जनक कार्की

मिर्जा गालिब उर्दू साहित्य सम्राज्यको सम्राट नै हुन् भने कार्ल मार्क्स प्रसिद्ध विचारक, जसले संसारलाई मार्क्सवादी सिद्धान्त दिएका छन् । यो लेख पढिरहनु भएका तपाईंले यी दुई महान व्यक्तिसँग पक्कै परिचित हुनुहुन्छ । केही समय पहिलेसम्म गालिब र मार्क्स समकालीन भएपनि एकार्कासँग परिचित नभएको अड्कल-अन्दाजी काटिन्थ्यो  । उनीहरू एकार्कासँग गुमनाम भएको व्याख्या गरिन्थ्यो ।

यो सबै कपोकल्पित कुरा गलत सावित भयो, जब 'भोइस अफ अमेरिका' मा कार्यरत आबिदा रिप्लेलाई लन्डन स्थित इन्डिया अफिसको पुस्तकालयमा मुगल समयको एउटा पुरानो च्यात्तिएको पुस्तक प्राप्त भयो । उक्त किताबलाई उठाउँदा पुस्तकको पन्नाभित्रबाट कागज खस्यो । त्यो कागजका अक्षरलाई पढेपछि उनी चकित भइन । सो पन्ना मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र थियो । लामो समयसम्मको खोज पछि उनलाई मार्क्सले गालिबलाई लेखेको पत्र पनि प्राप्त भयो ।

आउनोस्, आज सोही पत्रको अनुवाद पढौँ, जसमा गालिब र मार्क्स बिचको पत्राचारमा के-के कुरा लेखिएको थियो, पोको पन्तरो फुकाऔँ ।


कार्ल मार्क्सले गालिबका लागि लेखेको पत्र:

आइतबार  २१ अप्रिल, सन्  १८६७
लण्डन इङ्ल्याण्ड 

प्रिय गालिब,

दुईदिन पहिले साथी एंजलको पत्र प्राप्त भयो । पत्रको अन्त्यमा दुई लाइनको सुन्दर शेर थियो । धेरै प्रयासपछि थाहा हुन आयो कि त्यो शेर हिन्दुस्तानी सा यर मिर्जा गालिबको रचना हो भनेर । मित्र, अद्भुत लेख्नुहुन्छ ! मैले कहिले पनि सोचेको थिइन कि भारत जस्तो देशका नागरिकमा स्वतन्त्रताको क्रान्तिकारी भावना यति शीघ्रगामी भएर आउला भनेर । लार्डको व्यक्तिगत पुस्तकालयबाट तपाईंका अन्य रचनासँग साक्षात्कार हुने मौका पाएँ । केही रचनाले मन अत्याधिक प्रशन्न भयो ।

'हमको मालूम है ज़न्नत की हक़ीकत लेकिन,
दिल को ख़ुश रखने को ग़ालिबु ये ख़याल अच्छा है'

(तात्पर्यबोधक अर्थ:  मलाई थाहा छ स्वर्गको सच्चाई तर, मनलाई खुसी राख्नको लागि ञगालिबझ यो विचार सुन्दर छ ।)

कविताको आउने संस्करणमा क्रान्तिकारी कार्यकर्तालाई सम्बोधन गर्नुहोला: जमिनदार, प्रशासन,र धार्मिक गुरूहरूलाई चेतावनी दिनु जसले  गरिब, मजदुरको रगत चुस्न बन्द गराओस् । संसारभरका मजदुर एक हुनु ।

हिन्दुस्तानी शेरो-सायरीको शैलीसँग परिचित छैन । तपाईं सायर हुनुहुन्छ, शब्दलाई नियन्त्रण गर्न सकिँदैन । जे लेखे पनि मौलिक लेख्नुहोला, जसको सन्देश स्पष्ट होस्- क्रान्ति । यो सँगसँगै अर्को सल्लाह दिन्छुस गजल, शेरो-सायरी लेख्न छोडेर मुक्त कविता सिर्जना गर्नुहोस् । त्यस्तो गर्दा तपाईं धेरै लेख्न सक्नुहुनेछ र अत्याधिक सोच्न मद्धत मिल्नेछ  ।

यो पत्रसँगै कम्युनिस्ट मेनिफेस्टोको हिन्दुस्तानी संस्करण पठाएको छु । दुर्भाग्यवश पहिलो संस्करणको अनुवाद उपलब्ध छैन । यदि यो मन पराउनुभयो भने आउने दिनमा अन्य साहित्य पठाउनेछु । वर्तमान अवस्थामा भारत अंग्रेजी सम्राजवादको रोगमा परिवर्तित गरिएको छ । शोषित मजदुरका सामुहिक प्रयासले मात्र ब्रिटिस अपराधीहरूको पञ्जाबाट स्वतन्त्र गराउन सकिनेछ ।

तपाईंले पश्चिमको आधुनिक दर्शनको साथसाथै एसियाका विद्धानको विचारलाई पनि अध्यन गर्न जरुरी छ । मुगल राजाहरूका नवाबहरूका लागि झुठो शायरी गर्न छोडिदिनोस् । क्रान्ति निश्चित छ । दुनियाँको कुनै ताकतले यसलाई रोक्न सक्दैन ।

हिन्दुस्तानको क्रान्ति निरन्तर चलोस् भन्ने शुभकामना टक्राउन चाहन्छु ।

तपाईंको 
कार्ल मार्क्स 


मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र

९ सेप्टेम्बर, सन् १८६७
दिल्ली, हिन्दुस्तान

मेरो अञ्जान मित्र मार्क्स,

कम्युनिस्ट मेनिफेस्टोसँगै आज तपाईंको पत्र प्राप्त भयो । अब तपाईंको पत्रको के जवाफ दिऊँ ? दुईवटा कुरा छ । पहिलो कुरा, तपाईं के लेख्नुहुन्छ, यसमा म अनविग्ज्ञ  छु । दोस्रो कुरा, लेख्न र बोल्नको लागि म अब बूढो भएको छु । आज मेरा मित्रलाई पत्र लेख्दै थिएँ, सोचेँ कि तपाईंलाई पनि केही लेखौ ।

फरहाद  (सन्दर्भमा, गालिबको एउटा कविता )को बारेमा तपाईंको विचार गलत छ । फरहाद कुनै मजदुर होइनन्, जस्तो तपाईं सोचिरहनु भएको छ । उनी एक प्रेमी हुन् । प्रेमको सन्दर्भमा फरहादको सोचले मलाई प्रभावित गरेन । ऊ प्रेममा पागल थियो र हरक्षण प्रेमको लागि आत्महत्या गर्ने सोच्थ्यो । अनि तपाईं कुन स्वतन्त्रताको कुरा गर्दै हुनुहुन्छ ? स्वतन्त्रता त दस वर्ष पहिले सन् १८५७ मा बितेर गयो । आज मेरो देशको सडकमा अंग्रेज छाती फुल्लाएर हिँडिरहेका छन् । जनता उनको स्तुति गाउछ्न्... डराउँछन् । मुगलहरूको शाही रहनसहन अतीत बनिसक्यो । उस्ताद-शागिर्द (गुरु-चेला) परम्पराले पनि विस्तारै आफ्नो आकर्षण घटाउँदै छ ।

यदि तपाईं विश्वास गर्नुहुन्न भने कुनै दिन दिल्ली आउनु । यो दिल्लीको मात्र कुरा होइन । लखनउले पनि आफ्नो अनुशासन गुमाइसके, थाहा छैन ती व्यक्ति र अनुशासन  कहाँ बेपत्ता भयो । तपाईं कुन क्रान्तिको भविष्यवाणी गर्दै हुनुहुन्छ ?

तपाईंले लेखेको पत्रमा मेरो शेरो-सायरी र गजलका शैली परिवर्तन गर्ने सल्लाह दिनुभएको रहेछ । सायद, तपाईंलाई थाहा छैन होला शेरो-सायरी वा गजल लेख्ने कुरा होइन । यो तपाईंको हृदयमा कहिलेकाही आउने कुरा हो । मेरो मामिलामा फरक छ । जब विचारको प्रवाह हुन्छ कुनै पनि रूपमा आउन सक्छ । त्यो गजल होस् वा सायरी ।

मलाई लाग्छ, गालिबको अन्दाज सबैभन्दा फरक छ । यसैकारण नवाबहरूको संरक्षण प्राप्त भयो । अब तपाईं भन्नुहुन्छ कि म उनीहरूको विरुद्धमा कलम चलाऊँ । यदि मैले उनीहरूको प्रशंसामा केही पङ्क्ति लेखिहाले पनि यसमा गलत के छ र ?

दर्शन के हो र यसको मेरो जीवनमा के सम्बन्ध छ, यो मैले भन्दा बढी सायदै अरु कसैले बुझेको होला । मित्र, तपाईं कुन आधुनिक सोचको बारेमा कुरा गर्दै हुनुहुन्छ ? यदि तपाईं साच्चिकै दर्शन जान्नुहुन्छ भने, वेदान्त र वहदुत-उल-वजुद पढनोस् । क्रान्तिको रट लगाउन छोडिनोस् । तपाईं लण्डनमा बस्नुहुन्छ, मेरो एउटा काम गरिदिनोस् । वायसराँयलाई मेरो पेन्सनको लागि सिफारिस पत्र खसालिदिनु ।

धेरै थाकेँ । बस् यहि सम्म ।

तपाईंको 
गालिब 


(प्रस्तुती: जनक कार्की)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।