अछाम - जिल्लामा १ हप्तादेखि सार्वजनिक बसहरू नचल्दा सर्वसाधारणलाई सास्ती भएको छ । अछाममा मंसिर १५ गतेदेखि सार्वजनिक बस सेवा सुचारु हुन सकेको छैन ।

मंसिर १४ गते मंगलबार सदरमुकाम मंगलेसनबाट धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना हुँदा ज्यान गुमाएका आफन्तहरूले मागेको क्षतिपूर्तिको विषयमा सहमति जुट्न नसक्दा बसहरू सुचारु हुन नसकेका हुन् ।

सार्वजनिक यातायात नचलेकाे १ हप्ता भइसक्दा समेत अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले गाडी खुलाउनको लागि कुनै पहल नगरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

यातायात व्यवसायी पीडितले मागेको क्षतिपूर्ति धेरै भएका कारण तिर्न नसक्ने भन्दै बस चलाउन तयार भएका छैनन । एक हप्तादेखि बस ठप्प हुँदा काम विशेषले जिल्ला बाहिर जान नपाएका भन्दै सर्वसाधारणले गुनासो गरीरहदा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले भने गाडी चलिरहेको दावी गर्दै एक दुईदिन मात्र सवारीमा यातायात सेवा असहज भएको बताएका छन् ।

उनले यातायात सेवा खुलाउनका लागि प्रयास जारी रहेको बताएका छन । सर्वसाधारणले भने बस दुर्घट्ना भएको ८ दिन सम्म पनि सहमति जुटाउन नसक्नुले सिडिओको कार्यक्षमता माथि प्रश्न उठाएका छन् ।

मंसिर १४ गते भएको बस दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको घटनास्थलमा मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी मल्लसँग दुर्घटनाको कारण के रहेछ भनी सोध्दा उनी फोन सम्पर्कबाट बाहिरिएका थिए । अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लसँग गरिएको कुराकानी सुन्नुहोस् ।https://themargin.prixacdn.net/media/attachments/2021/12/07/cdo-rudra-malla-achham.mp3

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...