ज असार १५ अर्थात ‘राष्ट्रिय धान दिवस’ नेपालमा ‘कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाइन्छ । नेपालमा असार १५ लाई दहीचिउरा खाने एक चाडको रूपमा पनि लिइन्छ । कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोधनले  सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए भन्ने किम्बदन्ती रहीआएको छ । 



पछि विसं २०६२ देखि कृषकहरूको श्रमको सम्मानको खातिर कृषि मन्त्रालयले यो दिनलाई ‘राष्ट्रिय धान दिवस’का रूपमा मनाउन थालेको छ । नेपालमा आजको दिनलाई भिन्नभिन्न तरिकाले मनाउने गरिन्छ्र । सरकारले सरकारी तबरबाट विभिन्न कार्यक्रम गरी मनाउँदछ भने ग्रामीण भेगतिर किसानहरूले खेतमा गई रोपाइँ गर्दै हर्सोल्लाषका साथ मनाउने गर्दछन । आजको दिन अर्थात असार १५ को दिन एकचोटि मात्रै भएपनि खेतमा गई हिलो खेल्दा गति परिने विश्वास रही आएको छ ।  



नेपालमा असार १५ गतेको दिन वर्षकै सबभन्दा लामो दिन मानिने हुँदा आजकै दिनदेखि दिन छोटिँदै जाने र हिउँदको शुरूवात हुने मान्यता समेत रहेको छ ।  मुट्ठी रोपेर मुरी फलाउने दिनको रूपमा चिनिने आजको दिनमा कृषकहरू खेतमा गई बाउसे गर्दै एक–आपसमा हिलो छ्यापाछाप गरेर रोपाइँको शुरूवात गर्दछन । बिहानै दहीचिउरा र अन्य पोषिलो फलफूल खाइ रोपाइँमा जाने र दिउँसो थाकानको बेला पनि दहीचिउरा खाएर कृषकहरू आफ्नो शरीरलाई ऊर्जा दिने गर्दछन । धानबाटै बनेको चिउरा खाएर धान रोपाइँको शुरूवात गर्नुले यस खेतीप्रतिको सम्मानका साथसाथै यस खेतीको जीवनचक्रलाई समते दर्शाउँछ । 



नेपाल एक कृषिप्रधान देश भएकोले र धानबाट उत्पादन हुने चामल नेपालको मुख्य खाद्यबाली भएकोले नेपाली कृषि क्षेत्रमा धानको एकदमै महत्वपुर्ण छ । तर विडम्बनाको कुरा यसको खेतीमा वृद्धि हुनको साटो अहिले घट्दो क्रममा छ । पहिले ठूलो मात्रामा धान विदेश निर्यात गरी मुनाफा आर्जन गर्ने नेपाल अहिले आएर ठूलो व्यापारघाटा ब्यहोरी विदेशबाट आयात गर्न बाध्य छ । यसले पनि नेपालको वर्तमान आर्थिक स्थितिको परिचय छर्लङ्ग दिन्छ । यसरी कृषिमा आइरहेको ह्रास तथा गिरावटको कारण प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामी सिंगो नेपाली जनता र  नेपाल सरकारको कृषि उजागर रहितको नीति नै देखिन्छ । राज्यको तर्फबाट चाँडै कृषिमा क्रान्ति नआए नेपाल छिटै नै बाह्य मुलुकमा आश्रित देश बन्न नपुग्ला भन्न सकिन्न । नेपालको अधिकंश भेगमा गरिने धान खेती हेर्दा अझै पनि परम्परागत रूपमा नै निर्भर रहेको पाइन्छ । यसबाट पनि राज्यले कृषिलाई आधुनिकीकरण गर्नबाट हिचकिचाइरहेको छ भन्ने बुझिन्छ । अहिले आएर पनि नेपालजस्तो कृषिप्रधान देशमा परम्परागत कृषि प्रणालीलाई नै निरन्तरता दिनु यसको आधुनिकीकरणमा ध्यान नदिनु, खाद्यान्नमा निर्यात भन्दा आयात बढेर जानुले राज्य सीधै रूपमा मूल कुरामै चुकेको छ भन्ने प्रष्ठ देखिन्छ ।



नेपालजस्तो भू–परिबेष्ठित र कृषिको प्रचुर सम्भावना भएको देशमा पनि निरन्तर आइरहने खाद्यान्न संकट एक दुखद र लाजमर्दो कुरा हो । जसरी असार १५ को दिन किसानहरू रमाएर हर्सोल्लाषका र ठूलो आशाका  साथ खेतमा रोपाइँ गर्छन् तर त्यै  हर्सोलाष तथा खुसी बाली उठाउने दिन खासै पाएको देखिन्न र त्यही निराशा सीधै राज्यको ढुकुटीसँग जोडिन पुग्दछ । हामी नेपाली किसानहरू असार १५ को दिनमा जसरी रमाउँछौ त्यसरी नै खेती बाली उठाइन्जेलसम्म पनि त्यो खुसीमा निरन्तरता दिइराख्ने किसिमको र नेपाली किसानहरूलाई खेतीमा अभिप्रेरित गर्ने नीति तथा नियम छिट्टै नै आउनेछ भन्ने आशा सहित किनारीकृत तथा सीमान्तकृतको आवाज ‘द मार्जिन’ को तर्फबाट  यहाँहरू सबैलाई ‘राष्ट्रिय धान दिवस’को हार्दिक मंगलमय शुभकामना ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...