काठमाडाैँ । मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिवार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६\०७८\०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिवार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिए ।

“परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ”, उनले भने, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९  निरीक्षकको परिचालन गरिएको उनले बताए।

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले सङ्घीयताको इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए । आफ्नै सरकार अन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको उनकाे भनाइ थियो ।

आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...