संसारमा हरेक मानवजातिको आ-आफ्नै जीवन जिउने तरिका हुन्छ, जुन उसको संस्कृतिको रूपमा विकसित भएर जान्छ । संस्कृति मानवको जीवन जिउने तरिकामात्र नभएर सामाजिक खुसी पनि हो ।

प्रत्येक मानवसमाजमा भिन्न-भिन्न सांस्कृतिक धरोहरहरू विद्यमान हुन्छन् । तिनै धरोहरमध्ये विश्वको दक्षिण एशिया अर्न्तगत नेपालको विशेषतः मध्य पश्चिम र सुदूर पश्चिमको सांस्कृतिक मुटु हो डेउडा ।

मध्यपश्चिम तथा सुदूर पश्चिमको संस्कृति झल्काउने कार्यक्रम हो डेउडा । सामाजिक खुसीहरू साँटासाँट गर्ने पर्वहरू जस्तै: व्रतबन्ध, विवाह, होली, मेला, जाँतहरूमा डेउडा खेल्ने वा गाउने चलन छ । बिना कुनै विभेदको यस खेलमा पर्व अनुसारका शब्दहरूको प्रयोग गरेर पर्वको महत्व र खान गरिन्छ । उक्त खेल धेरै व्यक्तिहरू एकैपटक खेल्न सक्छन्। एक-आपसमा हातको मुनिबाट कुहिनोमा एकले अर्कालाई समातेर एकनासले गोडाहरूको चाल पनि सम्पूर्ण मिलाएर गोलो घेरामा खेलिने डेउडाका दुई पक्ष हुन्छन् ।

खेलमा धेरै व्यक्तिहरू भए पनि खेल मुख्यतः दुई व्यक्तिमा केन्द्रित हुन्छ । आ-आफ्नो समूहको नेतृत्व गरी डेउडा उद्घोष गर्ने व्यक्ति डेउडे हुन्छ । जसले गीतकै माध्यमबाट अर्को समूहलाई प्रश्न गर्ने र अर्को उत्तर दिँदै प्रतिप्रश्न थप्ने, गौरा यो डेउडा साँच्चिकै मनमोहक हुन्छ । यो खेल महिला र सम्पूर्ण पुरुषहरूकोसँगै र छुट्टै समूहमा खेलिन्छ । यस खेलमा सुदूर ठूलो-सानो, धनी-गरीब, ऊँच-नीचको कुनै भेद्भाव हुँदैन, सबै वर्ग समान रूपले खेलमा भाग लिन्छन् ।

मध्य तथा सुदूर पश्चिमको महत्त्व बोकेको डेउडा कहिलेदेखि सुरु भयो भनेर ठ्याक्कै भन्न नसकिए पनि मध्यकालमा भारतमा भएको हिन्दू मुस्लिम दङ्गाबाट मुस्लिम हरूले लखेटेपछि भारतको गडवालबाट भागेर आएका हिन्दूहरू नेपालको मध्य तथा सुदूर पश्चिममा बस्नपुगेका थिए, तिनीहरूबाट नै सामाजिक कार्यक्रममा गीतका रूपमा मनाउने गरेको भन्ने किंवदन्ती छ ।

मध्यकालीन समययता मध्य तथा सुदूर पश्चिमको अमूल्य गहनाको रूपमा रहेको डेउडा आज विस्तारै विस्तारै सम्पूर्ण नेपालीहरूको मनमस्तिष्कमा भिज्न सफल भैसकेको छ । विशेष गरी पश्चिमेली सांस्कृतिक पर्व गौरामा ठूलो महत्त्वका साथ खेलिने डेउडा नेपालमा मात्र नभएर भारतको उत्तराञ्चलमा पनि अति महत्त्वका साथ खेलिन्छ ।

केही वर्षयता काठमाडौंमा पनि होली र गौरापर्वको अवसर पारेर डेउडा खेलिन्छ । सो अवसरमा सम्पूर्ण ठूला-साना सबैको उपस्थिति देख्न पाइन्छ । यसले गर्दा सुदूर पश्चिमेली एकतालाई सबल पहिचानको रूपमा प्रस्तुत गर्दै लगेको पाइन्छ । प्रस्तुत लेख सुदूरपश्चिमाञ्चल वार्षिकबाट साभार गरिएकाे हाे । लेखक सुदूरपश्चिमाञ्चल सराेकार मञ्चकी कार्यकारी सदस्य हुनुहुन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दिपा भट्ट जाेशी

लेखकबाट थप...

सम्बन्धित समाचार