आफू लगायत प्रकृतिका अन्यसँगपनि समन्वयनात्मक तवरले अस्तित्व कायम राख्न सक्छः

मानव प्रकृतिमा बस्छ, यसको अर्थ प्रकृतिनै उसको शरिर हो । यदि उसलाई बाँच्नु छ भने प्रकृतिसँगको उसको आदान–प्रदानको निरन्तरता आवश्यता पर्छ । मानिसको भौतिक शरिर तथा चेतना प्रकृतिसँग जोडिएको हुन्छ किनकी प्रकृति आफै मानवसँग जोडिन्छ । मानिस प्रकृतिकै एक हिस्सा हो ।

यि लेखनका माध्यमबाट मानव–प्रकृतिको सम्बन्धको ज्ञानका विषयमा मार्क्सले ठूलो योगदान पुर्याएका छन् । उनी त मानव प्रकृतिका सबै कुराभन्दा सर्वैसर्व हो भन्दै मानिसलाई अन्यबाट अलग्याउने लामो दार्शनिक परम्परालाई भत्काउँदै अघि बढेका छन् । उनका अनुसार, मानव अस्तित्व अनि आन्तरिक शान्तिको  लागि पनि प्रकृतिका अन्य वस्तुसँग निर्वाद एवं सक्रिय सम्बन्ध हुन जरुरी छ । अझ उनले यो पनि भनेका छन् कि, पुँजिवादी युगमा यो प्रकृति-मानव सम्बन्ध गलत दिशातिर गइरहेको छ ।

समस्या पुँजिवादमा छ, मानवमा होइन

उनले उत्पादन प्रक्रियाको अवधारणासँगै पछिल्ला लेखनमा यसको ब्याख्या गरेका छन् । मार्क्सका अनुसार, इतिहासदेखि आजसम्म संसारका हरेक मानव समाजसँग प्रकृतिसँगको समन्वयनमा श्रम गर्न र आफ्ना आवश्यकता परिपूर्ति गर्न श्रमिक परिचालनका आ–आफ्ना खास शैली हुन्छन् । र, श्रमको परिणाम बाँडफाँडका पनि आ–आफ्नै तौरतरिका छन् । उदाहरणको लागि शिकारी समाजमा समानतामुलक ढंगले शिकारको विभाजन गरिन्थ्यो । तर, जमिनदारी तथा दास प्रथाले असमान र शोषणमुलक सामाजिक सम्बन्धको निर्माण गर्यो । अझ औधोगिक पुँजिवादले अझै महँगो र विध्वशंक परिणामहरु ल्याएको छ ।

तर उत्पादन प्रक्रियाको अवधारणले जनसंख्या, लोभ तथा मानविय प्रवृतिले निम्त्याउने पर्यावरणीय दुर्दशाको विषयलाई  भने छाँयामा पारिदियो । हरेक सामाजिक परिवेशको आफ्नै पर्यावरण हुन्छ । पुँजिवादका कारण हामी पर्यावरणीय संकट भोगिरहेका छौं, मानवीय कारणले होइन । यसलाई सम्बोधन  गर्ने हो भने पुँजिवादले कसरी प्रकृतिमाथि हस्तक्षेप गरिरहेको त्यो हामीले बुझ्नुपर्छ ।

हामीलाई हरित मार्क्सवाद चाहिएको छ, पर्यावरणीय मार्क्सवाद चाहिएको छ  ।

मार्क्सले नै यो बुझाइको सुरुवात गरेका थिए । १८६० को दशकमै उनले माटोको क्षयिकरणका विषयमा लेखेका थिए, यो त्यतिबेलाको एकदमै महत्वको विषय थियो । सहर र गाउँको विभाजनले कसरी जमिनको उर्वराशक्तिमा ह्रास आइरहेको छ, र सहरमा कसरी जनघनत्व, प्रदुषण र रोग बढ्दैछ भनेर उनले त्यतिबेलै लेखिसकेका थिए । आधुनिक लेखकहरुले यिनै विचारलाई अरु अगाडी बढाए । यीनकै विचारमा अडिएर स्वर्गिय जेम्स ओ कर्नर तथा समाजशास्त्री जोन बेलामी फोस्टर लगायतले प्रकृतिमाथि हस्तक्षेप गर्दै पर्यावरणीय विध्वंश गर्नु पुँजिवादको आधारभूत चरित्र भएको ठहर गरेका छन् । बेलायतको रेड ग्रिन स्टडी ग्रुपले पनि मार्क्सले अगाडी सारेको पर्यावरण र पुँजिवादको सम्बन्धलाई अघि बढाएका हुन् ।

मैले माथि नै उल्लेख गरेको छु कि मार्क्सको विचार एकदमै महत्वपुर्ण छ तर विवादास्पद पनि । कतिपय ठाउँमा उनले अकुद  उत्पादन तथा पुँजिवादले प्रकृतिमाथि गरेको नियन्त्रणमा गौरव  व्यक्त पनि गरेका छन् । यस्तो लाग्छ कि उनी भन्दैछन्, समाजवाद आवश्यक छ तर उत्पादनको सबैमा समुचित बाँडफाँडको लागि मात्र । अहिलेका आधुनिक विज्ञले मार्क्सको यो अवधारणाको खण्डन गरिसकेका छन् । तर ऐतिहासिक रुपमा मार्क्सको अवधारणाको एकदमै महत्वपुर्ण छ । स्तालिनले रसियामा गरेको अत्याधिक औधोगिकरणको विध्वशंक परिणाम पनि यसकै उपज थियो ।

तर अर्को पनि तर्क छ । नयाँ पर्यावरणीय–मार्क्सवादी भन्छन् – पुँजिवाद पर्यावरणीय दृष्टिकोणबाट पनि दिगो छैन, त्यसैले प्रकृतिसँग र अन्य जीवहरुसँगको सद्भावपुर्ण सह–अस्तित्वको लागि समाजवाद आवश्यक छ । तर, यस ढंगले समाज रुपान्तरण गर्न हामीले प्रकृतिसँगको मानवको सद्भावपुर्ण सम्बन्धका बारेमा मार्क्सले सुरुवातमा दिएका विचारहरुमा जोड दिन पर्छ । छोटकरीमा भन्दा, हामीलाई हरित मार्क्सवाद चाहिएको छ, पर्यावरणीय मार्क्सवाद चाहिएको छ । 

टेड बेन्टन युनिभर्सिटी अफ एसेक्स, समाजशास्त्रका प्राध्यापक हुन् । उनी रेड ग्रिन स्टडी ग्रुप तथा र ग्रिन पार्टीसँग आवद्ध छन् ।

द कन्भरसेसनबाट

फोटो: द गार्जियन 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...