कुनै समय एक्लैदुग्लै  हिंड्न डर लाग्ने गरिको घना ढुंगेटार अलैँची बगान अहिले खुल्ला देखिन्छ । पहिले घाँसको भारि बोकेर एकजनाले नै ढाकिने साँघुरो बाटो अहिले  बारी वरिपरी गाडीको सडक पुगेको छ । त्यही सडक मास्तिर पाखामा सहयोगीहरु रोशन गुरुङ , कमल राई र मदन राईलाई साथमा लिएर  इलाम सन्दकपुर ५ इङ्गलाका कृषक तथा उद्यमी दिपक गुरुङ किवीको बिरुवा  रोप्नमा व्यस्त देखिन्छन् । बिहान १० बजे खेतालासँगै मेलोमा पुग्नु र दिनभरी बारीमै समय बिताउनु उनको अहिलेको नियमित दिनचर्या बन्न पुगेको छ ।



समुन्द्री सतहबाट १००० देखि २५०० मिटर उचाइ भित्र राम्ररी फस्टाउने किवी खेती, बिरुवा रोपेको ५ देखि ७ बर्षमा परिपक्व हुने, प्रत्येक परिपक्व बोटमा एक पटकमा १०० किलो सम्म उत्पादन हुने र  ३०० बोट किवी लगाउँदा खर्च कटाएर पनि कम्तिमा बार्षिक २० लाख मनग्ये आम्दामी हुने उनी बताउँछन् ।



विगत २ वर्षा यता  चोयाटार कृषि तथा पशुपालन फार्म समेत दर्ता गरि अहिले उनी ३० रोपनी जग्गामा किवी फलको खेती गर्न लागि परेका छन् । ‘अहिले लकडाउनले धेरैलाई हतोत्साहि बनाएको छ ,संसारलाई ग्रसित बनाएको छ र यो दुखद कुरा हो। यिनै कुराहरुलाई मात्रै घोत्लिएर हेरिरहने र समाचार सुन्नलाई मात्र दिनचर्या बनाउने हो भने हामीलाई कोरोना नै लाग्नुपर्दैन । तनावले नै मरेतुल्य भइन्छ। र हामीले आफु सुरक्षित साथ बस्नु बाहेक अरु विकल्प नै पनि खासै केहि छैन त्यसैले म चाहिँ यता  लागेँ ।'- गुरुङ भन्छन् । उनी जोड्छन् : 'अहिलेको परिस्थितिले मलाइ चाहिँ आफु र आफ्नो गाउँतर्फ फर्केर हेर्ने मौका दिएको छ , यो   माटो जहाँ म हुर्कें , बढेँ , यसैमा टेकेर संसार देखेँ आज यसप्रतिको सम्मान र महत्व बुझ्ने अवसर दिएको छ । '



विगत १० वर्षा यता विभिन्न एन.जी.ओ / आइ.एन.जी.ओ मार्फत धेरै ठाउँहरुमा काम गर्दै भौतारिरहेका उनी अहिले आएर आफ्नै ठाउँको माटोको महत्व बुझेको बताउँछन् । गुरुङ भन्छन् : 'अरुको काम धेरै  गरेँ अब आफ्नै काम गर्छु। र, जबदेखि आफ्नै  काम थालेँ तबदेखि आफुभित्र खुसी अनुभूत भएको पाउँछु | त्यसै बाँझीएर रहेको बारीमा मैले केहि पसीनाको थोपाहरु  चुहाउँदा मनग्ये फाइदा हुन्छ भने किन नगर्ने ?'



' अहिलेको परिस्थितिले मलाइ चाहिँ आफु र आफ्नो गाउँतर्फ फर्केर हेर्ने मौका दिएको छ । यो   माटो जहाँ म हुर्कें, बढेँ, यसैमा टेकेर संसार देखेँ आज यसप्रतिको सम्मान र महत्व बुझ्ने अवसर दिएको छ ।' 



विगत ६/७ साल यता अलैँचीमा विभिन्न प्रकोप तथा रोग व्याधहरु देखा पर्न थालेपछि इङ्गला  लगायत आसपासका अन्य ठाउँहरुमा अलैँची निमिट्यान्नै भएको छ। कुनै उपायले पनि अलैंची खेतीमा सुधार आउन नसकेपछि उनि किवी खेतीमा होम्मिएका हुन् । सुरुमा मेहनत लागे पनि हुर्केपछी खासै धेरै स्याहार सम्भार गर्नु नपर्ने, एकचोटी रोपिसकेपछी लगभग सय वर्ष सम्म निरन्तर आम्दानी दिइरहने र विश्वबजारमा एक राम्रो नगदे बालीको रुपमा परिचित भएकोले पनि अहिले किसानहरुमा किवी खेतिप्रतिको मोह जाग्न थालेको छ।



गुरुङ्गले आफ्नै बारीमा टनेल बनाइ किवीको बिउ उमारी ग्राफ्टिंग समेत  गरेर उन्नत जातको किवी खेती सुरु गरेका छन्। साधारण खालको बिरुवा भन्दा ग्राफ्टिंग गरेको बिरुवामा बढी उत्पादन  हुने र रोगप्रतिरोधात्मक क्षमता पनि बढी हुने हुनाले पछी बोटमा किरा लाग्ने र फल बिग्रिने समस्या कम हुने गुरुङ्गको  जिकिर छ । उनले अहिले ३० रोपनी जगामा केहि बोट हेवार्ड र ३०० बोट एलिसन जातका  किवी रोपिसकेका छन् । हेवार्ड जातका किवी अलिक ठुलो आकारको हुने भएकोले विश्व बजारमा यसको लोकप्रियता बढी भएपनि उत्पादनको हिसाबले एलिसन नै उपयुक्त रहेको उनी बताउँछन्।



'अरुको काम धेरै  गरेँ अब आफ्नै काम गर्छु। र, जबदेखि आफ्नै  काम थालेँ तबदेखि आफुभित्र खुसी अनुभूत भएको पाउँछु | त्यसै बाँझीएर रहेको बारीमा मैले केहि पसीनाको थोपाहरु  चुहाउँदा मनग्ये   फाइदा हुन्छ भने किन नगर्ने ?'



समुन्द्री सतहबाट १००० देखि २५०० मिटर उचाइ भित्र राम्ररी फस्टाउने किवी खेती, बिरुवा रोपेको ५ देखि ७ बर्षमा परिपक्व हुने, प्रत्येक परिपक्व बोटमा एक पटकमा १०० किलो सम्म उत्पादन हुने र  ३०० बोट किवी लगाउँदा खर्च कटाएर पनि कम्तिमा बार्षिक २० लाख मनग्ये आम्दामी हुने उनी बताउँछन् । हुन त नेपालमा  किवीको बजार व्यवस्थापन त्यति व्यवस्थित हुन सकेको छैन। यसको प्रमुख कारण पर्याप्त उत्पादन नहुनु नै हो - उनी भन्छन् । हामीले पर्याप्त मात्रामा उत्पादन गर्न सके यसलाई विश्वबजारमा सजिलै पुर्याउन सकिन्छ।



अहिले अरुले गरेको देखेर २/४ बोट रोपी हचुवाको भरमा कुनै तयारी र प्राविधिक ज्ञान नै बिना यसको खेती गर्ने प्रचलन पनि बढेको छ तर त्यो प्रवृतीले यसको व्यवसायीकरणमा कुनै टेवा पुग्दैन, उल्टै बजार नष्ट हुन्छ। त्यसो त अहिले उपयुक्त उचाई र अनुकुल मौसमको कारण जिल्लाले सन्दकपुर गाउँपालिकालाई किवी जोन घोषणा गरेको छ ।  कृषकको हौसलाको निम्ति ५० प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको छ । , त्यसै अनुदानको सहायताले आफुलाई पनि किवी खेतीमा धेरै सहजता भएको उनी बताउँछन्। 



‘अहिले लकडाउनले धेरैलाई हतोत्साहि बनाएको छ ,संसारलाई ग्रसित बनाएको छ र यो दुखद कुरा हो। यिनै कुराहरुलाई मात्रै घोत्लिएर हेरिरहने र समाचार सुन्नलाई मात्र दिनचर्या बनाउने हो भने हामीलाई कोरोना नै लाग्नुपर्दैन । तनावले नै मरेतुल्य भइन्छ। र हामीले आफु सुरक्षित साथ बस्नु बाहेक अरु विकल्प नै पनि खासै केहि छैन त्यसैले म चाहिँ यता  लागेँ ।'- गुरुङ भन्छन् ।



हुन त गाउँमा  फाट्टफुट्ट रुपमा किवी खेती पहिलेदेखि नै हुँदै आएता पनि  इङ्गला गाउँभरिमा व्यवसायिक रुपमा किवी खेती सुरु गर्ने पहिलो कृषक दिपक गुरुङ्ग नै हुन् ।  गाउँमै बसेर स्थानीय श्रोत र साधनलाई नै परिचालित गरेर पनि केहि गर्न सकिन्छ र स्थानीय कृषिलाई पूर्ण रुपमा व्यवसायीकरण गरि पर्याप्त आम्दानीका साथ स्वरोजगार बन्न सकिने कुराको दरिलो उदाहरण हुन् उनी। र उनको यो कदम अहिलेको बेरोजगार युवापुस्ताका लागि एक प्रेरणाका श्रोत पनि बन्नेछ । किवी एक अति नै स्वास्थ्यवर्धक फल साथै विश्व बजारमा लोकप्रियता जमाइसकेको नगदे बाली भएको कारणले पनि यसको खेती तथा उत्पादनमा प्रोत्साहन हुन जरुरि छ । 



 



यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...