कपिल मौन

यौटा उदास रातमा
यो उदास रातको गहिराइमा
डुब्ने उत्रने गरिरहन्छ छट्पटाहट

च्यात्तिएको पानाहरूमा उदास छन् शब्दहरू
जहाँ
बेठेगान प्रेमपत्रको भावना कोरिएको थियो
परीक्षाको प्राप्तफल कोरिएको थियो
जिन्दगीका अठोटहरू कोरिएको थियो
पार्टीको घोषणाहरू कोरिएको थियो

भ्रमहरूले बेरेर लुकाएको सत्य
यो रातको गहिराइमा ऐँठन बनेर फैलन्छ
बन्द कोठाभित्र गुम्सिएका सपनाहरूले धिक्कार्छन्
आफ्नो नाम कसैको सु साइट  नोटमा भेटेजस्तै हुन्छु
अतीतका आघातहरूले अँठ्याइरहन्छ घाँटी
र यो निश्वास वर्तमान केही गर्न सक्दैन

उदास उदास छ जुन
उदास उदास छ आकाश
यहाँ इच्छा छैन: विवशताहरू छन्
यहाँ शान्ति छैन: सन्नाटाहरू छन्

समयको वेगमा झुन्डिएको छ
अस्पष्ट विचारहरूको साम्राज्य
जसलाई चाहेरै पनि केलाउन सक्दिनँ

अनेकन् उदास प्रश्नहरू आइपुग्छन् म सम्म
र जवाफ कसैगरी भेट्टाउन सक्दिन
आत्महत्याको असफल प्रयास गरिरहन्छ विश्वास

यो उदास रातमा|
म सँग उदासी मात्रै छ
जसप्रति म उदासीन हुनुपर्छ या पर्दैन
मैले अझैसम्म छुट्याउन सकेको छैन।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार