मिमबहादुर परियार

जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउँछन् ।

सैको बा
कसैको छोरो
कसैको दाइ
कसैको प्रेमीलाई
पछाडिको दुईचार अक्षरको आधारमा
मार्न मनाही छ ।

कसैको भाइटिकाको सप्तरङ्गी टीका
कसैको सिउँदोको सिन्दुर
कसैको बुढेसकालको लठ्ठी
कसैको कलिला शरीर बोक्ने काँधलाई
कथित जातको आधारमा
काट्न कुट्न बगाउन मनाही छ ।

कसैको सपना, उद्देश्य, रहर सहारालाई
अतिवादी सनक दम्भ र अहंकारले
साथ मार्न, प्रेम मार्न, मानवता मार्न
रगतको होली खेल्न, युद्ध लड्न
मानव नीतिमा शक्त मनाही छ ।

तर विडम्बना मेरो देशमा
दमाई कामी सार्की डोमलाई
मार्न छुट छ, पुरस्कार छ
साथ छ, समर्थन छ, संरक्षण छ
यहाँ दलित मार्ने परम्परा छ
कथित उच्च जातलाई अधिकार छ।

मेरो देशमा दलित मार्ने लहर छ
के तराई के पहाड के हिमाल
के रुख के नदि के जमिन
बुढा बा आमालाई रुवाउने धेरैको रहर छ
कलिला प्रेमिल मनलाई जलाउनेको जित छ
यस्तै छ मेरो देशको रित
छ कथित जातको जित ।

भलै, कानुनका काला अक्षरमा
अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पानामा
सभा सम्मेलनका नारामा
कला साहित्यका आँखमा
समानता समता र स्वतन्त्रता देखिए पनि
दम्भ अहंकारका आँखाले देख्दैन 
उसले पछाडिको दुई अक्षर देख्छ
अनि छुट्याउँछ, कसलाई मार्ने कसलाई राख्ने भनेर ।

उसका जातवादी हातहरू
सदैब तम्तयार हुन्छन्
उसका जात प्रेमी नयन
सदैब पर्खिरहेका हुन्छन्
ती हात ती आँखाहरू
रमिता हर्ने लास बाँध्न पल्केका छन् ।

ती जातवादी हातहरू
कलिला लास बाँध्दा कहिल्यै काँपेन्न
ती जातवादी आँखाहरू
आलो रगत देख्दा कहिल्यै रसाएनन्
त्यो पथ्थर जस्तो मन कहिल्यै पग्लिएन
बरु पछाडिको दुईचार अक्षरमा रमाए हौसिय
सबक सिकाउनु पर्छ, सिध्याउन पर्छ भनी तम्सिए
हामी माझ आउने, कत्रो आँट भन्दै झन् उग्र भए ।

र त दिनदहाडै उसलाई दलित मार्ने अनुमती छ
बहाना बयान पहिल्यै तयार छ
गाउँले जनको साथ, समर्थन र पुरस्कार छ
छानीछानी, दौडाईदौडाई, गलाई गलाई,
देखाइ देखाइ, बगाउन, काट्न, गाड्न
उसको सामर्थ्य हिम्मत छ ।

कानुनले पक्राउ गरे उसलाई
छुटाउने ठूलो आवाज छ
सदनदेखि सडकसम्म उसको हात छ
मेरो देशमा जातको जित छ
खुलेआम दलित मार्ने छुट छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मिमबहादुर परियार

लेखकबाट थप...

सम्बन्धित समाचार