थाहा छैन सेसेले राँकेको सडकमा कति फन्को लगायो। परिश्रमको कति कुर्कुच्चा खियायो। मिहिनेतको कति पसिना बगायो। 

ऊ झिसमिसे उज्यालोमै उठेर घरबाट दगुर्न निस्कन्थ्यो। फाक्तेपबाट घुर्विसे पञ्चमीको उकालो हुँदै कच्ची बाटो दगुरेर राँकेसम्म पुग्थ्यो। राँके बजार पुग्ने बेला बाटोको दुबैतिर झ्याप्प सल्लाघारी आउँथ्यो। सल्लाघारी पुग्दा सल्लाहरूको सरसराहटले सबै थकान बिर्साइदिन्थ्यो। राँके बजार पुगेपछि भने पक्की सडक भेटिन्थ्यो। राँकेबाट तेर्सैतेर्सो पक्की सडक दगुरेर उ निबुखोलासम्म पुग्थ्यो। निबुखोलाको पानी पिएर एकछिन् आराम गर्थ्यो। पानीले भोको पेट भर्थ्यो। घर फर्किँदा ओरालो बाटो भएकोले अलि तेज दगुर्थ्यो। 

महाभाराको डाँडैडाँडा दगुर्दा सिर्सिरे बतासले उडाएर उसको भेस्ट र हाफप्यान्ट सररर गर्दै फरफराइरहन्थ्यो। उसलाई त्यो सररर आवाज सुन्दै दगुर्नु औधी मज्जा लाग्थ्यो। घुर्विसे पञ्चमी आइपुग्दा घाम छिप्पिइसक्थ्यो। बिहानीको पहेँलो घाममा फक्ताङलुङ हिमाल झलल टल्किरहेको हुन्थ्यो। घामको किरणले फक्ताङलुङ शिरफूलजस्तो देखिन्थ्यो। उसले पल्टने भएर आमालाई त्यस्तै शिरफुल किनिदिने सम्झिन्थ्यो। जतिपटक फक्ताङलुङ हेर्दा पनि उसको धित मर्थेन। पञ्चमीबाट गीत गाउँदै ऊ ओरालो झर्थ्यो। घर पुगेर अन्य कसरतहरू गर्दा खाना खाने बेला हुन्थ्यो। 

देख्न त एसएलसी पास गरेर लाहुरको सपना देखेको हो उसले। सपना देख्नको लागि ऊसँग धेरै विकल्पहरू थिए। तर लाहुरको सपना देख्नु उसको निम्ति चाहना बन्यो। परिस्थिति र बाध्यताले निर्माण गरेको चाहना। विद्यमान संस्कृतिले निर्माण गरेको चाहना। गरी खानलाई त बेँसीमा धानखेत छँदै थियो। घरछेउमै अलिकति अलैँची बगान पनि थियो। तर उसको सपनामा गाउँघर मात्रै अटाउँथेन। उसलाई त लाहुरे भएर बाबुआमाको भाग्य फेर्नु थियो। तराइमा एउटा सामान्य पक्की घर बनाउनु थियो। गाउँबाट भर्ती लाग्ने ब्रिटिस र इन्ड्यान पल्टनेहरू छुट्टीमा घर फर्किँदा रवाफै फाल्टो हुन्थ्यो। उनीहरूको मरन्च्याँसे अनुहार फेरिएको हुन्थ्यो। छाला सफेद भएको हुन्थ्यो। शरीरबाट मगमग अत्तरको सुगन्ध निस्किरहन्थ्यो। गाउँमा उनीहरूको जति इज्जत कसैको हुन्थेन। कम्ब्याटको चमकदार पोसाक र लेदरको जुत्ता ढल्काउँदै घुर्विसे पञ्चमी निस्कँदा उनीहरूलाई हाइहाइ नगर्ने कोही हुन्थेन। उनीहरूले गफ छाँट्दा गाउँलेहरू बजारको वरिपरि भेलिएर सुन्थे। 

फाक्तेप, चिलिङ्देन र सार्तापतिरका रिटायर्ड लाहुरेहरू सबै दमक र बिर्तामोडतिर बिल्डिङ ठड्याएर बसेका थिए। राम्रै पेन्सन थाप्थे। छोराछोरीलाई देश विदेश पढाइरहेका थिए। चिलिङ्देनको बाजे मेजर लालध्वज नेम्बाङ भेट्नु बित्तिकै उसलाई पल्टनकै किस्सा सुनाएर लाहुर भिड्न उक्साइरहन्थ्यो। यसरी मेजर बाजेले पनि उसको सपनालाई मलजल गर्नु सहयोग पुर्‍याएको थियो। गहुँगोरो अनुहार,चिम्से आँखा,ठिक्कको नाक। हेर्दा राम्रै देखिने पाँच पाँचको औसत उचाइ। लाहुरे बन्न ऊसँग पनि आवश्यक योग्यताहरू निहित थियो। 

२०६८ साल। अठार वर्ष पुगेको दुई तीन महिनापछि उसले बाबुसँग फिदिम बजार गएर जिल्ला प्रशासन कार्यालयबाट "सेसेहाङ चेम्जोङ" नामको नागरिकता निकाल्यो। नागरिकता निकालेको दिन उसलाई लाठे भएको अनुभव भयो। घर गएर सबै साथीहरूलाई ङिच्च हाँस्दै नागरिकता देखायो। साथीहरूले  ढाका टोपी लाएको उसको पासफोटो  नागरिकतामा पनि हाँसिरहेको देखे। तर नागरिकता बनिँदा त्यस वर्षको इन्टेक सकिसकेको थियो। नागरिकता बनेको खुसी एकछिन सेलायो। तैपनि अर्को उसको अझै उमेर थियो। अर्को वर्ष भिड्ने योजना बनाएर सामान्य कसरतहरू गर्न थाल्यो। 

अर्को वर्षको साउनतिर लालध्वज बाजेसँग बुझेर उसले बिरहाङ र धनशेरसँग भर्तीको फारम भर्‍यो। दस हजारजति खर्च बोकेर उनीहरू रिजनल सेलेक्सनको निम्ति धरान झरे। पहिलोपटक धरान झरेका उनीहरूलाई घोपा क्याम्पमा सेलेक्सन हुन्छ भन्नेसम्म थाहा थियो। त्यसैले क्याम्पकै आसपास होटल खोजेर बसे। सेलेक्सनको अघिल्लो दिन सबै आवश्यक तयारी गरे। भोलिपल्ट बिहानै तिनैजना घोपा क्याम्पमा उपस्थित भए। त्यहाँ हजारौँको संख्यामा युवाहरू भेला भएका थिए। उनीहरूलाई ब्रिफिङ दिन क्याम्पअगाडि गोरा अफिसर उपस्थित भएको थियो। सेलेक्सन सुरु भयो। सबैजनाले आफ्नो सक्दो प्रयास गरे। गल्लावालहरूले ट्रेनिङ गराउँदै गए। पिटिआइहरूले नम्बर टिप्दै गए। धनशेर र बिरहाङ पुसअपसम्म पुगे। ऊ रनिङमै फेल भयो। तिनैजना रातो मुख लाएर कोठातिर फर्के। ऊ एकछिन सिरानीले अनुहार छोपेर निदायो। बिरहाङ र धनशेर बाथरुम पसेर नुहाउन थाले। त्यस रात निराशा मेट्न तिनैजना मिलेर भानुचोकसम्म घुमे। बङ्गुरको मासु र तोङ्वा खाए। तोङ्वा जति लाग्दै गयो फेल हुनुको हीनताबोध नि उति उति सकिँदै गयो। तोङ्वा सकिँदासम्म गुनासो, पश्चताप र दुख नि सकियो। भोलिपल्ट हलुको भएर उनीहरू घर फर्के। 

घर फर्केर उसले फेरि पनि लाहुरको तयारीमै ध्यान दिन थाल्यो। साथीहरू पञ्चमी निस्केर क्याम्पस पढ्न थाले। उसले भने लाहुरले गर्दा क्याम्पस नै पढ्न छोडिदियो। दिउँसो घरको काम र खेतीपातीमै समय बित्थ्यो। समय मिलाएर बिहान र बेलुका भने दैनिक कसरत गर्न थाल्यो। घाँस काट्न जाँदा दुई वटा दह्रो बाँस ल्यायो। आँगनछेउमा ती बाँसहरू गाडेर हेभिङ तान्ने ठाउँ बनायो। त्यसको फेदमा काठको फलेकलाई ओरालो बनाएर सेटअप हान्ने ठाउँ बनायो। इनामेलको दुई वटा बट्टालाई छेडेर बिचमा बाँस घुसार्‍यो। अनि माटो भरेर जिम तान्न थाल्यो। बन्दुक बोक्न सानोतिनो पाखुराले हुँदैन भन्ने उसले बुझेको थियो। बेलाबेला हेभिङ तान्दा बाँस चुइँ गर्दै बज्थ्यो। त्यसले उसको कसरतमा लय भरिदिन्थ्यो। गाउँलेहरूले कसरत गरेर देखेर उसलाई पल्टने भन्दै जिस्काउँथे। गलेर रातोपिरो भएको ऊ हेभिङ तान्दै हाँस्थ्यो। हाँस्दा पसिना चुहिएर मुखभित्र पस्थ्यो। तैपनि उसले कसरत गर्नु छोडेन। भर्ती लाग्ने साथी र गाउँका एकएक रिटायर्ड लाहुरेहरूलाई भेट्यो। फिदिम गएर ब्रिटिस भर्तीको तयारीको पुस्तकहरू किनेर पढ्न थाल्यो। 

अर्को वर्षको बर्खामा फेरि भर्ती खुल्यो। उसले सुरुमा गएर धनशेरलाइ सुनायो। धनशेरले दशैँतिहार मनाएर मलेसिया जाने योजना बनाइसकेको रैछ। बिरहाङ भने कोरियाको निम्ति इपिएस टपिक्स तयारी गर्दै थियो। यसपालि ऊ एक्लै भयो। उसले आवश्यक कागजात मिलाएर आवेदन फारम भर्‍यो। असोजतिर भर्ती खुल्यो। उसले अलैँची बेचेर अलिअलि खर्च जोहो गर्‍यो। त्यहीँ बोकेर पञ्चमीबाट झापा हुँदै धरान हुइँकियो। धरान झरेर एकदिन घोपा क्याम्प छेउछाउ नै अभ्यास गर्‍यो। अर्कोदिन बिहानै फेरि पनि ऊ सेलेक्सनको निम्ति उभियो। ऊसँगै हजारौँ युवाहरू सेलेक्सनको निम्ति उभिएका थिए। त्यतिमध्ये आधाजसो विभिन्न ट्रेनिङ सेन्टरबाट आफ्ना इन्स्ट्रक्टरसहित आएका थिए। ऊजस्तो सेल्फ तयारी गर्ने थोरै मात्रै थिए। सुरुमा मेडिकल चेकअप भयो। उसले प्रशस्त पानी र केरा खाएर प्रेसर सन्तुलन गर्‍यो। मेडिकल चेकअपमा फिट हुनेहरूलाई गल्लावालहरूले सेलेक्सन गराउँदै गए। उसले सोचेजस्तै रनिङ राम्रो भयो। पुसअप, पुलअप र सेटअपमा पनि राम्रै भयो। फिजिकल ट्रेनिङमा राम्रो गरेको ऊ अन्तिममा एजुकेसनमा आएर चिप्लियो। फेरि पनि उसको भर्ती हुने सपना तुहियो। पास हुनेहरू फाइनल सेलेक्सनको निम्ति पोखरा जाने भए। भोलिपल्ट मलिन अनुहार बोकेर ऊ पाँचथरे साथीहरूसँगै घर फर्कियो। 

दशैँ तिहार सकेर धनशेर मलेसिया उड्यो। बिरहाङ इपिएस टपिक्स तयार गर्न दमक झर्‍यो। देशैभरि कोरियाको लहर चल्न थालेको थियो। बुझ्ने जतिले लाहुरभन्दा राम्रो कमाइ हुन्छ भन्थे। इन्स्टिच्युट बसेर पढ्ने साथीहरू गाउँ आउँदा अलिअलि सिक्दै गरेको कोरियन भाषा ठटाउँथे। लाहुरे सपनालाई बिस्तारै कोरियन सपनाले विस्थापित गरिरहेथ्यो। उसलाई पनि घरबाट कोरियाको दबाब नआएको हैन। तर उसलाई पल्टनको भूतले छाडेन। फेरि दोस्रो पटकसम्मको अनुभवले उसलाई धेरैथोक सिकाएको पनि थियो। त्यसकारण भर्तीलाई चटक्कै माया मार्न गाह्रो हुन्थ्यो। 

मङ्सिर लाग्यो। गाउँघरमा कामको चटारो हुन थाल्यो। प्राय सबै गाउँलेहरूका खेत निबुखोलाको बेँसीमा थियो। कामको बेला सबैजना बेँसीको गोठमै बस्थे। ऊ पनि बुबासँग रासनपानी र ओढ्ने ओछ्याउने कपडाहरू बोकेर बेँसीको गोठमा झर्‍यो। खोलापारि हेलाङ र इम्बुङतिरका गाउँलेहरू पनि बेँसी झरेका थिए। खेतभरि पाकेको धानको बालाहरू लहलह झुलिरहेको थियो। बाली थन्क्याउन झर्नेहरूको भिडले बेँसीमा दुखभन्दा बढी रमाइलो हुन्थ्यो। बिहान दिउँसो कामले थाकेका उनीहरू साँझ परेपछि भेलिएर जाँड र तोङ्वा पिउँथे। निबुखोलाबाट बहेको चिसो सिरेटोले शरीर कमाउँथ्यो। सिरेटोले काँपेको शरीर जाँडले भेट्नेबित्तिकै तातिहाल्थ्यो। 

धान काट्नु। कुन्यू लाएर पछार्नु। त्यसपछि बाली थन्क्याउनु। लगभग हप्ता दिनसम्म सबै काम सकियो। काम सकिएको दिन सबैजना निबुखोलामा पौडी खेल्न निस्किए। दहलाई ढुङ्गा र मुढाहरू भेलाएर बारे। मैलोले कटकटिएको शरीर फट्कार्दै ऊ पनि ट्राउजर र ज्याकेट फुकाएर खोलामा हाम फाल्यो। पौडी खेलिसकेपछि कोही बगरमा दाउरा भेलाएर आगो बाल्न थाले। कोही दुवाली थुनेर माछा मार्न थाले। ऊ भने बगरको एउटा ठूलो ढुङ्गामा चढेर डिप्स हान्न थाल्यो। हप्ता दिनसम्म उसले कसरत गर्नु पाएको थिएन। बेलाबेला गोठको दलिनमा झुन्डिन्थ्यो। बिहान चाँडै उठेर काममा लाग्नुपर्थ्यो। साँझ थाकेकोले निदाइहाल्थ्यो। त्यसैले काम सकेर मात्रै कसरत गर्ने उसको सोच थियो। अबको काम भनेको गोठबाट धानका भारी घरमा ओसार्नु थियो। 

भोलि बिहानै धान ओसार्न नुमा, तक्सङ्गे भाउजू, सैतहाङ काका, माख्रके र धाराबुङ्गे बाजे लिएर उसकी आमा झर्नुभो। खाजाको लागि भुटेको मकै र गुन्द्रुकको अचार ल्याउनुभएको रैछ। काम सुरु गर्नअघि सबैजनाले खाजा खाए। सेसेको आमाले सेसेको बाबु, सैतहाङ काका,तक्सङ्गे भाउजू र धाराबुङ्गे बाजेलाई तोङ्वा लगाइदिइन्। गोठमा बसेर उनीहरू तोङ्वा रित्याउँदै गफिन थाले। 

"स्याँठा यति मूले धान त जमानामा एक्लै ओसारिन्थ्यो हौ!"- मात्दै गएपछि धाराबुङ्गे बाजेले फुर्ती देखाइहाल्यो। 

"लु तेसो भए यो पनि सप्पै ओसार्नुन्त। "- सेसेले जिस्किँदै छड्के हान्यो। 

"तिमारु लाठे भको चैँ के काम? स्याँठा लाठे भनौदो गु गनाउँदो!"- धाराबुङ्गे बाजे  रिसाएझैँ बोल्यो। 

"तेसो नभन है काका पल्टन पो भिडेको हो नि!"- सैतहाङ काकाले सेसेलाई उकास्दै बोल्यो। 

सेसे केही नबोली बस्यो। 

"त्यै त पल्टने टेनिङ देखाए त हुने!"- धाराबुङ्गे बाजेले फुर्ती देखाइरह्यो। 

"यसको पल्टनको कुरो नगर हौ! भर्ती छिरेर पाल्छ भन्ने त आस नै मारिसकेँ। "- खोसेलामा चुर बेर्दै उसको बाउ बोल्यो। 

दुई जनाले गिज्याउँदा त ठिकै थियो अहिले आफ्नै बाबुले गिज्याउन थालेपछि भने उसलाई नमिठो लाग्यो। आफू फेल भएकोमा बाबुको मनमा कति कुरा गुम्सिएको रैछ भन्ने बल्ल थाहा पायो। खाँदाखाँदैको मकै छोडेर ऊ बाहिर निस्कियो। 

"बित्थामा किन केके भन्नू होला!"-आमाले  उसले नसुन्ने गरी बोलिन्। 

बाहिर निस्केर उसले भारी लायो। भारी लाइसकेपछि भित्तामा अडेस लाएर बोक्यो। बेँसीदेखि घर आइपुग्न डेढ घण्टा उकालो हिँड्नुपर्थ्यो। भारी बोक्दा भने दुई घण्टै लाग्थ्यो। सायद मनमा ठेस पुगेकोले हुँदो हो उसलाई त्यो शारीरिक पीडा मनको पिँडाभन्दा कम लाग्यो। त्यो उकालो बाटो पिडाको लम्बाइभन्दा छोटो लाग्यो। उकालोमा खुट्टाहरू गल्यो। तर पनि उसलाई कतै बिसाउन मन परेन। उसले एकातिर डोको क्यारीको ट्रेनिङ नि सम्झ्यो। खेतको अप्ठ्यारो आलि हुँदै गुराँस घारीको त्यत्रो उकालो कहीँ पनि नबिसाई ऊ घर पुग्यो। घर पुगेपछि भने सिकुवामा भारी फालेर खाटमा ड्याङ्गै पल्टियो। उसको मुन्टो हल्लाउनु भइरहेको थिएन। दिउँसो सबैजना भारी लिएर आइपुगे। उसकी बहिनिले अघि नै भान्सा तयार गरिसकेकी रैछिन्। खाना खाएर फेरि सबैजना बेँसीतिर लागे। बाटोभरि ऊ कसैसँग पनि बोलेन। अरूले नि उसलाई बोलाएन। धान बोक्ने काम साँझसम्मै चलिरह्यो। पराल भने गोठमै राखे। चैतबैशाखमा वस्तुहरूलाई दिन काम लाग्थ्यो। 

धानको चटारो सकिएपछि सबैजना फुर्सद भए। सेसेको बुबाले फुर्सदको समय गाउँमा वस्तुहरू खरिदबिक्री गर्नुहुन्थ्यो। गाउँघरतिर खरिद गरेका वस्तुहरू तेह्रथुमतिरका खरितेहरूकोमा बिक्री हुन्थ्यो। उनीहरूले दमकको पशुहाट लगेर बेच्थे। अलैँचीले घरखर्च चलिहाल्थ्यो। आठ दसवटा बाख्रा र एकहल गोरु नि पालेको थियो। अपर्झट परिहाले तिनीहरूले नि समस्या टार्थे। फुर्सदको समय सेसेलाई फेरि भर्तीको सपनाले सताउन थाल्यो। हुन पनि यसपालि उसको अन्तिम मौका थियो। अर्को साल उसले बाइस टेक्नेवाला थियो। तर यसपटक भने उसले ट्रेनिङ सेन्टर बस्ने योजना बनायो। सेन्टर बस्दा भर्तीको सम्भावना ज्यादा हुने उसले बुझेकी थियो। 

एकरात उसले बाबुआमासँग सल्लाह गर्‍यो। बाबुले त बिहे र विदेशको सल्लाह दिनुभो। आमा भने बुबालाई सम्झाउनेतिर लागिन्। अन्तिममा बुबाले छोराको चाहना बुझेर मन फेर्नुभयो। उसले मेजर लालध्वज बाजेसँग नि बुझ्यो। लालध्वज बाजेसँग बुझ्दा नि राम्रै प्रतिक्रिया आयो। उसले पूर्वको रिजनल सेलेक्सन धरानमा हुने भएकोले धरानतिरै बस्ने सोच्यो। खर्चको बन्दोबस्त गर्न बाबुले एउटा माउ राखेर भएभरको बाख्राहरू पञ्चमी बजारमा लगेर बेच्नुभो। बाख्राहरूले राम्रै दाम पायो। दसहजार जति घरखर्च राखेर बाबुले सबै पैसा उसलाई दियो। पैसा दिँदा बुबाको गोजीभित्र उसले सादा फोन देख्यो। "अब तँ तल गएपछि बोल्नु पर्‍यो। पञ्चमी कुदिराख्नु पाइँदैन। "-बुबाले नोकियाको सादा फोन निकाल्दै भन्नुभो। 

मङ्सिरको अन्तिम दिनहरू। तुवाँलोले अलिअलि धुम्म परेको थियो मौसम। पञ्चमी डाँडा धुलो उडेर फुस्रो भएको थियो। निबु खोलातिर भुइँकुहिरो उडिरहन्थ्यो। जङ्गलभरि पैयुँ फुलिरहेको थियो। बिहे गरेर गएका चेलीहरू कोसेली लिएर माइत आउन थाले। च्याङ्थापु बिहे गरेको उसको दिदी पनि भान्जासँग सेलरोटी कोसेली लिएर आइपुगिन्। भेना भने विदेशमै भएकोले आउन पाउनुभएनछ। दिदी आएपछि उसले एक दुई दिन बस्ने योजना बनायो। त्यस रात बाबुले घरकै भाले काट्नुभो। धेरैपछि सबैजना मिलेर धेरैपछि सँग मासुभात खाए। 

पर्सिपल्ट बिहानै ऊ हिँड्ने भो। आमाले चाम्रे र गुन्द्रुकको अचार बनाइदिनुभो। उसले अन्तिमपटक आमाको हातले पकाएको खाजा खायो। त्यतिन्जेलसम्ममा आमाले घिउ, अकबरे खोर्सानी,भुटेको मकै र मुलाको अचार भारी हाल्दिसक्नुभो। बुबाले पूजा कोठामा धूप बाल्नुभो। दिदीले बाटोखर्च भनेर सुटुक्कै दुई हजारको नोट गोजीमा हाल्दिइन्। उसले भान्जाको हातमा थुथु गर्‍यो। छिमेकी कुधेक्पा कान्छा आँगनमा निस्केर च्याब्रुङ बजाउँदै थियो। सेसेलाइ हेरिपठाउन ऊ पनि आए। सबैलाई ढोगेर तोरीवारिको बाटैबाटो सेसे पञ्चमी उक्लियो। बाटोमा भेट्नेहरूले आशीर्वाद र शुभकामना दिए। उ पञ्चमीबाट बिर्तामोडको ट्याक्सी चढ्यो। राँके पुग्नेबेलाको सल्लाघारी उसरी नै सननन सुसाइरहेकै थियो। यसपटक ती सल्लाघारीले उसलाई बिदाइ गरिरहेझैँ लाग्यो। राँकेबाट कन्यामको चियाबारी हुँदै ट्याक्सी बिर्तामोड झर्‍यो। बिर्तामोडमा खाना खाइ ननस्टप बस चढेर ऊ धरानतिर लाग्यो। साँझपख बसले भानुचोक उतार्‍यो। उ त्यस रात एउटा होटलमा गएर बस्यो। 

भोलिपल्ट बिहानै उसले मोबाइल पसल गएर एउटा सामान्य फोन किन्यो। त्यसपछि घरमा फोन गरेर आइपुगेको खबर दियो। त्यसपछि हिँडेर सेन्टर चहार्न थाल्यो। त्यसदिन त सेन्टर चहार्नै समय लाग्यो। सबै सेन्टर बुझेपछि उसले धरानकै पुरानो बिफ ट्रेनिङ सेन्टर रोज्यो। आवश्यक फारम भरेर ऊ बिफमा भर्ना भयो। एडमिसन फी पच्चिस हजार लाग्ने रैछ। एडमिसन भएपछि जर्सी र ट्राउजरहरू पायो। छ सात महिनाको कोर्स हुने रैछ। घर नजिक हुनेहरू एडमिसन गरेर घरबाटै धाउँदा रैछन्। टाढा टाढाबाट आउने हरूलाई होस्टेलको सुविधा थियो। होस्टेल फी महिनाको सत्र हजार लाग्ने भो। उसले होस्टेल बस्ने निर्णय गर्‍यो। 

कम्पाउन्ड र ट्रेनिङ रुम अलि साँघुरो भए पनि बिफमा सयौँ संख्यामा लाहुरे सपना बोकेका केटाहरू भर्ती भएका थिए। एउटा कोठामा चारपाँचवटा बेडहरू हुन्थ्यो। एउटा बेडमा दुई जना सुत्नुपर्ने रैछ। कोठाहरू प्याक भइसकेकोले ऊ छतमा बस्नुपर्ने भो। छतमा नि धेरै केटाहरू बस्थे। उसले ओखलढुङ्गाबाट ताप्लेजुङसम्मका केटाहरू सबै जनासँग परिचय गर्‍यो। उसको पार्टनर तेह्रथुमको वीरेन्द्र चोङ्बाङ भयो। उमेरमा महिनाले जेठो वीरेन्द्रले उसलाई सेन्टर र ट्रेनिङको सबै नियमहरू बतायो।

बिहान चारै बजे उठेर वामअप गर्नुपर्थ्यो। पाँच बजेबाट ट्रेनिङ सुरु हुन्थ्यो। ट्रेनिङसँगै अङ्ग्रेजी र गणितको क्लास नि हुन्थ्यो। गाउँको सरकारी विद्यालयबाट जेनतेन दाग लाउँदै पास भएको उसलाई एजुकेसनको कक्षा भने फलामको चिउरा चपाउनु सरह हुन्थ्यो। साँझको ट्रेनिङ चार बजेबाट सात बजेसम्म चल्थ्यो। हप्तामा दुई दिन दस किलोमिटरको लङरुट रनिङ हुने रैछ। लङ रुट रनिङमा धरानबाट माथि भेडेटारको फेदीसम्म जानुपर्थ्यो। त्यहाँबाट धरानको राता र निला बिल्डिङहरू दाँतका लहरझैँ टल्किन्थे। बेलाबेला तल चारकोसे झाँडी हुँदै तरहरासम्म पुग्नुपर्थ्यो। अरू सेन्टरका केटाहरू पनि भेटिँदा सडकको एकसाइड पुरै भरिन्थ्यो। राँकेको सडक धेरैपटक नापिसकेको उसलाई दौडिन भने त्यति गाह्रो थिएन। अरू ट्रेनिङमा ८०० मिटरको सट रनिङ, पुलअप, पुसअप र सेटअपहरू गर्नुपर्थ्यो। डाइटको रूपमा चना र अण्डा अनिवार्य थियो। मासुको रूपमा पर्क, बफ र चिकेनको व्यवस्था थियो। बेलाबेला लाङ्सा नि खान पाउँथे। हप्तामा एकपटक टेस्ट हुन्थ्यो। पहिलो टेस्टमा ऊ सबैभन्दा अन्तिम भयो। दिउँसोको समय फुर्सद हुन्थ्यो। फुर्सदमा वीरेन्द्रसँग ऊ धरान बजार घुम्न निस्किन्थ्यो। फोटोहरू खिच्थ्यो। बेलाबेला विजयपुरको जङ्गल नि घुम्थ्यो। विजयपुरमा एक्सरसाइज गर्ने सेन्टरका केटाहरूहरूको घुइँचो हुन्थ्यो। शुक्रबार बिहानको ट्रेनिङ सकेर शनिवार साँझसम्म बिदा हुन्थ्यो। छुट्टीमा मोरङ,धनकुटा र तेह्रथुमतिरका केटाहरू घर गएर फर्किन्थे। 

ट्रेनिङ चल्दै गयो। क्लास र टेस्टहरू पनि बढ्दै गयो। उसले सकेजति मिहिनेत गर्‍यो। इन्स्ट्रक्टर डेबिड लिम्बुले पनि हौसला दिई रह्यो। फिजिकल ट्रेनिङमा अब्बल ऊ एजुकेसनमा भने कमजोर नै भइरहेथ्यो। इन्स्ट्रक्टरले नयाँनयाँ उपायहरू सिकाइरहे। भर्तीको सपनाले उत्साही ऊ गोजी रित्तिँदै गएपछि निराश नि हुँदैथ्यो। घरबाट ल्याएको पैसाले जेनतेन तिन महिनासम्म पुग्यो। पैसा सकिएपछि उसले घरमा फोन गर्‍यो। बाबुले आमाको तिल्लरी धितो राखेर पञ्चमीबाट एकलाख ऋण काढी पठाइदियो। उसले आवश्यक खर्च राखेर अरू इन्स्टिच्युटलाई बुझायो। त्यत्रो पैसा पातसरी उडिरहेको देख्दा उसलाई एकमनले त दुख लाग्थ्यो। अर्कोतिर लाहुरको सपनाले दिनरात ठुँगिरहन्थ्यो। सपना र यथार्थबिचको यो अन्तर्द्वन्द्व व्यवस्थापन गर्न कत्ती गाह्रो!कत्ती अप्ठ्यारो!

नयाँ वर्ष आयो। सेन्टरले एक हप्ताजत्ती छुट्टी दियो। ऊ घर जान पाउँदा खुसी नहुने कुरै भएन। घर जानेहरू घर गए। नजानेहरू सेन्टरै बसे। ऊ छुट्टी भएको बिहानै बिर्तामोडको गाडी चढ्यो। बिर्ताबाट घुर्विसे पञ्चमीको ट्याक्सी चढेर घर गयो। पञ्चमीमा पुरानो साथी राजेश र आसरज भेट्यो। राजेशले एउटा सानो होटल खोलेर बसेको रैछ। आसराजले चैँ गोसखाना चलाउँदो रैछ। उनीहरूहरूले सम्झना स्वरूप तोङ्वा ख्वाइहाल्यो। सेन्टरमा बस्दा केही नछोएको उसलाई अलिकति पिउँदै तोङ्बाले छोइहाल्यो। बेलुकाको घाम पारी अम्लाबुङको डाँडामा अस्ताउँदै थियो। रमरम भएर ऊ साँझपखतिर ओरालै ओरालो घरतिर लाग्यो। 

नयाँ वर्षमा निबु खोलामा साप्सु मेला लाग्यो। ऊ साथीहरूसँग मेला भर्न हिँड्यो। खोला बगरमा बाँसको भाटाहरूले बनाएको कटेरोहरूमा स्याउलाहरूले बेरेर पसल थापिएको थियो। पसलमा थुक्पा,चाउमिन,चटपटे र जाँडरक्सी बेच्न राखिएको थियो। बुढापाकाहरू पालाम गाउँदै धान नाचिरहेका थिए। केटाकेटीहरू वरपर दगुरिरहेका थिए। तन्नेरितरुनिहरू बगरतिर बसेर गफ गरिरहेका थिए। पूजा गर्नेहरू खोलापारिको मन्दिरमा भेलिएका थिए। मेलाको मुख्य आकर्षण पक्लुङ खेल रैछ। पक्लुङ खेल सुरु हुन आँटेको थियो। युवाहरू धमाधम नाम लेख्दै थिए। उनीहरूको होहल्लाले मेलै थर्किन आँटिरहेकी थियो। केटाहरूको जब्बरले उसले नि नाम टिपायो। एकछिन पछि खेल सुरु भयो। सुरुमा पाखुरी फुलाउँदै हाङसेन अघि बढ्यो। उसले लगभग १७ मिटर जति फाल्यो। त्यसपछि सबै जनाले पुरुषार्थ देखाउँदै छेलो हान्यो। हेलाङ्गे माइलालाई जित्ने कोही निस्केको थिएन। उसले २४ मिटर फालेको थियो। अन्तिमतिर उसको पालो आयो। साथीहरूले हुटिङ हाल्न थाले। उसले सेन्टरको ज्याकेट फुकाएर ढुङ्गा उचाल्यो। एकपटक हुटिङ हान्ने भिडमा हेर्‍यो। भिडमा आमचोकको दिलु सोल्टिनी पनि उभिएकी थिइन्। भिडमा पुरानो सोल्टिनी देख्दा छक्क परेपनि उसलाई अलि जोस बढेझैँ भयो। सिट्ठी बजेपछि बल लगाएर छेलो फाल्यो। धन्न अन्तिम चैँ भएन। मुस्किलले १६ मिटर फालेछ। यसपटकपनी सदाजसो हेलाङ्गे माइलालेनै बाजि मार्‍यो। उसले पाँच केजीको एउटा भाले र प्रमाणपत्र पायो। छेलो हान्न गाउँघरकै कला चाहिने रैछ। उसको ट्रेनिङले काम गरेन। 

छेलो खेल सकिएपछि उसले सोल्टिनीलाई भेट्यो। ढाकाको निलो साडीमा निक्कै खुलेकी थिइन् सोल्टिनी। शिरमा शिरफुल,गलामा कण्ठा लाएकी उनले ढाकाकै ठिक्कको साइडब्याग बोकेकी थिइन्। पहिलेभन्दा राम्री र निक्कै तरुनी भए छिन्। पहिले फाक्तेपकै रणवीर दाजुको बिहेमा आमचोक जाँदा चिनेको थियो उनलाई। परिचय भएपछि उनीहरू रातभर जिस्कँदै धान नाचेका थिए। बिहेबाट फर्केपछि भने भेट भएको थिएन। उनीहरू गफ गर्न बगरछेउ गए। 

"सोल्टी त पुरै गायब पो हुनुभो?"- दिलु सोल्टिनीको गफको पोको खोलिन्। 

"भेटिने र गायब बनाउने त समयको खेल रैछ हौ सोल्टिनी!"- दहमा ढुङ्गा हान्दै उसले दर्शन छाँट्यो। 

"कसो पो भेटिनुभो है यहाँ !"- दहमा उठेको छाल हेर्दै सोल्टिनी बोलिन्। 

"भाग्यले घिसारेर हो। अहिलेसम्म पल्टनले पत्याको छैन। "- ऊ भुइँतिर हेर्दै बोल्यो। 

"पल्टनले नपत्याए पनि अरू त होलान् नि पत्याउने?"- सोल्टिनीले उसको अनुहार हेर्दै मनोभावना बुझ्न खोज्यो। 

"कसले पत्याउँछ हौ हामीलाई?"- ऊ दर्शनबाट उत्रियो। 

"हरेस खानु हुन्न सोल्टी पल्टनले पनि पत्याउँछ। मान्छेले पनि। " – सोल्टिनीले ढाडस दिइन्। 

"सोल्टिनीको आशीर्वाद लागोस्। "- ऊ उठ्दै बोल्यो। 

सोल्टिनी पनि हाँस्दै उठिन्। 

त्यसपछि दुबैजनाले मेला भरे। सोल्टिनीले थुक्पा किनिन्। उसले आग्रहलाई नकार्न सकेन। साँझ पर्दै थियो। इम्बुङमाथिको गोधुली घामले निबु खोला पहेँलो बनाएको थियो। सोल्टिनीले साथीसँग फर्किने कुरा गरिन्। जाने बेला उनीहरूले नम्बर साटे। उसले सेन्टरमा फुर्सद हुँदा कल गर्ने बतायो। सोल्टिनीहरूलाई अलि परसम्म पुर्‍याएर ऊ पनि घर फर्क्यो। घर फर्किँदा सोल्टिनीले मिसकल गरेकी रैछिन्। उसले नि मिसकल फर्कायो। उसको ओठमा खुसीको रेखा दौडियो। 

मेला सकिएपछिको बाँकी दिन उसले घाँस दाउरा गर्दै बितायो। आमाबाबुले त काम गर्न दिएको थिएन। तैपनि गरिबीमा हुर्किएको उसलाई दुखले छोइहाल्थ्यो। चैतबैसाखको याम डाँडाहरू फुस्रो थियो। पाखामा बसेर पारी इम्बुङ हेर्दै उसले सल्लाघारी सुसाएको सुनिरह्यो। हावामा तैरिँदै बेलाबेला सल्लाका पातहरू खसिरहन्थ्यो। बतासले हल्लाउँदा सुकेका हाँगाहरू चर्याकचुरुक गर्दै बजिरहन्थ्यो। घरको दुखले अक्सर दुख्ने उसलाई यस्तो मौसमले झनै विरक्त बनायो। साँघुरो होस्टेल बस्दाबस्दा निसासिएको उसलाई गाउँ छोड्न मन लागिरहेको थिएन। 

तर सायद रहरभन्दा बाध्यता ठूलो हो। सेलेक्सन नजिक आउँदैगरेकोले ऊ बिदा सक्न दुई दिन अघि नै धरान फर्किहाल्यो। 

सावनमा भर्ती खुलिहाल्यो। सबैले फारम भरे। यसपालिको इन्टेकमा ४०० जना लाने रैछ। पूर्वबाट २०० जना पर्ने भयो। पूर्वको हजारौँ युवाहरूबाट २०० मा पर्न चानचुने कुरा थिएन। फारम भरेपछि ट्रेनिङ झनै जोडले चल्न थाल्यो। उसको दिमागमा भर्तीको कुराबाहेक अर्थोक खेल्थेन। सोल्टिनीसँग बेलाबेला कुरा हुन्थ्यो। भर्ती तयारीमा असर पुग्छ भनेर उनले नि त्यति डिस्टर्ब पुर्‍याउँथिन। सेलेक्सन जति नजिकिँदै जान्थ्यो उसको मुटुको धड्कन उति नै बढ्दै जान्थ्यो। ऊ सपनामा पनि निलो कोटमा कालो ब्याग बोकेर युकेको प्लेन चढेको मात्रै देख्थ्यो। सपनाको कुरा सुनाउँदा वीरेन्द्रले तिमी त पक्कै छानिन्छौ भन्थ्यो। हुन पनि उसले फिजिकलमा एकदमै सुधार गरेको थियो। डर भनेको एजुकेसनमा मात्रै थियो। 

भदौमा रिजनल सेलेक्सन सुरु भो। हजारौँ सङ्ख्यामा युवाहरू घोपा क्याम्प भित्रिए। तीमध्ये कति साँझबाटै लाइन लागेर बसे। कति भने ब्ल्याङ्केट र डसना बोकेर लाइनमै सुत्ने तरखरमा थिए। लाइनमा जति अघि भइयो उति फाइदा पुग्ने रैछ। उनीहरू पनि बिहान तिन बजे नै उठेर लाइनमै उभिए। बिहानको आठ बजे ब्रिफिङ भयो। त्यसपछि ब्लड प्रेसर चेक भयो। डेढ दुई सय त्यहीँबाटै फालिए। मेडिकल फिट हुनेहरू फिजिकलको लागि तयार भए। उसले सबैमा राम्रो गर्दै गयो। अन्तिममा एजुकेसनको पालो आयो। गणित र अङ्ग्रेजीको टिक क्वेसनहरू गर्नुपर्ने रैछ। उसले त्यसमा नि राम्रै गर्‍यो। बाँकी फाइनल इन्टरभ्यु रह्यो। इन्टरभ्यु लिन नेपाली अफिसरसँग बेलायतकै एक जना मेजर आएको रैछ। ती अफिसरअघि उभिँदा उसको मन एकदमै हताश भइरहेको थियो। उसले एकोहोरो माङ सम्झिरह्यो। सम्झेपछि सायद माङले नि सम्झँदो हो। उसले सोधिएको प्रश्नहरूको राम्रै उत्तर दियो। इन्टरभ्युमा पुग्नेहरूको रिजल्ट नेटमा आउने रैछ। 

एकसातापछी रिजल्ट आयो। रिजल्ट आउँदा सेन्टरका सबैजना ट्रेनिङमै थिए। सबैले आआफ्नो चेस्टनम्बर चेक गरे। उसले पनि चेस्टनम्बर 243 चेक गर्‍यो। Congratulation. You are selected ....You'll be called for the final selection.... यस्तै लेखिएको थियो। ऊ खुसीले गद्गद भयो। उसले फोन गरेर घरमा सुनायो। बाबुआमा खुसी हुनुभयो। त्यसपछि दिलु सोल्टिनीलाई फोन गर्‍यो। उनी पनि खुसी भइन्। भर्ती लागेपछि उनको हात माग्ने उसको भित्री चाहना थियो। तर यसबारे उसले सोल्टिनीलाई बताएन। बिरेन्द्रको पनि रिजल्ट राम्रै भएछ। बिफबाट फाइनल सेलेक्सनको लागि जम्मा चालिस जनाको नाम निस्केछ। सेलेक्टेड सबैलाई इन्स्ट्रक्टर र म्यानेजरले बधाइ दिए। फेल हुनेहरू धमिलो अनुहार लाएर घर फर्के। इन्स्ट्रक्टरले क्याम्पको गल्लावाल डिगमधोज लिम्बुलाई फोन गर्‍यो। धरानबाट लगभग चारसयमा हाराहारीमा सेलेक्टेड भएको रैछ। ऊ रिजनल सेलेक्सनमा पास भए पनि पोखराको बारे अन्योल नै थियो। पोखरा पुगेर फेल हुनुजत्तिको पिडादायी अर्थोक हुन्थेन। अर्कोतिर घरको ऋण र खर्चको कुरो पनि थियो। त्यसैले उसले पहिलेभन्दा दुगुना मिहिनेत गर्न थाल्यो। 

एक महिनापछि सेन्ट्रल सेलेक्सन सुरु हुने भयो। सेन्टरका सबै जनाले आवश्यक तयारी गरे। पोखरा हिड्नुअघि इन्स्ट्रक्टरले सबैलाई ब्रिफिङ कक्षा दिनुभो। कतिजना उत्साही थिए त कति उदास। उसले डरलाई आत्मविश्वासले जित्न खोज्यो। हिँड्नअघि शुभकामनाको आशिषस्वरुप म्यानेजरले सबैजनालाइ अबिर,फुलमाला र खदा लाइदिनुभयो। गाडीको व्यवस्था सेन्टरले नै गर्ने रैछ। दिउँसोको दुई बजे सबैजना गाडी चढे। इन्स्ट्रक्टर र म्यानेजर सबैभन्दा अघिल्लो सिटमा बसे। ऊ र वीरेन्द्र तेस्रो सिटमा बसे। गाडी स्टार्ट भयो। ड्राइभरले गीत घन्काइहाल्यो। केटाहरूके पनि जङ्गिँदै स्वरमा स्वर मिलाए " रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो......" गाउँदागाउँदै कतिखेर निदायो उसले पत्तै पाएन। निद्राको सुरमा कहाँ खाना खायो उसले ठम्याउन सकेन। एकै चोटि पोखराको ब्रिटिस क्याम्पअघि बस रोकिँदा मात्रै उसको तन्द्रा खुल्यो। क्याम्पमा सबैले नाम दर्ता गरे। उसले चेस्टनम्बर ४१२ पायो। 

पूर्वपश्चिम गरेर फाइनल सेलेक्सनमा छानिनेहरू आठ सयको हाराहारीमा रहेछ। पश्चिमबाट गोरो छाला र सुरिलो ज्यानमा हलक्क अग्लिएका गुरुङ,तामाङ र मगरहरू छानिएका थिए। पहिलो हप्ता चेस्टनबरसहित सबैलाई क्याम्पको चाउरमा राखियो। त्यहाँ मेजर नाइटिङ्गेलको ब्रिफिङ हुने रैछ। मेजर नाइटिङ्गेलसँग एआरओ,रिक्रुट अफिसर र गल्लावालहरू उभिएका थिए। ब्रिफिङमा ब्रिटिस आर्मीका धेरै कुराहरू भए। दोस्रो हप्ता मेडिकल भयो। मेडिकलमा फेल हुनेहरू त्यहीँबाट फर्के। 

तेस्रो हप्ता फिजिकल सेलेक्सन हुने भयो। त्यसको निम्ति छुट्टाछुट्टै समूह बनाइयो। प्रत्येक समूहमा एकएकजना गल्लावाल खटे। पहिलो दिन क्याम्पको अगाडि आठसय मिटर रनिङ भयो। ऊ रनिङमा सजिलै छानियो। रनिङपछी पावर ब्याग सुरु भयो। पावर ब्यागपछि जर्किन क्यारी सुरु भयो। उसले सबैमा सतर्कतापूर्वक राम्रै गर्‍यो। त्यसपछि क्रमैसँगले पुलअप र सेटअपहरू भयो। पुलअप बाह्रपटक तान्नुपर्ने रैछ। सेटअप चैँ दुई मिनेटमा सत्तरी पटक हान्नुपर्ने रैछ। उसले दुवै कठिनाइहरू सजिलै छिचोल्यो। फेल हुनेहरू घोसेमुन्टो लाउँदै घर फर्के। उनीहरूको आँखामा आँसु प्रस्ट देखिन्थ्यो। 

तेस्रो हप्ता डोको क्यारी हुने रैछ। सबैजना डोको क्यारीको तयारीमा जुटे। सेसे र अरू बिफका साथीहरू पनि इन्स्ट्रक्टर र मेनेजरसँग सेउती खोला लागे। सेउती खोलाबाट पैँतालिस मिनेटमा डोको बोकेर भलामडाँडा पुग्नुपर्ने रैछ। ऊ पहिलो दिन मरेर उकालो चढ्यो। तालु पिल्सेर आगो उठ्ला जस्तो भयो। बिस्तारै प्रयास गर्दै गएपछि बानी पर्‍यो। उकालो बाटो भएकोले पाइला निरन्तर चाल्नुपर्ने  रैछ। इन्स्ट्रक्टरले सिकाएपछि उसले धेरै कुरा थाहा पायो। 

तेस्रो हप्ताको बिहान चारै बजे गल्लावाल उठाउन आइपुग्यो। सबैले आआफ्नो चेस्टनम्बर लाएर चउरमा भेला भए। उनीहरूको निम्ति अघि नै डोकोको तयारी भइसकेको रैछ। डोको बोकेर सबैजना सेउतिखोला लागे। गल्लावालहरूले आफ्नो समूहको सबै केटाहरूलाई बिस केजीको बालुवा ठिक पारिदिए। त्यो बालुवा बोकेर चालीस मिनेटभित्र भलामडाँडा पुग्नुपर्ने रैछ। उनीहरूलाई तिन वटा समूहमा बाँडियो। ऊ अन्तिम समूहमा पर्‍यो। वीरेन्द्र पहिलो समूहमा पर्‍यो। 

"यहाँबाट ऊ त्यो माछापुच्छ्रे हिमालमा जसले बाघ देख्छ ऊ मात्रै पास हुन्छ है! "- गल्लावाल केसरमान मगरले भन्यो। 

त्यहाँ माछापुच्छ्रे हिमालमा बाघ देख्नेहरू मात्रै पास हुने कथन रैछ। सबैले नियालेर हिमालतिर हेरे। कसैले देखे। कसैले देखेन। उसले पनि हातले निदारको घाम छेक्दै हेर्‍यो। तर जत्तीपटक नियाले नि बाघको आकृति देख्दै देखेन। तर उसले यस्तो कुरामा त्यति ध्यान दिएन। 

डोको बोकेर सबैजना तयार भए। मिर्मिरे उज्यालोमा पहिलो समूहको यात्रा सुरु भो। सिटी बज्न बित्तिकै सबैजना तुफान दगुरे। पहिलो समूह छुटेपछि दोस्रो समूह छुट्यो। अन्तिममा तेस्रो समूहको पालो आयो। समूहका सबै तयारी भए। उसले डोको र नाम्लो मिलायो। शरीर तन्कायो। मुटु जोडजोडले काँपिरहेको थियो। एकपटक आँखा चिम्लेर माङलाइ सम्झियो। पिटिआइले सिटी बजायो। सिटी बज्न बित्तिकै सबैजना दगुरिहाल्यो। भिडले गर्दा ऊ अघि बढ्नै सकेन। ऊ बिसतिस जनाको पछि परि हाल्यो। आँखैअगाडि माछापुच्छ्रे हिमाल टल्किरहेको थियो। घामले तालु सेक्न थालिसकेको थियो। जति जति अघि बढ्यो पसिनाको धारा उति नै छुट्दै थियो। खुट्टा थरथराइरहेका थिए। तर उसले हार खाएन। निरन्तर दौडिनै रहे। उकालो भारी बोक्दा अगाडि हेर्नू हुन्न भन्ने उसले बेँसीबाट धान ओसार्दा जानेको थियो। यतिबेला त्यो आइडियाले काम गर्‍यो। उसले बिस्तारै अरूहरूलाई छिचोल्दै गयो। एउटा डाँडा कटेपछि अर्को डाँडा,एउटा जङ्गल काटेपछि अर्को जङ्गल,एउटा घुम्ती कटेपछि अर्को घुम्ती। सबैलाई छिचोल्दै ऊ अघि बढिरह्यो। उनीहरूसँगै दगुर्ने गल्लावालहरू छिटो छिटो भन्दै केटाहरूलाई उकासिरहेका थिए। थाकेर लखतरान हुँदा फाइनल प्वाइन्ट देखियो। ऊ भएजती बल लाएर दौडियो। तैपनि दस पन्ध्र जनाले उछिनिहाल्यो। गन्तव्यमा पुग्न बित्तिकै उसले डोको फाल्यो। रिक्र्युट पिटिआइले घडी हेर्‍यो। चवालिस मिनेट दुई सेकेन्ड भएको रैछ। धन्न निर्धारित समयमै पार भएछ। त्यहाँबाट पैँतिस जनाजत्ती फेल भए। फेल हुनेहरू अनुहार छोपेर रोए। पसिना बगिरहेको उनीहरूको अनुहार आँसुले भिजेर लपक्क भयो। पास हुनेहरूले उनीहरूलाई सान्त्वना दिए। पास हुनेहरूको अनुहार भने माछापुच्छ्रेझैँ उज्यालो देखियो। डोको क्यारी सकिएपछि सबैजना गीत गाउँदै ओरालै ओरालो क्याम्प फर्के। गीतले जङ्गल पुरै थर्कियो। 

अर्को हप्ता लिखित परीक्षाको पालो रहेछ। लिखित जति गाह्रो उकलाइ केही थिएन। परीक्षा गराउन मेजर नाइटिङ्गेल स्वयं उपस्थित भए। परीक्षा लेख्न उनीहरू एउटा ठूलो हलमा बसे। बिचमा हिँड्ने ठाउँ छाडेर दुई साइडमा डेस्कबेन्च राखिएको थियो। ऊ सबैभन्दा अघिल्लो बेन्चमा पर्‍यो। वीरेन्द्र अर्को साइडमा परेको रैछ। अङ्ग्रेजीमा सेनाको कर्तव्य शीर्षकमा निबन्ध लेख्नुपर्ने भयो। उसले जसोतसो एक पेज लेख्यो। गणित भने अङ्ग्रेजीको तुलनामा राम्रो गर्‍यो। बेलाबेला मेजर नाइटिङ्गेल चेक गर्न आउँदा उसको धड्कन तेजले धड्किन्थ्यो। पेपर बुझाउँदा उसको हात जोडले कामिरहेथ्यो। त्यो रात खासै निद्रा परेन। सपनामा उ तलैतल निबु खोलातिर दगुरिरहेको देख्यो। निबु खोलामा धमिलो भेल उर्लिरहेथ्यो। उसले खोला तर्न जति प्रयास गर्दा नि सकेन। ऊ हतपत सपनाबाट बिउँझियो। सम्झ्यो- सपनाले राम्रो भनेन। 

अब अन्तर्वार्ता मात्रै बाँकी रह्यो। इन्स्ट्रक्टरहरूले अन्तिम पटक आआफ्नो केटाहरूलाई हौसला दिए। अन्तर्वार्ताको निम्ति सबैलाई बोलाइयो। एकएक गर्दै पालैपालो सबैजना भित्र छिर्न थाले। अन्तिम अन्तिमतिर उसको पालो आयो। मेजर नाइटिङ्गेल र केही रिक्र्युट अफिसर उसको अघि खडा थिए। उसलाई सुरुमा अङ्रेजीबाट केही प्रश्नहरू सोधियो। उसले जानेजति जवाफ दियो। त्यसपछि दस मिनेटजति नेपालीमा सोधियो। जस्तै......

"तिमी प्यारासुटबाट झर्दा शत्रुले आक्रमण गरे के गर्छौ?"

"गनले हान्छु। "

"गन नभए?"

"खुकुरीले हान्छु। "

"खुकुरी नि नभए ?"

"हातखुट्टा चलाउँछु। "

सायद उसको जङ्गी र सनकी उत्तर सुनेर हुँदो हो मेजर नाइटिङ्गेल अलिअलि मुस्कुरायो। मेजरको मुस्कानले उसको पनि मुहारमा मुस्कान फक्रियो। त्यहीँ मुस्कानको उज्यालो बोकी ऊ बाहिर निस्कियो। 

अन्तर्वार्ता सकिएपछि सबैजना चौरमा निस्किए। सबैको शरीर हलुका भएको थियो। अनुहारमा सन्तोषको रेखा सलबलाइरहेको थियो। शारीरिक पीडा सकिएको थियो। अब पालो मानसिक पिडाको थियो किनकि भोलिपल्ट नतिजा प्रकाशन हुन्थ्यो। 

त्यस रात सबैजना चौरमा भेलिएर बसे। बिचमा आगो फुकियो। त्यहाँ सबैले जानेको कला देखाउनुपर्ने रैछ। आगो ताप्दै नाच्नेहरू नाचे। हँसाउनेले हँसाए। रुवाउनेले रुवाए। उसले गाउँघरको चौतारीमा लेखिने सायरी देखेको थियो। त्यहीँ सायरी सम्झिएर सुनायो। वीरेन्द्रले गीत गायो। रात छिप्पिँदै जाँदा चउर चिसिँदै थियो। तर आगो र रमाइलोले उनीहरूको शरीर भने तातिरह्यो। 

भोलिपल्ट रिजल्टको दिन। सबैजना आफ्नोआफ्नो झोला बोकेर चउरमा निस्किए। पर्खाइको टुङ्गो लाग्नै आँटेको थियो। क्याम्पबाहिर धेरै अभिभावकहरू भेला भएका थिए। उनीहरू हताश मुद्रामा देखिन्थे। रिजल्टको निम्ति गल्लावालले एकएकलाई बोलाउँदै गयो। पास हुनेहरू दगुर्दै माथिल्लो तलामा चढ्थे। फेल हुनेहरू आँसु पुछ्दै कोठाबाट बाहिरिन्थे। उसले माथिल्लो तलामा चढ्नेहरूको सङ्ख्या मात्रै गनिरह्यो। माथ्लो तला चढ्नेहरू गन्दागन्दै ३४३ जना पुगिसकेका थिए। त्यतिकैमा गल्लावाल करायो – " चेस्टनम्बर ४१२"। झसङ्ग भयो। उसले झण्डै आफ्नै चेस्टनम्बर नि बिर्सियो। ऊ आफ्नो अबै पर्फर्मेन्स सर्टिफिकेट लगेर भित्र छिर्‍यो। रिजल्ट भन्न मेजर नाइटिङ्गेल नै बसिरहेको थियो। उसले फेरि पनि माङलाइ सम्झियो। मेजरले एकपटक पुलुक्क उसको अनुहारमा हेर्‍यो। उसले शिर झुकायो। 

"Sesehang bad luck... not enough points......" मेजर बोल्यो। 

यसपटक माङले सायद उसलाई सम्झिएन। उसलाई उभिँदाउभिँदैको जमिन भासिएझैँ भयो। ओठ सुक्यो। के बोलूँ के नबोलूँ भयो। उसलाई हेर्न त मन थियो आफ्नो माक्स। आफ्नो पोइन्ट। तर केही गर्ने हिम्मत चलेन। अन्त्यमा अरू फेल हुनेहरूले जे गर्थ्यो त्यहीँ गर्‍यो। चेस्टनम्बर खोलेर फाल्यो अनि आफ्नो ब्याग बोकेर बाहिर निस्कियो। बाटो खर्च भनी काउन्टरबाट रु ४२६० पायो। उसले दायाँ बायाँ कहीँ पनि हेरेन। पालो पर्खिनेहरू लाइनमै उभिरहेका थिए। क्याम्पको गेटबाहिर अभिभावकहरूको हस्याङफस्याङ थामिनसक्नु थियो। ऊ मान्छेहरूको भिडमा ठोक्किँदै वीरेन्द्र र सेन्टरको अरू साथीहरूलाई पनि नभेटी सरासर क्याम्पको गेटबाहिर निस्कियो। 

क्याम्पबाहिर निस्केर ऊ पूर्व स्टेण्डतिर लाग्यो। 

काँकडभिट्टाको बस लागिरहेको रैछ। ऊ टिकट काटेर बसको अन्तिम सिटमा चढ्यो। यत्रो बेरसम्म थामिएको आँसु सिटमा अडेसा लाग्नबित्तिकै खसिहाल्यो। मन त उसलाई डाँको छोडेर रुने थियो। तर आफैलाई सम्हाल्यो। आँसु ओठ हुँदै बसको सिटमा खसिरह्यो। सधैँ नुनिलो हुने आँसु यतिबेला भने अमिलो लाग्यो। रुँदारुँदै गोजीभित्र फोनको रिङटोन बज्यो। उसले फोन झिक्यो। सोल्टिनीले कल गरेकी रैछिन्। खुसीको खबर भए पो सुनाउने ? उसलाई कल उठाउन मन परेन। हिँड्ने समय भएपछि ड्राइभरले हर्न लगायो। सबै प्यासेन्जरहरू छिरेपछि बस हिँड्यो। ऊ पोखरा आउँदा जुन सपना बोकेर आएको थियो फर्किँदा गुमाएर रित्तो थियो। त्यो रित्तोपनामाथि निराशा र उदासीनता फैलिरहेको थियो। उसले घर सम्झियो। बाबुआमा सम्झियो। ऋण र भाइबहिनी सम्झियो। सोच्दासोच्दै टाउको दुख्यो। उसले झ्यालबाट टाउको छिराएर बाहिर हेर्‍यो। साँझ पर्दै थियो। गोधुली आकाशमा चरीहरू उड्दै थिए। बादलका केही बुट्टाहरूले आकाशलाई ढाकिरहेका थिए। उसको आँखा आँसुले ढाकिरहेको थियो। बा हिँड्दै जाँदा पोखरा छुट्दै गयो। पोखरासँगै ब्रिटिस क्याम्प र माछापुच्छ्रे हिमालपनी छुट्दै गयो। बसको लुकिङ ग्लासमा सडकछेउका रुखहरू फनफनी घुमिरह्यो। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...

सम्बन्धित समाचार