पृष्ठभूमि :

करिब ३ वर्ष पहिले (२०१९) मैले यो तयार पारेको थिएँ । त्यतिबेला आफूलाई मनपरेका शेरहरू संकलन गर्नु पनि मेरो जीविकोपार्जन थियो । भलै, सो आदत आजभोलि छुटेछ । मेरो संकलनमा रहेका शेरहरू मात्रै राम्रा, अरू नराम्रा भन्ने पनि होइन । यो विशुद्ध एक रहर थियो, जसलाई मैले उतिबेलै फेसबुकमा पोस्ट समेत गरेको थिएँ । उतिबेलैको कामलाई यहाँ हुबहु सारेको मात्रै हुँ । त्यसपछि निकै राम्रा शेरहरू लेखिएका छन् । गजल त त्यस्तै हो, शेर चाहिँ गजब-गजब आएका छन् । भयो, यता नजाऊ । हेहे..

आज सो सामग्रीलाई मार्जिनमार्फत सार्वजनिक गर्नुको पछाडि पनि उति धेरै कारण छैन, पत्रिकाको अर्काइभ रहिरहला भन्ने लोभ मात्रै हो । मार्जिनले सृजनामा खुल्ला बहसका लागि 'गजलको अनुहार' नामक स्तम्भ पनि चलाइरहेको छ ।

उतिबेला पनि भनेको थिएँ, आज पनि भन्छु -'यहाँ रहेका १०१ शेरहरूमात्रै १०१ शेरहरू होइनन्, बब्बर शेरहरू लेखिरहिएका छन् । पढौँ । खोजौँ । लेखौँ । स्वस्थकर बहस भइरहोस् ।'

पढौँ शेरहरू;


 

१. दुइ ओठको हाँसोलाई मैले मेरो भने

त्यसमा पनि तिमि सुस्केरा बनेर बसिदियौ ! (हरिभक्त कटुवाल)


२. विज्ञानको टाउकोमा मुटु राखिएन भने

युगको नयाँ संस्करण दर्दनाक हुन्छ (हुकुम धड्कन)


३. बन्चरो हेरेपछि भावविह्लल भयो

यति पीडा जम्मा रै'छ अचानो भित्र (नरेन्द्र बिहानी)


४. बच्चैमा गुलेली खेलेको याद आउँछ

खै किन हो किन, यो सरकार देखेर (किरण कालीकोटे)


५. तलाउको पानी पनि दौँडिदो रहेछ

पत्थर हिर्काएर विचार गरियो (विपिन सलामी)


६. अचेल मन्दिरहरु भत्काउँदै हिड्छ

ऊ एक जमानाको पुजारी रहेछ (जीवन सरोवर)


७. आकाश कसरी डुबानमा परेछ

समुन्द्रमा गएको थ्यो भुइँचालो त (सुमन स्मारिका)


८. तिमि लेखेर के गर्न समय बर्बाद गर्दै छौ

केटाकेटीले पनि धुलोटमा केरिरहेका हुन्छन् ( ऋषि शर्मा सुदामा)


९. भोकमरी यति पुरानो भइसक्यो बस्तीमा

यहाँ अन्नमात्र हैन, चुलो पनि नहुन सक्छ (गणेश भट्ट'अणु')


१०.ऊ बेस्सरी आकाशियो, धर्ती छाडेर

यहि मुख्य कारण थियो, तल झर्नको लागि ( योगेश घिमिरे )


११. आफ्नै भएर पनि आफ्नो भन्न नपाएको

एक तिमि हौ, अर्को हो सिमाना देशको ( सन्जय खनाल)


१२. न छोएर पायो, न रोएर पायो

त्यसै मुर्ति ढोगी, गयो जिन्दगी यो ( प्रदिप खाद्दोत)


१३. निकै भयानक थियो, घिनलाग्दो थियो

म त भलाद्मी मान्छे हुँ, ऐना भित्र को थियो ?( सुरज पराजुली)


१४. मान्छेको परिश्रमको मोल तोक्नलाई

यो सय यो पचास कसले बनायो ? ( विवश बाबु)


१५. ऐँचोपैँचो मै चल्छ यो जीवन

चोर्नु पर्ने मजबुरी हुँदैन (प्रज्वल अधिकारी)


१६. कसको विश्वास गर्नु, कसको नगर्नु खै

बुबा बिरामी हुँदा छोरो वकिल लिएर आयो (मोहित जोशी)


१७. पढ्नै परेन पढेर ठेगाना

चिठीमा के छ भन्यो खामले नै ( बूँद राना )


१८. मैले उनीहरु दुवैलाई छुट्टाछुट्टै चौतारीमा भेटेँ

बुझ्नै सकिन कस्ले चैं कसलाई पर्खिएको छ ( निश्चल परदेशी )


१९. अब पशु पशुबिच गर्भाधान गरि मान्छे जन्माउनुपर्छ

यहाँ मान्छेले जन्माएका मान्छे, मान्छे जस्ता छैनन् ( काशी राम बजगाईं)


२०. जो जो हलुका थिए ती सागर पुगे

पत्थरहरु आज पनि किनारमा छन् ( डा. टिका भण्डारी)


२१. खै कहाँ रोकियो आँसुको मूल यो ?

आँसुमै चढ्नु र ? झर्नु पो जिन्दगी ( रवि प्रान्जल)


22. दासहरुको त आदत नै उस्तो हो

मालिकलाई सधैँ सिरान बनाउँछन् ( जोतारे धाइबा)


२३. अब छोरा हराएकोमा चिन्ता हुने छैन

कफिनमा बाधिएर ऊ घर आइपुगेको छ ( बाबु त्रिपाठी)


२४.मुर्दाले पनि आगो निल्नुपर्छ यहाँ

ज्युँदाहरुको लागि कहाँ आराम छ ? ( रावत)


२५. यी सानै उमेर देखि मन हर्न लागे

यिनै सुन्दरीले जुलुम गर्न लागे (मोतीराम भट्ट)


२६. गाउँको नदि पवित्र छ, चोखो शित्तल जल

घाउ-खटिरा आउँछ खोला तर्दा काठमान्डौंमा (एकु घिमिरे)


२७.बाँझो खेत टोलाईरहन्छ

कहिले कोदालो आउछ ( विराट अनुपम)


२८. मध्य रातमा आएर थाहा छैन कसले

सिंहदरवारको भित्तामा चिहान लेख्छ ( रहस्य विक्रम चिमरिया)


२९. सहिद हुँदैमा यदि, दुनियाँ बद्लिने भए

फूल पनि सहिद हुन्छ मन्दिरको लागि ( असिम सागर)


३०. आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ,

छोरा मरेको खबर आमालाई नसुनाइदिनुस् ( प्रदिप रोदन)


३१. हा ! हि ! मात्र के हुन्थ्यो र हु ! हू ! पनि सँगै नै छ

क्रमैसँग पढ्नै पर्छ जिन्दगीको बाह्रखरी ( जे. सागर )


३२. यौटा साधु आयो पीडा दिएर गयो

ज्युँदै देख्दादेख्दै सिदा दिएर गयो ( विक्रम पवन परियार)


३३. आखिर कसका लागि सहिद बन्यौ तिमि ?

तिम्रै सालिकले देशको छातीमा भार बढ्यो (कमल संघर्ष)


३४. उही समुन्द्र हो दुनियाँमा सबैभन्दा शान्त पनि

उही समुन्द्र हो यो बस्ति बढार्न छाल पठाउने ( यात्री प्रकाश पाण्डे )


३५. हो, डुङ्गा हुँ म कागजको, डुब्छु म पक्का तर

खुसि छु कि मेरो पनि, वर्षातसँग सम्बन्ध छ ( विपिन खनाल )


३६. हामीलाई त पित्तल पनि सुनजस्तै लाग्छन्

माथिमाथी बस्ने जति जुनजस्तै लाग्छन् (बुद्धी सागर )


३७. बल्लतल्ल तेलको जोहो गरियो

मलाई थाहा छ अब लालटिन बिग्रिन्छ(....)


३८. रित्तो आँगनमा हेर्दै आमा भन्नुहुन्छ

सम्झिरहन्छु बचपन बेलाबेलामा (मुक्त उदास)


३९. एकदिन कसो भात नपकाइएला

वर्षौदेखिको चौलानी छ हामीसँग ( विद्या निर्दोष पहाडी)


४०. हाम्रो चुलोमा आगो बलेन भने पनि

भोको रहँदै रहँदैन सरकार आमा (झलक वली)


४१. मैले आफैँ त जिन्दगी जिउन सकेको छैन

अरुलाई जिन्दगी जिउन सिकायो यस्तै छ ( आयुष भट्टराई)


४२. एक ज्वाईं कारमा जाओस् अर्को पैदल जाओस्

सम्मान फरक भइदिन्छ ससुरालीमा पनि (कविन्द्र घिमिरे)


४३. एउटा भोलि मरेछ, अर्को हिजो मर्दैछ

बिहानी पर सरेछ, साझ वर सर्दैछ (जीवनपानी)


४४. घाटमा व्यापार गरेर बस्नेहरुलाई

मान्छे नमरेको दिन नरमाइलो लाग्छ (दिग्गज देउराली )


४५. न बिर्से भन्दिएकाछन् न सम्झी फर्किएकाछन्

कसैले मार्गमा आँखा बिछाई पर्खिएका छन् (मनोज भण्डारी )


४६. म त्यत्तिकै शीर्ष नेता भएको हुँदै होइन

रिबनभन्दा धेरै गला काटेर आएको छु (लख्खु सिंह)


४७. हाम्ले पो घर भित्रै निहुरिएर हिड्नु पर्ने

पैसावालाहरुको त चिहान पनि अग्लो हुन्छ (लोकेन्द्र बन्जारा )


४८.भात भात भन्दै आमा मरेकी थिइन

छोराले पुण्यतिथिमा खिर चढाइदियो ( महेष के भट्टराइ)


४९. कनिका खुवाएर स्कुल पठाएको बच्चा

चामलको निबन्ध लेखेर प्रथम भयो ( नकुल पौडेल )


५०. सबै - सबै प्रकृतिकै अधिनमा बस्न रुचाउँछन्

एक तिमी हौ: पुतलीबाट झुसिलकिरा बनिदियौ (ठाकूर चुरे )


५१. मेरो गाउँसम्म मोटर नपुग्नुको कारण

तिम्रो शहरमा जाम भएर हो ? (अप्सरा केसी )


५२. कागजमा लेखेथेँ गजल, बाख्राले चपाई दियो

चर्चा शहरमा यस्तो चल्यो, बाख्राले शेर खाइ दियो ( अपरिचित, नेपालि अनुवाद सफल सुरज )


५३. मलम किनेर घाउलाई कहिल्यै दिन सकिन

आमा मलाई हजुरको दुखाइमा राख्दिनुस ( लोकेश जलन )


५४. त्यो आकाशले आफुलाई हेर्ने पाएको छैन

यो धर्तीमा ऐनाहरु विच्छाए के हुन्छ ? (कपिल अन्जान )


५५. भयंकर हुने भनेकै अस्तित्वमा रहनु रहेछ

कमिलो छैन हात्ती छ हजारको नोटमा अझै ( खगेन्द्र अटल)


५६.भ्यागुतोलाई हो कुवा संसार जस्तै लाग्ने

पंक्षी हुँ म आकाश पनि साँघुरो भएको छ ( निप्रेश उप्रेती )


५७. बेरोजगार बस्तीमा चुइगम पठाईदे सरकार

तेरो विज्ञापन पनि हामीलाई रोजगार पनि ( नवराज कुन्दन)


५८. मान्छे खप्पिस छन् मान्छेकै विवशता किन्नलाई

आफू पुरै नाङ्गियो बजारमा सभ्यता किन्नलाई (शिखर भट्ट )


५९. उड्न पाउदैमा कहाँ स्वतन्त्र भइन्छ ?

एक दिन बादल पनि चुहेरै सकिन्छ (रितेश गुरुङ )


६०. आज उस्ले पनि नचिनेझैँ गर्यो

सायद म एक्लो र दिक्दार देखेर (मान्यता हुमागाईं)


६१.स्वतन्त्रा के हो सुनाइदिएपछी,

पात रुखमै अल्झिरह्यो खस्न छोडेर (अज्ञात )


६२. मात्र यत्ति कारणले बाचिएको छ

मारिहाल्ने कुनै कारण छैन ( एकतारे )


६३. चराहरू सजिलै मर्छन यहाँ

सिकारी नहेरी चारो हेरेर ( एम.पी केयरलेस )


६४. मान्छेहरु पाहुनासँग डराउछन् त्यसै

पुग्नासाथै पानी दिन्छन् निभाउन आगो (एकलख्खे)


६५. बिर्सीसके होला जानेहरूले त,

भ्रम पारिरहने यिनै बाडुल्की छन् (नारायण प्रसाद घिमिरे )


६६. आँसी हथौडा बोकेर गाउँ पसे क्रान्तिकारीहरु

किसानहरुले सोचेछन् हाम्रो काम गर्न आए ( राम अविरल बिस्ट)


६७. सालिकहरु तिमी अब निगरानी गर

कस्को घाँटीमा झुण्डिछन् मखमली अचेल (सन्देश कठायत)


६८.हदैसम्म सजाय हुनसक्छ मूर्दालाई

कसैको सिउँदो लगेको छ कफनभित्र ( ईश्वर दाहाल )


६९. ठुलै सपना देखाउनै पर्दैन ए सरकार

साउनमा झरी परे पुग्छ किसानलाई ( विज्ञान कँडेल)


७०. बा खसेदेखि आमालाई सेतो रङ मन पर्न छोडेको छः

ए असिना ! तँ आज रातो भएर झरिदेन है ?(अन्शु खनाल )


७१. पागल रहेछ त्यो चालक

आफू मारेर, यात्रु बचायो (जीवन खत्री )


७२. मेरो नीद अनि फुलको बैंस उस्तै उस्तै भयो

तस्वीर आउँछ, भमरा आउँछ, चुराइजान्छ (अभिनव प्रत्यूष)


७३. म साथमा हुँदा नै मलाई चिनीहाल्नु

म जस्तो अर्को भेटिन अल्ली समय लाग्छ (आशिष खनिया)


७४. भर्खर एउटा रुख भुइँमा खस्यो

झुक्न नजान्दा भाचिनु पर्ने रहेछ (ईश्वर कुमार)


७५. सायद कोहि जीवन मृत्युको संघारमा थियो

एउटा एम्बुलेन्स आज बडो हतारमा थियो ( देवदास नविन )


७६. मेरी आमाको म, ज्ञानी छोरो हुन् बुझ्यौ ?

भोड्कालाई नि सेतो कोक भन्नुहुन्छ (सम्राट अनन्त )


७७. उसको शृंगार भद्दा हुनुमा पनि कारण छ

कतै छोप्नैपर्ने केहि निलडामहरु हुन्छन् (सुरेश बादल)


७८.नौलाख तारा तिमीहरुलाई सोध्छु यौटा प्रश्न

आकाशमाथि भन कस्का लागि सजिनु सजिन्छौ ? ( केबि धुवाँले )


७९. छोरो दिनभर गुलेली खेलाएर फर्कियो

आँगनमा चराहरु बिस्कुन खाइ रहेछन् (....)


८०. ओए विज्ञान सुन् हामी बालकद्वारा

हाम्रो गाउँमा कागजको जहाज उडाइन्छ (...)


८१. फासी दिएको सहिदलाई सम्झिएछु मैले

उसले नानीले पिङ खेले के के सोच्दो हो (...)


८२. यहि बगरमा गिट्टी कुट्थे सुत्केरी पाखुराहरु

सकियो तिनको दू:ख नदि बौलाएको वर्ष (अमला अधिकारी)


८३. रक्तदान जीवनदान हो आज मित्रको मिलेन

भयानक बन्यो अस्पतालमा दुश्मनको महत्व (पहल असिम )


८४. असलमा म विद्यार्थी बन्नेछु बल्ल

जब स्नाकोत्तरको दिक्षान्त हुन्छ ( नगाधिराज)


८५. ओठमा फूलको रङ्ग देखेर कुरा चल्यो

पुतली पनि अचेल छेपारो भएको छ (सरोज अनुराग)


८६. अडिनको निम्ति जरा लगाएको छ रुखले,

बेला बेला भाँचिन हाँगा लगाएको होला (कृष्ण प्रसाद अर्याल )


८७. नरुन्छ घाम साँझमा नरुन्छ जुन रातमा

बुझौँ न के छ सत्यता, छ शीत पात पातमा ( रुप रसाइली विश्वकर्मा )


८८. कमिला ताँतीबाट विचलित भएनन्

मौरीले पनि संघर्ष गरेको देखियो ( गिरिजा गैह्रे )


८९. लाखौँ सुकरात जन्मिए, यौटा सुकरात मारेर

त्यतिबेला पिलाएको विष व्यर्थ बनेको छ ( इन्द्रजित आभास )


९०.किनारका ढुंगाहरुलाई के जवाफ दिउँ ?

सोध्छन, नदीमा पौडिन मिल्छ कि मिल्दैन ?(लोकेन्द्र बोहरा 'परिवर्तन')


९१.लगानी गर्दिने मान्छे भए व्यवसाय गर्थेँ

ऋण दिनेले त मात्र विदेश पठाउँछन् ( सफल सुरज)


९२. छानोमा प्वाल पर्दा पनि खुशी लाग्यो

धेरै पछी शरीरमा घाम परेको छ ( महेन्द्र चन्द महासागर)


९३. पहाडको काँध चढेर हाम फाल्छ झरना

याद गर्नुस् पानीको आफ्नो उचाइ हुँदैन् (लक्ष्मण सङ्गम)


९४. फुल टिपेर ल्याउँछन् अनि पानी छर्किन्छन्

अब उसले मर्नु भएन सुक्नु पनि भएन (रमेश विमान )


९५. म अहिलेसम्म जिउँदाई रहनुमा

मलाई विष बेच्ने व्यापारी छ दोषी ( दिनेश राज ज्ञवाली )


९६. चाहेको भए सिङ्गै नदि पिउन सक्थ्यो बगरले

अरुको तिर्खा सम्झेर ओठ भिजाए जस्तो गर्छ (निरज भट्टराई )


९७. मर्न लाम लागेको थें, मेरो अघि कोहि घुस्यो

बुझेँ मैले, मभन्दा नि हतारमा कोहि रैछ ( करुण थापा )


९८.विश्वास कसैको नगर्नु यात्रामा तिमीले

हरेक मोडहरुमा सालिक खडा छन् (प्रभात तिमिल्सिना)


९९. एक ऊ जो पुतलीको प्रेममा मर्न तयार छ,

जसले चाहेर झुसिलकिरा कहिल्यै छोएन ( रसिक राज )


१००. फूल जस्तो कोमलाको छैन दिलमा के दया

जिन्दगि भो प्यास रित्तो एक थोपा पर्न देऊ ( महाकवी लक्ष्मीप्रसाद देवकोटा )


१०१. तिमी जाउ मन्दिर, हामी जादैनौँ

हाम्रो खाने चामालमै ढुङ्गा हुन्छन् (अनन्त अनुराग )


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार