Opinion

धरहराः नेपालकै कमसल वास्तु संरचना

फेरी एकपटक इतिहासमा कुनै एक शासकबाट कथित राष्ट्रिय स्तम्भ धरहराको उद्घाटन भएको छ, जुन आफैंमा कहिल्यै राष्ट्रिय थिएन; बरु औपनिवेशिक थियो ।  कुनै नश्लीय र लिङ्गभेदी शासन परम्पराको सुरुवातको माचिस्मो बिम्ब थियो त्यो । र, यो बिम्ब यति दह्रोसँग नेपाली मानसपटलमा जकडिएको छ कि यो नै सबथोक हो, सिङ्गो नेपाल हो भन्ने भ्रम आजसम्म पनि स्थापित छ । 

यद्यपि, वास्तविकता त यो हो कि यसको निर्माण शिल्प, मौलिकता, भूगोल–अनुकुलता कुनै पनि हिसाबमा यो कहिल्यै हाम्रो आफ्नो थिएन । यो साच्चिँकै हाम्रो हुन्थ्यो भने तीन पटकका भुकम्पमा तीनै पटक ढल्ने थिएन ।  यसको निर्माण शैली मिनार त्यहाँ प्रचलनमा छ, जहाँ प्रायः भुकम्प जादैँन । नेपाल जस्तो भुकम्पीय जोखिमको क्षेत्रमा यसको सान्दर्भिकता हुने कुरै भएन । त्यसैले यसमा मौलिक–परम्परागत शैली हुने कुरै भएन । यति हुँदाहुँदैपनि तीनै पटक पहिलो प्रथामिकतामा पर्दै द्रुतसँग यसको पुननिर्माण भएको छ । 

अहिले भने यसलाई सिमेन्ट, रड र कंक्रिट मिसाएर बनाइएको छ । अनि यो कोरोना कहरबीचै जम्मा ४० प्रतिशत काम सम्पन्न हुँदैमा भव्य उद्घाटन गरेर देखाइएको छ । अब यो साँस्कृतिक तथा पुरातात्विक महत्वको सम्पदा पनि रहिरहेन । किनभने ठुटे भीमसेन स्तम्भ यो सिमेन्टको नयाँ लिङ्गोदेखि अलि पर सिसाभित्र कैद भएर रहनेछ ।  
पछिल्तिरको ठुटे भीमसेन स्तम्भको नै पनि खासै पुरातात्विक महत्व छैन । त्यसमा गर्व गरिरहन पर्ने कुनै ठाउँ थिएन र छैन । एक त काठमाण्डौं उपत्यकाका कृष्ण मन्दिर, न्यातपोल, काष्ठमण्डप लगायतका प्राचिन संरचनाका शिल्पसँग तुलना गर्ने हो भने वास्तुकला तथा शिल्पका हिसाबमा भिमसेन स्तम्भ आफै एकदमै कमसल संरचना थियो फगत ईंटको थुप्रो थियो यो । 

इको–फेमिनिस्टको लागि भूमि, पृथ्वी, प्रकृति सबै नारीबिम्ब हुन् भने तिनको दोहन गर्दै ठडिने कंक्रिटका भवन र टावरहरु पुरुषसत्ताका प्रतिक हुन् ।

सुगौली सन्धीमा दुई तिहाइ भूभाग गुमाइसकेका शासकको खोक्रो आडम्बर थियो त्यो । आफ्नै भारदारहरुको नरसंहारले रक्तरंजित खुनी भीमसेन थापाको सनक मात्रै थियो त्यो । नजिकैको मौलिक काष्ठमण्डपलाई सधैँ गिज्याइरहने यो स्तम्भ अब इतिहासको गर्भमा बिलाइसकेको छ । 

तर फेरी तामझाम सहित छेवैमा ४ अर्ब खर्चिएर यो कोरोना कहरबीच अर्को ‘टक्सिक टावर’ उद्घाटन भइसकेको छ; जसको त्यो ठूटे भिमसेन स्तम्भसँग अब कुनै ‘गोरु बेचेको साइनो’ पनि रहने छैन । यद्यपि यो नयाँ टक्सिक टावरको बेमौसमी आडम्बरी उद्घाटनले एक प्रश्न भने उब्जाएको छ । आममानिसका दैनन्दिन चासो र सरोकारका विषयलाई लत्याउँदै कथित टावरप्रति पैसाको खोलो बगाउन शासक किन उत्प्रेरित हुने गर्छ ?

शासकको टावरप्रतिको मोहको मुख्य चुरो तिनको दम्भ नै हो । तर यतिमात्रै चाहीँ होइन । मिचेल फुकोको नजरबाट हेर्ने हो भने शासकले आम नागरिकमाथि लाद्ने ‘डिसिप्लिनरी गेज’ हो टावर । अनि सिग्मण्ड फ्रायड तथा इको फेमिनिस्टको नजरबाट हेर्ने हो भने माचिस्मो प्रवृतिले ग्रस्त सत्ताको ‘लिङ्ग’ हो टावर, यो फेलस हो, डिक हो । अनि त्यही ‘फेलस–सेन्ट्रिक’ विश्वदृष्टि कायम राख्न र लिङ्गको सर्वोच्चता स्थापित गर्न यिनीहरु टावर खडा गर्ने गर्छन् । सायद यसैका कारण हुनपर्छ अहिलेको कथित धरहरा अर्थात् ‘टक्सिक टावर’को एउटा तलामा शिवलिङ्ग समेत राखिएको छ । 

टावरः शासकको ‘डिसिप्लिनरी गेज’ 

आखिर के हो त टावर ? फुकोको दृष्टिकोणमा आम नागरिक माथि शासकले गर्ने निगरानी, नियन्त्रण र दमन हो टावर । यसको लागि उनले सारेको प्यानोप्टिकनको अवधारणा बुझ्नुपर्छ । प्यानोप्टिकन भनेको जेरेमी बेन्थाम भन्ने दार्शनिक तथा समाजशास्त्रीले १८ शताब्दीमा अघि सारेको गोलघरको अवधारणा हो । त्यस्तो बिल्डिङको डिजाइनमा एउटै गार्डले एकैपटक दर्जनौँ कैदीको निगरानी गरिरहेको हुन्छ । कैदीहरुलाई भने कसैले निगरानी गरेको थाहा हुन्न । कसैले एक्लै कपाल कन्याएमा एकछिन पछि प्रहरी आउँछ र त्यही निउँमा भकाभक कैदी पिट्छ । अदृष्य आँखाहरुले हामीलाई हेरिरहेको हुन्छ भन्ने भ्रमले नै कैदीहरु कजिइरहेका हुन्छन् । 

सबै टावरहरु प्यानोप्टिकनकै बिम्ब हुन् । टावरसँग शासकको निगरानी, नियन्त्रण, दमन र अत्याचार गर्ने मनोदशा जोडिएको हुन्छ । प्रायः कुशासन चलाउने अत्याचारी शासकले नै यस्ता संरचना बनाएको पाइन्छ । कुतुबमिनार र ताजमहल केही उदाहरण हुन् । ४ अर्ब खर्च गरेर, त्यसमा पनि कामनै नसकी, आधा पाटो छोपेर, हाँप र झाप गरेर कोरोना कहरबीच उद्घाटित यो टक्सिक टावर विशुद्ध अहिलेको सत्ताले दलित, अल्पसंङख्यक, मधेसी, थारु, महिला जनजाती माथि गरिरहेको निगरानी, नियन्त्रण, दमन र विभेदको गतिलो बिम्ब हो । सत्ताको आफू इत्तरका लिङ्ग, वर्ग, समुदाय, धर्मावलम्बीलाई तुच्छ र आफुलाई सर्वश्रेष्ठ सम्झने नश्लभेदी शासन व्यवस्थाको बिम्ब हो यो । 

जहिले पनि शासक शक्ति आफूसँग मात्र हुने र त्यो माथिबाट तल रैतीमा लाद्ने भ्रम पालेर बसिरहन्छ । उसको अवचेतनमा लुकीबसेको उसको भर्टिकल शक्तिको भ्रमको भौतिक वा बस्तुगत रुपान्तरण हो टावर । उद्घाटनको आत्मरतीमा शासकहरु रमाउलान् केही क्षण, तर अहिलेको शासकको कुशासन तथा दरिद्र सौन्दर्य चेतको साक्षीको रुपमा भने यो सिमेन्टको फगत लिङ्गो हामीसँगै ठडिइरहनेछ निरन्तर । 

टावरः एक स्वेच्छाचारी र अहंकारी पुरुष लिङ्ग 

सहरको आर्किटेक्चरले धेरै कुरा भन्छ; इतिहास, समाज, संकृति, रहनसहन । यसले त्यहाँका नागरिकको मनोविज्ञान पनि उदाङ्गो पारिदिन्छ । ‘ब्ल्याक लाइफ म्याटर’सँगै शताब्दीऔँदेखि ठडिइरहेका दास व्यापारीहरुका शालिक युरोप र अमेरिकामा भत्काइदैँगरेको समयमा छौँ हामी । सहरका ती संरचनाले आजसम्मपनि दास व्यापारको उत्सव मनाइरहेका थिए । त्यसैले तिनीहरु भत्कदैँछन् । सहरमा बन्ने हरेक संरचनाको आफ्नै अर्थ हुन्छ । तिनलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक हुने गर्छ ।

‘हाम्रा सहरहरु रोडा, ईंटा, सिसा, कंक्रिटमा कोरिएको पितृसत्ता हो । सहरका संरचनाले त्यहाँको समाजको मान्यता उजागर गर्छ । लैङ्गिक विभेद यहाँको समाजमा जरो गाडेर संस्कारको रुपमा बसेको छ  ।’

सहरमा पछिल्लो समय मौलाएको कंक्रिट संरचनाका सम्बन्धमा पर्यावरण–नारिवादी (इको–फेमिनिस्ट)को हेर्ने अलग्गै दृष्टिकोण छ । इको–फेमिनिस्टको लागि भूमि, पृथ्वी, प्रकृति सबै नारीबिम्ब हुन् भने तिनको दोहन गर्दै ठडिने कंक्रिटका भवन र टावरहरु पुरुषसत्ताका प्रतिक हुन् । उत्तर–औपनिवेशिक नारीवादले जसरी नारीलाई पितृसत्ताले अतिक्रमण वा कोलोनाइजेसन गर्नेगर्छ भनेजस्तै इको फेमिनिस्टहरुले टक्सिक संरचनाको कारण पृथ्वी, भूमि र नारीमाथि गरिरहेको अतिक्रमणलाई उठाउँछन् । 

यो दृष्टिकोणबाट सहरका हरेक संरचनालाई हेर्न सकिन्छ । फेमिनिस्ट सिटीः क्ल्यामिङ स्पेस इन म्यान मेड वल्र्ड पुस्तकमा लेस्ली करेनले सहरमा निर्मित पुरुष–केन्द्रित तथा महिलाद्वेषी भौतिक संरचनाको बारेका सविस्तार उल्लेख गरेकी छिन् । उनी भन्छिन्, ‘कंक्रिटका पुरुषत्वहरु हाम्रो सहरका केन्द्रमा ठड्याइएका छन्, यो प्रवृत्ति महिलालाई हेप्ने प्रकारको मात्र नभई निक्कै नै डरलाग्दो छ ।’ करेनले सहरका संरचनाहरु पुरुषप्रधान सोचको आधारमा निर्माण गरिएको र यी संरचनाको लैङ्गिक विभेद र हिंसासँगको सोझो सम्बन्धलाई औँल्याएकी छिन् । 

अझ कतिपय परम्परागत संरचना त महिलालाई सार्वजनिक वृत्तमा आउनबाट निरुत्साहित पार्ने खालका थिए । सम्भ्रान्त तथा सभ्य भनिएका परिवारका महिलालाई सार्वजनिक वृत्तमा आउन नदिन युरोपमा त्यस्ता संरचनाहरु बनेका थिए । गत वर्ष यिनै करेनले यसै विषयमा गार्जियनमा एउटा लामो लेख लेखेकी थिइन् । जसमा उनले नारीवादी भूगर्भशास्त्री जाने डार्कको भनाइ उल्लेख गरेकी छिन्, ‘हाम्रा सहरहरु रोडा, ईंटा, सिसा, कंक्रिटमा कोरिएको पितृसत्ता हो । सहरका संरचनाले त्यहाँको समाजको मान्यता उजागर गर्छ । लैङ्गिक विभेद यहाँको समाजमा जरो गाडेर संस्कारको रुपमा बसेको छ  ।’

सहरका संरचना विशेषतः गगनभेदी संरचनामाथि महिलाले प्रश्न गर्न थालेको आजमात्रै होइन । सन् १९७७ मा अमेरिकी कवि तथा आर्किटेक्टकी प्राध्यापक डोलेरेस हेडनले ‘स्काइक्र्यापर सेडुसन, स्काइक्र्यापर र्याप’ शिर्षकमा निक्कै सनसनीपुर्ण लेख लेखेकी थिइन् । अमेरिकाभरी कंक्रिटका गगनचुम्बी भवन र टावरहरु ठडिइरहेको समय थियो त्यो । रड, सिसा र सिमेन्टका यी संरचना सिङ्गो अमेरिकाको संमृद्धि, गौरव र पहिचान बनेका थिए । 

तर हेडनले लेखेकी छिन्, ‘गगनचुम्बी भवनको इतिहास समिक्षा गर्ने हो भने वास्तविकता र स्वैरकल्पना मात्र छुट्टिन्न, बलात्कार र करणी जस्ता डरलाग्दा बिम्बहरु पनि निस्कन्छन् । कर्पोरेटको जगजगी र पुरुषसत्ताले नै स्काइक्र्यापरको इतिहास सिर्जेको हो ।’ उनले त्यतिबेला लेखेको अन्तिम वाक्यले झनै धरहराको अहिलेको वास्तविकता ठ्याक्कै भनिदिन्छ । उनी लेख्छिन्, ‘यी ठिङ्ग उभिएका गगनचुम्बी भवनहरुलाई निहाल्ने हो भने आर्थिक संमृद्धिको झुटको पुलिन्दा र विभेदमा उभिएको हाम्रो संस्कार प्रष्ट देखिन्छ, यी संरचनाले कसरी सामाजिक करणी र पुरातात्विक बलात्कार गरिरहेका छन् त्यो पनि छर्लङ्ग हुन्छ ।’

तसर्थ यो प्रष्ट छ कि फ्रायडको मनोविज्ञानका आधारमा मात्र होइन, पर्यावरणवादी–नारीवादी, नारीवादी–आर्किटेक्ट, नारिवादी–जियोलोेजिस्ट सबैको नजरमा अहिलेका कथित धरहरा जस्ता कंक्रिटका टक्सिक टावर तथा संरचनाहरु अहंकारी, स्वेच्छाचारी र बलात्कारी पुरुष लिङ्ग भन्दा अरु केही पनि होइनन् । 

उपत्यकाको फेमिनाइन स्वरुपमाथिको सिलसिलेवार अतिक्रमण 

लेस्ली करेनले फेमिनिस्ट सिटीको सान्दर्भिकताको बहस चलाइरहँदा, फेमिनिस्ट आर्किटेक्ट, भूगर्भशास्त्री तथा इकोलोजिस्ट सबैले भौतिक संरचनाका आधारमा जेन्डरको बहस चलाइरहँदा सम्भवत काठमाण्डौं उपत्यकाको लैङ्गिक स्वरुपको विषयमा बहस हुनु जरुरी छ । 

ठूलो पोखरीको पानी सुकेर बनेको यो उपत्यका आफैँमा कचौरा आकृतिको छ । त्यसमाथि पनि यसको माटो अत्यन्तै मलिलो, उर्वर र उत्पादनशील छ । यी विशेषताले भन्छ कि काठमाण्डौं उपत्यका भौगोलिक हिसाबले पनि ‘फेमिनाइन’ प्रकृतिको छ । भुईंचालो बाहेक कुनै प्राकृतिक विपद् नआउने तथा हावापानी पनि उत्तम रहेको यो उपत्यका वाह्य आक्रमणबाट पनि सुरक्षित देखिन्छ; मानौं यो आमाको काख हो । परम्परागत लैङ्गिक भूमिका र विशेषता भत्कदैँ गर्दा यो तुलना उपयुक्त नदेखिएला । तर, भौगोलिक अवस्थितिको आधारमा उपत्यका आफैमा मस्कुलिन कम र फेमिनाइन ज्यादा छ ।  

यो उपत्यका पूर्णतः पोखरी र ढुङ्गेधारा सभ्यतामा अडिएको सहर हो । काठमाण्डौं, भक्तपुर र कीर्तिपुरका अधिकांश पोखरी र ढुङ्गेधारा मासिएपनि पाटनमा अझै ६३ पोखरी र ६२ ढुङ्गेधारा छन् । पुर्खाहरुले पानीको सहज आपुर्तिको लागि मात्र असंख्य पोखरीहरु बनाएका थिएनन् । उपत्यकाको चारैतिरका पहाडबाट बर्षामा ठूला–ठूला भेल पस्थे यसले मलिलो माटो बगाएर नास पाथ्र्यो । पोखरी भइसकेपछि बर्षाको भेल एकपछि अर्को पोखरीमा पस्थ्यो र भेल नियन्त्रिण्त हुन्थ्यो । पोखरी आफैं फेमिनाइन बिम्ब हो । 
सतहबाट ढुङ्गेधारालाई फ्रायडियन दृष्टिबाट हेर्दा मस्कुलिन लाग्न सक्छ तर उपत्यकाका ढुङ्गेधारामा जमिनमूनि आगाको पानी अटल र डुँड हुँदै मकरमुखबाट निस्कन्छ । त्यसैले उपत्यकाका ढुङ्गेधाराको संरचना आफैँमा मस्कुलिन कम र फेमिनाइन बढी छ । त्यसमाथि पनि केही खाल्डोमा निर्मित यस्ता ढुङ्गेधाराहरु विशेषतः महिलाहरुकै पब्लिक स्फेयर थिए । त्यो महिलामैन्त्री सार्वजनिक वृत थियो ।

‘फेलस–सेन्ट्रिक’ संरचना निर्माण सँगसँगै लिङ्गपुजनको सस्कृति पनि विकसित हुदैँ आयो । यसले कहिल्यै नसकिने लैङ्गिक विभेदको संस्कार पनि स्थापित गरिदियो ।

अहिले यो सहरबाट पोखरी र ढुङ्गेधाराजस्ता फेमिनाइन संरचनाहरु हराइरहेका छन् भने तिनको स्पेस कंक्रिटका टक्सिस टावर र भवनहरुले लिइरहेका छन् । काठमाण्डौं मल र छायाँ सेन्टरहरु पोखरीको गर्भ सुकाएर त्यहीँ माथि ठडिएका छन् । काठमाण्डौं मलले त सुनधाराको पानीको भूमिगत लाइन भत्काएर धारो सुकाइदिएको छ । संरक्षणकर्मीहरु टुडीँखेलमा नयाँ आगा राखेर सुनधारा ब्युझाऔं भन्छन्, तर शासकहरु टक्सिक टावरकै पछि कुदिरहेछन् । 

त्यसो त टुडीँखेलमा नयाँ आगा राखेर त्यसको पानी अलिक गहिरो सभागृह या भद्रकाली पारी टुकुचा किनार तिर नयाँ प्राकृतिक ढुङ्गेधारानै बनाउन सकिन्छ तर शासकहरु टक्सिक चटके धारा तामझामसँग भृकुटीमण्डपमा उद्घाटनकै आत्मरतिमा ढुबिरहेछन् । यो भनेको सहरको फेमिनाइन स्वरुपमाथिको मस्कुलिन अतिक्रमण हो । 
‘अर्थ बुझ्न संरचना बुझ्नपर्छ’ संरचनावादीहरुको मोटो हो यो । उत्तर–संरचनावादी डेरिडाले यसको जतिनै खण्डन गरेपनि संरचना हेरेर सहर र समाज मज्जाले बुझ्न सकिन्छ ।

काठमाण्डौं उपत्यकाको फेमिनाइन स्वरुपमाथि मस्कुलिन अतिक्रमण संरचनाकै माध्यमबाट शुरु भएको हो । र, यो आजको होइन । यो आदिम भूमिमा लिच्छवी कालदेखि नै छ्यापछ्याप्ती शिवलिङ्गहरु ठडिन थाले । यस्ता ‘फेलस–सेन्ट्रिक’ संरचना निर्माण सँगसँगै लिङ्गपुजनको सस्कृति पनि विकसित हुदैँ आयो । उपत्यकाको पछिल्लो औपनिवेशिकरणपछि त लिङ्गसँगसँगै धरहरा मात्र ठडिएन, तीज, स्वस्थानी र भाइपुजा जस्ता लिङ्गपुजक संस्कृतिले पनि व्यापकता पायो । यसले कहिल्यै नसकिने लैङ्गिक विभेदको संस्कार पनि स्थापित गरिदियो ।

शासकको माचिस्मो 

हो शासकले सदैव आफूलाई टुप्पोमा विराजमान गराउँछ र बाँकी तलका सबैलाई तुच्छ सम्झन्छ । चाहे त्यो औद्योगिक युगको उदयको बिम्बमा हेरिएको एफेल टावर होस्, या लन्डनको टावर ब्रिज वा दिल्लीको कुतुबमिनार यि सबै दम्भका प्रतीक हुन् भलै कतिपय यस्ता स्तम्भहरु वास्तुको अनुपम नमूना पनि छन् ।

टक्सिक टावरहरु भनेका त पुर्णतया पुरुष दम्भका प्रतिक हुन् । ‘टक्सिक मक्कुलानिटी’ भन्ने एउटा नयाँ पदावली छ । यो त्यो प्रवृति हो जसले आफूइत्तरका कुनैपनि आवाज र धारणालाई पचाउन सक्दैन । आफ्नो अहम्को अवरोधको रुपमा आउने जुनसुकै व्यक्ति, विचार, लिङ्ग, समुदायलाई होच्याउन र परास्त गर्न जुनसुकै स्तरमा पनि गिर्न सक्छ ।जे पनि गर्न सक्छ । मुलुकमा यस्तो ‘टक्सिक मस्कुलानिटी’ कोसँग छ भनेर तोकिरहन पर्दैन ।

कवि टि एस इलियटको शब्दमा भन्नुपर्दा टक्सिक टावर ‘टक्सिक मस्कुलानिटी’को खास मनोदशा र कर्मबीचको ‘पर्फेक्ट अब्जेक्टिभ कोरेलेटिभ’ हो । 

‘टक्सिक मस्कुलानिटी’को ‘टक्सिक टावर’प्रतिको मोह फगत एक संयोग मात्र होइन, यो त उसको इगो, भोयरिज्म, नार्सिजम, माचो जस्ता प्रवृतिको वस्तुगत प्रष्फुटीकरण हो । ‘अब्जेक्टिभ रेप्लिका’ हो । कवि टि एस इलियटको शब्दमा भन्नुपर्दा टक्सिक टावर ‘टक्सिक मस्कुलानिटी’को खास मनोदशा र कर्मबीचको ‘पर्फेक्ट अब्जेक्टिभ कोरेलेटिभ’ हो । 
टावर विशुद्ध पुरुषत्व र पुरुष लिङ्गको प्रतिक हो । त्यसो त धरहरा मात्र होइन शासककै गृह नगर दमकमा पनि अर्को कुनै गगनचुम्बी टावर बन्दैछ । कथित भ्युटावरका रुपमा बनाइएका यस्ता कंक्रिटका संरचना मुलुकभरी छ्यापछ्याप्ती छन् । फेरी यी टावरहरुबाट यो मुलुकमा देखिने दृष्यहरु इतिहासदेखि सदाबहार उस्तै छन्ः अभाव, दुःख, गरिबी, रोग, शोक, भोक, भ्रष्टाचार, कुरीति, बलात्कार, नारी हिंसा, दलित हिंसा, पर्यावरण दोहन इत्यादि । पछिल्लो वर्ष अर्को दृष्य पनि थपिएको छ, कोरोना कहर । आकस्मिक शै्याको अभाव, उपचार प्रणालीमा समस्या, चरम बेरोजगारी र भोकमरी यो कहरसँगै थपिएका थप दृष्यहरु हुन् । 

यस्तो माहोलमा जब शासकहरु कंक्रिट टावरको पछि लाग्छन्, सुधीर लुधियानीको कविता ‘ताजमहल’को सम्झना आउँछ । कविताका अन्तिम हरफहरुले भन्छन्, ‘अपने अकूत दौलतोंको सहारा लेकर, एक शहंशााह ने, हम गरिबोंका प्यारका उडाया मजाक ।’ लुधयानीकै शैलीमा अहिलेको यो टक्सिक टावरको बारेमा भन्नुपर्दाः
जनताले खुन–पसिना बगाएर
तिरेको करको अरबौँ बगाएर,
सिमेन्ट र रडको सहारामा, 
कुनै चटकेले 
बीच सहरमा,
ठड्याएको छ उसको नग्न माचिस्मो ।

स्मरण रहोस्ः शासकले शिवलिङ्गमा करोणौंको जलारी हालेको डेड महिना नबित्दै र कंक्रिट टावरको भव्य उद्घाटनको पाचौं दिन कोभिड–१९को दोस्रो चरणको लहरसँगै मुलुक लकडाउनमा फसेको छ । र, लकडाउनको दोस्रो दिन महामारी रोक्न अब राज्यले केही गर्न नसक्ने र जनता आफैँले आफ्नो सुरक्षा गनुपर्ने निर्लज्ज सूचना सरकारले निकाल्दै हाम्रो ज्यानको ग्यारेन्टी पनि त्यही शिवलिङ्गमाथि सुम्पिदिएको छ । हामी राज्य र सरकारविहिन जीन्दगी बाँचिरहेका छौं ।  


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

युवराज भट्टराई

लेखकबाट थप...