बार्सिलोना समर्थकले धानेको क्लब होला । तर, चरम–पूँजीवादको यो जमानामा आधुनिक फुटबल आफैँमा विश्व बजारको एउटा माल वा कोमोडिटी मात्रै हो । यहाँ हरेक चीजको, अझ मेसीको पनि एउटा भाउ हुन्छ, मेसी फगत एक माल बन्छन् माल । हरेक कुराको भाउ वा मूल्य हुने अनि महत्व चाहिँ केहीको नहुने फुटबल उद्योगको यो प्रवृतिको कुनै विकल्प छ ?
- बेन रे
मेसी र बार्सिलोनाबीचको २१ वर्षे लामो सुन्दर प्रेम सम्बन्ध एउटा चिसो र कठोर ऋणको विषयले टुङ्ग्याइदिएको छ । मानौँ यो कुनै रोमान्टिक फिल्मको दुःखद अन्त्य हो । मेसीलाई बार्सिलोना छोड्न मन थिएन, बार्सिलोनालाई पनि मेसीलाई त्याग्न पटक्कै मन थिएन । तर, यी दुवै पार्टी भन्दा बलियो अर्को तत्वले यिनलाई टुटाइदिएको छ ।
अगस्ट ८ को पत्रकार सम्मेलनमा यी सर्वकालीन महान् खेलाडी क्यामेरा सामु रोएका छन् । ‘मसँग क्लब छोड्नुको विकल्प रहेन, क्लब अरु धेरै ऋणमा फस्न चाहेन’ क्याटलानका सञ्चार माध्यमलाई मेसीले बताएका छन् ।
अहिले बार्सिलोनाका समर्थकहरू धेरैतिर औँलो उठाउँदै यसको जवाफ खोजिरहेका छन् । क्लबका प्रबन्धकहरूलाई गैरव्यवस्थापनको आरोप लागेको छ । ला–लिगाले नीति नियम उल्लंघन गर्ने गरेको आरोप लागेको छ । मेसीलाई पनि क्लब भावना भन्दा बढी पैसाको लोभ भएको आरोप लागिरहेको छ । त्यसोभए यी अर्जेन्टिनी सुपरस्टारको पीडादायक बार्सा–बहिर्गमनको खास कारण चैँ के हो ?
आरोप–प्रत्यारोप
मेसीले हतासमा बार्सिलोना छोड्ने बित्तिकै आरोप–प्रत्यारोपको जुहारी पनि शुरू भइहाल्यो । निश्चय नै त्यहाँ धेरैले जिम्मेबार हुन पथ्र्यो । समर्थकको भरमा टिकेको यो क्लब ब्यवस्थापनमा यसरी चुकेको थियो कि यसले प्रत्येक १.१७ डलर कमाउँदा खेलाडीको तलबमा मात्रै उसले १.३० डलर खर्चन्थ्यो । ठूला स्टार भित्र्याउन र तिनलाई मोटो रकम तलबमा दिँदा अहिले क्लबको ऋण मापदण्ड भन्दा माथि एक बिलियन युरो नाघिसकेको छ ।
क्लबमा रहनको लागि आफूले सक्ने जति त्याग गरेको मेसीको दावी छ । अनि उनीे ५० प्रतिशत तलब कटौती गर्न पनि राजी भएका थिए । तर, उनको पुरानो सम्झौता नै यति महँगो थियो कि यो पछिल्लो चार वर्षमा उनले ५५५ मिलियन युरो लिएका थिए । यो कुनै पनि खेलाडीले इतिहासमै लिएको अहिलेसम्मकै अपत्यारिलो मोटो रकम हो ।
हस्ताक्षरको लागि मात्रै आफ्नै क्लबले उनलाई ११५ मिलियन युरो दिएको थियो भने क्लबप्रति अपनत्वको भावनाको कारण बोनस मात्रै ७८ मिलियन युरो दिइएको थियो ।
यति प्रचुर पैसा पाइसकेपछि अहिले आफ्नो प्रिय क्लब संकटमा परेको बेला एक वर्ष उनले सित्यैमा खेलिदिएर क्लबलाई उकास्न सक्थे । यति गर्दापनि पछिल्लो आधा शताब्दी अत्यधिक कमाइ गर्ने खेलाडीमा उनलाई कसैले उछिन्ने थिएन ।
अर्को भयो ला–लिगा । यसले स्पेनिस फुटबलका दुई ठूला लिगहरू सञ्चालन गर्छ । २०१३ मा यसले आफू मातहतका क्लबहरूलाई तिनको क्षमता मुल्याङ्कन गर्दै तिनले एक सिजनमा खेलाडीमाथि गर्ने खर्चमा हदबन्दीको नियम ल्यायो । अहिले महामारीका कारण परेको आर्थिक असरका कारण बार्सिलोनाले खेलाडीको खर्चमा ४७.१ प्रतिशत कटौती गर्नुपर्ने ला–लिगाले आकंलन तय गर्यो । जस अनुसार, बार्साले यो सिजन कुल खेलाडी खर्च ६५६ मिलियन युरोबाट कटौती गरेर ३४७ मिलियन युरोमा झार्नपर्ने देखियो ।
ला–लिगाले हदबन्दीको नियमलाई पुनर्विचार गर्न नमानेकै कारण मेसीलाई क्लबमा अनुबन्द गर्न नसकिएको बार्साका अध्यक्ष जोआन लापोर्टेले बताएका छन् । तर, अरु १९ क्लबसिहत बार्सिलोनाले पनि २०१३ मै यो सम्झौतामा हस्ताक्षर गरेको थियो । बार्साले यो विषयमा खर्चको हदबन्दीलाई लिएर ला–लिगालाई दोष दिनु भनेको उपचार गरेर ज्यान बचाएको चिकित्सकलाई गाली गर्नु जस्तै हो । अरु अकुत खर्च बढाएर बार्सिलोनाको आर्थिक संकट टर्नेवाला छैन, स्थिति झनै धरासायी हुनेछ । ला–लिगाको नियम त क्लबलाई नै धरासयी हुनबाट बचाउनको लागि हो ।
त्यसो त ला–लिगा समेत मेसीलाई स्पेनमै राख्न आतुर थियो । त्यसैले गत हप्तामात्र लिगको १० प्रतिशत सेयर हिस्सा पार्टनर नीजि कम्पनी सिभिसिलाई बेच्न उ राजी भएको थियो । यसबाट २० वटै क्लबलाई अतिरिक्त तीन बिलियन डलर हात लाग्छ ।
आर्थिक सहयोगले मेसीलाई अनुबन्द गर्न सहयोग पुग्ने त लापोर्टेले बताए । तर, लिगको भविष्य विशेषत टेलिभिजन प्रसारणको अधिकार बेच्ने जस्तो दलाली कामको उनले समर्थन नगर्ने पनि जनाए ।
संरचनात्मक समस्या
बार्सिलोना समस्याबाट गुज्रिरहेको थियो । यस्तो स्थिति आउने सम्भावना हुँदाहुँदै पनि उ ठूला फुटबलरको लागि ठूलो राशी खर्चिरहेको थियो । यसबाट बच्ने उपाय थियो । तर उ मेसी युग समाप्त हुनै लाग्दा पनि केही खास खेलाडी अनुबन्धित गर्दै विश्वका दुई–तीन मुख्य क्लबभित्र रहिरहन चाहन्थ्यो ।
यो सवालमा एकातिर चिरपरिचित प्रतिद्वन्दी रियर म्याड्रिडसँगको प्रतिस्पर्धा त छँदै थियो, अर्कोतिर बार्सा विश्वस्तरमा पनि आफ्नो दवदवा कायमै राख्न चाहन्थ्यो । उसलाई टेलिभिजन प्रशारणबाट दिगो आर्थिक ब्यावस्थापन गरिरहेका प्रभावशाली इङ्गिस फुटबल टिमको पनि चुनौती छँदै थियो । उता कतारी पैसाको खोलो बगाउन सक्ने पेरिस सेन्ट जर्मनले पहिल्यै नेमाइरलाई फकाएर क्याटलन राजधानीबाट लगिसकेको थियो । र, अहिले यसले आफ्नो पोल्टोमा मेसी पनि पारिसकेको छ ।
अझ साँच्चिकै भन्नुपर्दा अघिल्लो अध्यक्ष जोसेफ मारिया बर्टमिउको नेतृत्वमा नै बार्साले खेलाडी अनुबन्धमा अदुरदर्शीता देखाइसकेको थियो । करोडौँ खर्च गरेर उसले फिलिप कौटिन्हो, ओस्माने डेम्बेले र एन्टोनियो ग्रिजम्यान जस्ता खेलाडी भित्रियायो । यी तीनै खेलाडी फ्लप भएर निस्के । अल्पकालीन सफलताको पछि लाग्दा यसले अरु सुझबुझसँग अनुबन्द गर्ने युरोपेली प्रतिद्वन्दी र बार्साबीच आर्थिक असमानता निम्त्यायो ।
टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट आउने रकमको अन्तरकै कारण बार्सिलोना, रियल म्याड्रिड र इटालियन महारथी जुभेन्टस युरोपियन सुपर लिगको पछि हात धोएर लागेका थिए । ६ इङ्गिस फुटबल टिमले पनि सुपर लिगमा हस्ताक्षर गरेको भएपनि समर्थकहरूको विरोध आउनासाथ अप्रिलमै आफ्नो निर्णय फिर्ता लिएका थिए ।
यी तीन क्लबहरू पैसा आफ्नो निन्त्रणमा आओस् भनेर अझैपनि युरोपियन ठूला क्लबहरूको अर्को छुट्टै प्रतिस्पर्धा सञ्चालन गर्न खोजिरहेका छन् । वास्तवमा अब सुपर लिगको अवधारणा तिनको लागि घरेलु लिग र युइएफएसँग आम्दानीको लागि दलाली गर्ने माध्यम मात्र भएको छ । उनीहरू आफूलाई अनुकुल हुने आर्थिक नीति अख्तियार गराउने ध्याउन्नेमा हुनेछन् ।
ला–लिगाको प्रत्यक्ष प्रसारणको आम्दानी पहिल्यैदेखि मात्र दुई क्लब रियल र बार्सामा सोहोरिँदै आएको छ । तर, ला–लिगाका अध्यक्ष अझै कताबाट यी दुई क्लबलाई धेरै भन्दा धेरै आम्दानीको जोहो गर्न सकिएला भन्ने दवावमा छन् । ता कि यी दुई क्लब अन्तराष्ट्रिय स्तरमा शक्तिशाली ब्राण्डको रूपमा रहिरहुन् ।
ठूला भनिएका क्लबले निम्त्याएको असमानतासँग जुध्न खेलाडीको पारिश्रमिक, एजेन्टका शुल्क जस्ता कुराहरूमा नियन्त्रण हुनैपर्छ । अनि सबै क्लबमा बराबर रूपमा प्रत्यक्ष प्रसारणबाट उठ्ने रकम जाने परिपाटी बसाल्नुपर्छ । अनि साना तहका ग्रासरुट फुटबललाई पनि निश्चित रकम जाने व्यस्था गर्नुपर्छ । यति गर्न सके श्रमिक वर्गले स्थापना गरेको फुटबल संस्कृतिमाथि न्याय मिल्छ ।
ला–लिगाका यि प्रमुखको ध्येय नै यही हो । नयाँ आर्थिक हदबन्दीको नियम आएको एक वर्षपछि २०१४ मा उनले भनेका थिए कि उनी संसारकै ५०० उत्कृष्ट खेलाडीले ला–लिगामा खेलुन् । अनि इङ्गिस प्रिमियर लिगलाई पछि पार्दै फुटबल ला–लिगा संसारकै सबैभन्दा सफल घरेलु लिग बनोस् । तर त्यतिबेला ला–लिगामा दीर्घकालीन रूपमा आर्थिक प्रबन्ध गर्न नसके त्यसले कस्तो असर पार्छ भन्ने कसैले सोचेन ।
ऋणमा विश्व
मेसीको बार्सा–बहिर्गमनको नाटकले देखाएको छ कि कर्परेटहरुमा उतार–चडाव आउनु सामान्य कुरो हो । कहिलेकाहीँ तिनको क्रृणले तिनलाई डुबाउँछ र उठ्न कठिन हुन्छ । विश्वको जिडिपिमा कुल कर्पोरेट ऋण २०२० बाट २०२१ मा आइपुग्दा ९३ प्रतिशतबाट बढेर १०२ प्रतिशतमा आइपुगेको छ २००८ मा यसको प्रतिशत कुल ७८ थियो । कर्पोरेटको ऋणको प्रवृत्ति घरायसी र सरकारी क्षेत्रकोसँग मेल खान्छ ।
अहिले बार्सिलोनाको जसैगरि विश्वभरि मन्दी र ऋण छ । जति धेरै लगानी जुटाउन सक्यो त्यति धेरै व्यापार र मुनाफा आउने सिद्धान्तका अनुसार ऋणको मतलब आर्थिक वृद्धि पनि हो । तर वास्तविकतामा भने आर्थिक वृद्धिको पनि एउटा सीमा हुन्छ । चाहे त्यो महामारीको कारण होस् या खराब सट्टा बजारको कारण । जब त्यो सीमा पार हुन्छ अनि ऋणले पनि धान्दैन ।
बार्सिलोना समर्थकले धानेको क्लब होला । तर, चरम–पूँजीवादको यो जमानामा आधुनिक फुटबल आफैँमा विश्व बजारको एउटा माल वा कोमोडिटी मात्रै हो । यहाँ हरेक चीजको, अझ मेसीको पनि एउटा भाउ हुन्छ, मेसी फगत एक माल बन्छन् माल । हरेक कुराको भाउ वा मूल्य हुने अनि महत्व चाहिँ केहीको नहुने फुटबल उद्योगको यो प्रवृतिको कुनै विकल्प छ ?
ठूला भनिएका क्लबले निम्त्याएको असमानतासँग जुध्न खेलाडीको पारिश्रमिक, एजेन्टका शुल्क जस्ता कुराहरूमा नियन्त्रण हुनैपर्छ । अनि सबै क्लबमा बराबर रूपमा प्रत्यक्ष प्रसारणबाट उठ्ने रकम जाने परिपाटी बसाल्नुपर्छ । अनि साना तहका ग्रासरुट फुटबललाई पनि निश्चित रकम जाने व्यस्था गर्नुपर्छ । यति गर्न सके श्रमिक वर्गले स्थापना गरेको फुटबल संस्कृतिमाथि न्याय मिल्छ ।
यद्यपि, यस्ता प्रावधानले पनि बार्सिलोना जस्ता ठूला फुटबल क्लबहरू टाट पल्टने विषयको भने सम्बोधन हुने छैन । यसले त्यो समस्या झनै बल्झाइदिनेछ । ठूला क्लबलाई ठूलो खर्च र क्रृणसँग जुध्न ठूलै पैसा चाहिन्छ । ऋण एउटा डरलाग्दो पासो हो । र, यसबाट फुत्कन गाह्रो छ ।
ऋणको समस्याबाट मुक्त हुन परिवर्तनकारी हिसाबले सोच्नपर्छ, अर्थशास्त्री स्टेध किनले भनेजस्तो । ऋणबाट मुक्त हुन बैंकले नै दिँदैन । फुटबलमा पनि यसको समाधान हुन्छ भन्ने कसैलाई आस छैन । तर, बार्सिलोनाबाट मेसीको बहिर्गमन प्रक्रियाले कसरी क्रृणले फुटबलको दुनियाँ लगायत हाम्रो जीवनमा शासन लादिरहेको छ भन्ने बहस भने शुरू गरेको छ । यसबाट पनि केहि सकरात्मक शुरुवात हुनेछ ।
(बेन रे स्पेनका फ्रि–लेन्स लेखक तथा विश्लेषक हुन् ।)
अलजजिराबाट
याे पनिः दलाल पुँजीवाद विरुद्धको मोर्चामा युरोपियन फुटबल
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...