मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

पहाडका धुपी सल्लाका रूखले
गरिबीका गीत दिनहुँ गाइरहन्छ
चट्टान छिचोलेर झर्ने झरनाले
अक्सर बेदनाको संगीत भरिरहन्छ
झुपडी गतिलो, छानो दिनु भनी गुनगुनाइ रहन्छ
शरीरका फाटेका कपडाले इसारा गरिरहन्छ
भोको पेटका पीडाका गाथाले बेलाबखत 
आँखा नुनिला बनाउन बाटो खनिरहन्छ ।

यिनै गीत-संगीत पीडाका धुन सुनेपछि
काला पहाडबाट छुकछुके रेलले रैबार पठाउँछ
गीत गाउँछ, 'पैयाँ गुडन लाग्या' भन्दै डाको दिन्छ
अभाव दबाब प्रभावले चाडो तुना कस्न आदेश दिन्छ
घरका आमा जहान र छोरीले आँखा रुझाँउछन्
मन बुझाउँदै, सम्झाउँदै, सामल कस्दै, कुद्दै
कालापहाडले झिनो आाशा र सपना देखाउँछ ।

कालापहाडमा दिनहुँ सेता सपना देख्ने धेरै छन्
स्वदेशका खोलानाला, पहाड सम्झिँदै
प्रदेशमा रगत, पसिनाको खोलो बगाउने
हात, शरीर थुप्रै छन्, विडम्बना
प्रदेशको पीडा सुन्ने को छ र ?
सपनाका  घाउमा मलम लगाउने को छ र ?
अरब कालापहाडको आराम भनेजस्तो सुनेजस्तो कहाँ छ र !
दुखीको दुःख बुझ्ने को छ र ?

भनेको सुनेको थिए सरकारले सुन्छ भन्ने,
तर सरकार धेरै व्यस्त रहेछ ।
दिनहुँ उद्घाटन गर्दो रहेछ ।
भेला सम्मेलनमा चर्का भाषण दिनेरहेछ,
भव्य सपना बाड्ने रहेछ ।
जहाज रेल र रकेटका ल्याउँछु भन्ने रहेछ ।

सरकारलाई  मेरो विनम्र आग्रह-
जतिसक्दो चाँडो आलिशान चिहान गृह बनाउनू
उद्घाटन गर्नू, यसपटक सुरुवात आफैँ गर्नू
चिहानमाथि मज्जाले सुत्नू
अनि थाहा पाउँछौ बाकसभित्रको चित्कार
अनि देख्छौ बृद्ध बा-आमाको पुकार  ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार