कवि सन्जित फलाना पूर्व लिम्बुवानमा रहेर समसामयिक विकृति-विसंगति र सत्ताको गलत कदम विरुद्ध निरन्तर कलम चलाइरहेका स्रष्टा हुन् ।

 
हामीलाई दमन गर्न
शासकले के-के गर्छ ?

जस्तो कि तरिकाहरू सम्झौँ
शुरूमा गोप्य षड्यन्त्र बनाउँछ
अनि त्यसलाई  वैधानिकता दिन्छ

त्यसपछि
सुकुम्बासी बस्तीमा पसेर
झुपडीहरू भत्काइदिन्छ
अनि भोक र शोकले थिलथिलो भएको
सुकुम्बासीहरूलाई पालमा ल्याउँछ

त्यतिले चित्त नबुझ्दो हो सायद उसलाई
पाल हटाएर फेरि फुटपाथमा ल्याउँछ

विकासको आधुनिक नारा लिएर
आदिवासीहरूको समाधीस्थल पुग्छ
र चिहानघारीमा डोजर चलाएर
विभेदकारि रङ्गशाला बनाउँछ

फास्ट्रयाकको डिजाइन बोकेर
खोकना~बुङमति पुग्छ
र पसिना र रगतले सभ्यता आर्जेको
आदिम जग्गा अतिक्रमण गर्छ

घरि पुर्खाहरूको स्मृतिमा
क्रेन बोकेर छिर्छ
र पानीजहाजको सपनामा
खुवालुङ फुटाउँछ

घरि मिथकको आक्रमण गर्न
मुक्कुमलुङ पहाड चढ्छ
र देवि देउतालाइ ढाँटेर
रातारात मुक्कुमलुङलाई पाथिभरा बनाउँछ

यसरी शासकले डर देखाउँछ
र हाम्रो मुख थुन्न खोज्छ

जब प्रतिकार गर्छौँ
उ हाम्रो निधारमाथि बन्दुक तेर्साउँछ
सायद शासक सोँच्छ
कि उसको हातमा छ सर्वोच्च शक्ति
उसको हातमा छ सत्ता र समय
तर
चाहे घण्टाघरमा राखौँ
चाहे भित्तामा झुण्ड्याऔँ
चाहे बाधौँ हातैमा
समय कहिले शासकको हुन्न
समयको आफ्नै लय हुन्छ

त्यसोभए हाम्रो हातमा चाहिँ के हुन्छ ?
सायद हाम्रो हातमा
समयको त्यो लय हुन्छ
जसले शासकलाइ पनि सडकमा ल्याउँछ। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...

सम्बन्धित समाचार