राजु झल्लु प्रसाद

कुरा ठ्याक्कै एक वर्षअघिको हो । श्रावणको महिना । लकडाउन केही खुकुलो हुँदै थियो । 

करिबन ५ महिना कोठाभित्र थन्किँदा शरीर एवम् मन-मस्तिष्क विरक्तिएको थियो । समयका झुठा हातहरूले दैनिकी बिटुलाइरहेको थियो । दैनिकी चोख्खाउने उपाय एवं तौर-ए-तरिकाको खोजतलास गरिरहेको थिएँ ।

शरीर बेकामे फलाम बनिसकेको थियो ।  खुट्टामा खिया जमिसकेको थियो । शरीर कुकाठ बनिसकेको थियो । झ्याउको पोथ्रापोथ्री पलाइरहेका थिए । यी पोथ्रापोथ्रीले बुट्यानको रूप धारण गर्नुअगावै कतै फुत्किभाग्नु नित्य आवश्यक थियो । र, यो फुत्काइ- साइकलयात्रामार्फत फत्ते गर्ने कुरामा हामी तीनभाइको मन मिल्यो । तत्पश्चात्, प्लान बन्यो । 

राहुलले भन्यो- ‘साइकल लिएर कुनै सुदुर गाउँको गन्धे झार हत्केलामा लिगौँ ।’

प्रभातले भन्यो- ‘वनमासाको चुंगी उफारेर दिन बियालौँ ।’

मैले भनौं- ‘लौ त्यसै गरौँ । ककनी उक्लौँ ।’  

साइक्लिङको दिवाना हामी रनवन डुल्न, वनपथतर्फ लम्कन हतारियौं । भाँडामा तीन साइकल लिएर हामी तीनभाइ एकाबिहानै पाटनका अँध्यारा-असजिला-घुमाउरा गल्लीहरू छिचोल्दै बाइपास मोड पुग्यौँ । खुट्टामा कुतकुती बढ्दो थियो, हृदयमा खसखस बरकरार थियो । हामीले आधा घण्टाको समयमा मुड्खु भन्ज्याङ मुनीको बजार पुगी छाड्यौँ ।

एक-एक राउण्ड चना-अण्डा खाइसकेपछि एक-एक खेप अगाडीको हिल्लाम्मे बाटोको अवलोकन गर्यौं । बाटोको हालत तात्कालिन राजनतिक उबाडखाबड जस्तै थियो, जतात्तै खाल्डो, पहिरो र पोखरी जमेको । जसलाई हुबहु तात्कालिन सत्ता साझेदार नेकपा डबलका क्रान्तिवीरहरूको कम्युनिष्ट मगजसँग तुलना गर्न सकिन्थ्यो । कुन कतिबेला पहिरिने हुन्, कति कतिबेला खस्ने हुन् साथै कोमाथि को बज्रने हो भन्ने कुराको वासलात तयार गर्नु मुर्खाई शिवाय अर्कोथोक केही हुनेवाला थिएन । 

सोचेका थियौं, ककनीसम्मको साइक्लिङ दैनिकी चोख्खाउने एक मेसो हुनेछ । एकनासपनको लकडाउनकालिन भान्छादेखि अत्तालिएर एक दिन बसेको उपबास (व्रत) बन्नेछ।  तर, त्यस्तो भएन । मुड्खु पुगुन्जेलसम्म नै हामीले वस्तुस्थितिको यथार्थ विवरण हाम्रोसामू वासरल्ल छरिन पुग्यो । जसको दुर्गन्धमा हामी नाकमुख थुनेर समकालीन यथार्थासँग उठबस गर्न बाध्य भयौँ । 

बाटोमा गाडी कम थिए । बाइकहरू फाट्टफुट कुद्दै थिए । सिमित ट्रकहरू तलदेखि माथि र माथिदेखि तल गर्दै थिए । माथि जाने ट्रकहरू फोहोर बोकेर चिप्लेकिरा गतिमा दुर्गन्ध ओकल्दै चिप्लीरहेका थिए । तल झरीरहेका ट्रकहरू कछुवा गतिमा दुर्गन्ध छ्याप्दै घिस्रीरहेका थिए । दुवैथरी ट्रकहरूमा एक समानता थियो- दुवै फोहोरले भरिभराउ थिए । यो एक विसंतीपूर्ण अवस्था थियो । फोहोर बोकेर उकालो लागेका ट्रकहरू सोही विशेषणसहित ओरालो लागिरहेका थिए । यो सामान्य हिसाबमा अप्यातिरिलो दृश्य थियो । माथि गएका ट्रकहरू फोहोर खसालेर तल आउनु सामान्य हिसाब थियो । तर यो हिसाब बिग्रिएको थियो । 

राहुलले कुराको चुरो बुझेनछ ।
सोधिहाल्यो- 'यी ट्रकहरू कति आएका ? अनि फेरी, फोहोर बोकेर के खान तलमाथि गरिराछन् ?' 

उत्तर यसप्रकारका हुन् सक्थे- 'खै कुन्नि कान्छा, के थाहा र ? ड्राइभरलाई नै सोध् न ।'  

तर प्रभात र मैले उत्तर यसप्रकार दियौं- 'सिसडोल जाने बाटो बिग्रिएको छ क्यारे। सिसडोलवासीको आन्दोलन आजदेखि सुरु भएझैँ लाग्या छ । सिसिडोलकै फोहोर दलालीहरू ट्रक ड्राइभरहरूलाई आन्दोलनको बेपार्वाह गर्दै फोहोर बोकी उक्लिन मद्दत गर्दै होलान्।' 

भाइ एक्कासी जंगियो- ‘मुला दलाल नेताहरू । जाबो फोहोर राख्ने गतिम्लो ठाउँ पनि बनाउन सक्दैनन् ? अनि आन्दोलन छ भन्ने जानीजानी के खान आएका त ? पेल्ने पनि हद हुन्छ नि । ’

‘भाइ, कुरा एकदम सहि गरिस् । हो, नेताहरू मुला नै हुन् । तर हामी जनता तीनै मुला जस्ता नेतालाई गाजार भन्दै ह्यकुलोदेखि निस्किरिएको ढ्वाउ रोकीरहन विवश छौं’, मैले भने । 

‘फोहोर राख्ने ठाउँको कुरामा चाहिँ - बनाएका हुन्, बनाउछु पनि भनेका हुन्, टेन्डर आह्वान भएर काम सुरु पनि भएको हो । तर पैसाको हिसाबकिताब बिग्रियो । दलाल प्लस ठेकदारको चुल्हो जलेन । काम वर्षौं लम्बाईदिए । यस्ता आन्दोलन पनि भइराख्छन्  र स्थानीय दलालहरू वर्सेनी आन्दोलन भड्काइ पनि रहन्छन् ।’ प्रभात बोल्यो । 

यसपछि राहुल थप बोलेन । ऊ पाइडल पेल्दै, समाईरहेको ब्रेक ह्वात्त् छाडेर अगाडी बत्तियो । प्रभात र मैले उसलाई पछ्यायौं । 

मुड्खुदेखि १५/२० मिनेट तल पुगेपछी एक बजे भेटिए । उनी फोहोरका पोकापुन्तुरा बटुलेर घरअगाडी आगोको मुस्लो दनदनी हुर्काइरहेका थिए । गन्ध व्यापाक थियो । उनको घर आसपास अनेकथरी पलास्टिक एवम काँचा (गलेको भात, सडेका तरकारीका त्यान्द्रातुन्द्री, भित्री वस्त्रहरू, दबाईका ट्याब्लेटहरू र आदि-इत्यादि) फोहोर छरपष्ट थिए । मानौँ, यो घर नभएर फोहोर संकलन केन्द्र हो । 

प्रभातले सोध्यो- ‘बुबा, फोहोरको गाडी आउन्न र ?’ 

प्रश्नको उत्तरमा बुढाले पहिले आफ्नो जांग कन्याए । त्यसपछि, पाँच किलोको प्लास्टिकमा हातले समाईरहेको घोचो ‘घ्याच्च’ रोपे अनि हामीतिर पिर्लिक्क आँखा फर्काए । बाफरे.., उनको आँखा फोहोर जलिरहेको मुस्लो समान रापिलो-तेजिलो र तातो थियो । जसले हामी तीन भाइलाई एकसाथ् जलायो । 

थप प्रश्न कसैले गरेनौँ । बसौं कि जाऔँ भयो । कट्टुमा मुत चुहाउने लेवलको हेराइ थियो त्यो । हृदय काम्यो । राहुलको पैतालाको कम्पन म नियालीरहको थिएँ । प्रभात आफ्नो कपाल मुसारेर साह्रो विरक्तिलो अन्दाज-ए-बयाँमा के गरु र नगरुको दोसाँधमा अल्झिरहेको थियो । 

जलिरहेको फोहोरमा अझ एक लट घोचो रोपेर उनी चिच्याए, ‘फर्केर आउन् न मात्रै, बजियाहरूको खप्पर(गाडी)मा किला ठोक्दिन्छु ।’

हामीले बुझ्न समय लागेन ।  बुढा बाजेको रिस हामीसँग थिएँ, न हाम्रो प्रश्नसँग नै । उनको रिस हाम्रो तोरीलाहुरे उपस्थिति र बेसौमत् उत्तर पाउने अभिलाषाप्रति थियो । त्यसभन्दा बढी, एकाबिहानै फोहोर र दुर्गन्ध बोकेर आउने ट्रक र ट्रकचालकहरूप्रति थियो । फोहोर व्यवस्थापन गर्न नसकेर अनेकन् टेन्डर र अनेकन् दलालको घरदैलो गरिरहेको शृंखलाबद्ध आलोपालो सरकारप्रति परिलक्षित थियो । 

नहोस् पनि किन ? बिहानको खाना खाने समय आसपास हरेक दिन उपत्यकावासीले चपाएर थुकेका र केलाएर मिल्काएका हरेकप्रकारको फोहोरको त्यान्द्रातुन्द्री, पोकापोकी उनको घर-आँगनभरि वासरल्ल हुन पुग्थ्यो । उनको दैलोमा दिनको दशौँ पटक दशौँ गाडी ढलपलढलपल भइ आइरहन्थे, पोकापोकी र पोकापोकीबाट अमिलो रस चुहाइरहन्थे । 

एक त सामान्य (फोहोर चुहावटको हिसाबै नराखी) ट्रकमा गल्ने-नगल्ने दुवै फोहोर ल्याएका छन् । बाटोभर माखा भन्कीरहेका छन् । अर्को, ढालाभन्दा  निकै माथिसम्म ब्रोइलर कुखुराको हाड र बासमती चामलको डुंगरले बनेको पहाड बोकेर ‘लहैलहै अन्दाज’मा एकछत्र दौडीरहेका छन् । बाटोको अवस्था ठिक छैन। खाल्डाखुल्डीमा गाडी उफ्रिदा पहाड भासिएको छ, ब्रोइलर र बास्माती बाटाभरि भएका छन् । तिनै हाडहरू टिप्न कागहरू अपलक झम्टा हानिरहेका छन्, हरिया झिंगा (माखो)हरू भुन्भुनाइरहेका छन् । र, तिनै झिंगा बुढाबाजेको नाकमा बसीरहेका छन्, कपालमा रिंगीरहेका छन् । 

जसलाई भए पनि झिंझो लाग्थ्यो, जो भए पनि रिसाउथ्यो ।  हरेक व्यक्तिले सफा वातावरणमा बस्न पाउने अधिकार संविधानतः प्राप्त गरेका छन् ।  तर, यो हक मानौं यहाँ लागू हुन् नै दिइनेछ । यो हक मानौं सिसिडोलवासीको लागि हुँदै होइन । 

दैन्दिन पूँजीवादको मलखाद आफ्नो घरलाई लात्ता मार्दै, आफ्नो आँगनलाई बिटुलाउदै सिसडोलतर्फ लम्कीरहदा ५० वर्ष हाराहारीको ती बाजेको आँखामा आगोको मुस्लो देखिनु स्वाभाविक थियो । र, यो स्वाभाविकपन साच्चैमा ज्यादै अस्वाभाविक थियो । अत्यन्त, कष्टप्रदायक थियो । 

अनेक देशले फोहोर व्यवस्थापनका अनेक विकल्पहरू अगाडि सारेका छन् । कम्पोष्ट मल र कुहिने, नकुहिने वस्तुको पृथकीकरण गरी फोहोरको परिमाण घटाउने, फोहोरलाई मोहरमा परिणत गर्नेजस्ता कार्यक्रम आएका छन् । तर यहाँ त्यो कामको प्लान्टेसन् (उमार्नु) मात्रै भयो, लालनपालन हुन् सकेन । परिमाणत: काठमाडौंवासी आफ्नै फोहोरदेखि तर्सिरहेका छन् । सिसीडोलवासी आफ्नै दैनिकीदेखि विरक्तिरहेका छन् । र, यि दुईबीच  केन्द्र सरकार र स्थानीय दलाल निरन्तर भन्कीरहेका छन् । 

फोहोर व्यवस्थापनसम्बन्धी काम गर्न सक्षम निकायको स्थापना, वैज्ञानिक उपकरण, प्रविधि तथा अभ्यास, पर्याप्त स्रोत परिचालन गरेर दीर्घकालीन फोहोर व्यवस्थापन गर्न सकिने थियो तर यो काग (सरकार) र माखो (स्थानीय दलाल)को आन्तारिक मिलिभगतका कारण बर्बाद भयो । परिमाणत: यसभेगमा  कोरोनाको आतंक बढ्न पुग्यो । फोहोर मैलामा काम गर्ने कर्मचारीको कोरोना बीमाको सुनिश्चतता हुन् सकेन । त्यसबाहेक, सरसफाइ अभियान कर्ताको घाँटी समाउने काम भइरह्यो । फोहोर उठाउने कर्मचारीलाई अपराधिको जस्तो व्यावहार गरिदा उनीहरूको मानसिकता क्षतविक्षत भइरह्यो ।

उपत्यकाका १८ वटा स्थानीय सरकार अत्तालिए झैं देखिन्छ तर यिनले ठोस कदम चाल्न सकेनन् ।  सकेनन् होइन चाहेनन् । 

सिसडोलको विकल्प खोजी भयो तर भएन । भएन पनि होइन हुन दिइएन ।  

खोला डाइभर्ट गर्नेदेखि सडक र पुल निर्माणका थुप्रै काम भए तर...तर, भएनन् । 

सहरी विकास र सहरी विकास मन्त्रालय फोहोरमाथि उभिएर ‘लुतो कन्याईरहे’ । आर्थिक वर्ष सुरु भएसँगै (साउने संक्रान्ति) ‘अगुल्टो हुत्ताए’झैँ गरिरहे । हुत्ताइएको अगुल्टो काठमाडौंवासीको खप्परमा बज्रीरह्यो । 

यो सबबीच सिसडोल फोहोर धान्न नसक्ने अवस्थामा पुग्यो। बञ्चरेडाँडाको भविष्य अन्यौलपूर्ण बन्यो। थप विकल्पको खोजी हुन् सकेन । यसैबीच वर्खायाम आइदियो । बनाइएको तर नबनिएको पीच बाटो पहिरियो । फोहोर काठमाडौंमा थुनियो । काठमाडौंको चोक-चोक गन्ह्याईरहे । 

यी सब खिचातानी र रत्तेउली सम्झिदै म चुपचाप उभीरहें ।  फोहोर जलाईरहेका बुढासँग थप सवालजवाफ गर्ने हिम्मात आएन । तीनै भाइ एक सुरले, एक तमासले जलिरहेको फोहोरको डुंगुरलाई मास्कभित्रको नाक थुनेर हेरीरह्यौं । 

आफैँले डस्बिनलाई प्लास्टिकले बेरेर मिल्काएको बचेका भात-तरकारी, धुन अल्छी मानेर मिल्काएको भित्रि वस्त्रहरू पनि यहाँ आइपुगे होलान् ।  सितनभाँती चपाएको चाउचाउ र माछाको सुकुटीका प्लास्टिकहरू यसैगरी यहाँसम्म आइपुगे होलान् । र, यसैगरि यी गाउँवासीको सातो खाइरहेका होलान् । अनेकन सरुवा रोगको चंगुलमा पुर्याईरहेका होलान् । जतिसक्दो कम फोहोर उत्पादन गरौँ भनेर लाग्दा दुई दिनको एक पोका फोहोर उत्पादन गरिरहेको मैले हठात् आफ्नो हत्केलोमा बसेको माखो प्याट्ट हानेर धपाएँ । 

मलाई कसोकसो सो माखो म आफैँ हूँ जस्तो लाग्यो । बुढाको घरमाथि हाड च्यापीरहेको काग म आफैँ हूँ जस्तो पनि लाग्यो ।  यी-यसैगरी तथाकथित उडन्ते भावानात्मक डङ्गुरमाथि घोचो गाडेर उभीरहेको थिएँ- प्रभातले प्याट्ट हान्यो । ‘तल झर्यौं’ भन्ने उसको इशारा थियो । भाइ राहुल, अगाडी बत्तिसकेको रहेछ । मैले आफ्नो दाहिने घुँडा पाइडलमा राखे । पाइडल आफ्नो ठाउँमा आयो ।  ब्रेक समाईराखेको चोरी औला खुकुलो बनाए । साइकल सनै..सनै, विस्तारै..विस्तारै.., तीनपिप्लेको ओरालोतर्फ चिप्लियो ।..चिप्लीरह्यो ।  

तीनपिप्लेदेखि सिसडोलतर्फको बाटो पीच गरिएको रहेछ, तर बाटोको उबाडखबाड बरकरार नै थियो । फोहोर बोक्ने ट्रकहरूको लागि खनिएको बाटो एकदम रित्तो थियो । ट्रकहरूको नामोनिशान थिएन । ट्रकहरू मुड्खुदेखि तल झर्न नै दिइएको थिएन ।

ककनीलाई गन्तव्यस्थल बनाएर सडक नाप्दै हिडेका हामी चुपचाप कोही पनि कोहीसँग नबोली साइकल ह्याण्डील दायाँबायाँ बनाउँदै निरन्तर ओरालो झर्दै थियौँ । आकाशमा बादल थियो । बाटो वरपर वनमासा र गन्धे झार हाम्रा कुम-कुम छुन, पाउ मोल्न तम्तयार थिए । तर हामीले ब्रेक मारेनौं । हामीले आ-आफ्ना चाक विसाएनौं । हामी नित्य ओरालो झरीरह्यौं । र, हामीलाई थाहा थियो-जसै ओरालो सकिनेछ, फोहोरको विशाल साम्राज्यमा हामीले दस्तक दिनेछौं ।

जतिजति ओरालो झर्दै थियौं- उति उति हामी नाक मिच्दै थियौं । फोक्सोको असजिलोपलाई थुमथुमाउदै थियौं । सान्त्वनाको खातिर हामी यत्ति भन्न सक्थ्यौं- ‘केही छैन,  बञ्चरेडाँडा चाडै नै तयार हुनेछ ।’ तर हामीले भनेनौं किनकि हामीलाई थाहा थियो- बञ्चरेडाँडामा निर्माण भएर तयार नै भइहालेता पनि खासै अर्थापरक केही हुनेछैन । 

फेरी पनि, सरकारले टिभी सेट अगाडी आएर फोहोर व्य्वास्थापानको खातिर ५० औँ कारण रुपिया निकासा गरेको चुटकिला सुनाउनेछ । 

फेरी पनि, काठमाडौंको दैनिक एक हजार टन आसपासको उत्पादित फोहोर यसैगरि पहाड बनाएर चुहाउदै ल्याइनेछ । 

फेरी पनि, स्थानीयवासीले दबाबमूलक आन्दोलन गर्नेछन् । र, फेरी पनि यहिँबाट एउटा माखो भुन्भुनाउनेछ, प्रधानमन्त्रीको नाकमा गएर बस्नेछ । र, फेरी पनि उक्त माखोलाई केही थान हजारको नोटले प्याट्ट हान्दै प्रधानमन्त्री वाणिज्य बैंकको पार्किङ लटदेखि बाहिरिनेछन् । 

फेरी पनि, भौतिक पूर्वाधारको विकास गरिनेछैन । फोहोर विसर्जनपछि फोहोरको ढाकछोप गरिनेछैन । 

फेरी पनि, स्वास्थ्य सुरक्षा विधि, फोहोर प्रशोधन एवं वातावरणीय संरक्षणतर्फ कुनै काग (प्रधानमन्त्री) एवं माखो (स्थानीय दलाल) को ध्यान पुग्ने छैन । 

फेरी पनि, बाटोको समस्या देखाउदै महानगरपालिकाले हुकुमियत जारी गर्नेछ- ‘काठमाडौंवासी आ-आफ्ना फोहोर आ-आफ्ना दराजमा सजाएर राख । सजावट हुन्छ । आ-आफ्ना ओछ्यानमुनी च्यापेर राख । भोलिपर्सिलाई सिन्की हुन्छ । काम आउँछ ।’

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...