आहुति

विश्वभक्त दुलाल 'आहुति' लेखक, चिन्तक तथा विश्लेषक हुन् ।

विसं २०२३ मा काठमाडौँ नैकापमा जन्मिएका विश्वभक्त दुलाल 'आहुति' लेखक, चिन्तक तथा विश्लेषक हुन् । लामाे समयदेखि विभिन्न समाजिक आन्दाेलनसँग आबद्ध आहुतिका तपस्वीका गीतहरू (कवितासङ्ग्रह), नयाँघर (उपन्यास), स्खलन (उपन्यास), हिन्दू समाजमा दलित जातीय मुक्तिको प्रश्न (समाजशास्त्र), गहुँगोरो अफ्रिका (कवितासङ्ग्रह), जातवार्ता (समाजशास्त्र) लगायत विभिन्न कृतिहरू प्रकाशित छन् । 

१. एउटा टुहुरो मान्छे

यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको
चुटुक्क अनुहार लिएर, अन्धकार भवि बोकेर
तिमीलाई हेरिरहने सानो मान्छे
पढेकाहरुले मलाई अनाथ भन्छन्/नपढेकाहरू भातेभुते भन्छन्
म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला
म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला
घिच्रो आठयाएर मार्न नसकेर हो कि ?
कलिला हातगोडा सलबलाएको देखन नसकेर हो कि ?
कतै ढुंगाको गब्देरोमा/कतै मसानको छेवैमा
मलाई थपक्क फालेर फर्कदा
मैले पनि त्यो आईमाईको फरियामा झुन्डिन खोजे हुँला !
को होली त्यो निष्ठुर आईमाई ?
को होला त्यो लाचार लोग्नेमान्छे ?
सडकमा कुनै आईमाई या घरानियाँ कुमारी पन्छिएर हिँड्दा
मलाई आफ्नो बच्चा भन्न नसकेर भित्रभित्रै रोएझैँ लाग्छ
समाजका भुँडीवालहरू नजिकैबाट हिँड्दा पनि
आमासँग जोडिएको नाइटोको नसा चुडाल्ने भनी झम्टन मन लाग्छ
गाउँको मुखिया देखे पनि/शहरका पाखन्डीलाई भेटे पनि
मेरो अनुहार योसँग मिल्छ कि भनेर दाँज्न मन लाग्छ
यसरी आफ्न आफन्तबाट फालिएर/आफ्नै सुरमा
आशा पनि थाम्न नसकेर/निराशा पनि बोक्न नभ्याएर
कतै देवलको भित्र कुनामा
कतै गाउँको थोत्रो पौवामा लडिरहेको मलाई
कसैले चेपारे घसेर ‘बाबु नानी’ भनेर नबोलाऊ
म मलाई फ्याँक्ने ती जोडीलाई सम्झना थाल्छु
म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु
म सिङ्गो भएर पनि किन हो किन अपुरो भएको छु
मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु ।

२. अर्को टुहोरो मान्छे

यो रगत जती जम्मै निख्रिएको/मासु जम्मै चाउरिएको
आँखा चिप्रा पनि पुछन नभ्याएकी
फाटेको चोलो र फरिया पनि टाल्न नसकेकी
झरीमा सारुङ चुलचुल गरेझैँ
सत्रधारा आँसुले रुझेकी मलाई
नचिन्नेहरू ‘को होली बुढी ?’ भन्छन्
चिन्नेहारू ‘वीर बहादुरअकी आमा’ भन्छन्
मेलापात गरीगरी बेसाएर/रात भरिभरि नसुतेर
सधैँभरि छातीमा टाँसेर वीरेलाई हुर्काएकी थिएँ
गाउलेहरू भन्दा हुन् ‘यो राँडी आईमाईले के ख्वाइ होला ?’
तर मैले घोट्ताप्रे पिँधेर गर्मी शितल पारेझैँ
आफ्ना कुरकुरे हाढरु घोटेर उसको पेट्को आगो निभाएको थिएँ
म पनि उसलाई छाडेर पोइला जान सक्थेँ हुँला
कतिले पँधेरामा फकाउन आएथे
वीरेलाई रुवाएर सिन्दुर लगाउन सक्थे हुँला
रहरले त सपनीमा गीत गाएथेँ
तर मैले उसको मायाले
उसका ओठबाट दुध पनि खोस्न सकिन
बाबु मरेको टुहुरोलाई अझै टुहुरो पार्न सकिन
यसरी उ मेरो काखमा हुर्केपछि
तिघ्रे भएर मेरो आँखा अगाडि उभिएपछि
अमला खाएपछि पानी खाँदा हुने गुलियो जस्तै
जिन्दगानीलाई मिठो ठानेको थिएँ
तर उसले मनपरेकी स्वास्नी बिहे गरेपछि
रिसाएरै भन्छु उसले स्वास्नीको पेटीकोट ओडेपछि
बुहारीले मलाई झर्को फर्को गर्दा
छोरोले मलाई हप्कीदप्की लगाउँदा
बिहान सबेरै पोतरी लिएर दैलो पोत्दा
मैले पोतरीभरि आँसु झारेकी थिएँ
म एउटी बुढीआमा देखि लुकाएर
वीरेले रोटीका पोकाहरू कोठाभित्र लाँदा
लोग्नेस्वास्नीले हाँसीहाँसी खाँदा
आँखा भएर पनि मैले चारैतिर अँध्यारो भेटेको थिएँ
यसरी बुहारीकै खटनपटन सहेर बाँच्दा पनि
घरको तगारो बाहिर बसेर रुँदा पनि
बुहारीले जगट्याउँदा/छोराले उल्टै भर्याङबाट खुर्मुर्‍याइदिँदा
म सँगै वीरेलाई नौ महिना बोक्ने सानो पेट पनि रोएको थियो
कलिलै उमेरमा विधवा हुँदा के मुटु दुख्यो होला र ?
तर अहिले सिस्नोले जस्तै मुटुलाई पोलेको थियो
यसरी आफ्नै सन्तानबाट लछारिएर
बाँसको झाङ जस्ताइ सुसाएर
कतै बेसीको पौवातिर/कतै गोरेटोको गल्छेडोतिर
बस्दै बस्दै हिँडिरहेकी मलाई
कसैले स्वाङ पारेर ‘आमा’ भनेर नबोलाउ
म ती छोरा बुहारीलाई सम्झना थाल्छु
म त्यस्ता आफन्तको साइनोलाई थुक्न थाल्छु
म सिङ्गो भएर पनि किन हो किन अपुरो भएको छु
मेरो कोही छैन यो संसारमा म टुहुरो भएको छु ।

३. आफन्तको खोजीमा

यसरी निर्धा मान्छेको घोडा चढेर
रनबन डुल्न पल्केका ब्वाँसाहरूले
कतै चेलीको छाती गिजोल्दा /छाप्रोमा कतै डढेलो दन्काउँदा
रगत र आँसु कतै निचोरेर/पसिना र मासु कतै चिथोरेर
घटघटी कचौरामा रक्सीजस्तै पिइरहेको बेला
आत्तिएर कहिले थुरुथुरु भएर
रिसाएर कहिले आफैँ भुतभुतिएर
चिप्ले किरालाई जस्तै घामको तातोले पोलेपछि
हाँस्न पनि राम्ररी नसकी/रुन पनि बेस्सरी नसकी
शीतल खोजेर घिस्रिरहेका एक हुल मान्छेहरू
आफ्नै बच्चालाई सलहदेखि लुकाएर
कुखुरीले जाडोमा चल्ल छोपेजस्तै
काखमा हुर्काएर बाँच्न खोज्दा पनि
पराई त पराई भई गए
आफन्तकै मायाको सियालमा सुस्ताउन खोज्दा पनि
आफ्नै आँखामा हाँसीरहेका आफन्तहरूले
आफ्नै काखमा हुर्किएका बच्चाहरूले
बाबियोको कुचोले कस्सेर बढारे जस्तै
मासु निख्रिएको झिँगालाई माकुरोले फालेजस्तै
ठूलो जाइको पात जस्तै तितो बचन लगाएपछि
पिँठ्युमा धाप मारेर दैलोबाट निकालेपछि
(आफ्नै गर्भको फूललाई/आफैँले रोपेको फूललाई
अनाथ बनाएर कतै फालेपछि)
हामी आफ्नै आफन्तबाट ठगिएका मान्छेहरू
देशमा पनि अनि परदेशमा पनि
कतै पाटीमा, कतै देउरालीमा
कतै बाटोको चौबाटोमा, कतै सडक किनरामा
पलपल्ती आँसु झारी साउने झरीसरि
कोही नौलो आफन्त आउँछ कि भनेर
फेरि नयाँ साइनो गाँसिन्छ कि भनेर
झरीमा पनि भुपट्टो निधार चहराउने घाममा पनि
एकनास नयाँँ बिहानी खोजिरहेका छौँ
के दिन, के रात, के साँझ, के बिहान सधैंँभरि
हामी नौलो आफन्तलाई पर्खिरहेका छौँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार