नाटक मन्थन

एमपि केयरलेस

म काठमाडौँ पुगे भने भृकुटीमण्डप पुग्थे । पुग्छु । पुगिरहने छु । भृकुटीमण्डप मलाई सामूहिक विवाह मण्डप जस्तो लाग्छ । के हुँदैन र त्यहाँ ? को भेटिँदैन र त्यहाँ ?

तरुनीको हाँसोको  लय समाएर एकछिन  भएपनि हाँसिरहेका  नेपाली पासपोर्टहरू  ।
नारायण गोपालका पदचाप पछ्याइरहेका हार्मोनियमहरू ।
गालिबको  गजलका तखल्लुस बन्न चाहनेहरू ।
स्वदेशमा उत्पादन गर्छु भन्ने मेसिनहरू ।
फिल्म क्षेत्रमा अब आउने क्यामेराहरू । अनि  मुकुन्देले प्रतिपादन गरेको सिद्धान्त प्रत्यक्ष हेर्न चाहनेहरू ।

यति  सब भेटिने ठाउँमा अरिङाल , मौरी , छेपरा र भेडा नभेटिने कुरा पनि त भएन ।
मण्डप गएर मौका मिलेसम्म र मान्छे चिनेसम्म म यस्तै यस्तै टेबलमा बस्थेँ । बस्छु र बस्नेछु । 

दुई हजार चौरहत्तर साल तिरको कुरा हो । एक दिन लड्दै र पड्दै , म भृकुटी मण्डप पुगेको थिएन । कविका  प्रवक्तानै मानिने  चन्द्रवीर तुम्बाप्पो एक्लै बसिरहेको देखेँ । सायद मनमनै  कविता कथिरहेका  थिए होला । मेरो नमस्तेले कविवरको ध्यान भङ्ग गरिदियो । उनी कसैको ईन्तजारमा रहेछन्  । कसको. त्यो  उनलाई पनि थाहा थिएन  । यस्तो भनौँ जो उनको अगाडी पुग्यो उनी उसैको इन्तजारमा हुन्छन् ।

हाम्रा कुरा भए- The vulture and the little girl. तर, हाम्रो यस्तो कुरा चाहिँ भएन भल्चर र केटी दुवै भोका पो थिए कि  ।

हाम्रो कुरा भएको थियो । किम जुङ यति क्रूर किन छ ? तर हामीले कुरा गरेनौ आत्म सम्मानको लडाइँले बनाउने भनेकै क्रूर हो भनेर ।

नेपाली राजनीतिको कुरा आउँदा हाम्रो कुरा भएको थियो । चोर चोरहरू मध्य कम चोर्ने चोर छान्न सक्नु नै नेपाली जनताको जित हो भन्ने ।

त्यो दिन हाम्रो कुरा बुद्धको जन्मदेखि लिएर साहिर र अमृताको प्रेम हेरेर भर्जिनिया उल्पको मृत्युसँगै सकिएको थियो ।

कुरा सकेर छुट्टिनै लाग्दा । कविवरले आशीर्वाद दिए झैँ गरी भन्नू भयो- 'लौ यो किताब पढ त ।' उनले किताब टेबुलमाथि राखे ।

मैले   पढे- 'अब्बा ।'  श्याम साह ।

मैले पनि किताब झोलामा राखेँ  । खुसी थिए  (त्यो किस्सा आज यहाँ भन्ने हो भने आज भन्न खोजेको कुरा छुट्न जान्छ । त्यसैले त्यो कुनै अर्को दिन ।)

कोठा  पुगेर झोला भित्ताको  किलामा टङियो । त्यो मैले उपहारस्वरूप पाएको दोस्रो किताब थियो । जुन टङिरह्यो ।

कालिकोट मान्मको हावाले पहिलो चोटि देख्यो तराईको लु । पाना पल्टाउँदै जान्छु गर्मी बढ्दै जान्छ । पाना पल्टाउँदै जान्छु गर्मी बढ्दै जान्छ । गर्मी कस्तो खालको थियो त्यो थाहा पाउन अब्बा खोजेरै पढ्नुस् है । चन्द्रवीर दाइ धन्यवाद है  । (अब्बा बारे फेरि मौका मिले अर्को पल्ट लेखौँला ।)

तर त्यही अब्बा भित्रको एक कथा (लाटीको छोरो) अहिले सिनामंगलस्थित  पुरानो घर  भित्र चकचक गरिरहेको छ । नाटक हेर्दै जाँदा लाग्छ मानौँ कि लाटिले अस्टाबक्रनै  जन्माउँदै छे । गर्भभित्रबाट नै  लाटिको छोरोले यो समाजको खिल्ली उडाउँछ । 

बोल्ने भएपछि के भन्दै हिँड्छ थाहा छ ? - म लाटीको छोरो हुँ ।

नाटक सुरु हुन्छ एक तन्नेरी डुम आफूलाई जग्गा विहीन बनाउने बाठा भनिने ठगसँग बाझाबाझ गरिरहेको हुन्छ । डुम केटाको मुखिया मरेको छ, उसको सङ्ख्या छ । उसलाई मारिएको हो  मार्ने को ? अहिलेको जग्गा प्लटिङ गर्दै  हिँड्ने  कानुन, व्यापारी, नेता र बुद्धिजीवी ? यो सब थाहा पाएको समाज बोल्दैन ।



बुद्धिजीवी, व्यापारी, नेता, कानुनको चाकरी गरिरहेको समाज उनीहरूको कर्तुत देख्दा बढीमा चाकरी गर्न छोड्छ तर त्यसको विरुद्धमा बोल्दैन ।  

पटकपटक बलात्कार हुँदा  देखिरहेको समाज - 'बलात्कार भएकी होस् भने खै त भुँडी बोकेकी ?'  भन्ने सम्मको कुरा सुनेर पनि चुप बस्छ समाज । 

बलात्कार भएर पनि  भुँडी  नबोकी हुँदा एक नारी ठग, बौलाहा र बोक्सी बन्न विवश दृश्य हेरेर पनि  चुप बस्न सक्छ समाज  ।

कानुनको टाउको नेताको खुट्टामा र कानुनको  खुट्टा जनताको पेटमा देखिरहेको समाज बोल्दै बोल्दैन ।

नाटकले लाटीको आवाज नहुनु भन्दा पनि समाज को आवाज  नहुँदा के हुन्छ ?  भन्ने देखाउन खोजेको  छ । नाटक हेर्दै जाँदा तपाईँ एकपटक यस्तो दृश्य देख्नु हुन्छ । जहाँ समाज आफैँसँग कानेखुसी गरेर बसिरहेको  देख्नुहुन्छ । तर तपाईँलाई  देख्नासाथ समाज चुप लाग्छ । मात्र  एकपल्ट बोल्छ समाज त्यो पनि आफैँसँग । त्यसमाथि तपाईँलाई देख्नासाथ चुप लाग्छ  । के भन्ने त्यस्तो समाजलाई ? लाटो कि र? बाठो कि ? कि  ढोँगी ?

यी र यस्तै प्रश्नहरू सोधेर लाटीको छोरो चकचक गरिरहेको छ ।

नाटकले यो समाजमा मौलाउँदै गएको बेथिति, थिचोमिचो, छुवाछूत सबै देखाएको छ र यी सबै देखाउने क्रममा कहीँ कतै मानवता जिउँदै छ भन्ने कुरा पनि बडो मीठो गरी देखाउन भ्याएको छ ।

नाटक सकिदा दर्शकलाई यस्तो सम्म लाग्छ कि- 'म पनि थिए  कतै यस  नाटक भित्र  ?'  खासमा दर्शक नाटकमा होइन यही समाजमा छ । तर किन बोल्दैन ? यही मौनताको उपज हो- लाटीको छोरो ।


नोट: नाटक  लाटिको छोरो सिनामंगलस्थित पुरानो घरमा मञ्चन भइरहेको छ ।
हरेक साँझ पाँच बजेदेखि ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।