काठमाण्डौँका हरेक ठाउँहरुमा बैशाख १४ र १५ गतेको माहोल हेर्ने हो भने लाग्थ्यो कुनै बृहत जात्रा भैरहेको छ, अथवा कुनै राजनैतिक पार्टीको देशव्यापी सभा-सम्मेलन भैरहेको छ । उक्त भिड तथा मानिसहरुको घुँइचो, व्यस्त सडक, पोका-पन्तेरा बोकेर कुदिरहेका हतारिँदो यात्रीहरु । पुराना ओछ्यान, कपडा, फर्निचर र भाँडाकुँडाहरुले ट्याप्पै भरिएका बसका छत यो नत कुनै जात्रा थियाे, नत कुनै सभा सम्मेलन नत कुनै पर्व । यो माहोल अथवा भिड नेपाल सरकारले भर्खरै जारी गरेको दोस्रो चरणको निषेधाज्ञाको कारण राजधानी छाडी गाउँ फर्कने आम नेपाली नागरिकहरुको थियोे । नेपाल सरकारले भर्खरै बैशाख १६ गतेदेखि लागु हुने गरि ७ दिनकाे लागि निषेधाज्ञा आह्वान गरे पनि उल्लेखित निषेधाज्ञा फेरी ७ दिन थपेर १४ दिनको लागि जारी गरेको छ । यसैको परिणामस्वरूप गत हप्ता देखि नै उपत्यका छोडेर गाउँ फर्कने मानिसहरुको संख्या बढ्न थालेको हो । तर,बैशाख १४ र १५ गतेको माहोल निकै नै गम्भीर देखिन्थ्यो ।
मानिसहरु हतास देखिन्थे, जिन्दगी नै छुटेजस्तो गरेर गाडीको पछिपछि झोलीतुम्वी बोकेर कुदिरहेका यात्रुहरु निराश त देखिन्थे नै, त्यसैमाथि अलिक थकित पनि देखिन्थे । थकान कुदाईको होइन, बारम्बार व्यवस्थाले कुल्चिएर उठ्न नसकेको अवस्थाको र यस्तो विषम परिस्थितिमा पनि सरकारले गरेको हेलचेक्र्याईँ र लाचार प्रवृतिसँगको पराजितताकाे थियोे । यसरी पोका पन्तेरा बोकी असिन पसिन हुँदै हिँडेका मानिसहरुको लस्कर हामीले काठमाण्डौँ वरिपरी यो भन्दा पहिला पनि नदेखेका त होइनौँ, विभिन्न राजनैतिक पार्टी आफु सत्तामा उठ्नका निम्ति गाउँ गाउँबाट सर्वसाधारणलाई अनेक सपना देखाएर उठाई ल्याएको हामीले कैयौँ पटक देखेका छौँ । त्यो जमात र अहिलेको जमातको हविगत लगभग मिल्दोजुल्दो छ । दुवै हाम्रो राज्य व्यवस्थाबाट थङथिलाे भएका आम नागरिककाे लामाे हरफ हुन् ।
फरक यति हो त्यो जमात झिनो आशा र सपना बोकी देश बनाउने होडमा राजधानी भित्रिएका थिए, भने यो जमात त्यही व्यवस्थासँग डराएर निराश भई राजधानी छोडिरहेका छन् । दुवै जमात थकित छन् , असिनपसिन छन् तर त्यो जमातसँग केन्द्रिकृत हुन डोर्याउने आशा र सपनाहरु थिए, भने यो जमातसँग विकेन्द्रिकृत हुनुपर्ने बाध्यता र निराशाहरु छन् । हामी त्यही सवल सत्ताको निम्ति यति निश्चिन्त भई लाग्छौँ अथवा बलिदान दिन तयार हुन्छौँ । अनि, त्यही सत्ताकाे व्यवस्थाद्वारा बारबार यसरी भाग्दै हिँड्नुपर्छ भने हामीले अब कुन बाटो अंगाल्ने ?
सप्तरी घर भई हाल ग्वार्कोमा मिस्त्री काम गरि बसेका अरुण कुमार चौधरी लगायतका हजारौँ यात्रीहरु कोटेश्वर, जडिबुटी, लोकन्थली लगायत काठमाण्डौँका अन्य विभिन्न स्थानहरुमा घर फर्कनको लागि झोला तथा सामानहरु बोकेर गाडीको पर्खाइमा बसेका देखिन्थे । गत बर्षको लकडाउनमा काठमाण्डौँ नै बसेर बिजोग भएका चौधरी यसपाली कुनै पनि हालतमा घर पुग्ने बताउँछन् । उनी भन्छन् : 'मलाई यहाँ खाने बस्ने सम्पूर्ण व्यवस्था छ, तर पनि म घर नै फर्किन्छु । दुई छाक भए पनि मिठो मसिनो परिवारसँगै बसेर खान्छु । अहिले १४ दिनको लागि भनेको छ तर पछि के हुन्छ कुनै ठेगान छैन।' चौधरीको कुराको तात्पर्य हामि छर्लंग बुझ्न सक्छौँ ।
हामी अहिले कोरोना भन्दा बढी सरकारसँग डराएका छौँ । यो कुराको प्रष्ट उदाहरण गत बर्ष भएको लगभग एक बर्षे लामो लकडाउनमा जनताले भोगेको सास्तीबाट थाहा पाउन सकिन्छ । सरकारसँगको अविश्वासकै कारण यसपाली अरुण कुमार चौधरी जस्ता लाखौँ मानिसहरु गत बर्ष जस्तै वेवारिसे हुने त्रासमा बेलैमा बाटो तताईरहेका छन् । माहामारी भित्रिएको २ वर्ष बितिसक्दा पनि नेपाल सरकारबाट कुनै पूर्व तयारीहरु नहुनु यो एक विडम्बनाको कुरा हो ।
यस्तो विषम परिस्थितिमा पनि फेस मास्क, स्यानिटाइजर जस्ता प्राथमिक सामाग्रीहरुको मूल्य वृद्धि , स्वदेशमै सञ्चालनमा रहेको अक्सिजन कारखाना प्रतिको बेवास्ता, कोरोना उपचारार्थ अस्पतालको पर्याप्त उपलब्धतामा ध्यानाकर्षण नहुनु, बरु भएका सिमित अस्पतालमा उल्टै मूल्य अभिवृद्धि गराउनु जस्ता कुराहरुले सरकारको लाचारपन तथा सर्वसाधारणमाथि भइरहेको लज्जास्पद व्यापारलाई प्रष्ट्याउँछ । हामी लकडाउनको बिरोधमा छैनौँ र लकडाउन हुनु पनि जरूरी छ, तर लकडाउनको नाममा सर्वसाधारण माथिको भाैतिक,मानसिक,आर्थिक आतंक निन्दनीय छ ।
निजी र सार्वजनिक सडक यातायात ठप्प हुनु तर हवाई यातायात भने सञ्चालनमा रहनु भारतबाट नेपाल भित्रिएका हजाराैँ मानिसहरु काठमाण्डाैँका होटलहरुमा छ्यापछ्याप्ती हुनु यो कहाँसम्मको व्यावहारिक कदम हो ? यो हाेत फगत आम निमुखा सर्वसाधारण नागरिक माथि सरकारकाे आवरणमा कुनै आपुङ्गी शासकले लादिरहेकाे शासन मात्रै हाे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...