मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

बिस्तारै बिस्तारै यो हट्छ
चल्ने नचल्ने मिल्ने नमिल्ने
हिजो जे थियो त्यो सब बिस्तारै घट्छ
तिमीले विरोध गर्याैं भने समाज बेस्सरी फुट्छ ।

केही दिन सहनु , केही दिन टुट्नु
हत्या बलात्कार बहिस्कार र विभेद
बिस्तारै बिस्तारै सबै घट्छ
केही मारिन्छन् , धेरै कुटिन्छन् बिस्तारै
तिमीले भनेजस्तो आजको आजै कहाँ घट्छ ।

तिम्रो बिस्तारै २०२० मा झुलुक्क देखियो
त्यसपछि धेरै बिस्तारै बिस्तारै देखिए
कथा कविता उपन्यासमा देखिए
भेलाका भाषणमा चर्का आवाजमा देखिए
प्रजातन्त्र र गणतन्त्रका संविधानका पाना समेटियो । 

यी सबमा हटाउँछौँ हट्नुपर्छका धारा देखिए
कानुन र कारबाहीका शाखा देखिए
विडम्बना ती सब बिस्तारै बिस्तारै भए
बिस्तारै बिस्तारै खाल्डा खनिँदै गए
बिस्तारै बिस्तारै बाँध्न डोरी तयार हुँदै गए
बिस्तारै दलित मारिदैं कुटिदैं खाडलमा पुरिँदै गए ।

बिस्तारै बिस्तारै लागेको डढेलाेले
बिस्तारै बिस्तारै लागेको रोगले
केके गर्नसक्छ, त्यो देखिएको छ
वन जङ्गल खरानी भएको
मानिस मृत्यु शैयातिर गएको 
बिस्तारैले विनाश गरेको
कति हेर्छौँ, कति नाटक मञ्चन गर्छौँ, बिस्तारै ।

शम्बूक , नवराज, अजित सेते
आङ्गिरा, भीम, मना .....
बिस्तारै बिस्तारै मार्याैं काट्यौँ
भेरीमा बगायौँ खाल्डामा पुर्याैं
अझ कति भन्छौँ बिस्तारै ।

सबै देखियो , भोगियो
तिमीले भनेको बिस्तारै धेरै सुनियो ,
तिमीले भनेजस्तै भएको छ, देखिएको छ
तिम्रो हठको अगाडि यो बिस्तारै हट्छ
वास्तवमै बिस्तारै भएको छ ।

तिम्रो मस्तिष्कभित्रको सडेको सोच
बिस्तारैको भाइरस र बुझ पचाउने मन
यति छिटो किन हट्थ्यो र
सडेर गलेको चिन्तन एक्कासि
आजको आजै किन हट्थ्यो र
बिस्तारै दुर्गन्धित जो बनाउनु छ
भाइचारा सामाजिक सद्भाव बेस्सरी चुँड्नु छ ।

तिमीले भनेको बिस्तारै महामारी हो
मानवताविरोधी महाकाल आतङ्कवाद हो
जसको रूप सार कसरी हुन्छ मार्ने नै हो
सबैतिर बिस्तारै बिस्तार गर्नै नै हो
एकएकलाई सङ्क्रमित गरेर सिद्ध्याउने हो
समाज र सभ्यतालाई तहसनहस पार्ने नै हो ।

तिम्रो बिस्तारै हिजो बामे सरेकै थियो
आज पनि बामे सर्दै छ
म पक्का छु , भोलि पनि बिस्तारै सर्ने छ
बिस्तारै मानवबाट दानव बनाउने छ
जातकाे नाममा बिस्तारै समाज सिद्ध्याउने छ
बिस्तारै ...बिस्तारै ...बिस्तारै विनाशतिर लग्ने छ
बिस्तारै ...बिस्तारै ....बिस्तारै ढल्ने छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार